• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ असोज २५ शनिबार ०८:२६:००
सम्झना

मिठाईदेवी, ८२

व्यक्ति

२०७६ असोज २५ शनिबार ०८:२६:००
शिशिर वैद्य

८२ वर्षको उमेरमा स्मृतिका पानाहरू धमिलो हुनु स्वाभाविक हो । मिठाईदेवीका पनि स्मरणमा कैद थुप्रै पलहरू धमिलिएको छ । तिनै धमिला यादबाट केही पल पस्किँदै थिइन् उनी । उनको पूरा नाम हो मिठाईदेवी विश्वकर्मा । माइतीको थर कपाली । विवाह भएको थियो नेपालको दलित आन्दोलनका प्रणेता टि.आर. विश्वकर्मासँग । टी.आर अर्थात् तुलाराम ।

नेपालको दलित आन्दोलनमा टी.आर नाम जति चर्चित छ तुलारामलाई कमैले मात्र चिन्छन् । उनै टी. आरको नामसँग नछुट्टिने नाम हो मिठाईदेवी । सानैदेखि जुझारु र लडाकु स्वभावकी थिइन् उनी । समाजमा व्याप्त छुवाछुत र उँचनीचप्रति उनी सधैँ प्रतिवाद गर्थिन् । नामको ठीकविपरीत थियो उनको स्वभाव । यो कस्तो नाम हो ‘मिठाई’ ? प्रश्न झर्न नपाउँदै उनले हाँस्दै भनिन्, ‘धेरै मिठाई मनपराउने भएर राखेका होलान् आमा बुबाले यो नाम,’ हाँसोमा अझ स्वाद थप्दै भनिन्, ‘मेरी आमाको नाम मिश्री, बहिनीको नाम मेवा हो ।’ फेरि हाँसो छुट्यो । सोधेँ, ‘बुबाको नाम पनि यस्तै हो कि ?’ हाँस्दै भन्छिन्, ‘हैन, हैन, बेखानारायण हो ।’

छुवाछुत, उँचनीच र जातीय घमण्डले समाज जकडिएको समय थियो त्यो । मानिस–मानिसबीच विभेद थियो । त्यस्तो समाजलाई परिवर्तित गर्ने अभियानसँग जोडिएकी थिइन् मिठाईदेवी । त्यसैले उनी कहिले पशुपतिमा अछुतलाई प्रवेशनिषेध लेखिएको बोर्ड थुत्न पुग्थिन् । कहिले सिंहदरबारमा धर्ना बस्न । कहिले सहभोजको आयोजना गर्थिन् ।

सिंहदरबारमा धर्ना बस्दा उनीसहित थुप्रै महिला सिंहदरबारको ढोका अगाडि भुइँमा लम्पसार परेर सुतेको सम्झना ताजै छ उनीसित । कर्मचारीहरू उनीहरूलाई नाघेर अघि बढ्थे । आन्दोलनलाई साथ दिन वरपर बसेको भिड ‘छिम्माइत हाचाँ गयाला’ (तेरी आमालाई नाघ्छस्) भनेर गाली गर्दै होहल्ला गर्थे । पोडे, च्यामेलगायत सबै जातिलाई साथ राखेर सहभोजको आयोजना हुन्थ्यो । पोडे टोलमा पढाउन पुग्थिन् उनी । साथमा हुन्थे रेश्मा धोबिनी, मेवा कपाली, पूर्णकुमारी कपाली र अरू केही साथीहरू । 

विद्यार्थीलाई चाहिने किताब, कापी आफैँ व्यवस्था गरेर विभिन्न टोलमा स¬¬¬–सानो स्कुल स्थापना गरिएको थियो । ढल्को, क्षेत्रपाटी, भोंसीको आदि स्थानमा थिए यस्ता स्कुल । विद्यार्थीलाई सुकुलमा राखेर पढाइन्थ्यो । बिएसम्म शिक्षा आर्जन गरेकी मिठाईदेवी शिक्षा नभए पिछडिएका जातिको उत्थान नहुने ठहरका साथ दलित शिक्षा अभियानमा होमिएकी थिइन् । आफूहरूले गरेको आन्दोलन सम्झँदै उनी भन्छिन्¬, ‘दलित उत्थानका लागि खोइ कहाँ कडा आन्दोलन गरेका छन् आजको पुस्ताले ?’ समाजमा अझै चलिरहेको छुवाछुत देखेर उनी उदेक मान्छिन् ।

