• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
वसन्त आचार्य
२०७६ कार्तिक २ शनिबार ०८:४०:००
समाज

म मिस्त्री

२०७६ कार्तिक २ शनिबार ०८:४०:००
वसन्त आचार्य

घर–मिस्त्री हुन्, पवित्रा वादी । उनी ठेक्का लिएर घर बनाउँछिन् । उनी मादल पनि बनाउँछिन् र बेच्छिन् । उनले छुवाछुतका अनगिन्ती घटना भोगेकी छिन् । वादी महिलाको संघर्ष र बदलिएको जीवनबारे उनले आफ्नो अनुभव साटेकी छिन् :

दाङ, तुलसीपुर बजारको पुछारमा थियो प्राथमिक विद्यालय सेन्टर । मैले अक्षरको आकार चिन्न त्यहीँ सुरु गरेकी हुँ । कक्षामा वादी जाति भनेपछि सबैले घृणाको दृष्टिले हेर्थे । कक्षामा म हेर्दा, बोल्दा अरूजस्तै थिएँ, तर मलाई सबैले गर्ने व्यवहार भने आकाश–जमिनकै फरक थियो । वादी जातिमा छोरी मान्छेले पढ्ने भन्ने नै हुँदैनथ्यो । औँलामा गन्न सकिनेमा म पनि पर्थें । 

रेडियोमा सुनेकी थिएँ, ‘पढेपछि मान्छे ठूलो हुन्छ ।’ मलाई पनि त्यही ठूलो मान्छे हुने रहर थियो । दिदीहरू शान्ती, बिना, पैन्टुली कसैले पनि अक्षर चिनेका थिएनन् । तर, मैले भने घरमा पढ्नका लागि ढिप्पी गरेँ । पढेर हाम्रो जातिको इज्जत माथि उठाउने मेरो सपना थियो । सरकारी स्कुलमा पैसा खर्च नहुने भएकाले पनि मलाई घरबाट रोकावट भएन । 

तर, कक्षा ४ मा पुगेपछि भने पढाइप्रतिको मेरो लगावमा शिथिलता आयो । त्यसको कारण कक्षामा मसँग बस्ने र बोल्ने साथी नहुनाले पनि हो । मसँगै पढ्ने मेरा जातिका अरूले पढाइप्रति खासै रुचि देखाएनन् । अन्य जातिका विद्यार्थीलाई घरबाट बाबुआमाहरूले मसँग नबस्न र नबोल्न सतर्क बनाएर पठाउँदा रहेछन् । मलाई कुनै पनि बेन्चमा बस्न दिइएन ।

कक्षामा सबैका लागि ठाउँ थियो, सबै अटाएका थिए । तर, मेरा लागि बस्ने ठाउँ थिएन । एकाधपटक मैले प्रतिरोध पनि गरेँ, तर कसैले सुनेनन् । सरले पनि सबैभन्दा अन्तिममा भुइँमा बस्न भने । सबै अटाउने बेन्चमा म अटाउन सकिनँ । मन साह्रै रोयो । मसँग किताब बोक्ने झोला पनि थिएन । शिक्षकबाटै विभेद भोगेपछि सबै किताब स्कुलछेउको चौरमा फालिदिएँ । अनि कहिल्यै विद्यालय नजाने प्रण गरेँ । जान पनि गइनँ । ठूलो मान्छे बन्ने सपना तुहियो । 

विद्यालय नगएर एउटा तिरस्कार र अपमान मात्रै सकिएको थियो । समाजको तिरस्कार त सकिएकै थिएन । बाटोमा हिँड्दा होस् या बजार जाँदा होस्, सबैले फरक आँखाले हेर्थे । जहाँ गए पनि सबै हामीबाट टाढा हुन खोज्थे । हामीसँग बोल्दा मात्र पनि उनीहरूले गलत काम गरेको समाजले व्याख्या गथ्र्यो । दलितभित्र पनि दलित थियौँ हामी । 

