• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
त्रिवेणी
२०७६ कार्तिक १६ शनिबार ०९:०९:००
साहित्य

कालजयी साझा कथाहरू

विमर्श

२०७६ कार्तिक १६ शनिबार ०९:०९:००
त्रिवेणी

‘खोलाहरू, तालतलैयाहरू, पोखरीहरू र झरनाहरू; हरेकका फरक नाम छन्, तर सबै जलयुक्त छन् । यस्तै छन् धर्महरू पनि । ती सबैमा सत्यता छन्,’ मुहम्मद अलीको यो कथनमा कत्तिको सत्यता छ ? खैर ! सत्यको खोजी चलिरहेको छ र चल्नेछ पनि । यद्यपिः धर्महरूमा विविधता भने पाइन्छ । सायद विविधताले नै यिनीहरूलाई धर्मको उपमा दियो । आचमन गरेर मात्र खाना खाने मेरा बा, परमेश्वरलाई धन्यवादका मिठा शब्दहरू पस्केर भोजन ग्रहण गर्ने ख्रिस्टियन काका वा ‘बिस्मिल्ला’ पुकारेर भाग बस्ने र बिर्सेको घडीमा ‘बिस्मिल्लाही फी अवालिही वा आखिरिही’ भन्ने अस्लम काका, यी तीनको खाने तरिकामा मात्र यत्रो भिन्नता देख्छु म । 

अहो ! संस्कृति र चालचलनको कुरै नगरौँ । गाईखाने र ढोग्ने दुईखाले परे यिनीहरू । मानव सभ्यताको आदिदेखि चलिआएको चालचलन, रीतिरिवाज र संस्कृतिबीच भीमकाय भिन्नता छ, तर म भिन्नता ओकेल्न चाहन्नँ । साँच्चै ! म समानताको कुरा गर्नेवाला छु । हो, दुई वा सोभन्दा बढी समाजबीचको, संस्कृतिबीचको र सभ्यताबीचको । 

विभिन्न धार्मिक तथा ऐतिहासिक पुस्तकको अध्ययन गर्दा म दुई भिन्न भूगोल तथा स्थानका मिथकहरूमा र इतिहासहरूमा समानता पाउँछु । आखिर समाज तथा संस्कृति नै फरक भएका मान्छेका कथाहरू किन उस्तै छन् ? किन भयो फरक स्थानमा उस्तै लाग्ने ईश्वरको उपस्थिति ? किन एकखाले कथा भेटिन्छन् दुई भिन्न ग्रन्थका गर्भमा ? प्रश्नले प्रश्न मात्रै जन्माउँछन्, मेरो मस्तिष्कमा । म तिनै प्रश्नका जन्मदाता, उनै साझा कथाहरू ओकल्छु यहाँ ।

शुक्राचार्य, ओडिन र क्युक्लोपेस 

प्राचीन जर्मनको (नोर्स) मिथकमा ओडिनलाई मुख्य देवताका रूपमा उभ्याइएको छ, तर ओडिनको चरित्र चित्रण गर्दा उनीमा गुरुगुण प्रशस्त भेट्न सकिन्छ । उनको मुख्य गुण भनेकै प्यासी हो । ओडिनमा ज्ञानको भोक यथेष्ट भेटिन्छ । सोही भोकका कारण उनी एकपटक अर्डको तलाउमा पुग्छन्, जहाँको जल उनले खोजको ज्ञानले सिञ्चित हुन्छ ।

दुर्भाग्य, तलाउको संरक्षकका रूपमा मिमिर नामको दानवलाई खटाइएको हुन्छ, जसले ओडिनलाई तलाउको जल पिउनबाट रोक्छ । ती दुईको बीचमा भएको वार्ताको फलस्वरूप मिमिरले ओडिनलाई एउटा सर्त मानेमा जल पिउन दिने भन्छ । उक्त सर्त हुन्छ ओडिनको आँखादान । ज्ञानका भोका ओडिनले आफ्नो एक आँखा तलाउलाई दान गरी जल पिएर ज्ञान प्राप्त गर्छन् र अरूलाई हस्तान्तरण गर्छन् । 