पत्रपत्रिकामा दलितमाथि भएका विभेद र अत्याचारका समाचार पढेर उनको मन जुरुक्क उठेर फेरि एकपटक आन्दोलित होउँ भन्छ । तर, मन आन्दोलित भएर मात्रै नपुग्दो रहेछ । तन पनि बलियो हुनुपर्दोरहेछ । उमेरले ८० वसन्त पार गरिसकेपछि आफ्नै शरीर पनि बोझिलो लाग्छ वेलावेला । दलितमाथि समाजमा भइरहेको विभेद देखेर दिक्क मान्दै उनी भन्छिन्, ‘दलित मुक्तिका लागि वास्तविक आन्दोलन हुन अझै बाँकी नै छ ।’

समाजमा छुवाछुतको स्तर पहिलेको जस्तो नभए पनि निर्मूल हुन नसक्नु नै दलित आन्दोलनको आवश्यक्ता अझै रहेको उनको ठम्याइ छ । दलितका मुद्दालाई विभिन्न पार्टीले आ–आफ्नो राजनीतिक मुद्दा बनाए । तर, ती मुद्दा सत्ता प्राप्तिको भ-याङ मात्रै भए । नतिजाः दलितहरू झनै पछाडि परे । त्यसैले दलितहरू स्वतःस्फूर्त आन्दोलित भए मात्रै दलितको उत्थान हुन्छ भन्छिन् उनी ।

उनी आफूले छुवाछुत खासै नभोगेको बताउँछिन् । किनभने उनी कसैले छुवाछुतको व्यवहार देखाउन खोजे जिरह गर्थिन्, झगडै पनि गर्थिन् । ढुंगेधारामा पानी लिन जाँदा कसैले पानी थाप्न नदिए गाग्री नै फुटाइदिन्थिन् । उनको स्वभाव सानैदेखि योद्धाको जस्तो थियो । उनी जहाँ पनि अन्यायका विरुद्ध लड्न तयार हुन्थिन् । शान्तिनिकुञ्ज र कन्या मन्दिर स्कुलमा पढेकी मिठाईदेवी स्कुलमा पनि कसैले दलित भनेर हेप्न खोजे, छुवाछुत गर्न खोजे झगडा गर्थिन् ।

यता नछो, उता नछो जस्ता शब्दहरू उनको कानले र मस्तिष्कले सहनै सक्दैनथ्यो । ती शब्दले उनलाई त्यसै–त्यसै आक्रोशित र आन्दोलित बनाउँथ्यो । कन्या मन्दिरमा विद्यार्थीलाई पानी पिउने धारोमा उनलाई पानी पिउन रोक्न खोज्नेसँग उनी सीधै प्रतिवाद गर्थिन् । पहिले बहस गर्थिन्, नमाने झगडा । तर, पानी पिएरै छाड्थिन् । उनी भन्छिन्, ‘पानी, पानी हो । प्यास सबैलाई लाग्छ । धारो सबैको हो । तिमीहरू मनपरे पिउ मननपरे प्यासै बस । यसो भनेर म पानी पिउँथेँ ।’

मिठाईदेवीको पुर्खा कीर्तिपुरबाट काठमाडौं सरेको थियो । उनका बाजे कीर्तिपुरदेखि काठमाडौं दैनिक हिँडेरै ज्यामी काम गर्न आउँथे । ज्यामी काम गर्दागर्दै यतै बस्न थाले । पछि ज्यामी काम छाडेर सुचीकारको काम थाले । बाजेलाई सुचीकारको काम फाप्यो । सैनिकका पोसाक सिलाउने काम पाएपछि बाजेको दिन फि-यो । उनले इन्द्रचोकमा घर किने । मिठाईदेवी इन्द्रचोकमै हुर्किइन्, मामाघरमा । हजुरआमा एक्लै थिइन्, त्यसैले आमाको धेरै समय माइतमै बित्थ्यो । बुबा बसेको हिती चुकको घरमा कहिलेकाहीँ जान्थिन् उनी ।

