• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सौरभ
२०७६ कार्तिक २३ शनिबार ०७:४१:००
समाज

सौन्दर्यचेत

२०७६ कार्तिक २३ शनिबार ०७:४१:००
सौरभ

सौन्दर्यचेत मानिसमा त्यसै आउँदैन । त्यो दैवी चमत्कारजस्तो झिल्का भएर आउँछ । टिप्न सके टिपियो, नभए गयो । विगतमा अर्बौंअर्ब मानिस यो देशमा जन्मिए र गए । तिनको चेतनामा झुल्किएका सौन्दर्य सबै भौतिक प्रदर्शनका निम्ति सम्भव पनि थिएन । र, जति भए होलान् ती सबै टिकेनन् । आज नमुना छैन । पंक्तिकारले जे आफूले ठम्याएको छ, त्यसलाई यहाँ दिइएको छ । 

१.
घर र मन्दिरका गरी तीन किसिमका आँखा हुन्छन् ढोकाहरूका । एउटा ढोकामै बनाइएको कलात्मक आँखा, अर्को ढोकासँगैको गारोमा बनाइएको कलात्मक आँखा, तेस्रो प्रायः घरहरूका ढोका हुन्छन्, त्यो हो मानिसको हाइटमा ठ्याक्क मिल्ने गरी बनाइएका दुई खापाका दुई प्वाल । यो ढोकाको प्वाल होइन, घरको आँखा हो । जसको भित्रबाट मानिसरूपी आत्माले बाहिर हेर्न सक्छ, तर बाहिरबाट भित्र अँध्यारोमा केही देखिन्न । आजको ढोकामा प्वालहरू हुँदैनन् । अर्थात् झट्ट हेर्दा जीवन्तता देखिन्न । त्यो संज्ञाशून्य हुन्छ । 

२.
अक्षता भनेपछि गिलो अबिरमा चामल मुछेर निधारमा लगाइदिइने टीका बुझिन्छ । टीकाका अनेक प्रकार र अर्थ हुन्छन् । तर, अक्षता ती सबैबाट भिन्न छ । अक्षताको एउटा अर्थ कुमारी हो, जो भवगती, देवी, शक्ति आदिलाई मानिन्छ । अक्षताको अर्थ आँखाबोधक पनि हो । यी दुइटै अर्थको फ्युजन गरेर निधारमा केही उठेको जस्तो गरी अबिरचामलको ढिका टाँसिन्छ– यो तेस्रो आँखा हो ‘देवीको जस्तै शक्ति मिलोस्’ भन्ने आशीर्वादको । यो भारतमा छैन । अर्थात् नितान्त मौलिक र बहुअर्थी छ । जसले यो प्रथाको थालनी गरायो, त्यो सौन्दर्यचेतमा अपारको पात्र थियो भन्ने आज देखिन्छ । 

.
चन्द्रागिरि नामको पश्चिमी डाँडाबाट पारिपट्टि तल ओर्लिन्छ बिहान ४ बजेतिर चन्द्रमा उपत्यकाको खुला रातमा । यसैले त्यसलाई चन्द्रागिरि भनियो, तर गिर्ने हुनाले चन्द्रागिरी पनि अनुपयुक्त होइन । 
भालको अर्थ चन्द्रमा हो, शिवको शिरमा हुन्छ । अब त्यही ठाउँमा भालेश्वर नामले, जसले शिवालय स्वयं खडा गराइदियो, त्यसले चन्द्रागिरिलाई शिवकै रूपमा लिएर त्यसो गर्‍यो । यो सौन्दर्यचेतको अपार धनी त्यो अज्ञात मानव पनि प्रशंसाको पात्र हो ।

