• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कुमारी लामा
२०७६ कार्तिक २३ शनिबार ०८:३४:००
समाज

आधा आकाशको बलि कहिलेसम्म ?

२०७६ कार्तिक २३ शनिबार ०८:३४:००
कुमारी लामा

‘बहिनीलाई विद्रोह नसिकाउनुस्, उसको घर बिग्रिन्छ ।’ एक सहृदयी मित्रले मलाई सल्लाह दिइन् । म ट्वाँ परिरहेँ । हामी ती बहिनीबारे बोल्दै थियौँ, जो धेरै मानसिक पीडा सहेर चुपचाप घर सम्हाल्ने या आफ्नो अस्तित्वका लागि विद्रोह गर्ने द्विविधामा थिइन् । उनको अनिर्णीत अवस्थालाई थप बल थपिदिन्छ समाजले । समाजमा यत्रतत्र भनेको सुनिन्छ, ‘घर सम्हाल्ने महान् कामको जिम्मा आइमाईको हो । त्यस्तो महान् कार्य छाड्नु भनेको कलंकित हुनु हो । त्यसैले आइमाईले सहनुपर्छ । किनकि आइमाई धर्ती हो । सहेपछि अन्तिममा आइमाईकै जित हुन्छ ।’ 

पितृसत्तात्मक प्रवृत्तिले समाजमा जबर्जस्त राज गरिरहेको छ । माथिका भनाइ त्यसैका झलक हुन् । समाजमा महिला अस्तित्वलाई संवेदनशीलताका साथ कहिल्यै हेरिएन । यस्ता भनाइ षड्यन्त्रले भरिएका शब्दजाल हुन्, जसले महिलालाई कहिल्यै मानिस देख्दैन । महिलालाई महान् भन्दै घरभित्रै सीमित राख्ने प्रपञ्च मात्रै हो । घर सम्हाल्ने कार्यमा होमिएका धेरै महिला आज पनि अस्तित्वहीन जीवन भोग्न अभिशप्त छन् । 

खासमा धेरै नेपाली दिदी बहिनीहरूको कथा हो यो । उनीहरूले पाइरहेका घात र प्रतिघातका कथा । उनीहरूको अस्तित्व धुलो ठानिएको कथा । पितृसत्तात्मक प्रवृत्तिले ओतपोत पीडकले दिएको मानसिक आघातको कथा । र हो यो कथा ती परिवारको पनि, जहाँ पीडित महिलाको रापिलो पीडा केवल घरमूलीको एक थर्काइमा उसै सेलाउन बाध्य छन् । कहिल्यै सुनवाइ नहुने उनीहरूका कथा केवल अकथा भएका छन् ।

अदृश्य कथाहरू 
वैदेशिक रोजगारीमा गएका एक महिलाका श्रीमान्ले पैसा पठाउन ढिला गर्न थाल्छन् । छोराछोरीको स्कुलको बिल र दैनिक व्यवहारमा कठिनाइ बढ्न थाल्छ । उनले लोग्नेलाई पैसाका लागि ताकेता गर्न थाल्छिन् । श्रीमतीको निरन्तरको फोनले हैरान भएका श्रीमान् बिस्तारै सम्पर्क–विच्छेद हुन थाल्छन् । सामाजिक सञ्जालमा कुराकानी हुन बन्द हुन्छ । फोन लाग्दैन, लागे पनि उठ्दैन ।

प्रत्येक दसैँमा घर आउने श्रीमान् अब गायब हुन थाल्छन् । महिनौँ पछि आक्कलझुक्कल कुरा हुँदा अनेकन बहाना बनाउँछन् । लोग्नेको चिसो व्यवहारसँगै परिवारका अन्य सदस्यको व्यवहारमा पनि परिवर्तन देखिन थाल्छ । प्रत्येक महिना पैसा आउँदा राम्रै बोली गर्नेहरू अब मुख बटार्न थाल्छन् । सानो खटपटमा पनि परिवारै मिली उनको विरोध गर्न पछि पर्दैनन् । डेढ दशक बुहार्तन गरेकी, नातिनातिना हुर्काइरहेकी बुहारीमाथि अब घरबाट फरक व्यवहार हुन थाल्छ । श्रीमान्ले पैसा पठाउन बन्द गरेपछि भान्सा अलग गरिदिनेसम्मको कुरा घरभित्र चल्छ । 