पुराणका अनुसार वामन अवतार श्री विष्णुले राजा बलिसँग तीन पाइलाले ओगट्ने वस्तु दान मागेपछि बलि दिन तयार हुन्छन् । तर, वामन अवतार श्री विष्णुले दुई पाइलाले नै सम्पूर्ण ब्रह्माण्ड नापिदिन्छन् । तेस्रो पाइला राख्ने स्थान नहुँदा राजा बलिले आफ्नै शिर थाप्छन् । अन्ततः वामनले बलिलाई कुल्चेर पाताल लोकमा पु-याइदिन्छन् । दान दिने क्रममा असुर गुरु शुक्राचार्य, राजाले सम्पूर्ण कुरा दान गरिदिने भए र असुरहरूका निम्ति केही नरहने भयो भन्ठानी आचमन पूर्ण नहोस् भन्ने उद्देश्यका साथ कलशमा छिरेर जललाई रोक्न टुटीको मुख थुनेर बस्छन् । सो कुरा चाल पाएका वामन अवतार विष्णुले उक्त जलपात्रमा कुश घुसाइदिन्छन् र फलस्वरूप कुशले घोचेर शुक्राचार्यको एउटा आँखा फुट्छ । 

उसरी नै ग्रिकमा क्युक्लोपेस एकआँखे भीमकाय जीव हुन्छ । ओडेसीले सो जीवलाई दश वर्षको सामुद्रिक यात्रापछि भेट्टाएको हुन्छ । सो कथनलाई होमरले बडो आकर्षक ढंगबाट व्याख्या गरेका छन् । उल्लिखित तीन प्रसंगमध्ये तीनवोटै प्रसंग जलसँग सम्बन्धित छन् र तीनैजना पात्रका एक मात्र आँखा छ । अझ रोचक पक्ष, ओडिन र शुक्राचार्यमा गुरुगुण साझा छ । क्युक्लोपेस र शुक्राचार्यमा भने असुर विशेषण साझा पाइन्छ । 

स्कुल्ला र कार्तिकेय 
स्कुल्लालाई होमरले ६ टाउके सामुद्रिक प्राणीका रूपमा उभ्याएका छन् । मिथकमा उसलाई उसकी सौताले अचम्मको जलप्रयोग गरेर ६ टाउकावाली बनाइदिई भन्ने पाइन्छ । उसको स्वर कुकुर्नीको जस्तो छ भनी कवि होमरले व्याख्या गरेका छन् । पुराणका अनुसार भने पञ्चभूतहरूको चेतनासँग संयोजन भई शिवपुत्र कार्तिकेयको जन्म हुन्छ, जसको ६ वटा टाउका हुन्छन् । शिवले कार्तिकेयलाई ज्ञानार्जनका खातिर ब्रह्माकोमा पठाँउछन् । कार्तिकेयले ब्रह्माजीलाई सुरुमा नै ॐ को अर्थ बताइदिन भन्छन् । ब्रह्मा स्वयंलाई अर्थ थाहा नभएकाले उनले पहिला सामान्य वर्णबाट सुरु गर्ने भन्छन् ।

