• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
भुवनहरि सिग्देल
२०७६ असोज २५ शनिबार ०८:०६:००
सम्झना

काकाकुल कथा

स्मृति

२०७६ असोज २५ शनिबार ०८:०६:००
भुवनहरि सिग्देल

म कुकुर र बिरालोको प्रेमी । दहचोकमा ३० वर्ष बिताएको मानिस । तीनतिर जंगल, बीचमा गाउँ । चितुवा लाग्ने ठाउँ । घरमा छाउरा, ङ्याउरा ल्याएर पाल्थेँ । जब ती हुर्किन्थे, चितुवाले खाइहाल्ने । मेरो उमेर आठ वर्षको । समय १५ सालको ।  मैले सानी ङ्याउरी ल्याएर हुर्काएँ । एक दिन त्यो ङ्याउरी हराई । मैले आमासँग सोधेँ, ‘त्यो बिरालीलाई पनि केहीले मा-यो कि क्या !’ 

आमाले भन्नुभो, ‘हुचिलले लग्यो होला ।’ त्यो वेला मैले आमाको भनाइ बुझेको थिइनँ ।मैले अर्को बिराली बच्ची नै खोजेर ल्याएँ । झुम्राको टुक्रा भेटी भने त्यसैसँग खेलिरहन्थी । उसले नाचेर खेल्दा मलाई खुसी लाग्थ्यो । म उसले खेल्दै गरेको झुम्रो थुतेर पर फ्याँकिदिन्थेँ । ऊ भने उफ्रेर झुम्रो समाउन त्यहीँ पुग्थी ।त्यो दिन गजबको घटना भयो ।

घरअगाडिको ठूलो पाटोभरि तोरी पाकेको थियो । हिउँदमा तोरी छर्ने चलन थियो । त्यसैमा जौ र केराउ पनि मिसिएका हुन्थे । केराउ र कालतोरी एकैपटक पाक्ने हुनाले तोरीभित्र पसेर केराउ खाएको सम्झनाले गर्दा त्यो समयलाई माघ या फागुनको सुरु भन्ने अड्कल म गर्छु ।

समय साँझ–साँझकै थियो । म आँगनमा बसेर के गरिरहेको थिएँ कुन्नि, याद भएन । घरको छानातिरबाट एउटा चरो उड्यो । त्यो चरो चिलभन्दा ठूलो थियो । त्यसको खुट्टाले केही चिज च्यापेको थियो । बिराली बच्ची आत्तिएर कराए सुनेँ । त्यो चिल ठूलो पाटोमाथिबाट कोइरालोको रूखतर्फ उड्यो । 

सानी बिरालीको आवाज सुनेपछि म कुदेर कोइरालाको फेदमा पुगेँ, सासै नफेरी । तर, अचम्म ! मैले के देखेँ यो ? त्यो सानी ङ्याउरी कोइरालाको फेदमा पसारिएकी थिई, ङ्याउ ! ङ्याउ ! गरेर । मलाई लाग्यो त्यही चिलले त्यसलाई त्यहाँ ल्याएको हो ।

मैले गर्दन उठाएर कोइरालाको टुप्पातिर हेरेँ । त्यो चिल त रूखको टुप्पामा बसिरहेको थियो मलाई हेरेर । मैले भुइँतिर छामेँ । एउटा डल्लो हातमा आयो । त्यो चिलसँग रिस उठेकाले होला सकेसम्म बल गरेर हानेँ । के पुग्थ्यो चिलसम्म ? डल्लो कता गो कता । चिल भने टसमस पनि थिएन । मलाई डर लागेर आयो, न मलाई नै ठुँग्न आउने हो कि ? बिराली बच्चीलाई टिपेर घरतिर कुलेलम ठोकेँ । कोइरालाको रूखतिर फर्केर पनि हेरिनँ ।

घर पुगेर ङ्याउरीलाई पिँढीमा राखेँ । लल्याकलुलुक थिई । मैले आमालाई बोलाएर देखाएँ । आमाले भन्नुभो, ‘ए, त्यो चिल होइन, हुचिल हो । त्यसको त छायाँ परे पनि बिरालो मर्छ । त्यसले छानातिर चढेको यो बच्चोमाथि छायाँ पा-यो होला । यो लट्ठियो, च्यापेर उड्यो । तँ दौडेर आएको देखेर हुचिल तस्र्याे । बच्चो छुटेर तल खस्यो । भैगो, भित्र लगेर राख् ! तर, यो भने अब बाँच्दैन ।’

