• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २३ शनिबार १०:४१:००
साहित्य

गजल–वाकमा ज्ञानुवाकर

प्रोफाइल

२०७६ कार्तिक २३ शनिबार १०:४१:००

खगेन्द्र संग्रौला लेख्छन्, ‘गजल नलेख्नु, लेखे पनि जीवनभर एउटै मात्रै लेख्नु ।’ तर, गजलकार ज्ञानुवाकर पौडेलले जीवनभर कति गजल लेखे ? उनको मस्तिष्कको बहिखातामा त्यसको कुनै हिसाब छैन । गजल लेख्नु उनको खास कर्म हो । उनको बोध छ, ‘गजल मेरो जिम्मेवारी हो । र, नयाँ पुस्तालाई गजलमा बाटो देखाउनु पनि जिम्मेवारीभित्रै पर्छ । गजलबाट उनको नाम छुटाइदिने हो भने सम्भवतः नेपाली गजलको एउटा पाटो नै अपुरो हुन्छ । 
०००
२००४ सालमा काठमाडौंको गौशालामा जन्मिए पौडेल । ६ वर्षकै उमेरमा उनलाई छाडेर तराई झरिन् आमा जगतकुमारी पौडेल । त्यतिवेलै मलेरियाको सिकारमा परिन् उनी । उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा संसार छोडिन् आमाले । सँगै ज्ञानुका दाजु पनि बिदा भए संसारबाट । त्यसपछि ज्ञानुलाई बुबाले हुर्काए । शारीरिक दुर्बलताको सिकार बने, ज्ञानु । ९ वर्षको उमेरसम्म बोल्न सकेनन् । पत्नी र छोरो गुमाउनुको पीडासँगै सानो छोरो अपांग हुने चिन्ताले सतायो उनका बुबालाई । बीच एक दिन आमा उच्चारण गरे ज्ञानुले । उनले आमा उच्चारण गर्दा संसारमा आमा थिइनन् ।

बल्ल–बल्ल बोली फुटेपछि पशुपतिको देउपाठमा पढ्न पठाए बुबाले । ज्ञानु पढाइमा एकदमै कमजोर थिए । त्यहाँ पढ्न सकेनन् । स्कुल नगई भाग्न थाले । चाबहिलको एउटा स्कुलमा बुबाले फेरि भर्ना गरिदिए । त्यहाँ पनि दुई महिना पढेर भागे । बुबाले स्कुल भर्ना गरिदिने अनि ज्ञानुचाहिँ केही महिना पढेर भाग्ने यो शृंखला चलिरह्यो । त्यो क्रम उनी २४ वर्ष पुग्दासम्म चल्यो । उमेरले अढाई दशक पार गर्न लाग्दासम्म पनि उनको मानसिक विकास पूर्ण भइसकेको थिएन । उनले पढ्नै नसकेपछि उनका अर्का दाइले उपाय निकाले । दाइले ज्ञानुलाई भने, ‘एउटा माने कण्ठ गरे दश पैसा दिन्छु ।’ त्यो पैसा पाउन ज्ञानुले दिनको पाँच–दशवटा माने कण्ठ गर्न थाले । पैसा पाउने लोभले उनी कस्सिएर पढ्न थाले ।

दाइबाट पाएको पैसाले सिनेमा हेर्न जान्थे ज्ञानु । बलिउडका कलाकारहरू साधना, माला सिन्हाहरूको फिल्म उनको रोजाइमा पर्थे । ज्ञानु सम्झिन्छन्, ‘त्यसवेला सिनेमा हलबाहिर २५ पैसाको मःमः पाइन्थ्यो । एक मोहरमध्ये २५ पैसाको सिनेमा हेर्थेँ, २५ पैसाको मःम खान्थेँ ।’ बिस्तारै पढाइ सुधार हुँदै गयो उनको । ०२७ सालमा दरबार हाइस्कुलमा भर्ना हुने मौका पाए । ३२ वर्षको उमेरमा मात्रै एसएलसी पास गरे । त्यसपछि त्रिचन्द्र क्याम्पसमा पोलिटिकल साइन्स विषय लिएर स्नातकसम्मको अध्ययन गरे । 

