• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
श्रवण उप्रेती
२०७६ असोज २५ शनिबार १०:४५:००
अनुवाद

नोबेल विजेता ओल्गाको आकांक्षा : ‘मेरा किताब पहिल्यै अंग्रेजीमा छापिएको भए’

२०७६ असोज २५ शनिबार १०:४५:००
श्रवण उप्रेती

स्विडिस एकेडेमीले बिहीबार पोलिस साहित्कार ओल्गा टोकारजुक र अस्ट्रियन साहित्कार पिटर ह्यान्डकेलाई साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा ग¥यो । टोकारजुकलाई सन् २०१८ का लागि र ह्यान्डकेलाई सन् २०१९ का लागि पुरस्कार दिइएको नोबेलको घोषणामा उल्लेख छ । 

अघिल्लो वर्ष सन् २०१८ मा नोबेल पुरस्कारअन्तर्गतका बाँकी विधामा पुरस्कार प्रदान गरिएको भए पनि साहित्यतर्फको पुरस्कार दिइएको थिएन । साहित्यतर्फको नोबेल पुरस्कार वितरण गर्ने स्विडिस एकेडेमी यौन हिंसासम्बन्धी विवादमा फसेपछि पुरस्कार वितरण स्थगन गरिएको थियो । अत्यन्त प्रतिष्ठित मानिने नोबेल पुरस्कारप्रतिको विश्वासमा असर पर्न नदिन भन्दै पुरस्कार रद्द गरिएको थियो । 

ओल्गा टोकारजुक
सन् २०१८ का लागि साहित्यतर्फको नोबेल पुरस्कारको विजेता ओल्गा टोकारजुकलाई पुरस्कार दिइनुको कारणमा स्विडिस एकेडेमीले लेखेको छ : ‘ओल्गालाई उनको वर्णनात्मक कल्पनाका लागि पुरस्कार दिइएको छ । हरेक विषयप्रतिको उत्कण्ठा झल्कने त्यस कल्पनाले साँधकिल्लाको बेवास्तालाई प्रतिबिम्बित गर्छ ।’

ओल्गा नोबेल साहित्य पुरस्कारको १२० वर्षे इतिहासकी १५औँ महिला विजेता हुन् । सन् १९६२ मा पोल्यान्डमा जन्मिएकी ओल्गा टोकारजुकका आमाबाबु दुवै शिक्षक थिए । उनका पिता शिक्षकका अतिरिक्त स्कुलको पुस्तकालयका कर्मचारी पनि थिए । बाल्यकालमा ओल्गाले पितामार्फत पाएको पुस्तकालयको पहुँचलाई भरपुर उपभोग गरिन् । उनी लाइब्रेरीमा पहुँच पाएको हरेक पुस्तक पढ्ने गर्थिन् । त्यहीक्रममा उनमा साहित्यक भोक विकास भयो । 

विश्वविद्यालयमा मनोविज्ञानको पढाइ पूरा गरेपछि उनी साहित्यिक फाँटमा पूर्णरूपमा समर्पित भइन् । सन् १९९३ मा उनको पहिलो उपन्यास सार्वजनिक भयो । ‘जर्नी अफ द बुक–पिपल’ नामक उपन्यासले १७औँ शताब्दीकालीन फ्रान्स र स्पेनको कथा भन्छ, जसका पात्र एक रहस्यमयी पुस्तकको खोजीमा हुन्छन् । उनको पुस्तकले ‘उत्कृष्ट पहिलो पुस्तक’ विधामा त्यस वर्ष पोलिस प्रकाशकले दिने पुरस्कार पायो । 

पहिलो पुस्तकबाटै चिनिएकी भए पनि उनको तेस्रो उपन्यास ‘प्राइमिभल एन्ड अदर टाइम्स’ले उनलाई चर्चाको शिखरमा पु¥यायो । एउटा परिवारको पुस्ता–दरपुस्ताको कथा समेटिएको यो उपन्यासमा अत्यन्त वास्तविक र स्पष्ट चित्रण पाइन्छ । सन् १९१४ बाट एक मिथकीय लोकेसनमा सुरु हुने उपन्यासको कथाले खासमा २०औँ शताब्दीको पोलिस इतिहासलाई समेट्न खोजेको लेखेकको भनाइ छ । त्यस उपन्यासलाई सन् १९८९ पछिको नयाँ पोलिस साहित्यको उत्कृष्ट दृष्टान्त मानिन्छ । 

