• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कुन्साङ
२०७६ कार्तिक २ शनिबार ०९:२४:००
सम्झना

त्यसपछि घर घरजस्तो लागेन

अरूवेला आमा घरमा नहुँदा घर घरजस्तो लाग्दैनथ्यो । त्यस दिन आमा घरमा हुँदा पनि घर घरजस्तो लागेन ।

२०७६ कार्तिक २ शनिबार ०९:२४:००
कुन्साङ

हुम्लाकीकुन्साङ काठमाडौंमा बिबिएस चौथो वर्षमा अध्यनरत छिन् । उनी कथा, कविता, निबन्ध लेख्छिन् । उनको लेखनीमा हुम्लाको रैथाने स्वाद भेटिन्छ । यसपटक उनले बालापनका केही अनुभूति साटेकी छिन् :

दौडिँदै घरभित्र पसेको नु(भाइ) भित्रपट्टि ढोकामै उभिएको थियो । म त्यहाँ पुग्नेबित्तिकै नुले भन्यो, ‘अइ तोलाई माग्ने मान्ठा (मान्छे) आको छ ।’ मेरा लागि त्यो रात निकै डरलाग्दो रात थियो । पुस सकेर माघ लाग्दा पनि खाह (हिउँ) प¥या थिएन । जाडो भने निकै बढ्या थियो । त्यतिवेला म भर्खरै तीन कक्षा पास गरेर चार कक्षामा उक्लिएको थिएँ । स्कुलमा हिउँदे बिदा थियो । कहिले फागुन आउला र नयाँ किताब हेरौँला भन्ने कौतूहलता मनमा थियो । 

बिहानै घोडालाई लगेर वनमा छाड्थेँ । दिउँसो एक डोको सुकेको गोबर टिपेर घर पु¥याउँथेँ । स्कुल नलागेको वेला मेरो दैनिकी भन्नु यस्तै थियो । त्यो दिन पनि एक डोको सुकेको गोबर घर पु-याएको थिएँ । अनि नुलाई लिएर मोजाको भकुन्डो खेल्न निस्किएकी थिएँ । खेल्दा–खेल्दै रात परेको पत्तै भएन । भोक लागेपछि नुले भन्यो, ‘अइ खिम्ला डो’ (दिदी घर जाम) । हामी दौडिँदै घर पुगेका थियौँ । त्यस दिन भाइ मभन्दा अगाडि घर पुग्यो । 

०००
म घरभित्र पस्दा नु भित्री ढोकामै उभिएको थियो । म त्यहाँ पुग्नेबित्तिकै नु ले भन्यो, ‘अइ तोलाई माग्ने मान्ठा आको छ । अब अइको पाक्लेन (बिहे) हुन्छ है ।’ यति भने नु रुन थाल्यो । एकछिनका लागि शून्य भएँ । आफ्नै कानले सुनेको कुरामा विश्वास लागेन । अलमल भएर ढोकामै उभिरहेँ ।

आमा लहुक रचोती (एक प्रकारको हिमाली मुला) घोट्दै थिइन् । सायद मःमः बनाउने सुरसारमा थिइन् क्यार । याङ्जी (ठूलो बटुको)मा छ्याङ पनि हाल्दै थिइन् । निभ्न लागेको लोइटो (झरो)मा बजैले अर्काे लोइटो थपिन् । घर उज्यालो भयो । अनि पो देखेँ, मलाई माग्न आएका मान्ठाहरूलाई । च्योक्से (टेबल)मा खाताह (खादा), छ्याङ, आराक (रक्सी) राखेर गाउँकै एकजना मि (बाजे) र मयिक (काकी) बसिरहेका थिए । 

नु झन् डाँको छोडेर रुन थाल्यो । म पनि भित्रभित्रै रोएकी थिएँ । तर, आँखामा आँसु आएको थिएन । अहिले सम्झिँदा लाग्छ, धेरै दुःख लाग्या वेला रुन नसकिँदो रहेछ । के गर्ने, के भन्ने भयो । मोजाको भकुन्डो मेरो हातैमा थियो । मलाई माग्न आउने मि र मयिक(बाजे र काकी)लाई ताकेर हानेँ । लाग्यो कि लागेन हेक्का भएन । त्यसवेला उनीहरूलाई के–के गाली गरेँ त्यो नि सम्झना छैन । आमाको छेउबाट चुलेसी तानेर हान्न खोज्दै थिएँ । आमाले समाइन् । त्यसपछि मलाई अर्को कोठामा थुनिदिइन् । त्यो कोठा निस्पष्ट अँध्यारो थियो । न खपु (झ्याल) थियो र न त्यो कोठामा लोइटो नै । 