कार्तिकेय ब्रह्मालाई त्यागी पिताजीकोमा फर्किन्छन् । शिवले गुरु त्यागको कारण सोध्दा कार्तिकेयले कारण गुरु अज्ञानी रहेको बताउँछन् । शिवलाई पनि ॐको अर्थ थाहा नभएकाले कार्तिकेय आफैँले उनको कानमा अर्थ स्पष्ट पारेको कथन पुराणमा भेटिन्छ । उल्लिखित दुवै प्रसंगका दुवै पात्रमा छ, टाउका साझा छ ।
ग्रिकका देवताहरू
हिब्रु पुराकथाअनुसार अब्राहमका ब्राह जना छोरा रहेको पाइन्छ । यसैगरी हिन्दू पुराकथामा आदित्य अर्थात् सूर्यहरू बाह्रजना रहेको स्पष्ट भेटिन्छ । वैदिककालमा भने आदित्यको संख्या यति धेरै थिएन र पछि उनीहरूको संख्या बढेर बाह्र पुगेको हो । ग्रिसमा पनि ओलम्पियन अर्थात् स्वर्गमा द्वादश संख्यामा देवताहरू रहेको मानिन्छ । तीमध्ये जेउज देवप्रमुख छन् । यसैगरी नेपाली मस्टो उपासनामा बाह्रजना मस्टो देवताको पूजा गरिन्छ । यहाँ, संख्या बाह्र साझा छ ।
सिल्भिया र कुन्ती 
कुमारी रानी सिल्भियालाई मंगलदेवले बलात्कार गरेपश्चात् दुईजना जुम्ल्याहा छोराहरू जन्मिन्छन् । समाजको नजरमा कुमारी नै छँदा बच्चा जन्मिएकाले पापका परिणाम मानिएका ती दुई छोराहरूलाई उनले तिबर नदीमा बगाइदिन्छिन् । पछि, ती बालकहरूलाई वृकभूमिको लुपर्कल नामक गुफामा बस्ने वृकी नामक पोथी ब्वाँसोले दुध चुसाएर हुर्काउँछे । अन्ततः फस्तुलस नामको गोठालाले भेटी उनीहरूलाई आफ्नी स्वास्नीलाई जिम्मा लगाँउछ ।

उसरी नै काका कुन्तीभोजको घरमा छँदा ऋषि दुर्वासाको यथोचित सेवा गरेकीले दुर्वासाले कुन्तीलाई यो वरदान दिएका हुन्छन् कि उनले चाहेर उपासना गरेको खण्डमा हरेक देवताको दर्शन पाउनेछिन् । यसैक्रममा एक दिन ऋषिद्वारा प्राप्त वरदानले काम गर्ला वा नगर्ला भन्ठानेर प्रयोगका खातिर उनले सूर्यदेवको आराधना गर्छन् । सूर्यदेव प्रकट भएर उनलाई पुत्र अर्थात् कर्णदान गर्छन् । विवाहपूर्व सन्तान जन्मिएका कारण लाजले कुन्तीले कर्णलाई गंगामा बगाइदिन्छिन् जसलाई अन्ततः धृतराष्ट्रका सन्तानविहीन सारथि अधिरथले पाउँछन् र सन्तानका रूपमा हुर्काउँछन् । यहाँ दुवैजना राजकुमारीले कुमारी मानिँदा नै पुत्र जन्माएका छन् र दुवैले नदीमा नै फ्याँकेका छन् । गजबको संयोग, दुवैका सन्तानलार्ई निम्नवर्गीय परिवारले भेट्टाउँछन् । 

सावित्री र इसिस 
सावित्रीको पतिव्रता धर्मको चर्चाले भारतवर्षको सीमा नाघिसक्यो । कथाअनुसार पिताले आफ्नो पति रोज्ने अधिकार स्वतन्त्र छाडिदिएकी सावित्रीले सत्यवान्लाई पतिका रूपमा मान्छिन् । मुनि नारदले सावित्रीलाई उनीहरूको विवाह भएको दिनले एक वर्ष मात्र सत्यवान् बाँच्ने र सत्यवान्को पिताको राज्य सकिएको र उनी दृष्टिविहीनसमेत रहेको कुरा बताउँछन् । सावित्री सबै कुरा जान्दाजान्दै सत्यवान्सँग बिहे गरेर दरबार त्यागी उनैसँगै वनमा बस्न थाल्छिन् । विवाहको एक वर्ष पुगेको दिन सत्यवान् वनमा दाउरा काट्दाकाट्दै मृत्युवरण गर्न पुग्छन् । मरेको सत्यवान्लाई लिन आएका यमसँग बडो बिन्ती र तर्कका साथ वार्ता गरेकी सावित्री अन्ततः सत्यवान्लाई जीवित फर्काउन सफल हुन्छिन् । 