टोकारजुकको अर्को असाधारण उपन्यास ‘हाउस अफ डे, हाउस अफ नाइट’मा सुन्दर र मर्मस्पर्शी कल्पनाको समिश्रणगरिएको समीक्षकको भनाइ छ । यस उपन्यासमा उनले प्रतिद्वन्द्वी संस्कृति, व्यक्तिगत नियति र मानिसका दृष्टिकोणजस्ता विषयलाई समेटेकी छिन् । 


ओल्गाका कृतिको अध्ययन गर्दा उनी नक्सा र माथिबाट देखिने दृश्यबाट प्रभावित देखिन्छिन् । उनका कृतिमा वृहत्तर क्षेत्रलाई समेटिन्छ । उनका किताबमा वर्णनको सामथ्र्यले प्रत्येक साना पात्रलाई पनि बेवास्ता गरिएका हुँदैनन् । उनको कन्टेन्टको अर्को विशेषता मिथक र यथार्थको अत्यन्त मार्मिक समिश्रण हो । ओल्गा आफैँ पनि यथार्थलाई स्थायी र सर्वकालीन मान्दिनन् ।

उनी आफ्ना उपन्यासलाई सांस्कृतिक प्रतिकूलताबीचको तनावमा विकास गर्छिन् । यसमा प्रकृति, संस्कृति, विवेक, पागलपन, महिला, पुरुष, घर, आप्रवासनका कथा हुन्छन् । दुई विपरीत ध्रुवलाई शक्तिशाली कथ्यले बाँधेर प्रस्तुत गरिँदा ती निकै शक्तिशाली हुन्छन् । हालसम्मका ओल्गाका कृतिमध्ये सबैभन्दा उत्कृष्ट असाधारण ऐतिहासिक उपन्यास ‘द बुक अफ ज्याकोब’लाई मानिन्छ । उनले यो कृतिका लागि पुस्तकालय र अभिलेखालयमा धेरै वर्ष ऐतिहासिक सामाग्रीको अध्ययनमा बिताएकी थिइन् । 

हजार पृष्ठको उक्त उपन्यास १८औँ शताब्दीको एक धार्मिक सम्प्रदायका नेता ज्याकोबको वरिपरि घुम्छ । यहुदी, इसाई र मुस्लिम धर्मावलम्बीलाई एकताबद्ध गर्ने लक्ष्य लिएको ज्याकोब सधैँ परम्परावादीसँग घर्षणमा रुमल्लिएको हुन्छ । तर, उसको परिचय त्यही एकल रूपमा सीमित छैन । ओल्गाले ज्याकोबलाई एक साधु, एक विद्रोही, एक धूर्त मानिस र अरूलाई आफ्नो चाहनाअनुरूप चलाउने व्यक्तिका रूपमा प्रस्तुत गरेकी छिन् । र, मुख्यतः त्यसमा युरोपको एक अंश देखिन्छ । यो कृतिमार्फत ओल्गाले उपन्यासमा मानिसको बुझाइभन्दा पनि उच्चता प्रतिबिम्बित गर्न सक्ने सामथ्र्य हुन्छ भन्ने देखाएकी छिन् । 

ड्रेडलक कपालमा देखिने ५७ वर्षीया नारीवादी लेखक ओल्गालाई आफ्ना किताब निकै ढिलो गरी अंग्रेजीमा अनुवाद भएका हुन् कि भन्ने लाग्छ । अघिल्लो वर्ष उनको किताब ‘फ्लाइट’ले अनुवादतर्फको ‘म्यान बुकर इन्टरनेसनल’ पुरस्कार प्राप्त ग-यो । यससँगै उनले अन्तर्राष्ट्रिय ख्याति कमाइन् । ‘फ्लाइट’ सन् २००७मै पोलिसमा प्रकाशित भएको थियो । तर, सन् २०१७ मा अंग्रेजीमा अनुवाद भएपछि मात्र पुस्तक अन्तर्राष्ट्रिय साहित्यिक समीक्षकको आँखामा प-यो ।

उनका अन्य कृति पनि निकै ढिलो गरी अनुवाद भएका छन् । ओल्गाले यही वर्षको सुरुमा यो आफ्ना कृतिको अनुवादबारे भनेकी थिइन्, ‘म कहिलेकाहीँ मेरा किताब पहिल्यै अंग्रेजीमा अनुवाद भएको भए मेरो जीवन कस्तो हुन्थ्यो होला भनी कल्पना गर्छु । अंग्रेजी विश्वभरि बोलिने भाषा भएकाले यो भाषामा किताब प्रकाशित हुँदा विश्वभरि नै एकैपटक प्रकाशित भएझैँ लाग्छ ।’ 