झ्यालबाट बाहिर हेरेँ । हिउँ परेछ । वनपाखा सबै सेताम्य भएछ । पहिले–पहिले हिउँ पर्दा खुब रमाइलो लाग्थ्यो । तर, अब मभित्र कुनै उत्साह बाँकी थिएन । रित्तो–रित्तोझैँ भएकी थिएँ । मीठो लयमा बग्ने कर्णाली नदी पनि रोएजस्तो पो सुनियो ।

आमाले नै मलाई त्यो डर लाग्दो अँध्यारो कोठामा एक्लै छाडिदिएकी थिइन् । एकदमै दुःख लाग्यो । मन गरुँगो भएर आयो । बल्ल पो आँखा रसाउन थाल्यो । भित्र घरबाट गुन–गुन आवाज आइरह्यो तर, केही बुझिएन । मेरो बिहेबारे सल्लाह भइरहेको होला भन्ने ठानेँ । रुँदै–रुँदै ढोकामा लात्ती हानेँ । चिच्याएँ, कराएँ । तर, अहँ ढोका खुलेन ।

पुस–माघको जाडोमा पनि मलाई चिटचिट पसिना आइरहेको थियो । ढोकामा लात्ती हान्दा–हान्दै मेरो खुट्टा दुख्यो । कराउँदा–कराउँदै घाँटी बस्यो । तर, मेरो चिच्याहट कसैले सुनेनन् । रुँदा–रुँदै म त्यहीँ निदाएछु । राति घरभित्र के–के कुरा भयो, थाहा पाइनँ । आमाले छ्याङ, आराक र खाताह स्विकार्याे या स्विकारेनन् थाहा भएन । 

०००
बिहान ब्युझिँदा म आफ्नै ओछ्यानमा थिएँ । हिक्क–हिक्क अझै सकिएको थिएन । हिजो बेलुकी घरमा देखेको दृश्य सपना हो कि वास्तविकता हो, एकछिन् त छुट्याउनै गाह्रो भयो । पूरै शरीर दुखेको थियो । अघिल्लो दिन बेलुकीको वास्तविक घटनाका दृश्य फेरि आँखामा ताजा भयो । आवाज निकालेर फेरि रोएँ । आफ्नै घर–घरजस्तो लागेन त्यसबेला । अरू वेला आमा घरमा नहुँदा घर घरजस्तो लाग्दैनथ्यो । त्यस दिन आमा घरमा हुँदा पनि घर घरजस्तो लागेन । उनी मेरी प्रिय आमा होइन, कुनै दुश्मन हुन्जस्तो लाग्न थाल्यो । 


झ्यालबाट बाहिर हेरेँ । हिउँ परेछ । वनपाखा सबै सेताम्य भएछ । पहिले–पहिले हिउँ पर्दा खुब रमाइलो लाग्थ्यो । तर, अब मभित्र कुनै उत्साह बाँकी थिएन । रित्तो–रित्तोझैँ भएकी थिएँ । मीठो लयमा बग्ने कर्णाली नदी पनि रोएजस्तो पो सुनियो । उठ्न खोजेँ खुट्टा थर–थर काम्यो । भित्तामा अडेस लगाएर बल्ल–बल्ल उठेँ । कैँची बोकेर गोठमा गएँ ।

लामो कपाल काटेर फालिदिएँ । कपाल काटेपछि बल्ल हल्का महसुस भयो । गोठबाट निस्कँदा अझै आँसु आइरहेको थियो । बाहुलाले आँसु पुछेँ । खपुमा राखेको ऐनामा आफूलाई नियालेँ । निकै दिन थला परेको बिरामीजस्तो देखिएकी थिएँ । एकदमै माया लाग्दो । चिम्सो आँखा सुन्निएर झन् चिम्सो भएको थियो । टाल्दा–टाल्दै टाटेपाटे भएको टालोजस्तो भएको थियो टाउको । तर, खुसी लाग्यो । कपाल काटेपछि अब मलाई माग्न आउँदैनन्जस्तो लाग्यो । किनकि बिहे गरेको सबै केटीहरूको कपाल लामा देखेको थिएँ । मलाई लाग्थ्यो लामो कपाल भएका केटीहरूले मात्र बिहे गर्छन् । सोचेँ, कपालै लामो नभएपछि मेरो बिहे गरिदिँदैनन् । 