प्राचीन इजिप्टको मिथकअनुसार राजा ओरिसिसको विवाह इसिससँग हुन्छ । भाउजूमाथि गलत नजर लगाउने सेथले दाजु ओरिसिसलाई बन्दी बनाएर नाइल नदीमा बगाई आफू राजा बन्छ । पतिव्रता इसिसले नाइलबाट आफ्ना पति ओरिसिसलाई फिर्ता ल्याउँछिन् । 

प्राचीन इजिप्टको मिथकका अनुसार राजा ओरिसिसको विवाह इसिससँग हुन्छ । भाउजूमाथि गलत नजर लगाउने सेथले दाजु ओरिसिसलाई बन्दी बनाएर नाइल नदीमा बगाई आफू राजा बन्छ । पतिव्रता इसिसले नाइलबाट आफ्ना पति ओरिसिसलाई फिर्ता ल्याउँछिन् । पुनः सेथले ओरिसिसलाई टुक्राटुक्रा गरी चार दिशामा फालिदिन्छ । पतिप्रतिको प्रेमका कारण इसिस चरा बनेर चार दिशा डुलीकन पतिको हरेक अंग बटुलेर ल्याउँछिन्, तर दुर्भाग्यवश लिंग भेटिँदैन । इसिसको अथक प्रयासपश्चात् पनि उसको लिंग भेटिँदैन, तर ऊ मृत्युको राजा हुन पुग्छ । इसिसले पतिको जीवनका खातिर गरेको संघर्षले उनीप्रति हरेकको श्रद्धा अपरिमेय छ । उल्लिखित दुवै कथनहरू पतिव्रता नारीहरूको कथा थियो । पतिव्रता धर्मको पालना दुवैका साझा गुण हुन् ।

साझापन खोतल्दै जाँदा जताततै साझा मात्र भेटिन्छन् । पुराणको श्वेतवाराह कल्प र बाइबलको जलप्रलय जहाँ नोवाले हरेक जातिका एक–एक जोडीलाई लिएर परमेश्वरले भनेअनुसारको डुंगा निर्माण गरिबसेको हुन्छ, दुवैमा साझा कथा । विभिन्न सम्प्रदायका मानिसहरूले वृक्ष नै पुज्ने चलन अनौठो लाग्छ मलाई । अझ ब्राह्मणहरूको त एक गोत्र औदुम्बर छ जसको अर्थ डुम्री वृक्ष हो । 

ग्रिक अरबी र देवनागरी लिपिका प्रथम वर्ण क्रमशः अल्फा अलिफ र अ छन् । यी तीनैमा अ ध्वनि साझा छ । ओडिनपछिका अर्का प्राचीन जर्मनका मुख्य देवता थोरले प्रयोग गर्ने वज्र स्वस्तिक चिह्नसँग मिल्दो छ । फरक धर्ममा फरक भए पनि सिंगो जनावर नै पुज्ने चलन छ । एउटा धर्मकाले जनावर पुज्छन् भने अन्यले जनावरको कान मात्र वा खुट्टा मात्र नपुजी सिँगो जीवलाई नै किन पुजेका होलान् ?

आखिर एक–अर्काको सम्पर्कमा नआएका मानिसहरूमा एकैखालको चेतनाको विकास कसरी भयो होला ? ग्रन्थकारहरूले पनि सल्लाह गरेझैँ साझा कथाहरू कसरी लेखे होलान् ? ईश्वरका संख्यासमेत साझा हुनु कस्तो खालको संयोग ? प्रश्नहरूद्वारा लखेटिइरहेको म सायदको भरमा चित्त बुझाउन बाध्य हुन्छु । सायद यो कारणले यस्तो भयो कि ! मसँग यस्तो सोच्नुको विकल्प पनि छैन । यही हो भनेर ठोकुवा कारण दिने कोही पनि भेटिनँ । 

