• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
आरके अदीप्त गिरी
२०७६ कार्तिक २३ शनिबार ०८:०२:००
समाज

दोसाँधका राउटे

२०७६ कार्तिक २३ शनिबार ०८:०२:००
आरके अदीप्त गिरी
आरके अदीप्त गिरी

सुर्खेत लेकबेसी नगरपालिका–१, चिप्लेटी पुग्नुभयो भने तपाईंलाईं भेरी नदीको संगीतमय आवाजले एकछिन टक्क अडिन बाध्य पार्नेछ । नदीकिनारको बालुवामा खेल्न व्यस्त नानीहरूको झुण्डले तपाईंको ध्यान एकैछिन आफूतर्फ खिच्छ । समूह–समूहमा केही बालबालिका बालुवामा चित्र बनाउँदै गरेका देखिन्छन् । केही भने हात समातेर एकआपसमा ‘कपर्दी’जस्तो कुनै खेल खेलिरहेका भेटिन्छन् । उनीहरूको चालामाला अरूको भन्दा निक्खर भिन्न छ । अनुहार भिन्न छ । बस्ने थातथलो भिन्नै छ । हिँड्ने बाटो भिन्नै छ । 

भेरी नदीकिनारको चिसो ठिहीमा छन्– स–साना टहरा । वा यसो भनौँ– घाँसपात र केही कागजीपालले ढाकिएका झुप्रा–झुप्री घर छन् । आमबुझाइले यी घरलाई घर भन्दैन । साह्रै कठीन ढंगले एकदेखि डेढ मिटर उचाइमा ठडिएका छाप्रा हुन् यी । छाप्रावरिपरि एकाध घरबाहेक दायाँबायाँ जंगलै मात्रै छ, घना जंगल । पारिपट्टि निर्माण हुँदै गरेको सानो–भेरी जलविद्युत् आयोजनाको बाँध छ भने त्यसको केही मास्तिरबाट कर्णाली राजमार्ग कुदेको छ । 

सञ्चार मोह : आर्थिक होस् या सामाजिक क्रियाकलापबाट सधैँ टाढा रहँदै आएका राउटेहरू पछिल्लो समय आधुनिकतासँगै भित्रिएका सञ्चार उपकरणसँग पनि नजिकिन थालेका छन् । उनीहरूका लागि फोन आवश्यकताभन्दा पनि बढ्ता चाहना भएको छ ।

माथि व्याख्या गरिएको बस्ती नेपालकै लोपोन्मुख राउटे समुदायको पछिल्लो ठेगाना हो । यिनै झुप्राहरू हुन्– फिरन्ते जीवन बिताइहिँड्ने उनीहरूको ‘विशेष घर’ । ती घरले न गतिलो गरी घाम छेक्न सक्छन्, न झरी–वर्षा । अरू डर त परको कुरा भए ! फरक जीवनशैली–फरकखाले पहिरनमा उपस्थित उनीहरूको अनुहारमा तपाईं देख्नुहुन्छ– हतारोपन, सन्त्रास, संकोच । उनीहरूको आवाज फरक छ । लवज फरक छ । बाँच्ने तौरतरिका फरक छ । खानपिन फरक छ । उनीहरूलाई पहिलो पटक भेट्दा जो–कोहीको मन पनि अनौठो आश्चर्यले भरिन्छ ।

राउटे बालबालिका : परम्परादेखि नै संघर्षमय जीवन बिताउँदै आएका यस समुदायका बालबालिका जंगलमै रमाउँछन् । 

राउटे– नेपालका अन्तिम फिरन्ते जाति । हालसम्मको खोजले भन्छ, ‘राउटेहरू सम्भवतः एसिया महादेशकै र नेपालका अन्तिम जंगली–जाति हुन् ।’ अनुसन्धानदाता राइन हार्डको खोजले भन्छ– एसियामा राउटेबाहेक अर्को जातिको अस्तित्व जंगली अवस्थामा रहेको भेटिएको छैन । राउटेहरूको प्रिय वासस्थान हो– जंगल । 

घुमन्ते जीवन : जंगललाई नै संसार ठान्ने उनीहरू घर गुजाराका लागि काठ–दाउरा लिएर घर फर्किंदै । यो उनीहरूको जीवन दैनिकी हो ।

