• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ कार्तिक २३ शनिबार ०९:११:००
समाज

सकिएको भिउरा फुलाउने सोता कि थारू ?

२०७६ कार्तिक २३ शनिबार ०९:११:००

आफ्ना सहेली र छिमेकीसाथ कट्वाखोलामा माछा मारेर भौनी चौधरी फर्के नि उनका आँखा भने घर फर्केनन् । उनका उदास आँखा घरी घरछेउमा ताल्लिएको कटहीमा पुगे त घरी गाउँसिरानको सिस्वागन्जीमा । दुई सोताबीच अवस्थित कटही गाउँ त दुई तालको बीचमा थियो । ताल बन्नुअघि ती सोता थिए, सिस्वागन्जी सोता र कटही सोता । 

पानी, माछा र थारू त साथसाथ रहे । त्यसैले सोता साइडमा बसेथे, थारूबस्ती । जसका कारण, सुख–दुःखमा निक्लने थारू सुसेली तिनै सोतामा सुसेलिन्थे । सिस्वागन्जीमा उभिएका खर्सेट्टी काँडेधारबाट जोगिँदै भौनीले साथीहरूसँग गाई, गोरु, भेडा चराउँथिन् । भाँतीभाँती ‘ग्वाले खेल’ खेल्थिन् । वस्तुभाउसँग जिस्किँदै गाउने वनचरा गलामा गला मिलाउँदै भौनीले कहिले सक्ख्या गाएकी थिइन् त कहिले सजना । गाउँदागाउँदै ती सिस्वागन्जी र कटही सोता नै थारूगीत भएका थिए ।

काँसघारीमा फुलेका काँस फूलसँगै कोर्दाखेरि झरेका उनका कपाल पनि सँगसँगै उडेका थिए । जिम्दार घरमा कम्लरी बस्दा त्यही सोतामा कमैया खुसीराम चौधरीसँग उनको लभ परेथ्यो । तिनै सोतामा भँैसी, गाई, गोरु र भेडाका रोहबरमा गाढिएको प्रेमलाई भौनीले बिहेमा परिणत गरेकी थिइन् । 
त्यति मात्र होइन, भौनी र उनका सहेलीहरूले सोताका काँसघारीमा जिम्दार ज्यादती जोख्दाजोख्दै आँसु भएर पोखिएका थिए । तिनका दुःख देखेर काँसका फूलसमेत धर्धरी रोएका थिए । 

कस्तो दुःख ! उनका पति खुसीराम चौधरी सिस्वागन्जी तालको सिरानमा अवस्थित नर्सरीछेवैमा सधैँका लागि सुतेका थिए । पतिसाथ देवर जगमान र जेठा ससुरा प्रसादु पनि । तिनका साथमा थप आठजना उनका आफन्त पनि थिए । संयोगले एक मात्र ठगु चौधरी बाँचेका थिए, जो त्यस दिन बाहुन जिम्दार खलिहानमा पराल बाँधिरहेका थिए । बर्गद्दी र कटहीका यी ११ थारूलाई बर्गद्दीका ‘बौना जिम्डर्वा’को धान दाइरहेको वेला शाही नेपाली सेनाले खलिहानमै सोत्तर पारेथ्यो । यो थियो, ०५८ मंसिर १६ गते । 

मारिएका ११ थारूमध्ये एकजना पनि माओवादी थिएनन् । न त थिए, माओवादी समर्थक नै ।भौनी दसैंलगत्तै फरुवा बोकेका पति खुसीरामसँग जान्थिन्, भिउरा फुलाउन । कहिले सिस्वागन्जी सोतामा त कहिले कटही सोतामा । कहाँनेर हो, भौनीले भिउरा फुलाएको ? जन्तेको कहाँनेर हो ? मन्लाको ? भौनी उदास आँखाले तग्याउन सकेनन् । ठम्याउन हम्मे भयो, जिम्दार घरबाट फुट्केर खुसीरामलाई भेटेको काँसघारी, छ कहाँनेर ? सहेलीहरूसँग रोएको खर्सेट्टी झाडी कहाँनेर हो ? नामोनिसान थिएन । सोताभरि जता हेर पानी नै पानी थियो । 

सोतामा खाल्टाखुल्टी थिए । कति ठूला त कति साना । कति ससाना कदका तालजत्रा त कति पोखरीजत्रा । तिनै खाल्टाभरि पानी बास बस्थे । पानीले नभेट्ने अलि अग्लिएका जमिनमा खर्सेट्टी, काँस र बाँस उभिएका थिए । खर्सेट्टी फुलेर सोता जगमगाउँथ्यो भने काँस फुल्ने याममा सोता नै सेतै भएर फुल्थ्यो । 

