• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शोभारञ्जन गन्धर्व
२०७६ कार्तिक २ शनिबार ०८:१९:००
समाज

खोसिँदै सारंगी

२०७६ कार्तिक २ शनिबार ०८:१९:००
शोभारञ्जन गन्धर्व

पाल्पाकी शोभारञ्जन गन्धर्व शिक्षण पेसामा छिन् । गन्धर्वबाट सारंगी खोसिँदै गएको देख्दा उनलाई दुःख लाग्छ । आफ्नो जातिको मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने उनको योजना छ । उनले सारंगी र गन्धर्वको फेरिएको सम्बन्धबारे अनुभव साटेकी छिन् :

कान्छो गाइनेका नातिनी हौ तिमीहरू ?’ ‘पहिले–पहिले तिमीहरूका हजुरबुबा सारंगी बजाउँदै माग्न आउथे यहाँ ।’ सानोमा गाउँमा देउसीभैलो खेल्न जाँदा गाउँलेले हामीलाई गर्ने गरेका प्रश्न हुन् यी ।  हजुरबुवाको नाम हुमबहादुर गन्धर्व । आमाबुबाको कान्छो सन्तान । नाम त थियो नि हजुरबुबाको । तर, समाजले उहाँलाई दिएको पहिचान थियो, कान्छो गाइने ।

हामीलाई गाइने रे । अझ कतिपय ठाउँमा त सारंगी बजाएर गीत गाएर खाने भनिँदैन, केवल भनिन्छ, ‘मागेर खाने जात ।’ के हामी साँच्चै मागेर खाने जात हौँ त ? के हामीले गाउनु, बजाउनु कला र सीप प्रयोग गरेको होइन ? गाउनु–बजाउनुमा हाम्रो मिहिनेत होइन ? हाम्रा कला, सीप र मिहिनेतको कुनै मूल्य हुँदैन ? मेरा हजुरबुबाले नौ वर्षकै उमेरमा आफ्ना आमाबुबा गुमाउनुभएछ । उहाँले आफू बाँच्न मागेर होइन, कला र कला प्रदर्शन गरेर जीविका चलाउनुभयो । तर, किन यो समाजले उहाँलाई माग्ने भन्यो ? समाजलाई यो मेरो प्रश्न छ । 

मलाई लाग्छ, माग्नु भनेको केही नदिनु हो, लिनु मात्रै हो । यत्तिकै हात फैल्याउनु हो । तर, हजुरबुबाले केही दिनुभएको छ । केही दिएबापत केही लिनु भएको छ । अनि कसरी भयो मागेको ?  हजुरबुबा घाम, पानी, भोक, प्यास केही नभनी आफू र आफ्नो परिवार पाल्न आफ्नो कलाको सदुपयोग गर्नुभयो । उहाँसँग बस्ने वास थिएन, भनेका वेलामा खाने गाँस थिएन । कहिले कहाँ त, कहिले कहाँ बस्नुभयो । उहाँको पालामा गाडीको सुविधा थिएन । हिँडेरै कहिले पाल्पा, कहिले रुपन्देही, कहिले गुल्मी त कहिले अर्घाखाँची पुग्नुहुन्थ्यो । जहाँ–जहाँ पुग्नुभयो सारंगी बजाउँदै गाउँ–गाउँका कथा सुनाउनुभयो । 

घुम्दै हिँड्दा उहाँले पाल्पामा नै आफ्नो वासस्थान बनाउनुभयो । त्यहीँबाट सारंगी र ६ वर्षीय छोरालाई लिएर फेरि गाउँ–गाउँ घुम्नुभयो । त्यो जमानामा रेडियो, टेलिभिजन, फोन केही पनि थिएन । त्यसवेला गन्धर्व जातिको सारंगी नै सूचना आदान–प्रदान गर्ने एउटा माध्यम थियो ।  हजुरबुबाले पनि विभिन्न घटनामाथि गीत बनाउनुहुन्थ्यो । सारंगीको मीठो धुनसँगै सबै घटनाको वृत्तान्त सुनाउनुभयो । मेरो बुबाले भन्नुभएअनुसार उहाँका गीत सुनेर कतिपय मानिस त रुन्थे पनि । यस्ता गीत सुन्दा कोही भावुक हुन्थे, कोही उत्साहित हुन्थे, कोही आनन्दित हुन्थे । 

मानिसलाई रुवाउने, हँसाउने काम पक्कै सजिलो थिएन । आज सम्झिन्छु, मनोरञ्जन दिई मानिसको सेवा गर्ने कामलाई माग्ने किन भनियो ? बुबा भन्नुहुन्थ्यो, ‘ठुल्ठूला भनिएका जातिका घरमा गाउन बजाउन जाँदा गाह्रो हुन्थ्यो । पुस–माघको जाडोमा एक सर्को कपडाको भरमा बाहिरै सुत्नुपथ्र्यो । त्यति मात्र कहाँ हो र, खाएको भाँडा आफैँले माझ्नुपथ्र्यो । माझेको भाँडा ठूला जातले सुनपानी छर्केर मात्र लान्थे ।’

संगीतको काम गर्नेलाई ‘मागेर खाने जात’ भनेकाले होला, अब त मेरा जातले सारंगी बजाउन पनि छाडिसके । नेपालमा गन्धर्वको जनसंख्या आठ हजार छ । गन्धर्वको मुख्य पेसा सारंगी बजाउनु हो । तर, अहिले गन्धर्व जातिको सारंगी बजाउँदै गीत गाउने पेसा अपहरण भएको छ । अचेल देख्छु, मेरो जातले होइन, अरू जातिका मानिसले सारंगी बजाइरहेका छन् । सारंगी बजाएरै कमाइरहेका छन् नाम र दाम । 