एकैठाउँमा जीवन बिताउँदैनन् उनीहरू । न अन्यका जस्तै उनीहरूका धेरै आफन्त छन्, न इष्टमित्र, न साथीसंगाती । भनिहालियो– उनीहरूका झुप्रा छन् जंगलमा । जंगलमै आश्रित उनीहरू आफ्नो जीवनप्रक्रिया प्रायः जंगलबाटै चलाइरहेका छन् । जंगलमै उनीहरूको आफ्नै असली पारिवारिक जीवन छ– बालबच्चा छन्, धर्मसंस्कृति छ, रीतिथिति, देउ–देउता र चाडबाड छन् । उनीहरूको न विशेष पेसा छ, न देश–दुनियाँबारे कुनै टिप्पणी । 

फिरन्ते जोडी : राउटेहरूको विवाह आफ्नै समूहभित्रका विभिन्न थरबीच हुने गर्छ । दुलहीको एकसरो कपडाकै भरमा विवाह हुन्छ । राउटेको अधबैँसे जोडी ।

उनीहरूको विशेष खाना हो– बाँदर (गुना) । बाँदर सिकार गर्छन् उनीहरू । काठका भाँडाकुँडा बनाउँछन् र दुनियाँसँग ती सामान साटफेर गरी घर–गुजारा चलाउँछन् । न त पशुपालन गर्छन्, न खेतिपाती । अहिलेको चमकधमक दुनियाँमा अझै पनि उनीहरू जंगलमै सारा जिन्दगी बिताउँछन् भन्दा आश्चर्य लाग्छ । आधा शरीर मात्रै ढाकेर हिँड्ने उनीहरूको मौलिक र चारित्रिक व्यवहारको भिन्नता फरक लाग्छ । 

स्वतन्त्र बालापन : प्रायः अर्धशारीरिक वेशभूषामा बस्ने यो समुदायका बालबालिका त्यही जीवनशैलीमा हुर्किन्छन् । उनीहरूका रमाउने आफ्नै प्रकारका खेल–सीप छन् ।

राउटेहरू अझै किन जंगलमै बस्छन् होला ? अझै किन उनीहरूलाई वन चहार्दै हिँड्न मनपरेको होला ? यस्ता धेरै प्रश्न उनीहरूलाई देख्दा हाम्रो मनमा उब्जिरहन्छ । पर्याप्त खोज र अनुसन्धानविना उनीहरूलाई पढ्नु भनेको बित्था ठहरिन जान्छ । जे होस्, अनादिकालदेखि नै उनीहरूको जीवनचक्र यसैगरी निरन्तर चलिरहेकै छ । 

धूमपानप्रिय राउटे : धूमपान गर्न उनीहरू पोख्त हुन्छन् । जाँडरक्सी, चुरोट, सुर्ती तथा तमाखुका उनीहरू असली अम्मली हुन् ।

नेपालको पश्चिमी भेग राउटेको मुख्य थलो हो । फिरन्ते भएरै पश्चिम नेपालका दैलेख, अछाम, डोटी, डढेलधुरा, दाङ–देउखुरीदेखि उत्तरका रुकुम, जाजरकोट, कालिकोट र दक्षिणको यस सुर्खेतसम्म आइपुगेका छन् उनीहरू । भित्री मधेसको भावर क्षेत्र वा नदीकिनारका यी क्षेत्रहरू राउटेको प्रमुख वासस्थान हुन् । एक हजारदेखि बढीमा आठ वा नौ हजार फिटको उचाइसम्म बस्छन् उनीहरू ।

आफ्नै दैनिकी : पुरुषहरूले घरको आर्थिक व्यवहार भरथेग गर्ने यो जातिमा महिलाहरू भने घर–परिवारभित्रको दैनिक जिम्मेवारीमा पूर्ण समर्पित हुन्छन् ।

