• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
खगेन्द्र संग्रौला
२०७६ कार्तिक २ शनिबार ०९:०४:००
यात्रा

प्रातः लमक्मा भालेपोथी जोडी

मर्निङ वाकमाला

२०७६ कार्तिक २ शनिबार ०९:०४:००
खगेन्द्र संग्रौला

एकाबिहानै फटाफट पाउ चाल्दै नित्य नापिने वाक् वृत्तमा, छोटा अन्तरालमा समय अनेक, स्थान अनेक । दृश्य अनेक, मुद्रा अनेक । जोडी अनेक, अभिनय अनेक । यी अनेकमध्ये एकएक जोडीका आ–आफ्नै कथा छन्, र छन् यिनका आ–आफ्नै व्यथा पनि । नहेरूँ भन्दाभन्दै प्रातः लमक्मा यो जोडी जगत्मा मैले देख्नु नदेख्नु देखेँ । विवाहभितरका स्थायी जोडी देखेँ, विवाहइतरका मौसमी जोडी देखेँ । कानुनभितरका शान्त र सुशील जोडी भेटेँ, कानुनइतरका चञ्चल र औतारी जोडी भेटेँ । लिभिङ टुगेदर टाइपका छटा देखेँ, मैथुन रिहर्सलका नाटक देखेँ । भन्नु मात्र हुँदैन सोल्टी, प्रातः लमक्मा मैले के के देखेँ देखेँ ! 

प्रातःकालीन घुमघामको सेरोफेरोमा पृथक् विशेषतायुक्त भालेपोथीका मूलतः पाँचथरी जोडी गोचर भए । जीवनको रुमानीयाम निख्रिएका शून्यभाषी वृद्धवृद्धा जोडी । मध्यम वयका मितभाषी अर्ध–रुमानी जोडी । नवविवाहितझैँ  लाग्ने उमंगले ओतप्रोत, गतिमान् एवं वाचाल जोडी । हाकाहाकी मैथुन रिहर्सल गर्ने किशोरवयी कुरकुरे जोडी । के हुन्, के होइनन् यसै भन्न नसकिने रहस्यमयी अर्धभूमिगत जोडी । र, तपसिलका फाटफुट पात्रहरू । 

जीवनका भैmझमेला र थकानले ढाड कुप्रिन लागेका वृद्धवृद्धा जोडी प्रायः छ्यांगै उज्यालो भएपछि वाक्मा निस्कन्छन् । ती हम्मेसी हाराहारी हिँड्दैनन् । भाले सधैँ अघि हुन्छ, पोथी ऊभन्दा दुईचार पाइला पछि । हरेक बिहान देखिने हिँडाइको स्थानले बुझिन्छ– यो भाले पारिवारको ‘अगुवा’ हो, हर्ताकर्ता हो । पोथीको नियतिको निर्णायक हो यो । तसर्थ उपेक्षित र दमित पोथीका नजरमा यो ‘ठालु’ हो । बस्, वृद्ध ठालु अघिअघि छ, उसको खटनमा, उसद्वारा तोकिने सीमाभित्र जिउन अभिशप्त पोथी उसको पछिपछि छे । कतिकति वर्षदेखि सुखमा र दुःखमा, मेलमा र कलहमा, बोलचालमा र बोलचाल बन्दमा, तनावमा र शान्त मनोदशामा ती सँगै छन् । पिँडीमा ती सँगै, बैठकमा ती सँगै ।