मलाई भने त्यो हुचिल भन्ने चरोसँग औधी रिस उठ्यो । जति रिस उठे पनि के गर्न सक्थेँ र मैले । त्यो बच्चीलाई उठाएर घरभित्र लगेँ । कुनामा थाङ्ना ओछ्याएर सुताएँ । के सुताएँ भन्नु, आफैँ पसारिएकी थिई । तैपनि खान्छ कि भनेर दूधभात नजिकै लगेर देखाएँ, के खान्थी ? खाइन । तर, भोलि बिहान उठेर हेर्दा त जस्ताको तस्तै मरिसकेकी थिई ।

५० वर्षभन्दा अगाडिको यो घटनाको स्मृति मेरो मनमा त छँदै थियो । ०२४ साल वैशाखमा थानकोटबाट म घर जाँदै थिएँ । फाँट कटेपछि उकालो बाटो सुरु हुन्छ । बेलुकीपखको हप्प गर्मी । वरपर चिलौने र कटुसका बनेली । बीचमा ठाडो बाटो । पन्ध्र मिनेट उकालो चढेपछि चिप्लेढुंगो पुगिन्छ । हामी केटाकेटी छँदा त्यसमा खुब चिप्लेटी खेल्थ्यौँ । बगलमा चिलौनेको रूख थियो । त्यसैको शीतलमा बसेर निधारका पसिना पुछ्दै थिएँ । 

अताल्लिएर कराएको बिरालोको आवाज मैतिर आउँदै गरेझैँ लाग्यो । पूर्वतिरबाट मैतिर उडेको हुचिल देखियो । त्यसको पन्जाले बिरालोको ङ्याउरोलाई झुन्ड्याएको थियो । ए, धेरै पहिले यसैगरी मेरी ङ्याउरीलाई कोइरालाको रूखमुनि पछारेको थियो । मनमा रोमाञ्चजस्तो भाव मडारिँदै थियो । त्यसले त सोझै चिप्ले ढुंगामा बजारिने गरी ङ्याउरोलाई खसालिदियो । भ्याक्क आवाज आयो । हुचिल उडेर परतिर गयो ।

म हुत्तिएर त्यो ढुंगोमा गएँ । रामराम, त्यो ङ्याउरोको कानबाट भुलभुल रगत बगिरहेको थियो । त्यसको मुख मात्र तलमाथि खुल्थ्यो । कराउन सकेको थिएन । चारैवटा खुट्टा बटारिरहेको थियो । मैले त्यसको उपचार गर्ने उपाय पनि देखिनँ । उठाएर शीतलमा लान्छु भन्ने सोचेँ । बिस्तारै ङ्याउरोलाई समाउन खोज्दै थिएँ ।

त्यो हुचिल त मेरो टाउकैमा ठुँग्लाझैँ हुत्तिएर आयो । मलाई डर पनि लाग्यो । मैले ङ्याउरोलाई त्यही हालतमा छाडिदिएँ । हतार–हतार शीतलमा बस्न पुगेँ । हुचिल फेरि उडेर आयो । टपक्क पन्जाले ङ्याउरोलाई टिप्यो र खोल्सातिर उड्यो । अहँ, ङ्याउरोको कुनै आवाज थिएन । मेरो मनले भन्यो, वाह, सिकारी तेरो सिकार गर्ने तरिका !