बाल्यकालमै आमाको हातबाट छुटेँ । आमा छुटेपछि सबै कुरा छुट्दो रहेछ । बाका हात र खुट्टा चौबिसै घन्टा लर्बराउँथे । दिदीहरूको आफ्नै जिन्दगी थियो । 
मलाई एउटा एनजिओले सिलाइकटाइसम्बन्धी तालिम दियो । निःशुल्क कपडा सिलाउने तालिम लिएँ । तर, त्यसलाई प्रयोग पो कसरी गर्नु ? मेसिन किन्ने पैसा पनि थिएन । जेनतेन मेसिनको जुगाड पनि गरेँ । तर, महिलाले सिलाएको लुगा लगाउने त्यतिवेला खासै प्रचलन नै थिएन । अझ त्यसमा म वादी समुदायको महिला थिएँ । महिला भएकै कारण मेरो सीप काम नलाग्ने भयो ।

सिलाइबुनाइको काम पनि नपाएपछि म बेरोजगार र बेसहारा भएँ । अब कहाँ जाने ? मलाई बाटो देखाउने पनि कोही थिएन । मैले के गर्दा राम्रो हुन्छ ? म आफैँलाई थाहा थिएन । भर्खरै १४ मा पाइला टेकेकी मलाई मेरो घरमा आउने हरेक पुरुषले नकारात्मक दृष्टिले हेर्थे । तर, दिदीहरूले मलाई बचाउनुभयो । मलाई घरमा बसिरहन मन लागेन । 

यसैबीचमा गाउँकै एकजना दाइले काठमाडौंमा इँटा बोक्न मान्छे लैजान लागेको खबर सुनेँ । घरमै त्यसै बस्नुभन्दा मलाई पनि इँटा बोक्न जान मन लाग्यो । उनकै पछि लागेर ललितपुरको इँटाभट्टामा पुगेँ । त्यहाँ धेरै दुःख थियो । दिनभरि इँटा बोक्नुपथ्र्यो । सुरुमा केही गाह्रो भए पनि पछि बानी प-यो । मेरो खास थर भनेपछि तिरस्कृत हुनुपर्छ भनेर मैले त्यहाँ थर बदलेर थापा बनाएँ । मैले मेरो न्वारानको नाममा आफैँ थर थपेर पवित्रा थापा बनाएँ । मेरो थर बदल्नेबित्तिकै म पवित्र भइहालेँ । त्यसपछि मलाई बाँच्न सजिलो भयो । वादी जाति भन्नेबित्तिकै त्यतिवेला यौन व्यवसायीका रूपमा मात्रै हेर्ने गरिन्थ्यो । त्यसैले मैले आफूलाई जोगाउन जात बदलेँ । 

जीवनमा मलाई कहिल्यै पनि एउटै कुरामा अल्झिरहन मन लागेन । जीवनमा कुनै न कुनै परिवर्तन हुनैपर्छ भन्ने मेरो सांच हो । गाउँले दाजुको साथ लागेर इँटाभट्टामा काम गर्ने म पछि गाउँभरिका मान्छे बटुलेर भट्टामा लैजाने भइसकेकी थिएँ । इँटाभट्टाको लेबरबाट म मुन्सी भएर मान्छे लैजाने गर्थें । थापा नानी भनेर मलाई सबैले प्रशंसा गर्थे । 

मेरो खास थर भनेपछि तिरस्कृत हुनुपर्छ भनेर मैले त्यहाँ थर बदलेर थापा बनाएँ । मैले मेरो न्वारानको नाममा आफैँ थर थपेर पवित्रा थापा बनाएँ । मेरो थर बदल्नेबित्तिकै म पवित्र भइहालेँ । त्यसपछि मलाई बाँच्न सजिलो भयो ।

१८ वर्षको उमेरमा मेरो जीवनले कोल्टे फे-यो । गाउँकै दीपक वादीसँग मेरो विवाह भयो । बाले रोजेका थिए । छोरीका लागि राम्रो मान्छे खोजेका होलान् जस्तो लागेको थियो । विवाह भएपछि जीवनमा केही आधार मिल्ला भनेको त्यो पनि भएन । विवाहलगत्तै बच्चा भयो । अनि बच्चा र मलाई छाडेर श्रीमान् अर्की केटी बोकेर इन्डिया पसे । विवाहको दुई वर्ष साथ दिएर गएका उनी अहिलेसम्म फर्केका छैनन् । विवाहपछि अब छोरा पनि थपियो । श्रीमान्ले छाडेर गएपछि सबैले मलाई अन्य वादी महिलाले जस्तै काम गर्न सुझाब दिएँ । तर, मैले त्यो काम गर्न इन्कार गरिरहेँ । बाँच्ने आधार केही नभएपछि फेरि काखमा छोरा बोकेर इँटाभट्टा पुगेँ । 

