• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
झलक सुवेदी
२०७६ कार्तिक २ शनिबार ०९:२८:००
साहित्य

यी सीमान्त कथाहरू

२०७६ कार्तिक २ शनिबार ०९:२८:००
झलक सुवेदी

‘झन् नयाँ’को यस अंकमा छापिएका नौ महिलाका अनुभूतिबारे लेखक/विश्लेषक झलक सुवेदीको टिप्पणी :

मेरो न्वारानको नाममा आफैँ थर थपेर पवित्रा थापा भएँ । मेरो थर बदल्नेबित्तिकै म पवित्र भइहालेँ । त्यसपछि मलाई बाँच्न सजिलो भयो । मान्छेको चरित्र र नियति थरबाट लेखाजोखा गर्ने समाजमा जन्मिएकी थिएँ म । मेरो खास जात भनेको भए के–के भोग्नुपथ्र्यो होला ? वादी जाति भन्नेबित्तिकै त्यतिवेला यौन व्यवसायीका रूपमा मात्रै हेर्ने गरिन्थ्यो ।

मैले आफूलाई जोगाउनका लागि नै जात बदलेँ,’ पवित्रा वादीका यी भनाइ भयानक मर्मस्पर्शी छन् र तिनले नेपाली समाजको सबैभन्दा तल्लो सिँढीमा बसेर दुनियाँका पाइलाले थिचिँदा–थिचिँदा हैरान भएपछि आएको विद्रोह चेतको प्रतिनिधित्व गर्छन् । संरचनागत थिचोमिचो गरेर सबै विकल्प गुमाइसकेपछि वादी महिलालाई देह व्यापारको एउटा नरकमा धकेलियो ।

नरकलाई भाग्य या परम्पराका नाममा स्वीकार्य बनाउन प्रपञ्च गरियो, जसले उनीहरूको शरीरमाथि खेलबाड गरे तिनैले सडकमा, मन्दिरमा, सहरमा, गाउँमा, गोरेटो र घोडेटोमा र हुँदाहुँदा विद्यालयमा हेलाँ र दुरदुर गर्दै गए । यही चोटबाट जागेको आत्मसम्मानको खोजको कथा हो, वादी पवित्राको । तिनले हण्डर खाएकी हुन् या खुवाइएको हो भन्ने जान्न उनको कथा पर्याप्त छ ।

‘झन् नयाँ’ले यसपटक नेपालको फूलबारीका कुनाकानीमा जबर्जस्त फुलेका फूलको कथा पस्केको छ । माझी, गन्धर्व, वादी, मुसहर,  खटिक, कुसुन्डा, राउटे र उराँवका विभिन्न उमेर समूहका महिलाका आत्मानुभूतिका यी कथा, रिपोर्ताज या संस्मरणले नेपालको सबैभन्दा सीमान्तकृत समुदायका महिलाले व्यहोर्नुपरेका कहालीलाग्दो जीवनलाई एउटा सुन्दर चलचित्रले झैँ बोलेका छन् । 


यहाँ प्रकाशित यी संस्मरण पढिसक्दा नेपाली समाजको मूलधार भनिने शक्तिसम्पन्नहरूको भाषा, जात र धर्म परम्पराले कसरी सीमान्तकृत महिलालाई विकास, परिवर्तन, शिक्षा, धर्म र पितृसत्ताको जाँतोमा पिँधिरहेको छ भन्ने चित्र देखिन्छ । ‘सुरुमा नयाँ कर्मचारी आएकोमा हाकिम उत्साहित नै थिए । जब म मुसहर समुदायको हुँ भने थाहा भयो, त्यसपछि हाकिमको अनुहार एकाएक बदलियो । उनको आँखामा मप्रति घृणा देखेँ । उनले मेरा लागि भनेर दाहिने खुट्टाले कुर्सी धकेलेर पर पु-याइदिए । जीवनमा यति मिहिनेत र संघर्ष गरेपछि समानता पाउँछु भन्ने लागेको थियो । तर, अपमान भोगेँ,’ मुसहर समुदायबाट अनेक हण्डर–ठक्कर खाँदै नर्स बनेकी मालती सदाको कथा हो यो ।

हाकिम कथित उपल्लो जातको हो भन्ने बुझिन्छ । हाकिम नै भएपछि उसले कमसेकम नर्सले जति पढेको छ । तर, यतिका राजनीतिक उथलपुथल, शिक्षाको यो स्तरको प्रचार र चेतनाको यो फैलावटले पनि उसमा मानिसहरूलाई जात, लिंग या रंगका आधारमा विभेद गर्नुहुन्न भन्ने ‘सेक्युलर’ धारणा आएको छैन । जसरी पवित्राले यो समाजमा बाँच्नका लागि संघर्ष गर्न सहज होस भनेर जात बदलेकी छिन् र मालतीले दुःख पाएकी छिन्, त्यसले हाम्रो समाज व्यवस्थालाई अघि बढाउन बाटो छेकिरहेको एउटा काँडा प्रस्ट देखिन्छ । 