हो, भौनी दम्पती अलिकति सेउला, सोत्तर, बेश्रम्मा अथवा खस नेपाली भाषामा अजम्मरी, मकैको डाँठ, पराल, घाँस लिएर सोतामा पुग्थे । तिनलाई पानीमा राख्थे । नबगाओस् भनेर दुई–चारवटा किला ठोक्थे । ढुंगाले चेप्थे । खाल्टोमा बसेको पानी आकार बढ्थ्यो । माटो, ढुंगाले अचेटेर बारेको भागलाई यहाँदेखि त्यहाँसम्म ‘मैले भिउरा फुलाएको’ भाग भनेर चिनो राख्थे । 

भिउरा फुलाएका कति सोता थिए त कति पोखरी कति कुलो, कति खोला त कति सडकछेउका खाल्डा । देउखुरीवासी लेखक छविलाल कोपिला भन्दै थिए, ‘लमहीदेखि भालुवाङसम्म बाटो बनाउँदा बनेका खाल्डा छन् । तिनै खाल्डामा जमेका पानीमा भिउरा फुलाउँथे ।’ 

यसरी माछा मार्न आफूले माछा बास बनाउनुलाई दाङतिर भिउरा फुलाउने भन्थे भने देउखुरीमा झुक्का डर्ना । सेउला, मकै डाँठ, पराल, अजम्मरीलाई ढुंगाले अचेटेको ठाउँमा माछा वास बस्थे । माघी नआउँदासम्म त दाङ र देउखुरी उपत्यकाका सोता, खोला, कुलो, पोखरीमा थारूले फुलाएका भिउरा नै भिउरा हुन्थे । 
माघी आउनुभन्दा दुई दिनअघि अर्थात् सुँगुर ढाल्नुभन्दा अघिल्लो दिन थारू गाउँ उठ्थ्यो । ‘बासी’ खाएर थारू गाउँ नै भिउरा फुलाएको सोतामा पुग्थ्यो । पहिले–पहिले थारूले दुदुई घन्टाको फरकमा खान्थे (जुन वैज्ञानिक पनि छ) । बिहान उठेर खाने खानालाई बासी भन्थे । त्यो जाँड, माड वा बासी भात हुन्थ्यो । बासीपछि खाने खानालाई कल्ल्वा भन्थे । कल्ल्वा खाएपछि मिझ्नी खान्थे । त्यसपछि सिझ्नी र सुत्नुअघि बेरी । 

माघी आउनु दुई दिनअघि, बासी खाएपछि थारू बगाले आवाज थारू गाउँबाट एकसाथ झथ्र्यो, ‘मछी मार गइरलही ।’सोतामा पुगेपछि भिउरा फुलाउँदा अचेटेका ढुंगा हटाउँथे । पानी फाल्ने मेसिन थिएन । त्यसैले डुक्नीले पानी वापेर फाल्थे । पानी बग्ने बाटोमा थारू महिलाले हेलुका थाप्थे । बचेको थोरै पानी या हिलोमा फुट्रुकफुट्रुक गरिरहेका माछा टिप्थे ।थारू हुल सामूहिक रूपमा ‘हैसे’ गर्दै माछा मार्थे । सिजनअनुसारको गीत गाउँथे । जस्तो, बिहे सिजनमा मागर । त्यसैले माछा मार्दाखेरिको सिजनअनुसारका गीत गाउँथे । 

भिउरा फुलाएको ठाउँमा प्रायः चरिङ्ङ, गुइँटना, गंगटा, बाम जातका माछा हुन्थे । तिनै माछा आफ्ना देउतालाई चढाएर आफूले खान्थे । माघीका लागि माछा मारेको भोलिपल्ट सुँगुर ढाल्थे । त्यसपछि कोही रातभर जागाराम बस्थे त कोही निदाउँथे । भाले बासेपछि नजिकका खोलामा नुहाउन जान्थे । नुहाएर फर्केपछि अलिकति माछा र अक्षता लिएर मटवाँकहाँ पुग्थे ।

