• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कुन्ता शर्मा
२०७६ कार्तिक ३० शनिबार ०७:२४:००
समाज

अग्निपरीक्षा : एकपछि अर्को

२०७६ कार्तिक ३० शनिबार ०७:२४:००
कुन्ता शर्मा

सम्बन्ध

२०४० भदौ महिनाको मध्य झरीमा दुई बालक छोराहरू च्यापेर म राजधानीतिर लागेँ । त्यसवेला रात्रिबस चल्दैनथ्यो । त्यसैले दिउँसोको बस चढ्न बिहान झिसमिसेै भानुचोकको बसपार्क पुग्नुपथ्र्यो । माइलो छोरा रोशन भने आमासँग धरानमै छाडेकी थिएँ । पार्टीले काठमाडौँमा अदालत बसाउने भएको थियो । त्यसैले मञ्जुलका अभियुक्तहरू म, प्रशान्त (कान्छा छोरा) र राजेश वान्तवा एकसाथ काठमाडौँ जानुपर्ने भएको थियो । हामीसँग क. मदन भण्डारी पनि थिए । मनमा अनेकन् छटपटी लिएर यात्राको थालनी भएको थियो ।

 

पीडाले मन व्याकुल भइरहेको थियो । यात्राको दौरान हामी सबै मौन थियौँ । गाडी एकतमासले गुडिरहेको थियो । बसको यात्रामा सधैँ मस्त निदाउने म त्यस दिन एक झपक पनि निदाउन सकिनँ । मनभित्र आगोको मुस्लोझैँ तनाव कुदिरहेको थियो । सर्वत्र अन्धकार देखिरहेकी थिएँ । अकस्मात् मेरो टाउकोमा चट्याङ परेजस्तो भएको थियो । एउटा निरपराध बालकलाई आघात पर्ने गरी कुट्दा हुने अवस्था जस्तै थियो, त्यो समय मेरा लागि । बस आफ्नै रफ्तारमा अगाडि बढिरहेको थियो । छोराहरू निदाएका थिए । कान्छो छोरा प्रशान्त मेरो काखमा थियो । जेठो छोरा सिर्जन मेरो काखमा टाउको राखेर निदाएको थियो । बच्चाहरूको निश्छल अनुहार हेर्दा घरिघरि मेरा आँखा रसाइरहेका थिए । 

जस्तै दुःख र समस्यामा पनि समय कहाँ रोकिएको हुन्छ र ? कहिल्यै नबित्लाझैँ लाग्ने गहन अँध्यारो रातजस्तो थियो मेरो मन । निद्रा आउन मानिरहेकै थिएन । बच्चाहरू ठोक्किएलान् भन्ने डरले पनि चनाखो हुनुपरेको थियो । म झ्यालबाहिर हेरिरहेकी थिएँ । जंगल–गाउँ–बस्ती ब्युँझिन लागिरहेका थिए । बिस्तारै अँध्यारो हराउँदै थियो । प्रकृतिले दुइवटै हात माथि उचालेर हाई काढेजस्तो लागिरहेको थियो । 

खाना खानका लागि गाडी निजगढमा रोकियो । त्यतिवेला मध्यदिनको घाम झलमलाइरहेको थियो । त्यहाँ हामीले खाना खायौँ । हामीबीच खासै संवाद भएन । मात्र औपचारिकताका दुईचार शब्दबाहेक । म आफैंमा हराइरहेकी थिएँ । छोराहरूलाई खाना खुवाएर दुई–चार गाँस मुखबाट के छिरेको थियो, गाडीले हर्न बजाउन थालिहाल्यो । 

गुडिरहेको गाडीमा कान्छो छोरा चकचक गर्न थाल्यो । उसलाई सम्हाल्दै म बाहिरको दृश्य पनि हेर्दै थिएँ । वर्षामा रुझेर स्निग्ध भएको नयनाभिराम जंगल देखियो । मनभित्र अशान्तिको आगोलाई केहीबेरका लागि भए पनि प्रकृतिले शान्त तुल्याइदिए जस्तो भयो । हेर्दाहेर्दै हेटौँडा कट्यो, गाडी चितवनको भूमिमा गुड्न थाल्यो । खाना खाएपछि पनि म निदाउन सकिनँ । अनिँदा आँखा झपक्क पनि भएनन् । 