जीवको चेतनामा प्रकृतिको प्रभाव व्यापक हुन्छ । यदि प्रकृति, परिवेश र प्रविधि अहिलेको विश्वकै कायम गर्ने र मानव सभ्यताको यहींबाट विकास थालनी गर्ने हो भने अमेरिकालगायतका विकसित राष्ट्रमा विकास भएको सभ्यताको मिथकमा ठूलाठूला बंगलामा बस्ने तथा अहिलेका रोबर्टजस्ता लाग्ने ईश्वर वा असुरको उपस्थिति पक्कै हुन्छ होला । ती मानिसहरूको ईश्वरले प्रयोग गर्ने अस्त्र पनि अहिलेको आधुनिकजस्तो हुन्थ्यो सायद ।

सोमालियाको कुनै विकट गाउँमा सोही समयमा विकास भएको सभ्यतामा भने भोकमरीसँग सम्बन्धित ईश्वर नहोलान् भन्न सकिँदैन । मरुभूमिका मान्छेले बालुवाका देवता बनाउँथे पक्कै र उनीहरूमा रूख वा जलीय जीव पुज्ने चलन चल्दैनथ्यो । समुद्र नै नदेखेका मानिसहरूका कथामा सामुद्रिक जीवरूपी देवताको उपस्थिति पक्का नहोला र स्थलीय ईश्वर÷दैत्य निर्माण गर्लान् उनीहरूले । अनन्तसम्म फैलिएको गुफामा बस्नेहरूले अँध्यारोको देवता बनाउँथे होलान् ।

जन्मजात पूर्ण दृष्टिविहीन भएर मान्छे जन्मने ठाउँ हुँदो हो त स्वाद, गन्ध र ध्वनिसँग सम्बन्धित मिथक जन्मेलान् । कसैले पनि कान नसुन्ने मान्छेहरूको सभ्यतामा ध्वनिलाई स्थान पक्कै हुँदैन । अचम्मको कुरा, ब्याक्टेरियारूपी ईश्वरको उपस्थिति कुनै धर्ममा भेटिन्न, कारण माइक्रोस्कोप हो, जुन उतिवेला अस्तित्वमा थिएन । यस्तै गरीकन भूगोल, भूमि र पर्यावरण नुसारका आ–आफ्ना कथाहरू हुन्थे होलान् मान्छेका । 

उसो भए माथि उल्लिखित प्रसंगमा साझा कथाहरू किन आए ? सायद ती कथाहरू जन्मेको स्थान र काल फरक भए पनि सामाजिक परिवेश र मानिस–मानिसबीचको सम्बन्ध उस्तै खालको थियो । मान्छेका सामाजिक व्यवहार लगभग एकैखालका हुँदा हुन् । समाजको विकासअन्तर अहिलेको न्युयोर्क र सोमालियाको विकट गाउँबीचको जस्तो थिएन होला । हो, फरकपन पक्कै थियो, तर साझापन हावी थियो ।

फरक स्थानमा बसे पनि मानिसहरूले खाने खानाका परिकारमा धेरैखाले खनिज पदार्थ तथा भिटामिनको रूप तथा मात्रा लगभग समान थियो । खानाले चेतनामा पार्ने प्रभावको प्रतिफल एकै किसिमको चेतनाको विकास ती मानिसहरूमा भएको हुन सक्छ । समान खालको पर्यावरणमा हुर्केका लेखक–मानिसहरूमा समान खालको चेतनाको विकास हुनु नौलो होइन ।

फरक स्थानका सभ्यता भए पनि एकैखाले समस्यासँग जुध्न परेकाले उस्तै–उस्तै शिल्प र सीपको विकास ती मानिसहरूमा भएको हुन सक्छ । सोही समान चेतनाको प्रतिफल साझा कथाहरू तथा मिथकहरू जन्मे भन्ने मेरो मत छ । कारण भने फरक हुन पनि सक्छ । कारणलाई छोडी कथनमा लाग्ने हो भने साझा कथाहरू साँच्चै अनौठा लाग्छन् । साँच्चै प्रिय छन् ती मिथकहरू । साझा पात्रहरूलाई तुलना गर्नुको आनन्द आफैँमा बेग्लै छ । अझ विशेषगरी साझापनमा घोत्लिनुको मज्जा मर्मस्पर्शी छ । हो, साझा कथाहरू कालजयी छन् । यस्ता साझा कथा लेख्ने लेखकहरूको जय होस् ।