भान्सामा ती सँगै, शयनकक्षमा ती सँगै । मानिससँग गर्नलाई आखिर कति नै कुरा हुन्छन् र ! दुर्भाग्यवश, गर्नलाई तीसँग कुरा निख्रिएका छन् । आफ्नै अतीतका वार्तालापको खिया लागेको टेप सुनेझैँ  सयौँपटक गरिसकिएका बासी कुरा कति गर्नु ! ती प्रायः मूक मुद्रामा, सुस्त गतिमा, लुखर–लुखर हिँडिरहन्छन् । वेलावेला पोथी जाँगर मरेको स्वरमा यसो केही भन्छे । भाले कि त खायस गर्दैन कि केवल एक शब्दमा जवाफ दिन्छ । ‘हो’, ‘होइन’, ‘हुन्छ’, ‘छाड्दे’, ‘आ...’ आदि । तिनका अगाडि जीवन अब थोरै मात्र बाँकी छ, त्यो पनि उजाड र उदास । तिनका लागि अब जिउनुको सायद खासै लक्ष्य वा प्रयोजन छैन । वास्तवमा ती जीवन्त जीवन जिइरहेका छैनन्, केवल जिएको कर्मकाण्डी अभिनय गरिरहेका छन् । र, लाग्छ, तिनको यो सुस्त र अवाक् मर्निङ वाक् पनि फगत एक उच्चाटलाग्दो कर्मकाण्ड हो । 

मेरो प्रातः लमक् पथमा जोडीको यो महलमा अपवाद भनिन लायकको एउटा जोडी छ । उमेरले टड्कारै बेमेल देखिने, अभिनयले मेलैमेल देखाउन खोज्ने जोडी । यो वृद्ध भालेले घटीमा पैँसठ्ठी हिउँद काटेको हुँदो हो, पोथी पैँतालिस–पचासको बीचकी होली । यी जोडी वाक्को मामिलामा एकदमै समयनिष्ठ छन् । नित्य उही वेला, उही ठाउँमा, उसैगरी यी हाजिर हुन्छन् । चाखलाग्दो कुरा के छ भने यी हर्दम् एक–अर्काका हात समातेर हिँड्छन् ।

त्यो देख्दा मेरो मनको अन्तरमा जहिल्यै हास्य–मिस्रित भाव–तरंग पैदा हुन्छ । र, भित्रभित्रै हाँस्दै म गम खान्छु– हात समातेको पक्का पनि वृद्ध भालेले हो । यो भाले इन्द्रियहरू गलित हुँदै डाँडाको जूनसरि हुन लागिरहेछ । पोथीचाहिँ अझैँ  उमेरदार छे । उसको जीवनमा रुमानी रहरहरू निख्रिसकेका छैनन् । शंकालु बूढो भालेलाई जीवन निकै बाँकी रहेकी यो पोथी आपूmलाई छाडेर अन्त कतै चर्न जाली कि भनी डर लाग्दो हो । त्यसैले त सदैव पोथीका हात च्याप्प समातेर यो जर्जर बूढो...। 

मध्यम वयका एकाध जोडी नित्य हात समातेर हिँड्छन् । ती सबैजसो प्रायः हाराहारी हिँडेका देख्छु म । कतिपय जोडीले वेलावेला गुनगुन–गुनगुन छोटा वार्ता गरेको पनि सुन्छु । सोच्छु– ती सायद परिवारको आर्थिक प्रबन्ध, रिन–धन, छोराछोरीको पढाइ वा विवाह आदिबारे बात मार्दा हुन् । अथवा जीवनको निर्मम वेदीमा कोपिलामै निमोठिएका आप्mना कतिपय रक्तरञ्जित सपनाका कुरा गर्दा हुन् । यस महलका जोडीमा म न्यूनाधिक उमंग देख्छु । यी बात मार्दै कुनैकुनै वेला कितित्त हाँस्छन् पनि । छाँटले बाँकी जीवन जिउनलाई यिनका केही उद्देश्य, केही दायित्व, केही कर्तव्य बाँकी छन् । लाग्छ, समयको प्रवाहमा यी अद्र्धजीवित र अद्र्धमृत जोडी हुन् । आधा जीवन अतीतमा छाडेर पल प्रतिपल पत्तै नपाई बाँकी जीवन छोट्याउँदै हिँडेका अद्र्धहरू । 