कुन्साङले परम्परासँग विद्रोह गरेर हासिल गरेको सफलताको कथासँगै पितृसत्ताले गाडेको जरोको कथा भन्छिन् । यता ज्ञानीमैयाँ कुसुन्डा र गाजली शाहीका कथाले झन्डै विलयको अवस्थामा जान थालेका कुुसुन्डा र राउटेका जीवनका अनेक मानवीय आयाम बताउँछन् । उनीहरूको कथाले दुवैको जीवनमा परम्पराका कारण कसरी आफ्नो विवाहमा समस्या परेको छ भन्ने यौन मनोविज्ञानको पाटो पनि खोतलेको छ । दुवैको जीवन पुरुषहरूले स्त्री शरीरमाथि लादेका नियमबाट दमित छ ।

आधुनिकताले लपेट्दै अस्तित्व रक्षाको चरम संकटतिर धकेलेको जातिको कथा भन्छन्, यी दुवैले ।‘सासूले दिदीसँग आफ्नो कपडा खोल्न भनिन् । दिदीले भनिन्– ठीक छ, म हजुरले दिएको कपडा खोल्न तयार छु । तपाईंले पनि मैले दिएको कपडा लगाउनुभएको छ । तपाईंले पनि त्यो खोल्नुपर्ने हो, तर म खोल्नु भन्दिनँ । किनकि तपाईं आमा हुनुहुन्छ । आमाले छोरीलाई नंग्याउँदैमा छोरीले पनि आमालाई नंग्याउँदैनन् । दिदीले सासूको कपडा खोलेर उनलाई दिइन् र आमाले लगाएको साडी बीचबाट चिरेर आधा–आधा बनाएर लगाइन् । रमिता हेरिरहेका गाउँले मुकदर्शक बनिरहे,’ यस अंकमा सोना खटिकले लेखेको आफ्नी दिदीमाथिको अनुभूतिको अंश हो यो ।

पछिल्लो समय नेपाली समसामयिक महिला र उत्पीडित सीमान्त जातिका बहसमा सुनिने, पढिने र देखिने नाम हो, सोना । उनले आफ्नी दिदीलाई समाजका अघिल्तिर नांगै बनाएर साडी खोस्दाको अवस्थामार्फत कसरी समाजले महिलालाई निरीह बनाएको छ र उसको दुर्दशालाई मजा मानेर हेरिरहेको छ भन्ने एउटा त्रासद पीडा व्यक्त गर्छ । उनकी आमा, दिदी र सोना स्वयंले संघर्षबाट हासिल गरेको आत्मसम्मान तारिफयोग्य छ । 

यता अनिता माझी र शोभारञ्जन गन्धर्वले माझी र गन्धर्व जातिलाई कसरी विकासको मूलधारे परिभाषा र आधुनिकताले धकेल्दै पहिचानहीन बनाउन थालेको छ भन्ने प्रश्न उठाएका छन् । ‘कोसीबाट माछा मारेर ल्याएपछि बाले भन्थे– छोरी ! तिमीहरूको बाजेले पनि त्यसैगरी कोसीमा डुंगा तारेर र माछा मारेरै हामीलाई हुर्काउनुभयो ।

अब मैले पनि यही काम गरिनँ भने तिमीहरूलाई कसरी हुर्काउने ? तर, आज माझी समुदायको स्थिति संकटमा छ । कारण मेरो बाजे, बा र काकाले डुंगा तार्ने कोसीमा झोलुंगे पुल बनेको छ । पुल बनेपछि अरूको जीवन सहज भएजस्तै माझीको पनि जीवन केही सहज हुनुपथ्र्यो, तर भएन । बाउबाजेलाई पहिले–पहिले कोसीमा खुलेआम माछा मार्ने छुट थियो । अहिले लाइसेन्सविना माछा मार्नेलाई पुलिसले समाउँछ,’ अनिता माझीले माझीहरूको गुम्दो पहिचानतिर संकेत गरेकी छिन् । अलिकति विद्रोह बोलेकी छिन् । 

‘मेरो हजुरबुबाले अपमान नभोगेको भए लोप हुँदैनथ्यो सारंगी । उहाँले सारंगी बजाउँदा अपमानको ठाउँमा सम्मान र माम पाउनुभएको भए सायद जिउँदो हुन्थ्यो सारंगीको धुन । उहाँहरूजस्ता थुप्रैले सारंगी बजाउन छाड्नुहुन्नथ्यो । बजाउनु र गीत गाउनुलाई माग्ने शब्दले गाली गरेपछि हाम्रो पेसा लोप हुँदै छ । सारंगीसँगै नेपालको महत्वपूर्ण सम्पत्ति लोप हुँदै छ,’ शोभारञ्जनले पनि परम्परागत सीप र कलामाथि कसरी आधुनिकताले हस्तक्षेप गरेर एउटा जातिलाई सधैँ अपमान र तिरष्कार दिइरहेको छ भन्ने संकेत गरेकी छिन् । 