४.
पटुका दौरा–सुरुवाल लगाएका वेला, भोटो सुरुवाल लगाएका वेला कम्मरवरिपरि बेरिने लामो कपडाको मुठा हो । पेटबाट पेटिका हुँदै पटुका बन्न गएको देखिन्छ । 
तर, न यसले पेट बढ्न दिन्छ, न ढाड दुख्न दिन्छ– देशको मुख्य व्यवसाय कृषि भएको ठाउँमा, अझ वेलाबखत कृषकले नै सिपाहीको दायित्व निर्वाह गर्नुपरेको मुलुकमा पटुकाको आविष्कार कम प्रभावकारी छैन । त्यसमाथि खल्ती हुँदैन नेपाली दौरा–सुरुवालमा । पटुकामा खुकुरी, हँसिया, कुटो, खाजा, नस आदि सबै थन्क्याउन सकिन्छ । जाडो भए फुकाएर ओढ्न पनि सकिन्छ । काटेको रूख बाँधेर तान्दै ढाल्न सकिन्छ । पटुकाविनाको दौरा–सुरुवाल राज्यविनाको श्रीपेच जस्तै हो । यो जन्माउने पात्र अविस्मरणीय छ । 

५.
भक्तपुरको भैरव मन्दिरका छानाका चौतर्फी कुनाहरूमा पित्तलका कागहरू छन् । माछा टिपेजस्तै देखिन्छ तिनले टाढाबाट हेर्दा । न्याको तित्या भन्ने चलन छ तिनलाई । पानी पर्दा छानाको खोँचबाट पानी बग्छ । बगेको खोलामा सामान्यतया माछा हुन्छ । यो माछा टिपिरहेजस्तो कागको निर्माणमा एक विचित्र कल्पना छ ।

मानौँ पानी परेर खोँच हुँदै खोलो आयो, जसमा पौडिँदै आएको माछा टिपेर कागले खाइरहेछ । यो कल्पनाशीलता प्रदर्शन गर्ने त्यो अद्वितीय कलाकार पनि बिर्सिनसक्नु लाग्छ । 

६.
पशुपतिमा ६४ लिंग भएको स्थान एउटा यस्तो आकर्षणको केन्द्र हो, जहाँ जुनसुकै उमेरको मानिस पनि एक परिक्रमा गर्न चाहन्छ त्यहाँ पुगेपछि । तर, यसमा दैवी आकर्षण, आध्यात्मिकता, अनुराग आदिको भाव प्रमुख कुरा होइन । ग्रिसको क्रेट टापुमा एउटा दन्त्यकथा छ– लेबरिन्थको । लेबरिन्थ एउटा यस्तो ठाउँ हो जहाँ पुगेपछि निस्कन गाह्रो छ । यद्यपि लेबरिन्थ यतिवेला पुरातात्विक उत्खननपछि प्राचीन दरबारको विशालकाय लामो बरन्डा हो भन्ने साबित भइसकेको छ । युरोपियन बगैँचाहरूमा झाडीहरूको ‘मेज’ बनाउने चलन छ । 

पशुपतिमा ६४ लिंग भएको स्थान एउटा यस्तो आकर्षणको केन्द्र हो, जहाँ जुनसुकै उमेरको मानिस पनि एक परिक्रमा गर्न चाहन्छ त्यहाँ पुगेपछि । तर, यसमा दैवी आकर्षण, आध्यात्मिकता, अनुराग आदिको भाव प्रमुख कुरा होइन । 

तर, यो ६४ लिंग लेबरिन्थ मेज आदि सबैको यौगिक हो । मानिस रमाएर परिक्रमास्थललाई खेलौना मानेर सहजै बाहिर निस्कन्छ । यसको डिजाइन जसले ग¥यो त्यो स्तुत्य छ । यसैले हुनुपर्छ गलेश्वर, म्याग्दी र कैलाश, नवलपरासीमा पनि त्यस्तै मेजहरू निर्माण गरिए । अन्यत्र पनि होलान् । 

७.
शिव र पार्वतीले झ्यालबाट हेरिरहेको एउटा झ्याल हनुमानढोका परिसरमा देखिन्छ । बहादुर शाहबाट निर्माण गरिएको हो । देवतालाई झ्यालमा त्यसरी स्थायी पात्रहरूका रूपमा उभ्याइदिने परिकल्पना जसको मनमा फुर्‍यो, जसले त्यसलाई साकार रूप दियो, त्यो पात्र पनि स्तुत्य छ । मानिसहरूले आफ्ना बाबुआमा, बाजेबजैका प्रतिकृति पनि त्यसरी नै घरको कुनै झ्यालमा उभ्याउन किन थालनी गरेनन् ? त्यसको साढे २ सय वर्षपछिसम्म पनि, बाट पंक्तिकारलाई लाग्छ त्यो कलाकार अपूर्व थियो– न भूतो न भविष्यति । 