नारायणीको किनारैकिनार गाडी दौडिँदै थियो । पूर्ण यौवनमा रहेको नदीमा छालहरू बेगले उछिनपाछिन गर्दै बगिरहेका थिए । धमिलो नदी रूखपात–मुढा सोहोर्दै बगेको नदी उत्तेजनाको चरममा देखिन्थ्यो । मेरो अन्तस्थल पनि त्यत्तिकै अशान्त थियो । लाग्यो, मेरा मस्तिष्कका सुकोमल र शान्त रेसाहरूमा बेकाबु नारायणी बगिरहेको छ । अपमानबोध, छटपटी र पछुतोका असंख्य छाल र तरगंहरू अटेसमटेस गर्दै उर्लिरहेका थिए । 

मुग्लिङ बजार कटेपछि अघि निदाएका दुवै छोरा ब्युँझिए । घरबाट हिँड्ने वेला सिर्जन भ-याङबाट लडेको थियो । उसको मसँग आउने कुरा थिएन पनि । अकस्मात आमाको मनमा के कुरा आयो कुन्नि भन्नुभयो, ‘बाबु तँ पनि आमासँग जा । हुर्केबढेको छोरा तँ नै होस् ।’त्यतिखेर सिर्जन साढे आठ वर्षको मात्र थियो । ऊ अत्यन्त भद्र, सोझो र आज्ञाकारी थियो । भाइहरूलाई निकै माया गथ्र्यो । सिर्जनलाई लिएर काठमाडौँ जानु ठूलो भूल भएको कुरा पछि मात्र महसुस गरेँ । 
साँझ काठमाडौँ पुगियो । भोलिपल्ट बिहान ‘संकल्प’ कार्यालय ज्याठाको ६ तले भवनमा पार्टीको अदालत बस्यो । न्यायकर्ताका रूपमा मदन भण्डारी, माधवकुमार नेपाल, रघुजी पन्त, रामेश र मोहन श्रेष्ठ आदि थिए । 

मेरो हालत काट्न ठिक्क पारेको, तर जति पर्सिए पनि आङ जुर्काउन नमान्ने बोकाको जस्तो थियो । म बोल्नेबित्तिकै मञ्जुल मतिर झम्टिहाल्थ्यो अनि रघुजी पन्त दुईवटै हत्केला तलतिर घोप्ट्याएर शान्ति, शान्ति भनिरहन्थे । निकै लामो कुराकानीपछि मदन भण्डारीले उसलाई सोधे, ‘मञ्जुल कमरेड, तपाईँले के आधारमा कुन्ता कमरेडमाथि यस्तो संगीन आरोप लगाउनुभयो । के तपाईंले उहाँहरूबीचमा कुनै अनैतिक सम्बन्ध देख्नुभयो ?’

‘त्यस्तो अर्थोक त केही देखिनँ,’ उसले बडो अभिनयका साथ भन्यो, ‘कुन्ताले राजेश कमरेडलाई मासु थपी–थपी खुवाइन्, त्यसैले मलाई शंका लाग्यो ।’
सबै मान्छेहरू उसको कुरा सुनेर हाँसे । जे होस्, उसले त्यसवेला पछिल्लो समयमा जस्तो सफेद झुट र कल्पित आरोप लगाएको थिएन । पाहुना बोलाएपछि पेटभरि खुवाउनु एउटा संस्कार पनि होइन र ? फेरि राजेश वान्तवा मेरो नभएर उसकै पाहुना थिए ।

मैले मञ्जुलबाट तीन छोरा जन्माएकी थिएँ, जसलाई न उसले लालनपालन ग-यो, न पढाइ लेखाइमै ध्यान दियो । विडम्बना ! त्यस मानिसले एघार महिना पुगेको कान्छो छोरालाई आफ्नो छोरा होइन भन्न पुग्यो । निकैबेरको छलफल र मञ्जुलको तर्क–कुतर्कपछि पार्टी अदालतले राजेश वान्तवालाई दोषमुक्त ग¥यो । मञ्जुलले भन्यो, ‘म यिनलाई दुई वर्षसम्म हेर्छु ।’ म आफ्नो निर्दोषितामा ढुक्क थिएँ, र भनेँ, ‘हुन्छ, दश वर्ष हेरे पनि हुन्छ ।’ 

