• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ कार्तिक २ शनिबार ०८:११:००
समाज

मुखियासँग डर लाग्छ

२०७६ कार्तिक २ शनिबार ०८:११:००
नयाँ पत्रिका

राउटे समुदायकी गाजली शाहीलाई आफ्नो नामसम्म लेख्न आउँछ । एउटा संस्थाले उनलाई अक्षर चिन्न सक्ने बनाएको हो । जंगलमा घुमन्ते जीवन बिताउँदै आएकी उनी भन्छिन्, ‘हामीलाई यस्तै जीवन मन पर्छ ।’ उनीसँग राउटे समुदायभित्र महिलाको स्थान र बदलिएको जीवनशैलीबारे गरिएको वार्ता :

म अहिले ठ्याक्कै २५ वर्षकी भएँ । अछाम तुर्माखाटको जंगलमा जन्मिएँ । हाम्रोमा छोराछोरी जन्मिँदा खसी काट्ने चलन छैन । म जन्मिँदा पनि त्यस्तो केही भएन रे । सानोमा मेरो आँखा गाजल लगाएकोजस्तो देखिन्थ्यो रे । त्यही भएर सबैले मलाई गाजली भन्न थाले । यसो भन्दाभन्दै मेरो नामै गाजली रह्यो । 

राउटे जंगलमा बस्ने जाति हो । हामीले कहिल्यै पढ्ने अवसर पाएनौँ । गाउँघरमा जाँदा किताबकापी बोकेर सबै पढ्न गएको देख्थेँ । मलाई पनि पढ्ने रहर लाग्थ्यो । तर, पढेर के गर्नु र खोइ ? बाहिरबाट हेर्दा हामीले धेरै दुःख पाएजस्तो देखिन्छ होला, तर हामी यसरी नै बाँच्दै आएका छौँ । हामीलाई यस्तै जीवन मन पर्छ ।

बस्ने ठाउँभन्दा बाहिर धेरै जान नपाइने भएकाले मलाई त्यति नेपाली भाषा बोल्न आउँदैन । हामीलाई बाहिरको मान्छेसँग बोल्न त्यति दिँइदैन । हाम्रो दिनचर्या एकनासको हुन्छ । बिहान पानी बोक्यो, खाना पकायो, भाडा मिस्यो, लुगा धोयो, अनि दिउँसो गाउँतिर धान तरकारी र अन्य कुरा माग्न गयो । फेरि साँझ घरमा आएर पकायो, खायो, भाडा मिस्यो, सुत्यो । मान्छेहरूले फिल्म, मोबाइल र फेसबुकको कुरा गरेको सुनेको छु । तर, चलाउन पाएकी छैन । चलाउन आउँदैन पनि ।

हाम्रोमा १२ या १३ वर्षको उमेर पुगेपछि प्रायः सबै केटीहरूको बिहे हुन्छ । पहिलोपटक बाहिर सरेपछि (रजस्वला भएपछि) बिहे गरिदिन्छन् । कसले कोसँग बिहे गर्ने भन्ने कुरा हामीलाई सानैदेखि थाहा हुन्छ । म अहिले २५ वर्षकी भएँ, तर पनि मेरो विवाह भएको छैन । अझ दुःखको कुरा, अब मेरो बिहे कहिल्यै हुँदैन पनि । बिहे नहुनुको कारण छ । 

राउटेमा तीन जाति हुन्छन् । कल्याल, सुवंशी र रास्कोटी । मेरो जाति कल्याल शाहीअन्तर्गत पर्छ । मैले आफ्नै जातिमा विवाह गर्न मिल्दैन । रास्कोटी मेरा मावली पर्दछन् । हामीले विवाह गर्ने भनेको सुवंशी जातिसँग मात्रै हो । तर, सुवंशी जातिमा केटा थोरै छन् ।

मेरो उमेरको केटाको बिहे भइसक्यो । मैले बिहे गर्न मिल्ने कोही भर्खरै जन्मिएका छन् । अब उनीहरू ठूलो भएपछि मात्रै मेरो बिहे हुन सक्छ । तर, उनीहरू ठूलो हुँदासम्म मेरो उमेर गइसकेको हुनेछ । अर्को कुरा, उनीहरूले मलाई मन पनि पराउनुप-यो । त्यसैले मेरो बिहे हुन्न होला अब । 

हाम्रो जातिमा कुनै पनि कुरा पूरा भएन भने त्यसलाई भगवान् रिसाएको भनिन्छ । सायद मसँग पनि भगवान् रिसाएको होला । त्यही भएर मेरो बिहे नभएको हो कि ? भगवान् खुसी पार्न व्रत पनि बस्ने गरेकी छु ।

मसँगैका मेरा साथीहरू रिवांग शाही, खम्बा शाही र सुना शाहीको छोराछोरी भइसके । मेरो बिहे भएको भए मेरा पनि नागिरंगे (श्रीमान्) र बच्चा हुन्थे । मेरा कतिपय साथीहरूले प्रेमविवाह गरेका छन् । हाम्रो जातिमा प्रेम भएपछि केटाले घरमा बाबुआमालाई भन्छन् । अनि उनीहरूले केटीका बाबुआमालाई भनेपछि सबैको सहमतिमा बिहे हुन्छ । विवाहमा दुलहीलाई चोली, फरिया र गादोका साथै फलाम र पित्तलका गहनाले सिँगारिन्छ । बेहुलीलाई चिटिक्क पारिन्छ । मैले धेरैपटक बेहुली सिँगारेकी छु । 

हाम्रो जातिमा कुनै पनि कुरा पूरा भएन भने त्यसलाई भगवान् रिसाएको भनिन्छ । सायद मसँग पनि भगवान् रिसाएको होला । त्यही भएर मेरो बिहे नभएको हो कि ? भगवान् खुसी पार्न व्रत पनि बस्ने गरेकी छु । साकोस भन्ने संस्थाले मलाई आफ्नो नामसम्म लेख्न सक्ने बनायो । तर, हाम्रो समुदायमा पढाइको खासै महŒव छैन । पढेपछि हामी बिग्रिन्छौँ भन्ने डर हाम्रा अगुवामा रहेको छ । अहिले हामी गुराँसे गाउँपालिका ५ कान्छीबजारको जंगलमा बसिरहेका छौँ । पहिले हामी जंगलको बीचमा बस्थ्यौँ । अहिले गाउँघरको नजिक बस्छौं । हामी बिस्तारै जंगली जनावर मार्ने, कन्दमूल खानेबाट खसीबोकाको मासु खाने, भात खाने भएका छौँ । मलाई त चाउचाउ धेरै मन पर्छ । 

मुखियासँग म निकै डराउँछु । अरू पनि उनीसँग डराउँछन् । मुखियाले नगर्न भनेको काम कसैले पनि गर्दैनन् । यो देशको सबैभन्दा ठूलो मान्छे को हो ? मलाई केही पनि थाहा छैन । सायद केही थाहा नपाएरै होला, हामी खुसी छौँ । हामीले पुर्खाहरूले गर्दै आएको काम अहिलेसम्म त्यागेका छैनौँ । हाम्रो आफ्नै पहिचान छ । यसलाई छाड्नु हुन्न जस्तो लाग्छ । तर, पछिल्लो समय सहरको रमझमले हामीलाई पनि तानेको छ । 

(शाहीसँग वसन्त आचार्यले गरेको कुराकानी)