हामीकहाँ दस्ताबेजीकरण गर्ने परम्परा भइदिएको भए उसका अद्भुत परिकल्पनाहरू पनि आज हेर्न पाइने थियो । यद्यपि पाटन या भक्तपुर कतै झ्यालमा एउटा देउता उभ्याइदिएको जस्तो लाग्छ, अहिले सम्झना भएन । शिव–पार्वती पटाङ्गिनीमा भेला हुन आएका भक्तहरूलाई हेरिरहेका छन् । मानौँ आग्रहहरू सुनिरहेका छन्– सहरलाई नै पूर्ण जीवन्तता दिने यो कल्पना गर्दैमा मनमा विचित्र तरंगहरू चल्न थाल्छन् कसैको पनि । क्या कलाकार ! 
८.
हनुमानढोकाभित्र मोहनकाली चोकमा एउटा गहिरो ढुंगेधारा छ सायद । वरिपरि ठूलाठूला अजंगका देवीदेवताका मूर्तिहरू पनि छन् । त्यसपछि तुलसीको मठ छ । मठसँगै ढुंगाको खाट जहाँ सिकिस्त राजा सुताइन्छ । तुलसीको मठ भए पनि चोकभरि छापिएका इँटाहरूका कापबाट तुलसी उम्रिन्छन् सिजनमा । अर्थात् चोक तुलसीको एउटा बारी नै हो । 

मोहनचोक त्यही हो जहाँ नजन्मिएको पात्र, जेठो छोरा भए पनि राजा हुन पाइँदैन त्यहाँ । मोहनचोकमा नजन्मिएकाले राजा हुन सम्भवतः जयप्रकाश मल्ललाई ठूलो व्यवधान परेको पनि थियो । अर्थात् राजपरिवार बस्ने चोक पनि हो । 

र, नबाँच्ने पक्का भएपछि राजालाई सुताउने भित्री दलान पनि सँगै छ । सुताउने ठाउँमाथि देवताका मूर्तिहरू तल फर्किने गरेर टाँगिएको एउटा घोप्टेजस्तो, बिर्कोजस्तो सिलिङमा झुन्ड्याइएको छ । शासकलाई जीवन क्षणभंगुर छ भन्ने कुरा निरन्तर सम्झाउनका लागि र न्यायपरायण बनाउनका लागि यति ठूलो जुक्ति गरिएको यो तर्जुमाको बयान गरेर साध्य छैन । 

९.
लामालामा थोपाजस्ता पन्नाका पंक्तिहरू राजाका श्रीपेचअगाडि तुर्लुङ्गिएका हुन्थे । तस्बिरमा पनि सहजै जोकोहीले देख्न सक्नेछन् । राणा प्रधानमन्त्रीका श्रीपेचमा हुनेमध्येको कुनै एउटाचाहिँ सबैभन्दा ठूलो हुने गथ्र्यो भनेर एक ठाउँ भीमबहादुर पाँडेले लेखेको हो वा अरू कसैले सम्झना छैन । अर्थात् त्यस्तो महत्व थियो यसको । 

तर ‘साउनमा आँखा बिग्रेको गोरु सधैँ हरियो देख्छ’ भन्ने भनाइ पाएको थियो राजा हुनेले माथिल्लो एलिट क्लासबीच, त्यो समयमा । मैले यो कतै सुनेको हुँ । कारण थियो यही पन्नाको लहर । 

राजा हुनेको आँखाले कता हेरिरहेको छ, भिडले, जमातले भेउ नेपाओस् भनेर करिब–करिब आँखा छोप्ने, छेक्ने गरी लुर्कनको तर्जुमा भएको रहेछ भन्ने बुझ्नुपर्छ । हरियो पत्थर लुर्कनका निम्ति प्रयोग गर्दा एउटा प्रचलित उखान अत्यन्तै सटीक देखिन गयो, त्यति मात्र हो । तर, जसले गगल्स नजन्मिएको वेलामा त्यस्तो लुर्कनको कल्पना गर्‍यो, त्यो कलाकार प्रशंसनीय छ ।