इन्द्रचोक पोते गल्लीभित्रको मिठाईदेवीको घर कम्युनिस्ट पार्टीका नेताहरूको सेल्टर थियो । कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलगायतका नेताहरू भूमिगत रूपमा थुप्रैदिन यहाँ बिताउँथे । इन्द्रचोक राजनीति गर्नेहरूको प्रिय ठाउँ थियो । यहाँको मन्दिरको पेटीमा उभिएर भाषण नगरेका नेता सायदै होलान् । इन्द्रचोकमा हुने सधैँको भाषण र राजनीतिक कार्यक्रमले मिठाईदेवीमा राजनीतिक चेतना बढ्दै गएको थियो । पुष्पलालहरूको संगतले उनको झुकाब वामपन्थी विचारधारापट्टि बढी रह्यो । तर, दलित आन्दोलनका मामिलामा उनी सधैँ निष्पक्ष रहिन् । भन्छिन्, ‘मैले दलित आन्दोलनलाई कहिल्यै पार्टीको झन्डामुनि बसेर उठाइनँ ।’

दलित आन्दोलनका अगुवा टी. आरसँग प्रेम विवाह गरेकी थिइन् मिठाईदेवीले । विवाह परिवारको सम्मतिविना भएको थियो । प्याफल भौकेवस्थित शान्ति निकुञ्ज स्कुलमा एक मिटिङमा पहिलोपटक देखादेख भएको थियो दुई बीच । कविता साटासाट गर्दै चलेको नौ वर्ष लामो प्रेमलाई दुवै परिवारले विवाहको स्वीकृति दिने सम्भावना नदेखेपछि साथीभाइको सहयोगमा धरान पुगेर भागी विवाह गरेकी थिइन् उनले, २०२० सालमा । यसरी भागी विवाह गर्नुपर्ने अवस्थाको मूल कारण थियो कपाली र विश्वकर्मा जातबीच रहेको छुवाछुत । यी दुईबीचको विवाहले तत्कालीन नेपाली समाजमा दलितबीचको आन्तरिक छुवाछुतलाई उदांगो पार्छ ।

मिठाईदेवी भन्छिन्, ‘दलितबीचको यो छुवाछुत हाम्रो समाजमा अझै छ । दलित मुक्तिका लागि यो सबैभन्दा ठूलो बाधक हो । जबसम्म दलितहरूबीच एक–आपसमा समानता हुँदैन दलित मुक्ति र उत्थान सम्भव छैन ।’ विवाहपछि धरानमा बस्दा पनि टी.आर र मिठाईदेवी दुवै दलित संगठन र आन्दोलनमा सक्रिय नै रहे । आन्दोलनको अगुवाइ जेठाजु छविलाल विश्वकर्माले गरेका थिए ।

सिंहदरबारमा धर्ना बस्दा उनीसहित थुप्रै महिला सिंहदरबारको ढोकाअगाडि भुइँमा लम्पसार परेर सुतेको सम्झना ताजै छ उनीसित । कर्मचारीहरू उनीहरूलाई नाघेर अघि बढ्थे । आन्दोलनलाई साथ दिन वरपर बसेको भिड ‘छिम्माइत हाचाँ गयाला’ भन्दै होहल्ला गर्थे ।

नेपालका राष्ट्रिय स्तरका राजनीतिक दलमा केही अपवादबाहेक समग्र पार्र्टीको संरचनालाई हेर्ने हो भने दलितहरूको उपस्थिति उपल्ला पदमा न्यून मात्रै भेटिन्छ । उनलाई विभिन्न पार्टीमा दलितहरू सधैँ तल्ला तहमा मात्र सीमित भएकोमा चित्त बुझेको छैन । भन्छिन्, ‘दलितहरूको उत्थान र मुक्ति नारामा सीमित गरेका छन् ठूला दलहरूले । वास्तविक रूपमा दलितहरू उठेको, समृद्ध भएको हेर्न चाहने नेतृत्व नै छैनन् यहाँ ।’ 

