• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २ शनिबार ०९:२०:००
संगीत

हार्मोनियम यात्रा : असनदेखि दरबारसम्म

‘संगीतकारले संगीत भरेर संगीतको सेवा गर्छन् । म हार्मोनियम मर्मत गरेर संगीतको सेवा गरिरहेको छु ।’

२०७६ कार्तिक २ शनिबार ०९:२०:००

असनको साँघुरो गल्ली छिचोल्दै किलाचोकबाट भित्र छिर्दा न्हङ्कनतल चोक पुगिन्छ । त्यहाँ उग्रतारा मन्दिर छ । त्यसैको अगाडि पुरानो घरको काठेढोकामाथि एउटा सानो बोर्ड देखिन्छ । त्यहाँ लेखिएको छ– यहाँ हार्मोनियम मर्मत गरिन्छ । होचो ढोकाबाट भित्र पस्दा देखिन्छ, पुराना हार्मोनियम नै हार्मोनियम । पहिलो तला उक्लिँदै गर्दा सुनिन्छ, हार्मोनियमको मन्द स्वर । भित्री कोठा पुगेपछि भेटिन्छन्, हारमोनियमका किलाकाँटी र पर्दाले घेरिएका ५९ वर्षीय हरेराम साह । 

०३४ सालमा बुबाको पछि लागेर जनकपुरदेखि काठमाडौं आइपुगेका हरेरामले आफ्नो जीवनको सम्पूर्ण हिस्सा हारर्मोनियमको सुर मिलाउँदै बिताए । अझै पनि हरेराम हरेक दिन सुर बिग्रिएका दर्जनौँ हार्मोनिमयबाट घेरिएर बस्छन् । प्रत्येक हार्मोनियमलाई नजिकै ल्याउँछन्, सुम्सुम्याउँछन् अनि हराएको, बिग्रिएको सुर खोज्न थाल्छन् । बेसुरा हार्मोनियम एकाध घन्टा हरेरामको हातमा परेपछि ठीक हुन्छ । त्यसपछि उनी हार्मोनियको नट थिच्दै गाउन थाल्छन्, सारेगमप... ।

तीसको दशकको कला
हरेराम असनमा बस्न थालेको ४० वर्ष भयो । सुरुमा हार्मोनियम रिपेरिङ पसल उनका बुबाले खोलेका थिए । उनी त्यहीँबाट स्कुल जान्थे । ०३८ सालतिर वरिष्ठ वाद्ययवादक भगत सिंहसँग उनको संगत भयो । त्यसपछि हरेरामको सांगीतिक जीवन सुरु भयो । 

भगतसिंहसँग हरेरामको भेट संयोगले भयो । भन्छन्, ‘कलकत्ताबाट गोपाल योन्जनले ल्याएको हार्मोनियम कतै ठोकिएर बेसुरा भएछ । त्यसपछि त्यो हार्मोनियम बनाउन भगत सिंहले मलाई बोलाउनुभयो ।’ संगीतकार राजु सिंह भन्छन्, ‘हरेराम काठमाडौं आउँदा म दश वर्षको थिएँ । बुबासँग (भगत सिंह) संगत गर्नुहुन्थ्यो । त्यसवेला राम्रो ट्युनरको अभाव थियो । हरेरामको आगमनले नेपाली सांगीतिक फिल्डमा राम्रै स्थान पायो ।’

तीस र चालीसको दशकमा महेन्द्र पुलिस क्लब संगीतको प्लेटफर्म थियो । त्यहाँ हार्मोनियम बजाउने खड्किरहेका वेला भगत सिंह र गोपाल योन्जनले हरेरामलाई त्यहाँ पु-याए । हरेराम भन्छन्, ‘महेन्द्र पुलिस क्लबमा ०३९ सालतिर मैले काम गर्न थालेँ ।’

प्रत्येक वर्षको पुस १४ गते राजारानीको जन्मोत्सवमा सांगीतिक कार्यक्रम हुन्थ्यो । गीत–संगीतको प्राक्टिस हुन्थ्यो । त्यही वेला नेपालका चर्चित वाद्यवादकदेखि गायक–संगीतकारसँग उनको संगत भयो । ती दिन सम्झँदै हरेराम भन्छन्, ‘गहिरो लगावका साथ हामी अभ्यास गथ्र्यौँ ।’संगीतका हस्तीसँग संगत 
‘सबैभन्दा बढी संगत गोपाल योन्जन दाइसँग गरेँ ।’