त्यतिवेला जागिर पाउन अहिलेजस्तो गाह्रो थिएन । हुकुम प्रमांगीबाटै जागिर खाने चलन थियो । ०२२ सालमा अदालतबाट जागिरे यात्रा सुरु गरे । ०२५ सालमा नेपाली सेनामा भर्ती भए । आर्मीमै रहँदा एकजना कर्नेलसँग उनको झगडा भयो । कुरा नमिलेपछि ज्ञानुले जागिर छाडे । ०३६ सालमा सोल्टी होटेलको सेक्युरिटी अफिसरमा नियुक्त भए । सोल्टीकै कामको सिलसिलामा कलकत्ता पुगे । त्यहाँ पनि लामो समय टिकेनन् उनी । त्यसपछि ज्ञानुको जागिर यात्रा रेडियो नेपालतिर मोडियो । बिहान ‘रेडियो नेपाल’ र दिउँसो ‘गरिमा’ प्रकाशनमा काम गर्न थाले । त्यसबाट बचेको समय ‘समष्टि’ पत्रिककाको सम्पादनतिर खर्चिए ।

‘विद्यय’ पत्रिकामा ०३० सालमा शंकर कोइरालाबारेको समीक्षा छापिएपछि उनको साहित्यिक यात्रा सुरु भयो । उनले केही अनुवाद पनि गरे । ०३५ सालमा ‘अभिव्यक्ति’, ‘रूपरेखा’ र ‘मधुपर्क’मा उनका गजलहरू छापिएपछि उनको चर्चा चुलियो । उनी सम्झन्छन्, ‘मधुपर्कमा भैरव अर्याल सम्पादक हुँदा ‘तेरो कविता भएन’ भनेर मेरा सात कविता च्यातेर मिल्काइदिए । पछि नारायणबहादुर सिंह सम्पादक भएपछि मेरा गजलहरू निरन्तर छापिन थाले ।’

सुरुमा गजल छापिँदा ज्ञानुले ३० रुपैयाँ पारिश्रमिक पाए । त्यो वेलाको ३० रुपैयाँले किशोर नेपाल, विनोद रिमाल र उनीसहित ३ जनाले क्षेत्रपाटीको भट्टीमा चिउरा, छोयला र खुकुरी रम खाँदा पनि अझै केही पैसा फिर्ता आएको उनी सम्झिन्छन् । 

अरू देशहरूमा शृंगारिक गजलको बाढी आइरहेको वेला उनले समसामयिक चेतका गजलहरू लेखे । उनका गजलले नयाँ स्वाद दियो । उनका समकालीन साथीहरू विमल कोइराला, दिनेश अधिकारी, जीवन आचार्य, विमल निभा आदि थिए । गजलमा नलागी कवितामै फर्किन उनका धेरै साथीहरूले जोड गरे । तर, गजल लेख्न छाडेनन् ।  

ज्ञानुलाई धेरैले ‘गजल सम्राट्’ भन्छन् । तर, उनलाई ‘गजल सम्राट्’ शब्द निकै गह्रुँगो लाग्छ । आफूलाई सम्राट् भन्दा लाज लाग्ने उनी बताउँछन् । भन्छन्, ‘मलाई गजल सम्राट् नभन्नु भनेर धेरै भनेँ । तर, कसैले मानेनन् ।’ साहित्यका अन्य विधा लेख्नेहरूले गजललाई महत्व नदिएको देख्दा ज्ञानुलाई दुःख लाग्छ । खगेन्द्र संग्रौला, गोविन्दराज भट्टराईलगायत साहित्यकारलाई गजलको मेहफिलमा ल्याएर नयाँ पुस्ताको गजल सुनाउन मन छ उनलाई । नयाँ पुस्ताको शक्तिशाली गजल सुनेपछि गजललाई महत्व नदिने साहित्यकारको धारणामा परिवर्तन आउने उनको ठोकुवा छ । 

यतिवेला गजल उत्साहजनक स्थितिमा रहेको, तर सन्तोषजनक भने नरहेको विचार छ उनको । नयाँ पुस्ताले सन्तोषजनक गजल लेख्न नसकेको उनी बताउँछन् । ‘अहिलेका गजलकारहरू देशको भूगोल, धर्म, संस्कृति नबुझी गजल लेख्छन्,’ उनी भन्छन्, ‘गोविन्दराज भट्टराई र खगेन्द्र संग्रौलाको नकारात्मक धारणाको जन्म भएको यही कारणले हो ।’ 

उनको प्राथमिक विधा गजल र मुक्तक नै हो । उनी यो क्षेत्रमा आएपछि धेरैले उनलाई नकारात्मक रूपमा हेरेको उनको गुनासो छ । मोहनराज शर्मा, ईश्वर वल्लभले ‘यो आयातीत विधा हो, यसलाई छोड’ भन्दा पनि उनी त्यसबाट केही समय हतोत्साही त भए, तर गजल लेख्न छाडेनन् । सबैले गजललाई तिरस्कार गरिरहँदा पनि उनले गजल लेख्न छाड्दै छाडेनन् ।

