• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
राजिन पनेरू
२०७६ कार्तिक २३ शनिबार १०:२८:००
साहित्य

किशोर साहित्यको थालनी कि निरन्तरता ?

किताब

२०७६ कार्तिक २३ शनिबार १०:२८:००
राजिन पनेरू

‘के साँच्चै नेपालीमा किशोर साहित्यको कमी नै छ ? ‘उडान’लाई किशोर साहित्यको कुन स्थानमा राख्न सकिन्छ ?’ 
यो प्रश्न सौर्य अनलाइनले ‘स्रष्टा संवाद’ शृंखलामा ‘उडान’ उपन्यासका लेखक आख्यानकार विजय सापकोटालाई सोधेको प्रश्न हो । सापकोटा भन्छन्, ‘सबैभन्दा दुःखको कुरा नै यही छ । हामीकहाँ किशोरकेन्द्रित लेखन त छँदै छैन, भए पनि त्यो विषाक्त छ । एकाध किताब लेखिएका छन्, तर तिनको कुनै चर्चा नै हुँदैन । बौद्धिक र ठूला कुरा गर्ने होडबाजीमा हामीले धेरै महत्वपूर्ण कुरालाई छाडिरहेका छौँ । तिनमा बालसाहित्य र किशोर साहित्य पनि पर्छन् । केटाकेटी र किशोर–किशोरीका निम्ति लेख्नेलाई लेखक मान्न कोही तयार नै छैन ।’ 
०००
लेखकीय दाबी र पाठकीय विरोध वा समर्थनमा आजको सिर्जना–समालोचना परम्परा अगाडि बढिरहेको छ । दाबीलाई ‘ब्लाइन्डली’ सकार्ने र नकार्ने झुण्डको कमी छैन । ‘यहाँ यस्तै त छ नि ब्रो’ टाइपको । पंक्तिकारले उठाउन खोजेको सन्दर्भ कृतिको ‘वैचारिक उडान’ र लेखकीय विश्वासको प्रक्षेपण कति सफल कति असफल भन्ने हो । 
०००
हाम्रा लेखकहरू आफू र आफ्ना कृतिलाई सक्दो ‘डिफेन्स’ गर्छन् । उसो त आफ्ना सिर्जनालाई सबै संरक्षण गर्न चाहन्छन् । ‘लेखकीय मृत्यु’को ‘उत्तरोत्तर आधुनिक’ समयमा पनि ‘फुल इनर्जी’ पेस गर्दै लेखक ‘होइन यस्तो हो...’ भन्दै आफ्ना कमी–कमजोरी पाठकसामु लुकाउने यत्न गर्छन् । लेखकीय दोष देखाउने पाठक लेखकको ‘ब्ल्याक लिस्ट’मा पर्छ । अधिकांश लेखक कृतिमा भन्दा कृति सार्वजनिक भएपछि आउने अन्तर्वार्तामा शक्तिशाली देखिन्छन् । अन्तर्वार्ता पढेपछि यस्तो लाग्छ, लेखकीय विचार नै अन्तिम समालोचना हो । पाठकको सोचले धेरै छलाङ मारिसकेको तथ्यलाई लेखकले बुझ्न जरुरी छ । 

‘उडान’को पठन एवं पुनर्पठन र आख्यानकारको विभिन्न अन्तर्वार्ताको अध्ययनपछि लाग्यो, उनको कृति र कृतिपछिका अन्तर्वार्ताबीच केही सत्यता र केही पुष्टि हुन बाँकी तथ्य छन् । उदाहरणका लागि सापकोटा भन्छन्, ‘हामीकहाँ किशोरकेन्द्रित लेखन त छँदै छैन, भए पनि त्यो विषाक्त छ (हेर्नू– सौर्य अनलाइन, स्रष्टा संवाद, ०७६ जेठ ४) ।’ यहाँ उनले भनेजस्तो किशोरकेन्द्रित लेखन नभएको होइन । त्यो कुरा सोही अन्तर्वार्तामा सकारेका पनि छन् । थुप्रै साहित्यकारले किशोरलाई लिएर विभिन्न विधामा कलम चलाएका छन् ।

मनोवैज्ञानिक कोणबाट किशोरका यौनजीवनलाई अथवा बालमनोविज्ञानलाई आख्यानका माध्यमबाट प्रस्तुत गर्ने तारिणीप्रसाद कोइरालाका ‘सर्पदंश’, ‘अग्निबाटिका’ आदि यसको सानो दृष्टान्त हो । स्थापित लेखकदेखि भर्खर साहित्यमा कलम चलाउँदै गरेका स्रष्टासमेत किशोरलाई छोएर कलम चलाइरहेका छन् । लेखिएका सबै विषाक्त छैनन् । यद्यपि लेखकले गरेको दाबीजस्तै बाल साहित्य वा प्रौढ साहित्यझैँ  किशोर साहित्यको छुट्टै आरेख भने बनाइएको छैन । यो मानेमा ‘उडान’ किशोर परम्परालाई अगाडि बढाउने कृतिका रूपमा पाठकमाझ स्थापित हुनेछ । 