मेरो हजुरबुबा र बुबाले बजाउने सारंगी अहिले कुनामा थन्किएको छ । माकुराले जाल बुनेको छ, हजुरबुवाको पुरानो सारंगीमा । त्यो पुरानो सारंगी बजाउने कोही छैन । मेरो पुस्ताले सारंगी बजाए अपमान मात्रै पाइन्छ । अपमान मात्रै पाउन किन बजाउने सारंगी ?  म मनमनै सोच्छु, ‘मेरा दाजुभाइलाई त्यो सारंगी छुन किन फिटिक्कै मन नलागेको होला ?’ प्रश्नसँगै उत्तर खोज्ने प्रयास पनि गर्छु ।

सायद सारंगी भिरेर, गीत गाउँदै हिँड्दा समाजले हेर्ने गलत नजरका कारण दाजुभाइले सारंगी नछोएको हुन सक्छ । जब सारंगी बोकेर मेरा आफन्त हिँड्छन्, त्यसवेला गाउँलेले भनेको सुनेको छु, ‘आयो गाइने सारंगी भिरेर ।’ यी र यस्तै वचनले होला मेरो जातका मानिसले यो पेसालाई निरन्तरता दिन छाडेका छन् । 

तर, म सोचिरहन्छु, यही सारंगी कुनै उच्च जात भनिएकाले मञ्चमा बजाउँदा उसको हाइहाइ हुन्छ । सारंगी बजाउने व्यक्ति रातारात सेलिब्रेटी बन्छ । सबैले भन्छन्, कति राम्रो बजाएको, कति ट्यालेन्ट । उसैको प्रशंसा हुन्छ । तर, सारंगी बजाउने खास जातिचाहिँ समाजमा अपमानित भएर बस्नु परेको छ । त्यही सारंगी बजाउँदा ‘माग्ने’ ठानिन्छ । एउटै वस्तु एउटा जातले बजाउँदा मान–सम्मान, अर्काे जातले बजाउँदा अपमान । कहिलेसम्म चल्ने हो यो जातीय विभेद ? 

गन्धर्वको कला छ, गलाको कदर फिटिक्कै भएको छैन । काठमाडौंको ठमेल होस् वा पोखराको व्यस्त बजार, बुटवलको बसपार्क होस् वा घर, सडक वा मञ्च जहाँसुकै सारंगी बजाइरहेका हुन्छन् गन्धर्व । तर, कतै पनि सम्मान छैन । त्यहीवेला गैरगन्धर्वचाहिँ सारंगी बजाउँदै देश–विदेश घुमिरहेका हुन्छन् । गैरगन्धर्वले सारंगीसँगै सेल्फी लिइरहँदा गन्धर्व भने सडक, चोक र गल्लीमा अपमान भोगिरहेका हुन्छन् । 

गैरगन्धर्वले विभिन्न स्टेजमा सारंगीसँगै सेल्फी लिइरहँदा गन्धर्व भने सडक, चोक र गल्लीमा अपमान भोगिरहेका हुन्छन् 

गन्धर्वहरूको आर्थिक अवस्था कमजोर छ । पेट पाल्न पुग्ने जग्गा–जमिन छैन । यदि आर्थिक अवस्था राम्रै हुन्थ्यो भने कला र गलाका धनी गन्धर्व सारंगी बजाउँदै, गीत रेकर्डिङ गर्दै कति धनी बन्थे होलान् । अझै पनि म नयाँ–नयाँ मानिससँग चिनजान गर्ने क्रममा नामपछि रञ्जन भन्छु । धेरैले बुझ्दैनन् र गन्धर्व भन्छु । अनि उनीहरू भन्छन्, ‘ए सारंगी बजाउने !’ 

सारंगीसँग जोडिएको छ मेरो पहिचान । अफसोच, आजभोलि मेरो जातले बनाउँदैन सारंगी । धेरै लोप हुँदै छ हाम्रो पेसा । त्यसैले त सोच्ने गर्छु, यदि मेरो हजुरबुबाले अपमान नभोगेको भए लोप हुँदैनथ्यो सारंगी । उहाँले सारंगी बजाउँदा अपमानको ठाउँमा सम्मान र माम पाउनु भएको भए सायद जिउँदो हुन्थ्यो सारंगीको धुन । उहाँहरूजस्ता थुप्रैले सारंगी बजाउन छाड्नुहुन्नथ्यो । बजाउनु र गीत गाउनुलाई ‘माग्ने’ शब्दले गाली गरेपछि हाम्रो पेसा लोप हुँदै छ । सारंगीसँगै नेपालको महत्वपूर्ण सम्पति लोभ हुँदै छ । 

कसले सुन्न सक्छ र आफ्नो अपमान ? हाम्रो सारंगीले सम्मान पाएको भए आज सारंगी लोप हुने थिएन । भावी पुस्तामा पुस्तान्तरण हुने थियो । बाँच्ने थियो एउटा महत्व्पूर्ण बाजा । अब त, यहाँ त उल्टो पो भइरहेको छ । समाजको गलत बुझाइले भावी पिँढीलाई सारंगी देख्दैमा लाज लाग्नुपर्ने बनाइदिएको छ । कत्रो बिडम्बना, समाजको अपमानका कारण सारंगीलाई हातमा लिन पनि डराइरहेको छ मेरो पुस्ता । 

सारंगी जोगाउनुपर्छ । यो अपमान बन्द हुनुपर्छ । मेरो पुख्र्याैली पेसाले आत्मसम्मान पाओस् । मेरो पेसा लोप नहोस् । जसरी मेरो हजुरबुबा अपमान सहेर सारंगी बजाउँदा–बजाउँदै संसारबाट बिदा हुनुभयो, त्यसैगरी सारंगी पनि बिदा नहोस् ।