बच्चा बोकेर फेरि काठमाडाैं  पसेँ । पहिलाभन्दा केही कष्टकर दिनहरू बिते । अब त छोरा पनि स्कुल जाने वेला भइसकेको थियो । बच्चा बिरामी हुँदा काम गर्न सकिँदैनथ्यो । काठमाडौंमै छोरा पढाउन सम्भव थिएन । काठमाडौंमा बाँच्न गाह्रो भएपछि फेरि दाङ फर्किएँ । दाङ पुगेर घर बनाउने ठाउँमा लेबरको काम गरेँ ।

 वादी जाति भएकै कारण मलाई मानिसले गलत नजरले हेर्थे । अझ श्रीमान्ले छाडेकी मान्छे भनेपछि मानिसको हेर्ने आँखा नै फरक थियो । कतिपय मानिस राति ढोका ढकढक्याउन पनि आए । मैले सबै प्रतिवाद गरिरहेँ । त्यतिवेला केही पुरुषहरूले सहयोग गर्न नखोजेका पनि होइनन् । तर, अधिकांश पुरुषको स्वार्थ अलग थियो । अश्लील शब्दहरू प्रयोग गर्थे । सबै कुरा पचाउनुपथ्र्यो । समाजमा ठूला भनिएका जातिसँग प्रतिवाद गर्ने आत्मविश्वास हाम्रो कहाँ थियो र ? जसले जे भने पनि चुपचाप सहनुपर्छ भनेर हाम्रा ठूला मानिसहरूले सिकाएका थिए । तर, मैले जहिल्यै प्रतिवाद गरेँ । 

लेबर काम गर्दागर्दै मैले मिस्त्री काम पनि सिकेँ । मिस्त्री काम गरे पनि लोग्ने मानिसलाई जति पैसा हामीलाई दिइँदैनथ्यो । मिस्त्री काम गरेपछि साना–साना कामको ठेक्का पनि लिन थालेँ । अहिले पनि त्यो काम निरन्तर गरिरहेकी छुँ । महिला जातिमा मिस्त्री काम गर्ने निकै कम छन् । धेरैले पुरुषजति विश्वास पनि गर्दैनन् । तर, पनि खाली हात बस्नुपरेको छैन । 

वादी जातिको पहिचान मादल बनाउने पनि हो । मलाई मेरो पहिचान वादी जातिले भुल्दै गएकोप्रति दुःख लागेको छ । अहिले म मादल बनाउने काम गर्छु । यो तिहारसम्म मात्रै ५ सयजति मादल बिक्ने सोचेर अहिले मादल बनाइरहेकी छु । यसबाट राम्रो आम्दानी पनि हुन्छ । घरमै मादल लिन आउनेको भिड थामिनसक्नु छ । भनेजति पु-याउन सकेकी छैन । यसपटक कामका लागि सहयोगी पनि राखेकी छु । 

मैले आफ्नो घर आफैँले बनाएँ । ऐलानी जमिनमा बनेको यो घरबाहेक मेरो केही पनि छैन । छोरा पढाउन सकेँ, आँखा देखाउन सकेँ, यो नै मेरा लागि ठूलो उपलब्धि हो । अझ त्योभन्दा वादी जातिमा जन्मिएर पनि यौन व्यवसाय नगरेर उदाहरण बनेर देखाएँ । श्रीमानुले अर्को बिहे गरेर गए पनि मैले भने अर्को बिहे गर्ने सोच बनाइनँ । कान्छी आमासँग हुर्कंदाको पीडा मैले भोगेकी छु । ४६ वर्षकी भएँ । तर, काम गर्ने जागर अझै उस्तै छ । वादी जातिका सबै महिला देहव्यापारमा लागेका हुँदैनन् । वादी भएकै कारण देह व्यापार गर्छन् भन्ने समाजको साँघुरो सोच परिवर्तन नहुँदा दुःख लाग्छ । 

(वादीसँग वसन्त आचार्यले गरेको कुराकानी)