पछिल्लो समय भने उनीहरू दैलेख, सल्यान र रोल्पा जिल्लातिर घुमिहिँडेका छन् । ‘राउटे भन्ने जात कसरी रहन गयो ?’ मुखिया सूर्यनारायण शाहीले यस प्रश्नमा कुनै चित्तबुझ्दो उत्तर दिएनन् । भन्छन्, ‘बराजुको पालादेखि नै सबैले हामीलाई राउटे भन्दै आए । हामीले मान्दै आयौँ ।’ उनी राउटेहरू ठकुरी वंशको भएको बताउँछन् । राउटेभित्र रास्कोटी, कल्याल, समाल, हमाल, चन्द, सत्याल आदि आफ्ना थरहरू रहेको बताए । यद्यपि कागजी कामकाजमा भने  उनीहरू आफ्नो थर ‘शाही’ लेखाउँछन् । 

आ–आफ्नै जिम्मेवारी : राउटे समुदायमा सबैका आ–आफ्नै जिम्मेवारी हुन्छन् । आफ्नो ख्याल उनीहरू प्रायः आफैँ गर्छन् ।

उनीहरूको भाषा आफ्नै छ । थेप्चो नाक र चिम्सा आँखा भएका उनीहरू गहुँगोरा छन् । आफ्ना कुरा कसैलाई भन्न रुचाउँदैनन् । आफ्नो भाषा पनि कसैलाई बताउन–सिकाउन नहुने मुखिया सूर्यनारायणको विचार छ । उनीहरूको धर्म–संस्कृतिचाहिँ हिन्दू संस्कृतिसँग मेल खान्छ । 

मुखिया सूर्यनारायण राउटे समुदायकै एक्ला जानकार हुन् । धेरै विषयमा बोल्न नजाने पनि उनी आफ्नो जात, समुदाय, जीवन, वासस्थान, नजिकका वन, खोला, जमिनबारे कनिकुथी बोल्न सक्छन् । उनीहरूका थुप्रै कुरा भने भाव–आशयमा बुझ्नुपर्ने हुन्छ । राउटे समुदायमा उमेर पुगेका कन्याको अभाव भएपछि मुखिया सूर्यनारायण अचेल तनावमा छन् । उनका अनुसार, केही महिनापहिले यहाँ लगातार पाँचवटा विवाह भएका थिए । अब भने विवाह गर्ने जोडीको अभाव भएको उनले बताए । 

सूर्यनारायणको सूचनापछि भर्खरै विवाह गरेका ती जोडीको खोजीमा म उनीहरूको झुप्रातिर लागेँ । हालैै विवाह गरेको दलबहादुर शाही (३२) र मयाराम शाही (१२)को जोडी केही लजाउँदै बोलिरहेका थिए । गतिलोसँग आफ्नो स्याहार पनि गर्न सक्ने भइनसकेकी मयारामको महिना दिनअघि मात्रै विवाह भएको थियो– आफूभन्दा बीस वर्ष जेठा दलबहादुरसँग । यो दलबहादुरको दोस्रो विवाह हो । अघिल्लो पत्नीको मृत्यु भएपछि उनले दोस्रो विवाह गरेका हुन् । उनका दुई सन्तान छन् । ‘मलाई त बिहे भएजस्तै लाग्दैन,’ मयारामले संकोच मान्दै भनिन् । प्रतिउत्तरमा दलबहादुर भने, ‘अझै पनि म उसको श्रीमान् हुँ भन्ने उसले थाहा पाउँदिन ।

राउटे मुखिया जोडी : राउटे मुखिया सूर्यनारायण शाही श्रीमतीका साथ । वषौंदेखि मुखियाको आदेश पालना गर्दै आएको यस जातिमा अहिले पनि मुखियाकै शासन र नेतृत्व छ ।

सानै छे, उमेर बढेसँगै बिस्तारै सबै कुरा बुझ्दै जाली ।’ आफ्नो समुदायमा उमेर मिल्ने महिला नभएपछि कम उमेरकै केटीसँग बिहे गर्न बाध्य भएको उनले सुनाए ।
त्यही राउटे बस्तीकी सुरमान शाही, ३१ वर्षीय शिवराज शाहीसँग विवाह बन्धनमा बाँधिएकी रहिछन् । पछिल्लो एक सातामा चौध वर्षे बांगे शाहीले पनि बाइस वर्षीय हिरासिंह शाहीसँग विवाह गरेकी थिइन् । खेमराज शाही र सुविधा शाहीको जोडी पनि त्यहीँ भेटिए । साथै सुरेन्द्र शाही र मसुरी शाहीको जोडीसहित पाँचै जोडी भेटिए । उनीहरूका बिहे–किस्सा केही रोमाञ्चित थिए भने धेरै संवेदनशील । 