पिटर ह्यान्डके
पिटर ह्यान्डके सन् २०१९ का लागि साहित्यतर्फको नोबेल पुरस्कार विजेता बने । पुरस्कार घोषणाक्रममा पिटरबारे भनिएको छ, ‘पिटरलाई उनको प्रभावकारी कृतिका लागि यो पुरस्कार दिइएको छ । उनले आफ्नो भाषिक–पटुतामार्फत सीमान्तकृत र केन्द्रीय मानव अनुभवको अन्वेषण गरेका छन् ।’


सन् १९४२ मा अस्ट्रियाको दक्षिण भागमा रहेको ग्रिफेन गाउँमा पिटर ह्यान्डकेकी आमा स्लोभेनियन अल्पसंख्यक थिइन् । जर्मन सिपाही रहेका उनको पितालाई भने ह्यान्डकेले युवा भएपछि मात्र भेटेका थिए । उनकी आमाले उनी सानै छँदा दोस्रो विवाह गरेकी थिइन् ।

स्कुले पढाइ गाउँमै सकेपछि पिटरले विश्वविद्यालयमा कानुन विषय लिएर पढे । तर, विश्वविद्यालय अध्ययनकै क्रममा उनको पहिलो उपन्यास छापियो र त्यससँगै उनले पढाइ त्यागे । ‘डाई होर्निस्सेन’को पहिलो किताब एक प्रयोगात्मक उपन्यास हो । उपन्यासको मुख्य पात्र पाठकका लागि अन्य उपन्यासका अंश स्मरण गरिरहेका हुन्छन् ।

सोही वर्ष उनको अर्को नाटकको किताब ‘अफेन्डिङ द पब्लिक’ सार्वजनिक भयो । नाटकको अवधारणा दर्शकलाई नाटक हेर्न आएकैमा अपमान गर्नु भन्ने थियो, जसको मुख्य पात्र नाटक अवधिभरि नाटकका दर्शकतर्फ फर्किएर गाली गर्छ । यी दुई किताबमार्फत पिटर साहित्यिक दृश्यमा प्रस्टसँग देखिए । 

त्यसपछिका पाँच दशकभन्दा लामो समय उनले उपन्यास, निबन्ध, नोटबुक, नाटक, पटकथाजस्ता विविध विधामा ठूलो संख्यामा किताब लेखिसकेका छन् । हाल पिटर युरोपमा दोस्रो विश्वयुद्धपछिका सबैभन्दा प्रभावशाली लेखकका रूपमा मानिन्छन् । तर, उनी उनले गर्ने राजनीतिक टिप्पणीका कारण विवादमा पर्ने गरेका छन् । 

उनले कयैनपटक स्लोवोदान मिलोसेभिचको शासनको पक्षमा प्रतिक्रिया दिएका छन् । स्लोभेनियाली आमासँगै हुर्किएका ह्यान्डकेमा उक्त विरासतमा अत्यधिक मोह देखिन्छ । उनी सार्वजनिक रूपमै बाल्कन युद्धमा साराजेभो मुसलमानमाथि नरसंहार नभएको बरु ती आफैँले नरसंहार गरेर आरोप सर्बमाथि लगाएको भन्ने गर्छन् । उनी सन् २००६ मा मुसलमान नरसंहारको नेतृत्वकर्ता भनेर चिनिने मिलोसेभिचको दाहसंस्कारमा सामेल पनि भए । 

यो नस्लीय विचारका कारण सन् १९९९ मा सलमान रुस्दीले उनलाई गार्जियन पत्रिकाले वार्षिक रूपमा गर्ने घोषणा गर्ने ‘वर्षका अन्तर्राष्ट्रिय मूर्ख’मा मनोनयन गरेका थिए । कैयन साहित्यकारले नोबेल साहित्य पुरस्कारमा उनको चयनलाई ‘चिन्ताजनक’ भनेका छन् ।  पिटर सन् १९९० देखि अस्ट्रिया छाडेर पेरिसको दक्षिण–पश्चिम कम्युन चभिलमा बसोवास गर्छन् ।