०४४ सालमा त्रिपुरासँग उनको मागी विवाह भयो । त्यतिवेला उनी ४० वर्षका थिए । अहिले उनी हरेक कार्यक्रममा श्रीमतीलाई साथमा लिएर जान्छन् । श्रीमती मुक्तक लेख्छिन्, उनको लेखनमा हौसला दिन्छिन् ।उनीहरूका दुई सन्तान छन्, प्रतीक र प्रतिज्ञा । दुवै अस्ट्रेलिया बस्छन् । ज्ञानु दम्पती वेलावेला छोराछोरी भेट्न उतै जान्छन् । अहिले गौशालाबाट ग्वार्को सरेका छन् । ०६१ सालमा रेडियो नेपालबाट रिटायर्ड भएपछि ज्ञानु साहित्यिक कार्यक्रममा व्यस्त छन् । 

ज्ञानुलाई धेरैले ‘गजल सम्राट्’ भन्छन् । तर, उनलाई ‘गजल सम्राट्’ शब्द निकै गह्रुँगो लाग्छ । आफूलाई सम्राट् भन्दा लाज लाग्ने उनी बताउँछन् । भन्छन्, ‘मलाई गजल सम्राट् नभन्नु भनेर धेरै भनेँ । तर, कसैले मानेनन् ।’

उनी अहिले नेपाल साहित्यिक पत्रकार संघको उपाध्यक्ष, नेपाली लेखक संघको उपाध्यक्ष, रसियन कल्चर सेन्टरको महासचिव र पहलमानसिंह स्वाँर स्मृति प्रतिष्ठानका संस्थापक हुन् । उनी ‘राष्ट्रिय प्रतिभा पुरस्कार’, ‘साझा पुरस्कार’, ‘गरिमा सम्मान’, ‘सूर्योदय सम्मान’, ‘वसुन्धरा मानश्री पुरस्कार’लगायत अनगिन्ती पुरस्कारबाट सम्मानित भइसकेका छन् । विदेशी गजलकारको तुलनामा नेपाली गजल निकै पछाडि रहेको उनको स्वीकारोक्ति छ । उनी नयाँ पुस्तालाई आफूसँग भएको ज्ञान बाँड्न विभिन्न संस्थाहरूमा क्लास पनि दिइरहन्छन् । 

लेखक विष्णुविभु घिमिरे ०३६ सालदेखि नै ज्ञानुसँग संगतमा रहेको सम्झन्छन् । विभिन्न ठाउँहरूमा कविता वाचन गर्दै हिँड्दा ज्ञानुले चाहिँ खासै चासो नदिने गरेको उनी बताउँछन् । एकदिन घिमिरेले सोधे, ‘किन हामीसँग छुट्टिनुभएको तपाईं ? आउनुहोस् सँगै कविता लेखौँ, वाचन गरौँ ।’ त्यसवेला ज्ञानुले भनेका थिए, ‘कविताको यस्तो भिडमा मिसिएँ भने मेरो अस्तित्व हराउँछ । म गजल नै लेख्छु । तपाईंहरू कविता लेख्नुहोस् ।’ घिमिरेका अनुसार ज्ञानु रेडियो नेपालमा हुँदा गजल क्षेत्रमा निकै राम्रा कामहरू गरे । ज्ञानु मिलनसार सरल व्यक्ति रहेको उनको अनुभव छ । घिमिरे भन्छन्, ‘गजल क्षेत्रमा उहाँ आयडल नै हुनुहुन्छ ।’ 

ज्ञानुले कवि दिनेश अधिकारीसँग पनि संगत गरे । ज्ञानुसँग ०३५ सालदेखि नै संगतमा रहेको अधिकारी सम्झन्छन् । भन्छन्, ‘ज्ञानु एकदमै सरल र मिलनसार साथी । हामी सँगसँगै साहित्य लेखनमा लाग्यौँ । उहाँ सुरुमा कविता लेख्नुहुन्थ्यो, पछि गजलतिर लाग्नुभयो ।’ सुषुप्त अवस्थामा रहेको नेपाली गजललाई उर्वर बनाउन ज्ञानुको योगदान देख्छन् उनी । भन्छन्, ‘नेपाली गजललाई अहिलेको अवस्थामा ल्याइपु-याउन उहाँको ठूलो योगदान छ ।’