यी कथा, रिपोर्ताज या संस्मरणले नेपालको सबैभन्दा सीमान्तकृत समुदायका महिलाले व्यहोर्नुपरेका कहालीलाग्दो जीवनलाई एउटा सुन्दर चलचित्रले झैँ बोलेका छन्

यी महिलाको यो उपस्थिति आफैँमा उनीहरूको जीवनमूल्य र संस्कृति, उनीहरूले व्यहोर्दै आएका संरचनागत थिचोमिचो, मूलधारबाट अलग हुँदाका पीडा, उनीहरूको परम्परागत जीविकाका स्रोतहरूमाथि हुँदै आएको हस्तक्षेपको काव्यात्मक अभिव्यक्ति हो, वर्चस्वशाली समूहले स्थापित गरेको बृहत् न्यारेटिभको विपठनको प्रयास हो । 

यी संस्मरण र अनुभूति हाम्रो समाजको मानवशास्त्रीय परिभाषाका लागि स्रोत सामग्रीजस्ता छन् । यद्यपि समाजशास्त्रीले खास समूह या इथ्निक ग्रुपलाई शक्तिका लागि गरिएको सामाजिक रूपमा निर्मित भनेका छन् । तर, सयौँ–हजारौँ वर्ष एउटा समूहले गर्ने कार्यकलाप र व्यक्ति, परिवार र आन्तरिक तथा बाह्य समाजसँगको सम्बन्धले त्यस्तो समूहको अस्तित्व अरूको भन्दा भिन्न हो भन्ने एउटा सीमारेखा कोर्छ । यी आलेखमा आएका धेरै समुदाय, जो दलित छन्– तिनीहरू अरूको शक्तिले, अरूले नै गरिदिएको परिभाषाका उपज हुन् । बहुसंख्यक हुम्ली बृहत्तर भोट बर्मेली परिवारको सीमान्त समूह हो ।

राउटे र कुुसुन्डा कुनै युद्धमा कसैबाट लखेटिएर जंगलमा पुगी फिरन्ते भएका हुन् या अनिकाल या महामारीका समयमा जीविकाका लागि जंगल पसेर जीवन बिताएकाहरू हुन् भन्ने विवाद हुन सक्छ । उनीहरूले प्रयोग गर्ने भाषा र दाबी गर्ने गोत्र या थर–परम्पराले उनीहरू बृहत् समुदायबाट अलग्गिएका जाति भन्ने बुझाउँछ । तर, कालान्तरमा तिनको अलग पहिचान बनेको छ र मुखियाहरू त्यसलाई जोगाउन कम्मर कसेर लागेका छन् । मुखियाहरूको प्रयासले त्यहाँ पनि महिलाहरूमाथि पुरुष नियन्त्रणलाई निरन्तरता दिने प्रयास गरेको छ ।

आफ्नी बुहारीलाई, आफ्नै नाति–नातिनीकी आमालाई शरीरमा भएको एकधरो धोती फुकालेर जान बाध्य पार्ने सासू पितृृसत्ता र पिँधमा परेर अमानवीय बनेको मानसिकताको उपज हो । आफ्नो सहायक कर्मचारीलाई जातिगत विभेद गरेर मर्माहत गर्ने हाकिम, सरकारले दिएको सुविधा प्रयोग गरेबापत अममान गर्ने कलेजका प्रशिक्षक र प्रिन्सिपल, वादी भएकैले अरू विद्यार्थीबाट अलग्याएर भुइँमा बस्न बाध्य पार्ने विद्यालय शिक्षक शक्ति सम्बन्धले, स्रोतमाथिको नियन्त्रणले, राजनीतिक संरक्षणले दृष्टि गुमाएकाहरूका प्रतिनिधि पात्र हुन् । 

राजनीतिमा सेक्युलर मूल्य, शिक्षामा सेक्युलर मूल्यको स्थापना र सीमान्तमा परेकाहरूको आत्मसम्मानपूर्ण ढंगले समाजको मूलधारमा पुनस्र्थापना नभई, विभेदलाई उन्मूलन गर्ने गरी संविधान र कानुनमा भएका व्यवस्थाको कडाइका साथ पालन नगरी यो परम्परा अन्त्य हुँदैन । यो प्रयासका लागि नयाँ पत्रिका र ‘झन् नयाँ’ टिमलाई धन्यवाद ।