 मटवाँको आँगनमा हुस्सुलाई हुस्सु बनाउँदै आगो लाप्का छुटेको हुन्थ्यो । माघी अर्थात् माघ १ गतेको चिसोमा नुहाउँदा जमेका थारू जिउ त्यही आगोले सेक्थे । त्यसपछि मटवाँ हातबाट टीका थाप्थे । त्यसैवेला थारू घरमा पुगेका पाहुनालाई कान तताउन एक गिलाससहित माछाले स्वागत गर्थे । सबभन्दा ठूलो पर्व माघीमा मात्र होइन, थारूले माछा त दसैँ, तिहार, अट्वारी, अष्टिम्कीमा पनि मार्थे । ‘घरछेवैको सोता अहिले ताल बने । सोता हुँदा यो ठाउँ र माछा हाम्रा थिए, ताल बने सोता र माछा पराइ भए,’ कटहीकी भौनी चौधरी भन्दै थिइन्, ‘पुर्खादेखि नै भिउरा फुलाउने सोता हेर्दाहेर्दै ताल बने । सोता ताल बनेपछि माछा मार्ने हरायो ।’

बर्गद्दीका खड्गबहादुर चौधरी (७१) भन्दै थिए, ‘न भिउरा फुलाउन पाइम् न माछा मार्न । किनेर खाने पैसा छैन । तालमा खेलेका माछा हेरेर थुक निल्छम् ।’ 
ताल बनेपछि माछा ठूला भए । मनग्य पनि भए । सोतामा माछा ससाना हुन्थे । सर्वसाधारण र गरिब थारूले पनि भिउरा फुलाउँथे । माछा मार्थे । तिनै सोता ताल बनेपछि, तिनै सोता साना माछा ताला माछा भए । ठूला भए । तालका ठूला माछा त गरिब र सर्वसाधारण थारू पहुँचबाट फुट्के । ठूला माछा समिति र ठेक्दार हातमा पुगे । समितिमा बसेका नेता र ठेक्दार पैसावाल थिए । पहुँचवाल थिए । धनी थिए । शासक खलक थिए । गरिब, सर्वसाधारण थारू न समितिमा थिए, न त ठेक्दार । 

औलो उन्मूलन भयो । पहरिया अर्थात् पहाडबाट पहाडी दाङ ओर्ले । शासक खलकका ती पहाडीले कति थारूलाई फकाएर त कतिलाई हप्काएर, कतिलाई दप्काएर थारूजमिन आफ्नो बनाए । त्यसपछि आफैँले गुल्जाएर बनाएको भूमिमा थारू कमैया भए । 
 

सोतामा भिउरा फुलाउनु माछा मार्नु मात्र थिएन । त्यो त थारू जीवनशैली सामूहिकता झल्कने चलन थियो । सहजीवन संस्कृति थियो । केही श्रम, केही रमाइलो गर्न चलिआएको चलन थियो । भिउरा फुलाउँदाका सुखदुःख र गीत गाउनुका स्वाद किनेर माछा खानुमा कहाँ मिल्नु ! भिउरा फुलाउनु थारू संस्कृति फुल्नु हो । थारू संस्कृति फुल्नु नेपाल फुल्नु हो । भिउरा फुलाउनु यो देशमा थारू पनि छन् है भनी लोकतन्त्रमा आफ्नो ‘स्पेस’ दाबी गर्नु पनि हो । भिउरा फुलाउन नपाउनु नै अल्पसंख्यक, शक्तिहीन, सीमान्तकृत, आदिवासीका संस्कृति हरण हो ।

थारू सोता सकिए
वस्तुभाउका मल साटो दाङमा पनि विकासे मल पुग्यो । रासायनिक मल भनिने विकासे मलले माटोको अम्लीयपन त बढाउँदै सोतामा समेत पुग्यो । त्यसपछि पानीमा बस्ने जीवको जीवनशैली मात्र बेदखल भएन, मासिन थाल्यो । विकासे मलका कारण माछा, गंगटा, घुँगी, पोङ्टा(घुँगीको ठूलो रूप) पनि मासिन थाले । 
उल्लेखित पानीजीव नै आदिवासी थारू खान्की थिए । र, विकासे मल प्रयोग तीव्र भएपछि खान्की मासिन थाले । यहाँसम्म कि, घुँगीजस्ता पानीजीव डाइनोसरिन थालेपछि थारूलाई सिकलसेलले थला पा-यो । सिकलसेलसित लड्ने घुँगीसहितका थारूखाना थिए । अहिले त ठूलो संख्याका थारू समुदाय सिकलसेल नामक प्राणघातक रोगसँग संघर्षरत छन् । 

प्राकृतिक खान्की असार, साउन र भदौमा बढ्ता पाइन्थे । खेतीपाती त्यो समयमा पाखुरी बलियो बनाउन तागतिलो खाना चाहिन्थ्यो । दाङ थारू कल्याणकारिणी अध्यक्ष भुवन चौधरी भन्दै थिए, ‘त्यो याममा पानीजीव नै पोषणयुक्त खानाका लागि उत्तम विकल्प थिए ।’ मटवाँविना थारू गाउँमा हावा पनि चल्दैनथ्यो ।देउखुरीमा मटवाँलाई ककन्डार भन्छन् भने राना थारूले भलमन्सा । थारूबहुल धेरै भाउँमा सुनिने मटवाँको कमन नाउँ हो, बडघर । 