१०.
सुपा देउराली अर्घाखाँची लाग्दाको नेटो हो । त्योभन्दा उकालोमा धेरै पर गएपछि पनि यो देखिन्छ । नेटोबाट धेरै वर ओर्लिएपछि पनि देखिरहिन्छ । यही नेटोमा खडा गरिएको छ एउटा पाखे शैलीको मन्दिर । 

पाखे शैलीको भनेपछि त्यो आफैँमा सबैबाट प्रशंसित शैली हुँदै हो । त्यसभन्दा बढी यसलाई एउटा यस्तो नेटोमा स्थापित गर्ने, अनेक आयामले अनेक दूरीबाट परख गर्न सकिने गरी बनाउने जुन सोच यसका स्थापनाकारमा आयो, त्यसको अभिनन्दन गर्ने मन हुन्छ । 

११.
चन्द्रबहादुर श्रेष्ठ (नेपालका आँखीझ्यालहरू) र कल्पना श्रेष्ठ (हाम्रा आँखीझ्यालहरू) । दुई किताबहरू प्रकाशित छन् उपत्यकाका आँखीझ्यालहरूलाई लिएर । सैद्धान्तिक कोणले कल्पना श्रेष्ठको किताबमा मिहिनेत देखिन्छ । 

तर, रोल्पाको थबाङका झ्यालहरू मनोभाव अभिव्यक्तिका कोणले काठमाडौंका उपत्यकाका झ्यालहरूभन्दा धेरै अगाडि छन् । मगरहरूको हाँसखेल, ख्यालठट्टा गर्नुपर्ने अनेक उदेकलाग्दा भाव तिनले तीव्र वेगका साथ प्रदर्शित गर्छन् । तिनले अन्तर्राष्ट्रिय स्तरमै यो ट्रेन्ड दिन सक्छन् । झ्याल मात्रै हेर्न पनि थबाङ गइरहूँ लाग्छ । 

१२.
काठका अपरिष्कृत खालका मस्टाहरू बनाउने र स्थापना गर्ने जुम्लाको पुरानो चलन हो । पर्यटकहरूलाई क्युरियोका रूपमा बेच्न मस्टा मूर्तिहरू काठमाडौंकै पसलहरूमा राखिएको र केही रिसोर्टहरूमा सजाइएको पनि देखिन्छ । 

तर, जुम्लाको हिमा नगरपालिकाअन्तर्गत हिमा नदीमाथिको एउटा पुलका चार कुनामा स्वागतार्थ उभिएका नर, नारी र पहरेदारका रूपमा जुन मूर्तिहरू स्थापित छ त्यो कदरयोग्य कल्पनाशीलता हो । एकैपल्ट स्वागतकर्ता र पहरेदारसँग भेट हुन्छ यात्रुको । अगाडिका पहरेदार हुन् र पछाडिका स्वागतकर्ता– ती बीचबाट गुज्रन्छ यात्रु । क्या कल्पना ?

पुछारमा 
ब्रसेल्स, बेल्जियममा एक बालकले लघुशंका गरिरहेको सानो मूर्ति, सहरकै र अझ देशकै प्रतीक हो । अनुलेख्य एउटा साँघुरो सडकबाट गएपछि, अनुलेख्य साँघुरो गल्लीको भित्तामा उभिएको एउटा सानो, आज अप्रत्यासित रूपमा प्रसिद्ध मूर्ति हुन पुगेको छ । मानिसहरू तस्बिर खिच्न आइरहन्छन् । 

तर, अहिले सहरको अर्को कुनामा लघुशंका गरिरहेकी एक बालिकाको पनि मूर्ति स्थापित गरिएको छ । केही पर पुगेर खुट्टा उचाल्दै लघुशंका गरिरहेको एक कुकुर (पश्चिमाहरूको प्रियतम पाल्तु जन्तु)को मूर्ति पनि स्थापित भएको छ । यसले बुझाउँछ, सौन्दर्यचेत बताएर बताइने कुरा होइन । बुझ्ने र त्यसको रेप्लिकेसन गर्न सक्ने जनता छ कि छैन देशमा । त्यसले उसको सौन्दर्यचेतको गम्भीरतालाई बुझाउँछ ।