तपाईंलाई थाहा होला, बिरालोको गर्दन पछाडिको भागमा छाला मात्रै औँलाले च्यापेर उचाल्ने हो भने त्यो बिरालो ङ्याउँसम्म नगरी शान्तसँग हातमा झुन्डिन्छ । उसकी आमाले ङ्याउरा सार्दा पनि त्यही ठाउँमा मुखले च्यापेर ल्याउँछे । सिकारी हुचिललाई आफ्नो सिकारको कमजोरी थाहा हुने नै भयो, अनादि कालदेखि प्रयोग र प्रमाणित भइसकेकाले ।

हुचिलले पनि बिरालोको त्यही अंग आफ्ना नङ्ग्राले अँठ्याउँछ र हावामा उडाउँछ । हुचिललाई थाहा छ, त्यो सिकार मार्ने आफूसँग अंग छैनन् । त्यसैले, कुनै कडा ठाउँको माथि उडेर आफ्नो सिकारलाई त्यसमाथि बजार्छ । त्यही घातले सिकार मर्छ वा घाइते हुन्छ । मरे बेसै भयो, उठाएर लैजान्छ, खान्छ । मरेन घाइते भयो भने फेरि यही प्रक्रिया दोहो-याउँछ र सिकारलाई मार्छ ।

यी दुवै घटनामा बिराला मरे । छाया पर्नु सिकारी र सिकारको प्राकृतिक मनोविज्ञान हो । त्यही कमजोरीलाई प्रयोग गरेर सिकार गर्नु प्राकृतिक सनातन पनि हो ।
हुचील र बिरालोको मेरो निचोड यत्ति हो ।

अर्को सिकारी काकाकुलले हरेउ सर्प मा-यो । यो त्यति पुरानो कुरा होइन, १५–१६  वर्षअगाडिको घटना हो । म धादिङको जोगीमारामा काम गर्थेँ । नभराज घिमिरेको चुनढुंगाको खानी थियो त्यहाँ । त्यो खानीको ढुंगा निकाल्न निकै कठिन पनि थियो भू–बनोटको विकटताले गर्दा । सहज ठाउँमा चुनढुंगा भेटिन्छ कि भनेर एक दिन जोगीमाराकै साथीहरूसँग चितवनतर्फ घुम्न गएँ ।

जवाङको डाँडो काटेर उता रिग्दी खोलामा झरियो । तलको हुस्ती, धानवासेसम्म पुगियो । त्यहाँ चुनढुंगा थियो । त्यहाँका मानिसले भने, यो चुनढुंगा त पर उपरताङ गढी, कोलार, शक्तिखोर, काउलेसम्म छ । यही ढुंगा खोज्ने काममा चितवनको शक्तिखोरलाई मुकाम बनाएर धेरै दिन धेरैपटक त्यहाँका भिर–कन्दरा घुम्ने काम मैले गरेँ । 

त्यो महिना भदौ थियो । म, नभराज घिमिरे र भरतमामा  भरतप्रसाद पौडेल) शक्तिखोर गयौँ । चौताराको रेशम श्रेष्ठको होटेलमा मुकाम राखियो । त्यो अभियानमा ड्राइभर रामगोपाल पनि सहभागी भए । हाम्रो काम भनेको त्यस भेगका कुनाकन्दरासम्म जाने र चुनढुंगाको निरूपण गर्ने मात्रै ।

हामी कयर तरेर सिद्धितिर लाग्यौँ । बर्खामा बाढी चल्छ यी खोलामा । खहरे नै भए पनि हिउँदमा पूरै सुक्दैनन् । सिद्धि खोलाको उत्तर किनारबाट हामी निकै पर पुग्यौँ । दक्षिणतर्फ सिद्धि गाविस भवन र स्कुल देखियो । त्यहाँ पनि दोभान थियो । सिद्धि अझै पूर्वबाट आएको थियो । त्यहाँ उत्तर काउलेतिरबाट आउने अर्काे खोल्सो मिसियो । सिद्धिको पानी धमिलो थियो, तर यो खोल्सीको पानी भने निर्मल थियो ।

समय पनि ११ बजिसकेकाले भोकको प्रकोप बढ्दै थियो । तर, के खाने ? त्यसको निरूपण थिएन । जहाँ जे मिल्ला त्यही खाउँला भनेर हिँडेका थियौँ हामी । कतै केही पनि मिलेन, बसोवासै थिएन । सिद्धि गाविसतिर निस्कौँ भने खोला ठूलो थियो, तर्ने जुक्ति थिएन । हामी त्यही काउलेतिरबाट आउने खोल्साको खोँचमा पस्यौँ । दुवैतिर अग्ला–अग्ला पहरा भेटिए  चुनढुंगाको होइन) । हाम्रो योजना अलि माथिसम्म पुगेर फर्किने थियो । 