नोस्टालजिया हुँदै भने उनले । योन्जनलाई उनी गम्भीर संगीतकारका रूपमा लिन्छन्, । उनीसँगको संगत हरेरामको दिमागमा अझै पनि ताजा छ । भन्छन्, ‘गोपालदाइले हार्मोनियम ठिक्क बजाऊ है भन्नुहुन्थ्यो ।’ योन्जनसँग संगतले आफू धन्य भएको सुनाउँछन् उनी । भन्छन्, ‘म कुनै विद्वान् मान्छे होइन, तर विद्वानसँग संगतचाहिँ गरेँ ।’

पुतलीसडकका भट्टी पसलदेखि असनका गल्लीका गोपाल योन्जनसँग उनी कैयाँैपटक हिँडेका छन् । योन्जनसँग हिँड्दा उनलाई औधि खुसी लाग्थ्यो । तर, योन्जनले कहिल्यै पनि आफूभन्दा जुनियरलाई हेपेर बोलेको उनले थाहा पाएनन् । भन्छन्, ‘गोपालदाइको म प्रिय भाइ थिएँ । तर, उहाँले मलाई कहिल्यै तँ भन्नु भएन ।’

संगीतकार आभासको हार्मोनियमको सुर मिलाउने पनि हरेराम नै हुन् । हरेरामलाई राम्रो ट्युनरका रूपमा चिनेका आभास भन्छन्, ‘हरेरामले बाजा मात्रै होइन संगीत पनि बुझेको छ ।’ आभास हरेरामलाई टेक्निसियन मान्छन् । भन्छन्, ‘हरेरामलाई सुरको राम्रो ज्ञान छ, त्यसैले उनी अग्रज संगीतकारका प्रिय बने ।’

अम्बर गुरुङलाई आफ्नो गुरु मान्छन् हरेराम । भन्छन्, ‘फत्तेमान काकाले मलाई अम्बर गुरुङसँग भेट गराइदिनुभयो ।’ आफ्नो जीवनमा आएको बदलावको जस पनि उनी गुरुङलाई दिन्छन् । भन्छन्, ‘स–साना कुरा सिकाइरहनुहुन्थ्यो गुरु अम्बर गुरुङ । त्यसैले मैले आजसम्म उहाँलाई गुरु मानेको छु ।’ हार्मोनियम बजाउँदा चाहिने अनुशासन उनले अम्बर गुरुङबाट सिके । 

कुनै दिन हरेरामलाई अम्बर गुरुङले भेट्न बोलाए छन् । तर, उनी एक हप्तापछि पुगेछन् । त्यसवेला अम्बर गुरुङले भनेको शब्द सम्झिन्छन् उनी, ‘तिमी त असली व्यापारी भएछौ हरेराम भन्नुभयो । त्यसपछि म लाजले भुतुक्कै भएँ । केही बोल्न सकिनँ ।’

‘चालीसको दशकमा संगीतकार नातीकाजीले एउटा गीतमा हार्मोनियम बजाएको २५ रुपैयाँ दिएको उनी सम्झन्छन्, अझै । त्यसवेला एउटा गीत बजाउन दुई दिन प्राक्टिस गर्नुपर्ने उनी सम्झन्छन् । नारायण गोपालले त अझ एउटा गीतका लागि ६ महिना अभ्यास गरेको उनीसँग अनुभव छ ।  नारायणगोपालसँग उनले १० वर्षसँगै हिँडे । असनका गल्लीमा पनि हिँडेँ । उनी अमर गुरुङको अघि दारु पिउन डराउँथेँ । लुकेर पिउँथेँ । तर, गोपाल योन्जन र नारायणगोपालसँग भने डराउँदैनथे । भन्छन्, ‘गोपालदाइ र नारायणगोपाल दाइसँग चाहिँ रक्सी खान डर लाग्दैनथ्यो ।’

यी दुई अग्रज कलाकारपछि उनका प्रिय थिए वरिष्ठ संगीतकार मदन परियार । मदन परियार सम्झँदै हरेराम भन्छन्, ‘चालीसको दशकमा हार्मोनियम बजाउन सिपालु मदनदाइजत्ति कोही थिएन ।’ भन्छन्, ‘आरडी बर्मनको शिष्य हुनुहुन्थ्यो मदनदाइ ।’