एक साताको अवधिमा यहाँका पाँच बालिकासँग विवाह गरेका अधिकांश पुरुषको उमेर बालिकाको तुलनामा दोब्बर थियो । बिहे गरेका सबै बालिका तेह्रदेखि पन्ध्र वर्ष उमेरका थिए । राउटे बस्तीका झन्डै एक दर्जनभन्दा बढी युवाको उमेर पैँतीस–चालीसभित्र छ । किशोरीहरू हुर्किन नपाउँदै कसले बिहे गर्ने भन्ने तँछाडमछाड हुन्छ । यहाँ तीनथरी जात छन्– कल्याल ठकुरी, राजकोटी ठकुरी र छत्याल ठकुरी । एउटै जातभित्र बिहेबारी चल्दैन । समस्या के रहेछ भने कुल जनसंख्यामध्ये यहाँ राजकोटी धेरै रहेछन् । त्यसैअनुसार, बिहे गर्ने उमेरका युवा पनि धेरै हुने नै भए । कल्याक र छत्यालको जनसंख्या कम भएकाले उनीहरूमा उमेर पुगेका युवालाई कन्याको अभाव भएको मुखिया सूर्यनारायण बताउँछन् । 

प्राकृतिक असन्तुलन : राउटेहरूको प्रमुख भोजन बाँदर हो । तर, जुगौँदेखि चल्दै आएको उनीहरूको सिकारको रुचि भने हिजोआज कुखुरा र बाख्रामा बाँडिएको छ ।

राउटेहरू विवाहलाई जीवनको महत्वपूर्ण पक्ष ठान्छन् । उनीहरूको विवाह बाबुआमाको कुराकानीबाट मिलाइन्छ । यहाँ केटाकेटी आफैँ प्रेम–बन्धनमा परेर विवाह गर्न वर्जित छ । विवाहअगाडिको यौनसम्पर्कबारे उनीहरू सोच्न पनि सक्दैनन् । ‘बिहेपछि केटा–केटीलाई परिवारबाट छुट्टै राख्ने चलन छ । बिहेपछि छुट्टै छाप्रो बनाएर उनीहरूलाई बसाउने गर्छौँ,’ हालै विवाह बन्धनमा बाँधिएका प्रकाश शाही भन्छन् । 

०००
सूर्यनारायणको छाप्रोमा भएको वार्तालापपछि उनीहरूको थप कथा सुन्न म अन्य छाप्रामा पुगेँ । बस्तीमा कोही ओखलमा धान कुट्दै थिए, कोही केटाकेटीसँग घरधन्दामा मग्न । कसैलाई नदीकिनारबाट पानी ओसार्ने चटारो थियो भने कोही आफैँ–निर्मित औजारले काठका सामान (कोसी, मधुस, खाट) बनाउन व्यस्त थिए । पैसा नपाईकन उनीहरू फिटिक्कै केही बोल्न चाहँदैनन्– जति प्रश्न ग-यो, उति पैसा फ्याँक्नुपर्ने । जतिपल्ट फोटो क्लिक ग¥यो, उतिपल्ट उनीहरू दाहिने हातको बुढी र चोर औँला चिप्ल्याउँदै ‘पैसा चाहिन्छ त पैसा’ भनिरहन्थे । एक युवकले त भनिहाले, ‘हामी राउटे, तमी दुनियाँ । राउटेले त चुरट खान्छ, रक्सी खान्छ, सुर्ती खान्छ, पैसा देऊ पैसा !’ 