त्यहाँ एकजना मानिस उत्पन्न भयो । ऊ हाम्रो पछि–पछि आउँदै थियो झोला बोकेर । त्यो निर्जन ठाउँमा मानिसको उपस्थिति सुखद नै लाग्यो हामीलाई । ऊसँग हाम्रो कुराकानी भयो । उसले आफूलाई इन्डियातिर बसेर काम गरेको र चार महिनापछि आजै गाउँ फर्केको भन्यो । ऊसैसँग गफ गर्दै हामी हिँडिरह्यौँ । ऊसँगको संवादले भने, अलि गफाडी नै हो भन्ने परिसकेको थियो ।

त्यो गल्छी फराक बन्दै आयो । त्यहीँबाट उसले आफ्नो घर देखायो, धेरैमाथि दुईवटा छाप्राजस्ता देखिन्थे । त्यो महाभारत पर्वतको घाँच थियो । कुरै कुरामा उसले भन्यो, ‘त्यो डाँडै चुनढुंगाको हो, आफू बसेको घरसमेत चुनढुंगामाथि छ । तपाईंहरू बिस्तारै आउनोस् ! म गएर ढिँडो पकाउन लगाउँछु अनि चुनढुंगा पनि हेरौँला !’ 

मैले भनेँ, ‘त्यसो भए यो ठिटोलाई पनि लिएर जानोस् ! तपाईंलाई साथी हुन्छ । हामी बिस्तारै आउँछौँ ।’ यो गफाडीको परीक्षा पनि हुने भयो त्यसो गर्दा ।
रामगोपाल र त्यो मानिस अगाडि लम्किए । हामी तीनजना पछाडि रह्यौँ । तर, त्यो गल्छी घुमाउरो बन्न थाल्यो । जति हिँडे पनि उसले देखाएको छाप्रो नजिक बन्दै बनेन । भोक, प्यास र गर्मीले पाइलै चल्न छाडे । भरत मामा र नभराज त थचक्कै बसे । अब परेन के बित्यास ? मैले यो सल्लाह गरेँ, ‘त्यो चेपाङको घरसम्म पुग्नै हामीलाई रात पर्ने देखियो । तपार्ईंहरू यहीँ शीतलमा बस्नोस् ! म अलिमाथि डाँडामा गएर रामगोपाललाई बोलाउँछु, फर्केर आऊ ! भन्छु ।’

म हुत्तिएर त्यो ढुंगोमा गएँ । रामराम, त्यो ङ्याउरोको कानबाट भुलभुल रगत बगिरहेको थियो । त्यसको मुख मात्र तलमाथि खुल्थ्यो । कराउन सकेको थिएन । चारैवटा खुट्टा बटारिरहेका थिए ।

उनीहरूलाई छाडेर म पनि अगाडि बढेँ । यसरी हामी चारजनाको समूह तीनतिर भयो । त्यस्तै, १५ मिनेटजति हिँडेको थिएँ होला, मैले एउटा दृश्य हेरेँ । त्यो चरो काकाकुल नै थियो, मैले चिनेको । ठूलो र लामो हरेउ सर्प झुन्ड्याएर खोँचको दायाँबाट बायाँतिर तर्दै थियो । म टक्क उभिएँ र त्यो दृश्य हेरेँ । त्यसले त त्यो सर्पलाई त्यही खोँचमा खसालिदियो र रित्तै पल्लो डाँडातर्फ उड्यो । मभन्दा केही अगाडि खसेको थियो त्यो सर्प । मैलै ठानेँ, सर्प ठूलो थियो, अँठ्याउन सकेन, फुत्किएर खस्यो । मेरो आङ सिरिंग भयो, कसो मेरो टाउकामाथि खसेन !