कुलो खन्ने, पात टिप्ने, झैझगडा मिलाउने, झाराखारा र घर बनाउनेसम्मका प्रशासनिक र न्यायिक छिनोफानो मटवाँले गर्थे । थारूको सबभन्दा ठूलो पर्व माघीमा मटवाँ चुन्थे । नयाँ योजना बुन्थे । माघी त थारूको नयाँ आर्थिक वर्ष पनि थियो । लोकतान्त्रिक विधिको मटवाँ प्रथा थारू प्राचीन गभर्ननिङ सिस्टम थियो । नेपालमा राजनीतिक व्यवस्था फेरिए । अहिले त गणतन्त्रसहितको बहुदल छ । तर, फेरिएका कुनै पनि राजनीतिक व्यवस्थाले मटवाँ चिनेन । स्थानीय चुनावपछि गाउँ सरकार बने । साथमा, टोल विकास समिति पनि । थारू गाउँका मटवाँ तजबिज स्थानीय सरकार र टोल विकास समितिको पोल्टामा पुग्यो । कानुनी मान्यता प्राप्त सरकारी संस्था थारू गाउँ पसेपछि प्राचीन मटवाँ सिस्टम विस्थापित भयो । थारू रहनसहन बेतालले बिथोलिए । 

भुवन चौधरी भन्दै थिए, ‘दाङमा वडाध्यक्ष र टोल विकास अध्यक्ष त ७५ प्रतिशतभन्दा बढी गैर थारू छन् । सोतालाई ताल बनाउँदा थारूप्रथा मरोस् कि बाँचोस्, गैरथारूलाई के चासो ? त्यसैले त थारू संस्कृति सम्हालेका सोता जति कृत्रिम ताल बनाइए ।’ औलो उन्मूलन भयो । पहरिया अर्थात् पहाडबाट पहाडी दाङ ओर्ले । शासक खलकका ती पहाडीले कति थारूलाई फकाएर त कतिलाई हप्काएर, कतिलाई दप्काएर थारू जमिन आफ्नो बनाए । त्यसपछि आफँैले गुल्जाएर बनाएको भूमिमा थारू कमैया भए । 

नेपालमा माओवादीले ०५२ फागुन १ देखि ‘जनयुद्ध’ थाल्यो । राज्य आँखाले सावँला थारूलाई माओवादी देख्यो । त्यसपछि राज्यले बेपत्ता पारेका सबभन्दा ठूलो संख्या थारूकै भयो । सानो संख्याका माओवादीलाई साम्यवाद दिलाएको जनयुद्धले थारूलाई राजनीतिक चेतनाबाहेक समुदायगतरूपमा अरु दिएन । त्यसैले बाँके, बर्दीया, कैलाली, कन्चनपुर र दाङलाई थरुहट मागसहित थारूले आन्दोलन गरे । शासक रङको फूलमात्र फुलाउन चाहने सरकारले थारू आवाज सुनेन । 

मगरपछि दोस्रो ठूलो संख्यामा रहेको आदिवासी थारू दाङ, सिन्धुली, उदयपुर, सूर्खेतजस्ता भित्री मधेससहित तराईका कैलाली, कन्चनपुर, सूर्खेत, बाँके, बर्दिया, रूपन्देही, नवलपरासी, कपिलवस्तु, चितवन, सप्तरी, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, मोरङ, सुनसरीमा फैलिएका छन् । यसैगरी, भारतको विहार, उत्तर प्रदेश र उत्तराखण्डमा पनि थारू बस्ती छन् । 
०००
थारूले भिउरा फुलाउने सोता प्रायः ऐलानी थिए । तिनै सोता सटेका ऐलानीमा उभिएका थिए, सुकुम्बासी थारू घर । भुवन भन्दैथिए, ‘अब धेरै थारू उठिबास हुन्छन् । यसको कारण हो, ऐलानी घर जग्गा सरकारले लगत लिँदैछ ।’ गाउँ नजिकका सोता ताल बने भने बजार नजिकका सोता जग्गा प्लटिङ । जिम्दारले दर्ता गरेका सोता जग्गा कारोबारीले किनेर माटो भरे । प्लटिङ गरे । बेचे । थारूले भिउरा फुलाउने सोतामा त बस्ती बसे । 

ऐलानी सोतालाई स्थानीय सरकारले कृतिम ताल बनायो । सरकारी आँखामा त सोता ताल बन्नु नै समृद्धि थियो । त्यसैमाथि सिंचाइ हुन्छ भनेर ‘सरकारी समृद्धि रसन’ लाए । सिंचाइ भए तरकारी मारामार फल्ने ! भूमिगत पानी रिचार्ज ! बाह्रैमास कुवामा पानी ! ताल माछा ! पर्यटक हुल ! सरकारी आँखामा भइहाल्यो, चिची पनि पापा पनि ! 