मैले केही पैसा दिएरै उनीहरूकै अनुरोधमा फोटो खिचेँ । लामो कुराकानी टेप गर्न भ्याएँ । सँगै हिँडेँ, सँगै खाएँ र उनीहरूसँग हप्ता दिन उठबस गरेँ । उनीहरूका पछिपछि हिँडिरहँदा जीवनको एउटा सत्यलाई भेटेबराबर अनुभूति हुन्छ, मैले त्यस्तै अनुभूति गरेँ । 

उनीहरूको शिविर बस्तीबाट एक–दुई घण्टाको दूरीमा हुन्छ । उनीहरूको खाद्यको प्रमुख स्रोत आफैँले बनाएका काठका साज–भाँडाको साटफेरबाट प्राप्त हुने अन्न हो । त्यसैले उनीहरू बस्तीबाट धेरै टाढा बस्न पनि चाहँदैनन् । सन्तुलित दूरी कायम गरी गाउँको आसपासमा बस्छन् । राउटे एकै स्थानमा दुई हप्तादेखि बढीमा एक महिनासम्म बस्ने गरेको राउटेबारे अनुसन्धान गर्दै आएकी दुर्गा खत्रीले बताइन् । 

खत्रीका अनुसार एक ठाउँमा बसिसकेपछि त्यहाँको सिकार, बन्दव्यापार सकेर मात्र उनीहरू अर्को ठाउँमा सर्दा रहेछन् । ‘उनीहरू बस्ने, छोड्ने गरेको ठाउँलाई नक्सामा कोर्दै जाने हो भने त साङ्लोजस्तो आकार बन्छ,’ खत्री भन्छिन् । जहाँ मस्त सिकार मिल्छ, जहाँ राम्रो दार पाइन्छ, जहाँ बस्ती बाक्लो छ, जहाँका गाउँलेसँग प्रशस्त अन्नपात छ, जहाँ गाउँलेले बाधा पु-याउँदैनन्, जहाँ साटफेरको व्यापार राम्रो चल्छ, त्यस क्षेत्रमा राउटेहरू लामो समयसम्म बस्ने खत्री बताउँछिन् । 

फिरन्ते बसिबियाँलो :आफ्नै परिवार र समुदायमा रमाउने यो जाति फुर्सदको समयमा भने आफ्ना साथीसँगातीबीच गफिन्छन् । समय कटाउने उनीहरूको एउटै बहाना कक्कड–हुक्का पिउनु पनि हो । 

राउटे–बस्तीमा अहिले चालीस घरधुरी छन् । कुल जनसंख्या १५२ छ । प्रत्येक परिवारका लागि बस्ने छुट्टाछुट्टै छाप्रो बनाइएको छ । करिब ३–४ फिट अग्ला, ५ फिट चौंडा र ६ देखि १२ फुटसम्म लम्बाइका छाप्रा उनीहरू बस्ने ‘घर’ हुन् । कुनै घर एक परिवारको लागि एक्लो र कुनै संयुक्त परिवारका लागि लामो पारेर बनाइएका छन् । छाप्रा निर्माणका लागि आवश्यक काठपात, भाटा, स्याउला उनीहरू स्थानीय जंगलबाटै लिन्छन् । दुईतिर स–साना धुरीखाँबा भएको र माझमा धुरीबलो हालेको उनीहरूको घर पर्यावरणमैत्री हुन्छ । छाप्रोको बीचमा अँगेनो हुन्छ । उनीहरूको खाना पकाउने, खाने, सुत्नेलगायतको घर–संसार भन्नु यही हो । 

०००
राउटे आफूलाई जंगलको राजा ठान्छन् । उनीहरूसँग भन्नुपर्ने कथा, सुन्नुपर्ने विषय, बाँड्नुपर्ने हालखबर र गर्नुपर्ने अभिलेखका सयौँ–हजारौँ विषय छन्, उनीहरूको जीवन पढ्दा यस्तै लाग्छ । 

उनीहरूको खानपानको तरिका फरक छ । जन्म–मृत्यु संस्कार फरक छ । हामीले मान्दै आएको सामाजिक स्थिति र व्यवहार हाम्रो भन्दा नितान्त भिन्न छ ।आनीबानी फरक छ । चुरोट, रक्सी र सुर्ती खाने अम्मल फरक छ । धर्मसंस्कृति र वेशभूषा फरक छ । मनाउने चाडबाड फरक छन् । आर्थिक क्रियाकलाप फरक छ । समाजसँगको सम्पर्क सूत्र फरक छ । राजनीतिक स्थिति फरक छ । अन्य धेरै–धेरै पक्षले हामीभन्दा यी राउटे नितान्त फरक छन् । उनीहरूको अस्तित्व संकटमा छ । लाग्छ– राउटेहरू दोसाँधमा छन् ।