‘आफ्नो उमेर र अवस्थाअनुसारको असल साहित्य पढ्न नपाउनु एक हिसाबले उनीहरूका लागि अन्याय पनि हो’ भनी दाबी गर्ने आख्यानकारको ‘उडान’ प्रस्तुत पंक्तिको ‘क्षतिपूर्ति’ हो । बेलायती लेखक एन्थोनी लिसाकसँग भेटेपछि अंकुरण भएको सापकोटाको किशोरप्रतिको हेराइको प्राप्ति हो ‘उडान’ ।     

पुरानै कथावस्तुको नयाँ रङ
‘उडान’को इन्जिनियरिङ ज्ञानज्योति उमाविको माथिल्लो कक्षा (८,९ र १०) मा अध्ययनरत किशोर वयका विद्यार्थी र सोही विद्यालयमा पढाउने शिक्षक–शिक्षिकाका दैनन्दिन घटनासँग सम्बद्ध छ । फिक्सनमा हुनुपर्ने ‘डिक्सन’ (भाषाशैली)का सन्दर्भमा उपन्यास कमजोर देखिन्छ । विषयवस्तु पाठकका लागि नौलो छैन । किशोर वयमा देखिने शारीरिक परिवर्तन, कक्षाकोठामा हुने विपरीत लिंगीप्रतिको प्रेमभाव, जातीय मुद्दा, सामाजिक, आर्थिक सन्दर्भ आदि हाम्रा दैनन्दिन हुन् । यद्यपि यसलाई आख्यानकारले जसरी उठाएका छन्, त्यो महत्वपूर्ण पाटो हो । लेखकको मुखपात्र कविता मिस र केही हदसम्म गरिमा, सरोजले नै प्रश्नको उत्तर खोजेका छन् । 

प्रेम के हो ? प्रेम केका लागि ? विजातीय प्रेमको परिणाम कस्तो हुन्छ ? किशोरावस्थामा गर्ने वा नगर्ने काम के हो ? यस्ता थुप्रै सवाल–जवाफ शृंखलामा अगाडि बढेको ‘उडान’को कथावस्तु सामान्य प्रकृतिको छ ।

पाठकीय कुतूहलता कृतिमा धेरै समय टिक्दैन । माथिल्ला पंक्तिमा देखिएका समस्या तल्ला पंक्तिमा पुगेपछि समाधान हुन्छन् । अर्थात् पाठकले अब के हुन्छ ? अथवा यसले के भन्न खोजेको छ भन्ने जिज्ञासा धेरै बेर राख्नुपर्दैन । पाठकले धेरै दिमाग खियाउनुपर्दैन । समस्या र समाधान सँगै हिँडाइएको छ । प्रेममाथिको डिस्कोर्स आख्यानको खास विषय हो । प्रेमका सबल र दुर्बल पक्षमाथि मिस कविताका लामो प्रवचन त्यसको साक्ष्य हो । प्रेमलाई गलत ढंगले अथ्र्याउँदा वा बुझ्दा हुने दुर्घटना, सामाजिक सञ्जालको बढ्दो विकृति र यसले किशोरावस्थामा ल्याउने नकारात्मक पक्षको ज्वलन्त उदाहरण आख्यान चरित्र सम्पदा र विक्रमका घटनाले औँल्याएको छ । 

आख्यानकारले घटनाको वर्णन संवादात्मक शैलीमा र झन्डै फिल्मी स्टाइलमा दौडाएको छ । आख्यानका दृश्यहरूले सोही झलक दिन्छ । कतिपय प्रसंग तन्किएका छन् । जसलाई झिक्दा पनि उपन्यासमा कुनै असर पर्दैन । बाआमाका सपनालाई तिलाञ्जली दिएर, घरको वस्तुस्थिति नबुझी प्रेम गर्दा दुर्घटना हुन्छ भन्ने कुरा गरिमालाई आत्मबोध गराएर सबै किशोरलाई व्यवहार सिक्न सुझाइएको छ । 

शारीरिक भोगबिलास प्रेम होइन । समीर अंकल, बुढाबाका हर्कत आफन्तरूपी कलंक हो भन्ने सन्देश उडानले दिएको छ । अन्तर्जातीय प्रेमले उब्जाएको किरण र शिलाको समस्या आजको सामाजिक समस्या हो । प्रेमले जात, धर्म, पेसा, वर्ग इत्यादि केही भन्दैन भन्ने कुरालाई आख्यानकारले गरिमाको मुखबाट बोलेको छ । गरिमा भन्छे, ‘प्रेम भन्ने कुरा पनि कहीँ गलत हुन्छ ? गल्ती त तिनीहरूको हो, जसले प्रेमलाई बुझ्न सक्दैनन् ।’ 