नवविवाहित प्रतीत हुने जोडी हल्का पाइला चालेर बडो फूर्तिसाथ गतिमान् हुन्छन् । ती कहीँ–कतै नबिसाई बोलेको बोल्यै गर्छन् । मानौँ, मनले रोजेको भाले पाएर रूपसी पोथी हर्षातिरेकले फुरफुर छे । ऊ संसारको सबैभन्दा राम्रो आफ्नो भालेसँग यसोक्क टाँस्सिँदै बीच्च बीच्चमा खितित्त हाँस्छे । तरुण भाले उसलाई साथ दिन्छ । पोथी किञ्चित् चर्को स्वरमा छिट्छिटो बोल्छे, भोले मध्यम स्वरमा अलि ढिलो बोल्छ । यी नवविवाहित जोडी प्रातः लमक् वृत्तको उमंगका प्रतीक हुन् ।

यिनले समग्र लमक्को लयमा जीवन सञ्चार गर्छन् । यी हुन् लमक् जगत्का अलंकार, शोभा, शान र गौरव । र, यी हुन् वाक् जगत्का पितृहरूको बिँडो थाम्ने उत्तराधिकारीहरू । जब यिनको उमंगमय चालामाला देख्छु, मलाई आफ्नो तरुण वयका रुमानी एवं रंगीन क्षणहरूको झल्झली याद आउँछ । र, मेरो उल्लसित लमक्ले अतिरिक्त गति लिन्छ । 

नहेरूँ भन्दाभन्दै प्रातः लमक्मा मैले देख्नु/नदेख्नु देखँ । विवाहभितरका स्थायी जोडी देखेँ, विवाहइतरका मौसमी जोडी देखेँ । लिभिङ टुगेदर टाइपका छटा देखेँ, मैथुन रिहर्सलका नाटक देखेँ । भन्नु मात्र हुँदैन सोल्टी, प्रातःलमक्मा मैले के–के देखेँ–देखेँ !

आयो कुरा अब विवाहइतरका तालतालका जोडीहरूको । यस महलको पहिलो काँटमा मैथुन रिहर्सलकारी छुकछुके किशोर–किशोरी पर्छन् । भनुँ भने यी प्रलोभनकारी लुब्ध बजारका झर्रा सन्ततिहरू हुन् । यी चुलबुले जोडी आफ्नो निर्णय आफैँ गर्दैनन्, निर्णय सुटुक्क यिनको दिमागमा घुसेर बजारले गरिदिन्छ । लाग्छ, सायद नग्न प्रकृतिका झल्ला फिलिमहरू, नखरे साप्ताहिकहरू, कामोत्तेजक भद्दा रुमानी उपन्यासहरू, सहजै प्राप्त गर्न सकिने पोर्नोहरू, भेलेन्टाइन डेका तडकभडकयुक्त एवं होहल्लामय विज्ञापनहरू, किसिम–किसिमका तामसी भोजनहरू एवं जीवनको उद्देश्यहीन अवस्था यी किशोर–किशोरीको मैथुन रिहर्सलका प्रेरक र सम्मोहक तत्वहरू हुन् ।

मर्निङ वाक्मा, खास गरेर वनकालीको झ्यासझाडीमाथि डिलैडिलको हुलाकी पथमा, यदाकदा यस्ता जोडी प्रकट हुन्छन् । नहेरूँ भन्दा भन्दै अटेरी आँखाले देखिहाल्छन्– यिनले एक–अर्काको कम्मरमा पाखुरो बेरेका हुन्छन् । छटाएकी किशोरी पटरपटर के के बोलिरहन्छे, उत्तेजनाले उष्ण बन्दै छुकछुके गएको किशोर संक्षेपमा के के सही थाप्छ । यी भालेको डाकमा अन्धकारको बर्को ओड्छन् । र, लुसुक्क उक्लिन्छन् माथि वनकाली वनमा । यिनको रिहर्सलको साक्षी बन्न एकाध फुर्तिला वाके अग्घि नै वनमा विचरण गर्दै हुन्छन् । न केहीको धक न कसैको डर, न संकोच न शरम– यी रिहर्सलकर्मी प्रातः वाकेका आँखै अगाडि गोरेटोमुनिको झाडीमा लुसुक्क छिर्छन् ।