‘एक वडा एक ताल नीति छ’, घोराही उपमहानगरपालिका वडा नं. १७ अध्यक्ष खुसीराम चौधरी सुनाउँदैथिए, ‘उपमहानगरमा सबैभन्दा बढी ताल यसै वडामा छन् । अहिलेसम्म छवटा छन् । आउने वर्ष कर्जाहीमा सातौँ सोता ताल बन्दैछ ।’ छविलाल कोपिलाका अनुसार देउखुरीमा कुलो, खोला, सोता नै सकिएपछि भिउरा फुलाउने थारू चलनले विदा लियो । 

थारूले भिउरा फुलाउने संस्कृति संरक्षक सोता सकिए । शासक खलकका मात्र संस्कृति देख्ने सरकारी आँखाले सीमान्तकृत, अल्पसंख्यक र आदिवासी संस्कृति नासिएको नदेख्नु अनौठो थिएन । सरकार र नेपालका सरकारी राजनीतिक दलले जप्ने गायत्रीमन्त्र छ, ‘नेपालमा राजनीतिक आन्दोलन सकियो । अब समृद्धि ।’ जारी सरकारी समृद्धि उत्पीडित, दलित, अल्पसंख्यक, आदिवासी र गरिबका लागि होइन भन्ने त प्रस्ट छ । त्यसैले कसको विकास, कसको समृद्धि ? कित्ताकाँट मात्र जरुरिएको छैन, समृद्धि र विकास अनुहारबारे मन्थन गर्न ढिलो पनि भइसकेको छ । 

गैरथारू सरकारी आँखालाई लाग्ला, विकास विरोधी कुरा हो यो । शासक खलकलाई लाग्ला, जातिवादी कुतर्क हो यो । तपाईंलाई नि लाग्न सक्छ, देश बिकास हुँदा कुनामा रहेका थारूका माछे संस्कृति नासिदा के नै नाप्पिन्छ र ? तर, यसअघि औलो उन्मुलन हुँदा जसरी थारू उन्मुलनजसरी जिम्दारबाट थारू कमैयामा परिणत भए, त्यसरी नै बिकासे समृद्धिले थारू संस्कृति नै उन्मुलन भए के होला ? 

बचेखुचेका बाँकी थारू संस्कृति नि जोगिने र बिकास नि हुने ‘बिकल्प’ छैन ? अनुसन्धाता एवं थारू अगुवा डा.कृष्णराज सर्वहारी र दाङ थारू अध्यक्ष भुवन चौधरीले सुझाउँदैथिए, ‘राज्यले थारू गाउँमा थारू मटवाँ प्रथालाई कहीँ न कहीँ बिकास प्रक्रियामा सहभागी गराओस् । त्यसो भए मात्र, थारू गाउँका टोल विकास संस्था र वडाले गर्ने काम थारू संस्कृतिमैत्री हुन्छ ।’ 
०००
भौनी चौधरी, जन्ते चौधरी, खड्बहादुर चौधरी उसैगरी उभिएर हेरिरहेका थिए । घोराहीछेवैमा उसैगरी बगिरहेथ्यो, कट्वाखोला । सेवारखोलासँग कट्वाखोला कतिखेर बबई पुग्ला ? बगिरहेका बबई, सिस्ने, कट्वा, ग्वार, सेवार कहिलेसम्म सकुशल बग्लान् ? प्रश्न यसकारणले उभिएको थियो कि, सेवार र कट्वाखोला बीचमा उभिएको ‘घोराही’ त ‘काठमाडौं’मा परिणत हुने बाटोमा दौडदै थियो भने घोराहीछेउका कट्वा र सेवार वागमतीमा । 

हो, भौनी चौधरी भर्खरै फर्केकी थिइन्, आफ्ना सहेली र छिमेकीसित कट्वाखोलामा माछा मारेर । ताल बनेका कटही र सिस्वागन्जी सोतामा भौनी, जन्ते र खड्बहादुर चौधरीहरूले (फेरि कुनै दिन भिउरा फुलाउन् नफुलाउलान्) कट्वाखोला नै वागमती भयो भने कहाँ जालान् हँ माछा मार्न ?