प्रेम के हो ? प्रेम केका लागि ? विजातीय प्रेमको परिणाम कस्तो हुन्छ ? किशोरावस्थामा गर्ने वा नगर्ने काम के हो ? घरपरिवार, समाज र स्वयंको कर्तव्य के हो ? कुन धरातलमा उभिएर कुन कर्म गर्नु उचित हुन्छ अथवा अनुचित ? सामाजिक सञ्जालले केकस्ता विकृति भित्र्याएको छ ? त्यसको परिणाम कस्तो हुन्छ र समाधान के हो ? आदि थुप्रै सवाल–जवाफ शृंखलामा अगाडि बढेको ‘उडान’को कथावस्तु सामान्य प्रकृतिको छ । ‘कमन’ विषयवस्तुलाई प्रस्तुत गर्ने सिलसिला र सिंगो उपन्यासको रंगरोगन भने बलियो पक्ष हो । यस मानेमा प्रस्तुत कृति किशोर साहित्यको थालनी नभई निरन्तरता हो । 

उडानभित्रको हीनग्रन्थि र क्षतिपूर्ति
आख्यानका पात्रहरू आफ्नै मनोग्रन्थिमा बाँचेका छन् । फ्रायडको जैविक शक्ति र एडलरको सामाजिक शक्ति दुवैले पात्रलाई विकसित गरेको छ । जसको केन्द्रमा शैशवकालीन विकास अवस्था मुख्य बनेको छ । व्यक्तिको आचरण–व्यवहारको निर्धारण अचेतनलाई मान्ने फ्रायड र अचेतनको ठाउँमा चेतन मनलाई स्थापना गर्नुपर्ने दाबी गर्ने एडलर दुवैको सैद्धान्तिक परिधिभित्र आख्यानिक चरित्र बाँचेका छन् । एडलरद्वारा स्थापित वैयक्तिक मनोविज्ञानसम्बन्धी सिद्धान्तभित्र पर्ने ‘हीनता ग्रन्थि’ र ‘क्षतिपूर्ति’मा उडानका कैयन् पात्र बाँचेका छन् । गरिमाभित्र हीनता ग्रन्थिले राम्रोसँग काम गरेको छ भने सम्पदाभित्र क्षतिपूर्ति । 

‘घाँटी हेरी हाड निल्नु’ भन्ने लोकोक्तिलाई भुलेर चरित्र जब उडन्ते कल्पनामा रमाउन पुग्छ, तब ऊभित्र अनेकौँ अभाव देखा पर्न थाल्छ । गरिमाले देखेको सुरुवाती सपना यसैको उपज हो । आमाबुबाको स्तर (आर्थिक क्षमता) भुलेर उसले जुन योजना बनाउँछे, त्यो लोकोक्ति व्यतिरेक बन्दछ । अन्ततः उक्त अभाव व्यक्ति स्वयंका लागि ‘हीनता’ भएर देखापर्छ । जसले उसलाई ‘क्षतिपूर्ति’को नजिक लैजान्छ । क्षतिपूर्तिको अर्थ हो, एउटा चिजले पूरा गर्न नसकेको अभावलाई कुनै अर्को वस्तुले पूरा गर्नु । जस्तो आख्यानमा सम्पदाको ‘सेलिब्रेटी’ बन्ने सपना अन्नतः विक्रमलाई पक्राउ गर्न सहयोग पु-याएपछि प्रहरी र स्कुल प्रशासनबाट प्राप्त पुरस्कारले गरेको छ ।  

व्यक्ति आफू समायोजित हुन सकेन भने अर्थात् क्षतिपूर्ति सिद्धान्तमा ‘फिट’ हुन सकेन भने मनस्तापी र रुग्ण मनोरोगी बन्न पुग्छ । मानसिक रुग्णता उडानका कैयन् पात्रमा देखा पर्दै हराउँदै जान्छ । पात्रमा देखा परेका यस्ता मानसिक विचलनलाई रोक्न आख्यानकारले मुखपात्र कविता मिसलाई पठाएको छ । यो आख्यानकारको चलाखी हो । यो पंक्तिकारको दृष्टिकोण हो । किशोर मनोविज्ञानलाई खोतल्दै गर्दा आख्यानकारको वैचारिक पक्षलाई पनि जोड दिनु उचित हुन्छ । उपन्यासले उठाउन खोजेको सबल पक्ष बालबालिका र किशोरका बारेमा लेखिनुपर्छ, उनीहरूका बारेमा बोलिनुपर्छ, सानो भनेर उनीहरूको मनोभावनालाई दबाउनु हुँदैन आदि भन्नु हो । 

शरीरमाथिको अधिकारको प्रश्न, किशोर मनोविज्ञानलाई चिरफार गर्नुपर्ने सन्दर्भ, मानसिक र शारीरिक परिपक्वतासँगै गर्नुपर्ने प्रेम आदि थुप्रै विमर्श सुन्दा, पढ्दा वा हेर्दा सामान्य लागे पनि यी जटिल विमर्श हुन् । जसका बारेमा हामी हुनुपर्ने जति सजग छैनौँ । यही सजगता उडानका खास पक्ष हुन् । उडानको प्रक्षेपण धेरै हदसम्म सफल छ । 

‘उडान’को कभरका केही पंक्ति ‘तिमीले प्राण भरेको, जिन्दगीको पंख उचालेर, म चाहन्छु, मेरो पनि आफ्नै उडान’ जस्तै किशोरावस्थाको उडानलाई आख्यानकारको कलमले निरन्तरता दिँदै जाओस् ।