समाज शिक्षित भए छुवाछुत, भेदभावजस्ता समस्या समाधान हुनेछ भन्ने मत एकथरी मानिस व्यक्त गर्ने गर्दछन् । यो तर्क गलत सावित भइसक्यो भन्छिन् मिठाईदेवी । भन्छिन्, ‘शिक्षित भएर मात्रै दलितहरूप्रतिको व्यवहार परिवर्तित हुने होइन रहेछ । किनभने दलितभित्रबाट जो शिक्षित भए, धेरै पढे उनीहरूले आफूलाई अभिजात्य वर्गमा रूपान्तरित गरे । छुवाछुत हटाउनुको सट्टा उनीहरूले नै उल्टै छुवाछुतलाई बढावा दिए । यसरी कसरी हुन्छ दलितहरूको 
मुक्ति ?’ उनी दलितको समस्यालाई आर्थिक विपन्नतासँग जोड्न पनि तयार छैनन् । किनभने आर्थिक रूपमा सम्पन्न भए पनि हाम्रो समाजले दलितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न सकेको छैन भन्छिन् उनी । 

नेपालमा दलित मुक्ति आन्दोलनको सुरुवात भएको आधा शताब्दी पुगिसकेको छ । यति लामो समय बितिसक्दा पनि दलित आन्दोलनका मुद्दाहरू अझै ज्युँकात्युँ हुनुले देशमा भएका राजनीतिक परिवर्तनले मात्रै दलितहरूको विषय सम्बोधन गर्न सक्दैन भन्ने कुरा मान्नुपर्ने उनको तर्क छ । जबसम्म पुरानो मानसिकता बोकेका, संस्कार बोकेको समाज र वर्गको राज कायम रहन्छ त्यसले नयाँ पुस्तालाई पनि अघि बढ्न दिँदैन । उनको निष्कर्ष छ– मान्छेले पढेर मात्रै, शिक्षित समाजको निर्माण गरेर मात्रै समाज परिर्वतन हुँदैन । जबसम्म दिमाग परिवर्तित हुँदैन, मानिसको सोच परिवर्तित हुँदैन जतिसुकै शिक्षा प्राप्त गरे पनि दलितहरू उत्पीडित नै रहनेछन् । 

मिठाईदेवीको संलग्नता दलित आन्दोलनमा मात्रै सीमित थिएन । उनी नेपाली महिलाहरू पिछडिएकोमा पनि चिन्तित थिइन् । समाज पुरुषप्रधान थियो । महिलाहरू गृहिणीमा सीमित राख्न अनेक सामाजिक बन्धनहरू बुनिएका थिए । मिठाईदेवी अपवाद थिइन् । उनी महिला पनि पुरुष समान हुन् भन्नेमा विश्वास गर्थिन् । त्यसैले युवा उमेरमै उनले ‘नेपाल परिगणित नारीसंघ’को स्थापना गरेकी थिइन्, ०१२ सालमा ।

महिला जागरणको नारासहित ६ दशकअघि खुलेको संस्था अहिले अस्तित्वमा छैन । तर, उनी भन्छिन्, ‘यस्ता संस्थाको औचित्य सकिएको छैन । किनभने नेपाली महिलाहरूको अवस्थामा अझै सुधार आएको छैन । हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै संकीर्ण छ । सामाजिक बन्धन, आर्थिक असमानता र राजनीतिक चेतनाको कमीलाई नयाँ बनेको संविधानले पनि सम्बोधन गर्न सकेको छैन । त्यसैले महिला जागरणका लागि अझै धेरै गर्न बाँकी छ ।’ समग्र नेपाली महिला उत्पीडनमा रहे पनि नेपाली दलित महिलामाथिको विभेद र शोषण अवर्णनीय रहेको उनी बताउँछिन् ।

धार्मिक, सांस्कृतिक, सामाजिक कुरीतिहरूको बन्धनको जालोले दलित महिलाहरू अझै पनि उपेक्षा र अवहेलना भोग्न बाध्य पार्ने समाज २१औँ शताब्दी सुहाउँदो समाज होइन भन्छिन् उनी । बाल्यकालमा विभिन्न जात्रापर्वमा गुर्जुको पल्टनले भरुवा बन्दुक पड्काउँदा तर्सिएर लुकिबस्थिन् मिठाईदेवी । बन्दुकको त्यो ढ्वाङ्ग आवाजसँग डराउने केटी जुझारु महिलामा रूपान्तरित हुनुको कथा लामो छ । उनले लेख्दै गरेको जीवनकथाले अझै धेरै भोगाइहरू उजागर गर्ला ।