असनदेखि दरबारसम्म 
हरेराम असनको दिलहर्क तुलाधरको घरमा बसेको चालीस वर्ष भयो । उनी घरबेटीलाई भगवान् ठान्छन् । यी साहुले अझै आफूलाई ‘छोड’ भनेका छैनन् । सुरुमा उनी मासिक एक सय ५० रुपैयाँ भाडा तिर्थे । अहिले मासिक ३० हजार भाडा तिर्दै आइरहेका छन् । २०४०–५० सालतिर एउटा हार्मोनियमलाई २६५ मा बेच्थे, हरेराम । मर्मत गरेको ६ रुपैयाँसम्म लिन्थे । 

कलकत्ता, मुम्बई, दार्जिलिङबाट हार्मोनियम लिएर पनि फाइनट्युन गर्नका लागि हरेरामकहाँ लगिन्थ्यो । कसै–कसैले हरेरामलाई बोलाएर हार्मोनियमको सुर मिलाउन लगाउँथे । मुरलीधर, दीप श्रेष्ठ, नातिकाजी, शिवशंकर, फत्तेमान, अमर गुरुङदेखि भारतीय गायक मेहदी हसन, पंकज उदास, गुलाम अलीसमेत नेपाल आउँदा हार्माेनियमका स्वर उनैले मिलाउँथे । 

संगीतकार प्रकाश गुरुङको हार्मोनियमको नोट पनि हरेराम नै मिलाउँछन् । पहिला–पहिला हरेरामलाई खोज्दै असनको गल्लीमा पुगेका दिन सम्झँदै गुरुङ भन्छन्, ‘हार्मोनियमका लागि एकमात्र टेक्निसियन हरेराम हो । उनको हातमा परेपछि जस्तोसुकै हार्मोनियम पनि सुरमा आउँछ ।’

वाद्यवादक शुभबहादुर सुनामले पनि हरेरामसँग धेरैपटक सहकार्य गरेका छन् । उनी भन्छन्, ‘पचासको दशकपछि हरेराम नम्बर वान हार्मोनियम ट्युनर हुन् ।’ संगीतकारले संगीतलाई प्रेम गरेझैँ आफूले हार्मोनियमलाई प्रेम गरेको बताउँछन्, हरेराम । 

हरेराम ३८ सालदेखि ४२ सम्म हार्मोनियमको ट्युन मिलाउन राजदरबार पुगे । उनलाई दरबार पु-याएका थिए, कर्णेल चितबहादुर गुरुङले । हरेरामले कर्नेलदेखि राजा परिवारका सदस्यका हार्मोनियमको सुर बनाए । राजा वीरेन्द्रले भनेको शब्द उनी सम्झिँदै भन्छन्, ‘उहाँ भन्नुहुन्थ्यो, तँलाई के चाहियो हरेराम । म शिर झुकाउँदै भन्थेँ, महाराजको दर्शन भए पुग्छ हजुर ।’ 

तीन सन्तान डाक्टर
हार्मोनियम मर्मत गरेरै हरेरामले तीन सन्तानलाई डाक्टर पढाइरहेका छन् । जेठो छोरा लभ साहले एमबिबिएस सकाए । एक छोरी र एक छोरा एमबिबिएस पढ्दै छन् । मस्त मदिराले मातेका वेला पनि आफ्नो सन्तानलाई डाक्टर बनाउँछु भन्दै बर्बराउने गरेको उनकी श्रीमती बताउँछिन् । हरेराम भन्छन्, ‘कृृष्णप्रसाद कोइरालाले तीन भाइ छोरालाई प्रधानमन्त्री बनाउन सक्छन् भने म तीन सन्तानलाई डाक्टर बनाउन किन सक्दिनँ ?’ 

हरेराम बुढेसकालमा अझै असनको उही गल्लीमा हार्मोनियम मर्मत गरिरहेका भेटिन्छन् । उनी अझै गलेका छैनन्, अझै थाकेका छैनन् । भन्छन्, ‘संगीतकारले संगीत भरेर संगीतको सेवा गर्छन् । म हार्मोनियम मर्मत गरेर संगीतको सेवा गरिरहेको छु ।’