०००
कतिपटक खाह (हिउँ) प-यो । बिलायो । नांगा रूखमा नयाँ जीवन पलायो । उजाड डाँडापाखा हरियाली भयो । फागुन महिना आयो । तर, नयाँ किताब हेर्ने मेरो उत्साह हिउँसँगै बिलाएर गयो । धेरै कुरा बदलिएको थियो । म बिहे गरेर नगए पनि गाउँका मानिसले मलाई जिस्क्याउने मसला पाएका थिए । खेल्न जाँदा साथीहरू कोही भाउजू, कोही माइजू अनेक साइनोले जिस्काउँथे ।

नरमाइलो लाग्थ्यो । कसलाई के भन्नू ? म चुपचाप घर फर्किन्थेँ । स्कुल जान थालेपछि बाटोमा भेटिने मान्ठाहरू मलाई हेरेर भन्थेँ, ‘अब अर्का घर जानेले के पढिराख्या होला ।’ त्यो अँध्यारो कोठामा थुनिँदाको जस्तो निसासिन्थेँ । दुःख लाग्थ्यो । तर, दुखेसो कसलाई सुनाउनू । आफ्नो घर नै घर वैरी बनेको थियो । मलाई कोही पनि आफ्नो लाग्दैनथ्यो । कसैले नसुन्ने गरी कसैले नदेख्ने गरी रुन्थेँ । किनै पछिसम्म त्यो एक्लोपनले लेखेटिरह्यो । 
 
०००
एकदमै चकचके थिएँ म । एकाएक शान्त भएँ । पहिले धेरै बोलेकोमा गाली खानुपथ्र्यो, पछि घरमा बोल्नै छाडेँ । बोल्नै परेका वेला मात्रै बोल्थेँ । बिस्तारै खेल्न जान छाडेँ । त्यही साँझको घटनाले मेरो मनस्थितिमा ठूलो असर प-यो । मेरो व्यवहार फेरियो । मेरो स्वभाव फेरियो । बाल्यकाल नसकिँदै प्रौढकाल सुरु भयो । 

त्यस दिनदेखि धेरै वर्ष हिउँ प-यो, बिलायो । तर, मेरो मनमा कहिल्यै उत्साह फर्किएन । मेरा तमाम उत्साह–उमंग सधैँका लागि बिलाइसकेको थियो । स्कुल जाने, नयाँ किताब पढ्ने, सर तथा म्याडमसँग नेपाली भाषा फरर्र बोल्ने उत्साह अब ममा थिएन । धारा, स्कुलतिर जाँदा मेराबारे अनेक कुरा गर्थे । पछि–पछि त कोही मतिर हेरेर बोलेको देख्दा नि मेरै कुरा काट्याजस्तो लाग्थ्यो । मेराबारे हुँदै नभएको अनेक कुरा सुन्न थालेँ । दिक्क लाग्न थाल्यो । त्यसपछि स्कुल जानै छाडिदिएँ । आमाले थाहा पाएपछि जबर्जस्ती फेरि स्कुल पठाइन् । 

पाँच कक्षा पास भएर ६ कक्षा पढ्न सिमकोट पुगेपछि केही राहत मिल्यो । साथीहरू गाउँ गएको देख्दा घरको याद आउँथ्यो । गाउँ जान मन लाग्थ्यो । तर, डरले अचानक लखेट्न थाल्थ्यो । कतै गाउँ गएका वेला तानेर लग्यो भने ! झस्किन्थेँ वेला–वेला । 

०००
त्यो घटना भएको आज दुई दशक बितिसक्यो । आज म गाउँभन्दा टाढा राजधानीमा छु । शिक्षाका केही खुड्किलो चढ्ने कोसिसमा छु । आज पनि वेला–वेला बाल्यकालीन त्यही घटना आँखामा आउँछ । त्यसवेला आमाले जबर्जस्ती स्कुल नपठाउनुभएको भए ! यतिवेला म कहाँ हुन्थेँ ? आफैँलाई प्रश्न सोधेर झस्किन्छु । अहिलेसम्म पढ्न पाउनुको श्रेय आमालाई जान्छ । तर, कहिलेकाहीँ एक्लै निस्पट्ट अँध्यारो ठाउँमा बस्दा डर लाग्छ । थाहा छैन किन निसासिन्छु ।