अदालतको निर्णय मलाई न्यायपूर्ण लागेन । उनीहरूले मञ्जुललाई कुनै नसिहत दिएनन् । ऊ पानीमाथिको ओभानो भयो र म आमा विनाअपराध लाञ्छित भएँ, साथमा अबोध शिशु पनि घानमा पिसियो । म पीडाको पराकाष्ठामा पुगेँ । मेरा चारैतिर सघन अन्धकार फैलिएजस्तो भयो । दिनरात आन्दोलनको हुरी–हुण्डरीमा हेलिने म, प्रशासनको दमनचक्रमा पेलिने म, अनि ममाथि नै कलियुगको प्रगतिशील मुखुण्डोधारी राम र धोबीहरूले फोहोर खन्याउने ! मेरो मनले चिच्याएर भनिरहेको थियो, ‘कामरेडहरू ! तपाईंहरूले मेरो त्याग, बलिदान र जुझारूपनाबापत दिएको पुरस्कार यही नै हो त ?’ सबैजना ज-याकजुरुक उठेपछि मलाई सहिनसक्नुभयो । ६ तलामाथिको झ्यालको छेउमा गएर प्रशान्तलाई दुई हातले उचाल्दै छेउमै उभिएका माधवकुमार नेपालतिर हेर्दै भनेँ, ‘कमरेडहरू अब के भविष्य हुन्छ यो बाउविनाको बच्चाको ? के झ्यालबाट फ्याँकिदिऊँ यसलाई ?’ डन्डा नभएको थियो त्यो झ्याल ।

‘तपाईंको खुसी गर्नोस्’ माधव नेपालले रुखो स्वरमा भने । उनको अनुहारमा कुनै मानवीय संवेदना देखिनँ । त्यतिवेला उनी ठूला नेता भइसकेका थिएनन्, वाणिज्य ब्यांकका सामान्य कर्मचारी मात्र थिए । उपस्थित अरू महामहिम पनि मौन रहे । त्यसवेलादेखि नै माधव नेपाललगायत पार्टीका सम्पूर्ण केन्द्रीय नेताहरूप्रति नै मेरो धारणा बिग्रिसकेको थियो, उनीहरूको हृदयहीनताको साक्षी भएका कारण ।

मलाई सम्झाउनु–बुझाउनु र हिम्मत बढाउनु त कता हो कता, न्यूनतम सहानुभूतिसम्म पनि देखाएनन् । त्यति हुँदाहुँदै पनि धरान फर्किएपछि तिनै कठोर र संवेदनाहीन नेताहरूको निर्देशनमा ज्यानको बाजी लगाएर काम गरिरहेँ । दुई वर्षसम्म मेरो अग्निपरीक्षा लिने भनेर मञ्जुल पन्छियो । राजेश वान्तवा निकै इमानदार मान्छे थिए, उनी दोषमुक्त हुनु त स्वाभाविक थियो । तर, मञ्जुल चोखै उम्केको देख्दा मलाई पार्टीप्रति नै घृणा जागिरहेको थियो । 

भोलिपल्ट अमृत बोहरालगायत मानिस यही सन्दर्भमा भेला भएका थिए । त्यो सायद प्रमोद हमालको घर थियो । त्यहाँ अमृत बोहोरा र मञ्जुल जिस्किरहेका थिए । केहीबेरमा अमृत बोहोराले मञ्जुलको गोजीबाट धमाधम पैसा झिक्न लागे । म रमिता हेरिरहेकी थिएँ । त्यसवेला मञ्जुल निकै पैसा कमाउँथ्यो । म महिनाको नौ सय कमाउँथेँ, ऊ ४५ सय कमाउँथ्यो ।

अमेरिकन र युरोपियन डलरको कमाइले उसलाई फुइँ बढे जस्तो थियो । म थोरै तलबको भरमा तीन छोराको रेखदेख गर्दै घर चलाइरहेकी थिएँ । ऊ दुई–चार महिनामा घर आउँथ्यो र उसकै गनगन ठूलो हुन्थ्यो । घरखर्च दिनु त आकाशको फल थियो । घर आउनेबित्तिकै ऊ भन्न थाल्थ्यो, ‘हेर कुन्ता, म त रुखिएर खोक्रो भएर आएको छु । बल नामको चिज मसँग केही पनि छैन । अलि मिठो–मिठो तागतिलो चिज खुवाऊ है ।’