झटपट मैथुन रिहर्सल सम्पन्न गर्छन् र उसैगरी कम्मरमा पाखुरा बेरेर यी माथि डिलमा निस्कन्छन् । आकाश, बतास वा जेसुकै, जोसुकैले देखोस्, यिनलाई बाल मतलब हुँदैन । मानौँ, यी प्रयोगधर्मी हाकाहाकी मैथुन रिहर्सल आफ्नो नैसर्गिक अधिकार हो भन्ठान्छन् । बजारको उपभोगमुखी आक्रामक शिक्षा, कुरकुरे बैँसको उत्तेजना, मैथुन क्रीडामा के छ भन्ने दुर्दान्त खुल्दुली र नूतन अनुभूतिको लालसा– बस्, वनकाली झाडीमा ट्याक्क मैथुन रिहर्सल ! वाक् वृत्तमा यी जोडी जुन दिन उदाउँछन्, उही दिन अस्ताउँछन् । यी पुनः गोचर हुँदैनन् । 

जब यी मैथुन क्रीडाकर्मीलाई देख्छु, मलाई समाजशास्त्री चैतन्य मिश्रको याद आउँछ । श्री मिश्रले कतै चल्तीको भ्यालेन्टाइन डेको समाजशास्त्रीय शल्यक्रिया गरेका छन् । मिश्र आफ्नो भाषामा लगभग यसो भन्छन्– जमाना उपभोगको छ । उपभोग जगत्को कमानडर मायावी एवं चुइँयाँ बजार छ । मानिसलाई जे पनि छिटोको हुटहुटी छ । छिटो धन, छिटो चैन । छिटो ख्याति, छिटो अमरत्व । छिटो जोडीको खोजी, छिटो मैथुन रिहर्सल । मैथुनअघि प्रेम परिपक्व, प्रगाढ एवं दिगो हुन पाउँदैन । मानिसमा त्यसका लागि साधना, धैर्य र प्रतीक्षाको प्रवृत्ति नै छैन । अचेल जीवनमा जे पनि छिपछिपे छ, जे पनि क्षणभंगुर छ । त्यसैले त हाते फोन फेरिएझैँ  भोलेपोथीको जोडी फेरिन बेर लाग्दैन ।

हिँडिरहनेका लागि जीवनमा बाटा कति नै छन् र ? जसले जतिसुकै बाटा फेर्न खोजोस्, आँखा छल्न खोजिएकासँग ढिलो–चाँडो कुनै न कुनै मोडमा जम्काभेट भइहाल्छ ।

 मर्निङ वाक्को यो रहस्यमयी अद्र्ध–भूमिगत जोडीसँग आफ्नै बिछट्टको मौलिकता छ । यो जोडीका नाटकीय क्रियाकलापले एमबी सिंह र नारायणकाजीको अद्र्ध–भूमिगत अभिनयलाई सम्झाउँछ । अझ भनुँ, बिर्साउँछ । यी दुवैथरी जीवनको घाम–छायामा नित्य सतहमा देखिन्छन् । तर, यी म सतहमुनि आधा लुकेको छु भन्ने भ्रममा जिउँछन् । लोकले यिनलाई गिज्याउँछ, तर यी खासै लाज मान्दैनन् । अँ, म भन्दै थिएँ– सुगठित ज्यान भएको भाले अग्लो छ, पोथी उसको छातीछातीसम्म आउँछे । भालेले पचास हिँउद नाघेको होला, पोथी चालीस माथिकी होली । सधैँ पोथीको दाहिने हातमा लघु लठ्ठी हुन्छ, भालेको देब्रे हातमा ।