म अगाडि बढेँ । यतै खसेको हुनुपर्छ त्यो सर्प भनेर सजग थिएँ म । त्यहाँ त मैले सिकारीको बुद्धि पो देखेँ । त्यो ठूलो र फराकिलो ढुंगो थियो खोँचको माझमा । त्यही ढुंगाको बीचमा सर्प पछारिएको छ । त्यसको भुँडी पट्टै फुटेको छ । मरिसकेको छैन, छटपट गर्दै छ । तर, उठेर हिँड्न सक्ने अवस्थामा छैन । त्यसको रगत ढुंगामा लतपतिएको छ । मैले उभिएर त्यो मर्न लागेको सर्पलाई हेरेँ । मलाई नयाँ अनुभव भयो ।

चिर्र आवाज सुनेँ आकाशतिर । त्यो काकाकुल ठीक ममाथि उडिरहेको थियो ‘चिर्र–चिर्र !’ गर्दै । मलाई लाग्यो, केही अगाडि बसेर हेर्नुप-यो यो चिलको करामत । म अगाडि फेरि बढेँ । एउटा उपयुक्त ठाउँको खोजी थियो । एउटा रूख भेटियो । म त्यसैको आड लागेँ । त्यहाँबाट त्यो ढुंगो र मरेको हरेउ 
प्रस्टै देखिन्थ्यो ।

मैले धेरै समय कुर्नु परेन । त्यो चरो उडेर आयो । ढुंगाको छेउमा बस्यो । बिस्तारै हिँडेर सर्पको छेउमा गयो । टाउको निहुराएर एकनास सर्पलाई हे-यो । फुत्त उफ्रिएर सर्पमाथि चढ्यो । एउटा खुट्टाले सर्पको गर्दनमा थिचेको थियो, अर्काेले पेटपट्टि । अनि चुच्चो त्यही फुटेको भुँडीमा गाड्यो । एक चोक्टा झिक्यो र आकाशतिर हेरेर सुर्लुक्क निल्यो । मेरो मुख एक्लै फुसफुसायो, ‘वाह ! सिकारी तेरो जुक्ति !’

भदौरे पानी दर्कियो । म उकालोको फेदमा उभिइरहेको थिएँ, के गर्ने ? के नगर्ने ? सोच्नै नसकेर । मनमा के लाग्यो कुन्नि, ‘रामगोपाल !’ भनेर एक्कासी कराएँ । ऊ त्यही ओरालोबाट म भएतिर झर्दै रहेछ, म कराएको सुनेछ उसले । टाढैबाट उसको आवाज आयो, ‘माथि आउनु पर्दैन ! म तल आउँदै छु ।’ मेरो मन ढुक्क भयो । तर, खोल्सीमा भने पानीको भेल बढ्दै थियो । म दायाँ किनारपट्टि एउटा रूखको आडमा थिएँ । झर्दै गरेको रामगोपाल देखियो ।

रामगोपाल म नजिक आउनु र पानी रोकिनु एकैपटक भयो । रामगोपाल निथाचूर्ण थियो । चिप्लिएर पछारिएछ पनि । लुगाभरि हिलैहिलो देखियो । मैले एक्कासी सोधेँ, ‘रामगोपाल ! खोइ त खाने कुरा ?’

‘कता खाना पाउनु ? फटाहा रहेछ त्यो मान्छे । म उसले तलबाट देखाएको छाप्रोसम्म पुगेँ । अनि त के भन्छ, पल्लो डाँडामा पर्छ मेरो घर रे ! पल्लो डाँडामा एउटा पनि घर देखिएनन् । यी माथि देखिएका छाप्रा कसका हुन् ? त्यहाँ त मानिसको नामनिसाना पनि छैन । अनि मैले सोधेँ, ‘खोइ त चुनढुंगा ?’ उसले त ‘यही ता हो नि चुनढुंगा !’ भनेर यी खोलाकै जस्तो ढुंगो देखायो । म सुरुक्क फर्केर आएँ ।’ रामगोपालले सासै नफेरी भन्यो ।

‘ल झरौँ ! ढिला नगरौँ ! सरहरू हामीलाई र खानेकुरालाई कुरेर तल बसेका छन् । खाना त आजका लागि ठन्डाराम भइहाल्यो । अब शक्तिखोर पुग्दा नै रात पनि पर्ने भो !’ हामी तल झ-यौँ । काकाकुलले सर्पलाई पछारेको ढुंगाअगाडि एकैछिन उभिएँ म । त्यहाँ सर्पको नामनिसाना थिएन । अघि लतपतिएको रगत पनि पानीले पखालेर ढुंगालाई सफा पारिसकेको थियो ।