उनी आजित हुन्छिन् । फोन सम्पर्क भएका वेला श्रीमान्लाई कराउँछिन् । समस्या पोख्छिन् । श्रीमान्लाई ‘तँ’ भन्दै गाली गर्छिन् । आफ्नो छोरालाई गाली गरेको सुनेर सासू–ससुरा चनाखो हुन्छन् । त्यसपछि सुरु हुन्छ, परिवारबाट मानसिक दबाबको अर्को सिलसिला । उनलाई परिवारले भन्न थाल्छ, ‘लोग्नेलाई रिझाउन नसक्ने अनि उल्टै लोग्नेसँग मुखमुखै लाग्ने ? काम नलाग्ने मुखाले आइमाई ।’ उता श्रीमान्को परस्त्रीसँग अन्तरंग हिमचिमको तस्बिर उनका साथीहरूबाट प्राप्त हुन थाल्छ । अब उनको दैनिकी झनै कष्टकर हुन थाल्छ । आर्थिक संकट, पारिवारबाट तिरस्कार, समाजबाट हेला सबै चुलिँदै जान्छ । परदेसिएका श्रीमान्का लागि बसेको व्रत, धाएको मन्दिर, बानेको बुटी र भविष्यवाणी गर्ने माताहरूका चिल्ला गफ सबै व्यर्थ भए । 

ती महिलाले सहिनसक्नु तिरस्कार सहेर बसिरहिन् । किनकि समाजले मान्यता स्थापित गरेको छ, महिलाले सहनुपर्छ, महिला धर्ती हो । तीन वर्षसम्म गायब भएका उनका श्रीमान् एकाएक यस वर्षको दसैँमा घर आउने हल्ला चल्यो । छोरा आउने खबरले बुबाआमा हर्षित भए । उनी आउने भएपछि रंग उप्किएको छोराबुहारीको कोठामा ससुराकै निगरानीमा रंगरोगन भयो । उनका लागि मदिरा र लोकल कुखुराको साँप्रा बन्दोबस्त भयो । छोरा आउने खबर पाउनासाथ बुहारीलाई कडा शब्दमा भनियो, ‘बल्लबल्ल फर्किएको छोरालाई केही भन्ने हैन ।

आफ्नो मुख सम्हालेर बस् ।’ तीन वर्ष हराएका ती पुरुष घर आइपुगे । उनको भयंकर स्वागत भयो । परदेशमा तीन वर्ष हराए । पैसा एकसुको बचाएनन् । परस्त्रीगमनबाट भएभरको कमाइ चट् पारे । तर, उनैको मेजमान सुरु भयो घरमा । मानसिक पीडाले थिलोथिलो बनेकी श्रीमती चुपचाप थन्किइन् । त्यही छोराको कारण बुहारीले भोगेको मानसिक तनाव उनीहरूका लागि शून्य भयो । उनी त्यो घरमा बोल्नै नहुने भयो । उनले सारा अन्याय सहेर चुपचाप बस्दा मात्रै घर सुन्दर हुने भयो, जब उनी बोल्छिन्, घर अशान्त हुन थाल्यो । 

श्रीमान्को मन फर्किएला भन्ने झिनो आशामा उनी बसिरहिन् । तर, घरमा पुल्पुलिएका उनले प्रेमिकाको कुरा गर्वका साथ निकाल्न थाले । उनी त्यही प्रेमिकासँग फोन र सामाजिक सञ्जालमा व्यस्त हुन थाले । घरका सबैलाई उनको कर्तुत थाहा भयो । तर, कसैले केही बोलेनन् । ‘बरु बुहारी जाबो आउँछिन् जान्छिन्,’ खुट्टा भए जुत्ता कति कति’ भन्ने भावमा व्यवहार हुन थाल्यो । आफ्नो अस्तित्वको कुरा उठाउँदा उनी केवल हास्यको पात्र मात्रै बनिरहिन् । 

बिलाउँदो विद्रोह
विद्रोहको केही प्रयास उनले गरेकै हुन् । लोग्नेको बेखबरी लम्बिएसँगै आकासिएको आर्थिक संकटबाट पार पाउन व्यवसाय गर्ने विचार गरिन् तर परिवारले सहमति दिएन । बदलामा घरबाट निस्केर बरालिने बहाना गरेको भन्ने आरोप पाइन् । तर, उनले आफ्नो अडानअनुसार लडेरै व्यवसाय सुरु गरिन् । यो आफैँमा विद्रोह हो । तर, परिवारले कहिल्यै साथ दिएन । साँझ घर पुग्न एकछिन ढिला हुँदा उनीमाथि गालीको वर्षा हुन्छ । घरिघरि उनको चरित्रमाथि नै प्रश्न उठ्छ ।

आजका असंख्य दिदी–बहिनी द्विविधायुक्त मनस्थितिमा बाँचिरहेका छन् । यसरी बाँच्नेमा कम साक्षर महिला मात्रै होइन, आत्मनिर्भर र साक्षर महिला पनि छन् । जबसम्म ती महिला सारा पीडाविरुद्ध उठ्नेछैनन्, तबसम्म उनीहरूको यातना शृंखला चलिरहनेछ । 