भालेको शिर खाली हुन्छ, पोथी मानौँ लोकदृष्टिबाट अनुहार लुकाउन खोजेझैँ  सप्कोले सधैँ टाउको र आधा अनुहार छोप्छे । यी जोडी अँध्यारैमा फर्किने मनसुवाले अँध्यारैमा प्रातः लमक्मा प्रस्तुत हुन्छन् । चाबेलको चारुमति चैत्यको समीपमा यी चखेबा–चखेबीको ट्याक्क भेट हुन्छ । सधैँ उही वेला, उही ठाउँमा । भाले माथि गोपिकृष्णतिर बाट आउँछ, पोथी तल मित्रपार्कतिरबाट । लमक् पथमा यिनलाई मैले देखेको झन्डै सात वर्ष भयो । यिनको प्रवाहमय वार्ताले कतै विश्राम गर्दैन । वार्ताको पहल सधैँ पोथी गर्छे, भाले सप्रेम उसलाई साथ दिन्छ । यति भनेपछि सायद यो विषयको व्याख्या गर्नु परोइन । यी विवाहभितरका जोडी होइनन्, पक्कै विवाहइतरका हुन् ।

प्रमाण अचुक छ । एक बिहान लमक् पथमा यी अघिअघि थिए, म पछिपछि थिएँ । मृगस्थलीको नाभिस्थलमा पुग्दा बत्ती झ्याप्प निभ्यो । पलभरमा बत्ती बल्दा बिछट्टको रुमानी दृश्य गोचर भयो । लम्बु भालेले ग्याँचे पोथीको कम्मरमा पाखुरो बेरेको छ । पोथीले मजा मान्दै भालेलाई साथ दिएकी छे । मैथुन उन्मुख स्पर्श–आनन्दले यी लठ्ठ छन् । मिलिक्क बत्ती बल्यो । र, तर्सिँदै यी अलग भए । मेरा आँखामा पोल खुल्यो र यी अताल्लिए । त्यो बिहानदेखि यी औतारी जोडी सकेसम्म मेरो बाटो छलेर वन विहार गर्न थाले । 

शेरबहादुर र ज्ञानेन्द्रका हैकमी संकटकालमा कतिपय शुभचिन्तकले मलाई सुझाए– तिमी नित्य उही समयमा, उही बाटो वाक् नगर । वेलावेला समय फेर, बाटो फेर । एकबारको जुनीमा तानाशाहीको शिकार हुनबाट जोगिन खोज्नु बुद्धिमानी हो । यसो सोच्दा कुरा ठीकै थियो । तर, मैले सुझाबको पालना गरिनँ । सोचेँ– तानाशाहीका जासुसी आँखा आकाशैभरि ओछ्याइएका होलान् । समय र बाटो फेरेर कसरी यस दुष्टका आँखा छल्न सकिएला र ? म आफ्नै एकोहोरो तालले उही समयमा उही बाटो हिँडिरहेँ । तर, यी औतारी जोडी मजस्ता हुस्सु छैनन् । यी सजग र सतर्क छन् । यी बाटा फेरिफेरी हिँड्छन् ।

कहिले गुह्येश्वरी–गोठाटार, कहिले वनकाली । कहिले कैलाश डाँडामाथि, कहिले लुसुक्क भण्डारखाल वनमा । झट्ट सुन्दा मैले यी रहस्यमयी औतारीको जासुसी गरेको प्रतीत होला । त्यो किमार्थ होइन । हिँडिरहनेका लागि जीवनमा बाटा कति नै छन् र ? जसले जतिसुकै बाटा फेर्न खोजोस्, आँखा छल्न खोजिएकासँग ढिलोचाँडो कुनै न कुनै मोडमा जम्काभेट भइहाल्छ । अद्र्ध–भूमिगत राजनीतिकर्मी एमबी र काजी भेटिन्छन् । अद्र्ध–भूमिगत प्रणयकर्मी जोडी भेटिन्छन् । जीवनमा जेलाई जति लुकाउन खोज्यो, निर्मम समयले आडम्बरी आवरण च्यातिदिँदा त्यो त्यति नै उदांगिन्छ ।