आफ्नो कर्मक्षेत्र जर्मन साहित्य ‘व्याख्यात्मक बाँझोपन’बाट गुज्रिरहेको बताउने पिटर आफ्ना कृतिहरू फ्रेन्स साहित्यिक अभियान ‘न्यु नोभेल मुभमेन्ट’बाट प्रभावित भएको बताउँछन् । अत्यन्त ठूलो संख्यामा किताब लेखेका उनका टेक्स्टमा खोजको बलियो रुचि र तिनलाई नयाँ साहित्यिक अभिव्यक्ति प्रदान गरेर जीवन्त बनाउने चाहना पाइन्छ । 

नोबेल विवाद
४ मई २०१८ मा नोबेल पुरस्कारको सम्पूर्ण व्यवस्थापन हेर्ने नोबेल फाउन्डेसनले साहित्य विधामा पुरस्कार प्रदान गर्ने स्विडिस एकाडेमीमा देखिएको विवादका कारण पुरस्कार वितरण रद्द गरिएको घोषणा गरेको थियो । महिलामाथि हुने यौन हिंसाविरोधी विश्वव्यापी अभियान ‘मिटु’ चलिरहेको समयमा १८ जना महिलाले फ्रेन्स फोटोग्राफर जँ–क्लाउड आरनोल्टले आफूहरूलाई यौन हिंसा गरेको आरोप लगाए, जसमध्ये एकजनामाथि आरनोल्टले बलात्कार गरेको ठहर अदालतले ग-यो ।

७२ वर्षीया आरनोल्ट नोबेल साहित्य पुरस्कारको विजेता छनोट गर्ने समितिकी एक सदस्य कटरिना फ्रोस्टेनसनकी श्रीमान् हुन् । नोबेल साहित्य पुरस्कारका विजेताको नाम घोषणाअघि नै बाहिरिरहेको विषयले पहिले समितिमा विवाद निम्तिएको थियो । यौन हिंसासँगै आरनोल्टले आफ्नी श्रीमतीबाटै थाहा पाएर विजेताको नाम पहिले नै सार्वजनिक गर्ने गरेको आरोप पनि लाग्यो । आरनोल्ट र फ्रोस्टेनसनले सञ्चालन गर्ने एक सांस्कृतिक क्लबले स्विडिस एकेडेमीबाट रकम पाइरहेको कुराले विवादमा आगोमा घ्यु थप्ने काम ग-यो । 

आरनोल्टले आफूमाथि लागेका सम्पूर्ण आरोपको खण्डन गरे । तर, विवाद त्यतिमा थामिएन । विवादबीच नोबेल साहित्य पुरस्कार चयन गर्ने १८ जनाको समूहका धेरैले आफू जिम्मेबारीबाट अलग भएको घोषणा गरे । राजीनामा दिने लहरमा एकेडेमीकी प्रमुख सारा डेनियमसमेत थपिइन् । साराको राजीनामापछि पुरस्कार घोषणा हुनेमा गम्भीर आशंका उब्जियो । सारा सन् १७८६ मा स्थापना भएको एकेडेमीको इतिहासकी प्रथम महिला प्रमुख थिइन् । 

विवादको केन्द्रमा रहेकी लेखक तथा कवि कटरिना फ्रोस्टेन्सनले पनि अन्ततः राजीनामा दिइन् । त्यसपछि मे ४ मा नोबेल फाउन्डेसनको बोर्ड अध्यक्ष कार्ल–हेनरिक हेल्डिनको नाममा एक वक्तव्य जारी भयो । वक्तव्यमा लेखिएको थियो, ‘स्विडिस एकेडेमीले सन् २०१८ को साहित्य विधामा दिइने नोबेल पुरस्कारलाई पछि सार्ने निर्णय गरेको छ ।

हामीले यो पुरस्कार सन् २०१९ मा प्रदान गर्ने सोच बनाएका छौँ । स्विडिस एकेडेमीमा देखिएको संकटले समग्र नोबेल पुरस्कारमा गम्भीर प्रभाव पारेको छ । अहिले लिइएको निर्णयले अवस्थाको गम्भीरतालाई इंगित गर्छ र यसले नोबेल पुरस्कारको दीर्घकालीन प्रतिष्ठालाई कायम राख्न सहयोग गर्नेछ । स्विडिस एकेडेमीले पुरस्कार प्रदान गर्ने आफ्नो विश्वसनीयता पुनरस्र्थापित गर्छ भन्ने नोबेल फाउन्डेसनले विश्वास लिएको छ ।’

– श्रवण उप्रेती (एजेन्सीको सहयोगमा)