आफूमाथि बारम्बार गरिने गालीगलोज र कहिलेकाहीँ उठ्न तम्सिने हातहरूको बदला ‘पुलिस बोलाउँछु आइन्दा यसो गरे’ भन्नेसम्मको आँट गरिन् । तर, बोलेको प्रत्येक शब्दका लागि उनले राम्रो मोल तिरेकी छिन् । परिवारका लागि उनी एकदमै ‘असोमती आइमाई’ भएकी छिन् । उनको विद्रोही बोली व्यवहार परिवारका लागि अपाच्य छ ।

उनको बोलीको नापतौल गरी हदैसम्मको मानसिक पीडा दिने काम भइबस्छन् त्यस घरमा । ‘यस्तो मुखले त सौता पाउँछ’ सम्म भन्दै उनको घाउमा नुन छरिदिन्छ परिवारले । बुहारीका लागि त्यस हदको व्यवहार गर्न पछि नपर्ने परिवारले छोराको प्रत्येक मनमोजी, गैरजिम्मेवारपूर्ण कार्य चुपचाप स्विकारिदिन्छ । जब परिवारले नै छोराहरूको यस्ता कार्यहरूलाई स्वीकारिरहन्छ भने कसरी समाजमा परिवर्तन आउँछ ? कसरी महिलाहरूको अवस्था सुध्रिन्छ ? 

यस परिवारको सवालमा, छोराको अनेक भाँडभैलोलाई सहजै स्विकारिदिन्छन् तर कामकै कारण एकछिन ढिला घर पस्दा बुहारीको चरित्रमाथि औँला उठाउन पछि पर्दैनन् । यतिका वर्ष भान्सामा सीमित भइन् उनी । लोग्नेले दिएको घात र मानसिक पीडा सहेर घरमूलीले जे–जे भन्यो, त्यही गरिन् । सम्झाउने पारामा परिवारले दिने गरेको आदेशको त लामै लिस्ट छ उनीसँग ।

छोराछोरी हुर्कन लागिसक्दा पनि उनी मन्दिरबाहेक अन्त आफ्नो इच्छाले हिँड्न पाउँदिनन् । यसका बाबजुद लोग्नेको व्यवहारले उनलाई दिएको पीडाबारे एकरति संवेदनशील छैन, त्यो परिवार । बरु छोरा विदेशतिर नै भासिने त हैन भन्ने डरले जसैगरी छोरोलाई खुसी पार्ने ध्याउन्नमा लागिबस्छन् । जे गरे पनि परिवारबाट पाउँने साथका कारण त्यस पुरुष त मात्तिने नै भयो । र झन् बढी मलजल हुने नै भयो उनले महिलालाई हेर्ने निरंकुश पितृसत्तात्मक चरित्रमा । सायद यसरी नै कायम भइरहन्छ, परिवारभित्र जब्बर पितृसत्तात्मक प्रवृत्ति । यस्तै परिवार हँुदै विस्तारित भइरहन्छ समाजभर यही मानसिकता । त्यसैले विगतदेखि आजका महिला पनि उही प्रवृत्तिको सिकार भइरहेका छन् । 

व्यवसायमा साथ दिन्छु, घरपरिवार सम्हाल्छु भनी परिवारलाई मख्ख पारेका ती खेलाडी फेरि एकपटक घरसल्लाहविपरीत बिदेसिएका छन् । उनी गएकै दिनबाट ती बहिनीमाथि लाञ्छनाको ओइरो लाग्न थालिसकेको छ । मानसिक यातनाको शृंखला निरन्तर छ । छोराछोरी, परिवार र आफ्नो अस्तित्व वकालतको जटिल र द्विविधापूर्ण अवस्थामा उनी जेलिएकी छिन, यस बखत । साथै उनको विद्रोही स्वभाव पनि अब बिस्तार बिलाउँदो अवस्थामा छ । 
०००
समाजमा घटिरहने तर बाहिरी आँखाले नदेख्ने यस्ता अकथा धेरै छन् । ती महिना को हुन् भनेर नाम खोजिरहनु आवश्यक छैन । मैले भेटेकी ती महिला हाम्रो समाजमा जताततै भेटिन्छन् । आजका असंख्य दिदी–बहिनी यस्तै द्विविधायुक्त मनस्थितिमा बाँचिरहेका छन् । यसरी बाँच्नेमा कम साक्षर महिला मात्रै होइन, आत्मनिर्भर र साक्षर महिला पनि छन् । जबसम्म ती महिला सारा पीडाविरुद्ध उठ्नेछैनन्, तबसम्म उनीहरूको यातना शृंखला चलिरहनेछ । महिलाले घर सम्हाल्ने नाममा कतिन्जेल आफ्नो अस्तित्वको बलि चढाइरहने ? समाजमा आधा आकाशको बलि कहिलेसम्म जारी रहने ?