मेरो कमाइले उसलाई मिठो–मसिनु खुवाउनु भनेको छोराहरूको कलिलो आन्द्रा काट्नुबराबर थियो । तर, म यस्तो गर्न पनि बाध्य हुन्थेँ । तर, यसरी बोहोराले उसको गोजीको पैसा ह्वारह्वार निकालेको देख्दा मलाई घिन लागेर आयो । काठमाडौँमा मात्र होइन, धरानमै हुँदा पनि उसको स्वभाव यस्तै थियो । तलब थापेको दिन उसका चेला चपेटाहरू पछि लाग्थे ।

होटेलमा ठूलै जमघट हुन्थ्यो । विराटनगर बाजेको पुस्तक पसलबाट कार्टुनका–कार्टुन किताब ल्याएर ‘कामरेडहरू’लाई वितरण गथ्र्यो । मैले वर्षौँसम्म लुगा नफेरेको हेर्दैनथ्यो । अनि मलाई नै लिएर शिव एन्ड ब्रदर्समा गएर एकैपल्टमा तीन जोरसम्म लुगा सिलाउँथ्यो । पैसा पुगेन भने मैले नै थप्नुपर्ने हुन्थ्यो । तर, मेरो त कुरै छाडौँ, छोराहरूलाई लुगा छ कि छैनसम्म पनि सोध्दैनथ्यो । म पनि लाचार थिएँ । सायद मसँग सहनुको कुनै विकल्प थिएन । अमृत बोहोरा र उसको रमाइलो अमिलो मनले हेरिरहेँ । 

मलाई आफूमाथि कुनै शंका थिएन । मैले अर्को कुनै पुरुषसँग कुनै खाले सम्बन्ध नराखेको हुनाले डिएनए परीक्षण बिग्रिँदैन भन्नेमा सय प्रतिशत नै विश्वस्त थिएँ । मेरो मानसमा समेत कुनै अर्को पुरुष थिएन । महाभारतकी कुन्तीले सूर्य, इन्द्र र वायुको सम्झना गरेर तीन भाइ छोरा पाएजस्तो पनि मेरो अवस्था थिएन । 

‘पार्टीले रक्त परीक्षण गर्ने सोच लिएको छ । यसमा कमरेडको के विचार छ ?’ अमृत बोहोराले मलाई सोधे । मैले खिन्न हुँदै भनेकी थिएँ, ‘म हरेक परीक्षणको लागि तयार छु । तर, नतिजा आउनुपर्छ । कुराको छिनोफानो हुनुपर्छ । जो अपराधी ठहर्छ, उसलाई कडाभन्दा कडा सजाय हुनुपर्छ ।’अमृत बोहोरा चुप रहे । आखिर रक्त परीक्षण हुने भयो । म त्यसका लागि तयार भएँ । समस्याको छिटो छिनाफानो होस् भन्ने चाहन्थेँ म ।

पद्मकन्या क्याम्पसको गेटअगाडि भरत प्रधान र सरोज धितालको क्लिनिक थियो । ‘अक्युपन्चर क्लिनिक एन्ड रिलिफ सेन्टर’मा रगत झिक्ने काम भयो । राजेश वान्तवा, मञ्जुल, सिर्जन र मेरो कुनै समस्या थिएन । हाम्रो रगत त सजिलै झिकियो । तर, वर्ष दिन मात्र पुगेको प्रशान्तको रगत झिक्दा ऊ क्लिनिक थर्काउने गरी कहालिएर रोयो । गाउँघरमा सुँगुर घोची–घोची मारेको सम्झना आयो मलाई ।

रक्त परीक्षणको नतिजाले समस्याको समाधान ल्याउला भन्ने झिनो आशा लागेको थियो । रक्त परीक्षणको नतिजा आयो पनि । मेरो रक्त समूह ए, दुई भाइ छोराको ए, मञ्जुलको पनि ए अनि राजेश वान्तवा बी । अब सीधासाधी हेर्दा यहाँ नमिल्ने त केही कुरा थिएन । तर, डा. भरत र सरोजको भनाइ यसप्रकार रह्यो, ‘ए र बी समूह रगत भएका आमा–बाबुका छोराछोरीको रक्तसमूह बी पनि हुन सक्छ ।’ यसप्रकार यहाँ पनि मञ्जुललाई जोगाउने काम भयो । यदि रगत जाँचबाट कुनै ठोस निर्णयमा पुग्न सकिने थिएन भने सानो बच्चालाई निचोरेर रगत झिक्नुको अर्थ के थियो ? सायद यो मेरो अग्निपरीक्षा थियो । 

अमृत बोहोराको प्रस्ताव थियो रगत जाँच्ने । मानिनँ भने मैले गल्ती गरेको ठह-याउने उनीहरूको सोच रहेको ठहर गरेँ मैले । ‘हात्ती आयो फुस्सा’ भनेझैँ भयो रक्त परीक्षण पनि । मञ्जुल फुक्का भयो फेरि पनि । मञ्जुललाई केही अड्को गराऊँ भन्ने उद्देश्यले छोरा उसैलाई जिम्मा लगाएँ । जो मेरो लागि पछि गएर अत्यन्त प्रतिकूल साबित भयो । आफ्नो त्यस निर्णयको पश्चात्ताप अद्यावधि छ मलाई । 

यसप्रकार मञ्जुलले रक्त परीक्षणपछि पनि दुई वर्ष हेर्ने वा मेरो थप परीक्षा लिने भनेर उछिट्टियो । सीताको मात्र अग्निपरीक्षा लिने बानी परेको यो हृदयहीन समाजमा मेरो के लाग्थ्यो ? पार्टी अदालतको एकतर्फी निर्णय बाध्यतापूर्वक शिरोधार्य गरेर म कान्छो छोरो च्पापेर धरानतिर लागेँ । 

०००
नियतिले अर्को कोल्टे फे-यो । चरित्रहीनताको आरोप त झेलेकै थिएँ, त्यसमाथि अर्को समस्या आइलाग्यो । सृजनलाई मञ्जुलले मसँग भेट्न दिनै छाड्यो । अझ बालख–छोरालाई मेरो बारेमा तथानाम भन्न लगाउन थाल्यो । यो मेरो लागि थप पीडादायी थियो । कुनै सुरतले मैले सृजनलाई भेट्दा मैसँग भेटेका कारण बाउबाट शारीरिक यन्त्रणा पाएको थाहा पाएँ । मैले सृजनलाई काठमाडौँ छाड्नु गल्ती थियो भन्ने मलाई बोध भयो । दुधेबालख कान्छोलाई आमाको जिम्मा लगाएर म काठमाडौँ लागेँ । 

मेरो उद्देश्य सृजनलाई घर फर्काएर ल्याउनु थियो । बल्लतल्ल उसलाई भेट्न पाएँ, नरदेवीको कुनै एउटा घरमा । थोरै समयमै मञ्जुलले छोरालाई परक्क पारिसकेछ । ऊ मसँग बटारियो । मैले घर जाऊँ भनेर धेरै फकाएँ, तर उसले पटक्कै रुचि देखाएन । उसको व्यवहार रुखो र टर्राे थियो । केही नलागेपछि कहालिएको मन लिएर म उसलाई छाडेर फर्कन बाध्य भएँ । 

जागिर, दूध खाने छोरा र जहिले–तहिले बिमारी भइरहने माइलो छोराका कारण म काठमाडौँ बसिरहन पाउने स्थिति थिएन । साँच्चै नै घोर अँध्यारो मन लिएर म बस चढेँ । एकातिर गान्निएका स्तनहरूका कारण छाती मरुन्ज्याल दुखिरहेको थियो, अर्कोतिर सृजनलाई घर फर्काउन नसकेको कारणले आँखाहरू बर्सिरहेका थिए । कसैले नदेखून् भनेर म कोल्टे परेर झ्यालतिर फर्किएर बसेकी थिएँ । आँसु रोक्दा पनि नरोकिने हठी बालकजस्ता भएका थिए । 

‘खोइ त सृजन ?’ घर पुग्नेबित्तिकै आमाले पल्याकपुलुक यताउता हेर्दै सोध्नुभयो । म नबोलेपछि आमाले कुरा बुझिहाल्नुभयो । आन्दोलन, घर, स्कुल अनि बच्चाहरू– फेरि पुरानै कार्यतालिकामा जिन्दगी चलिरह्यो । झोक्राएर गालामा हात लगाएर बस्ने स्थिति थिएन मेरो । तनाव लिएर बस्न वा मनमा नानाथरी कुरा खेलाएर बस्न पनि फुर्सद नै चाहिँदो रहेछ ।

०००
२०३६ सालमा भएको जनमत संग्रहमा राज्यले सम्पूर्ण शक्ति लगाएर पञ्चायत व्यवस्थालाई जितायो । सत्तामा पुगेपछि चाहे जोसुकै हुन् निरंकुश भइहाल्दा रहेछन् । त्यसवेला कोअर्डिनेसन कमिटी नेकपा माले भइसकेको थियो । मलाई पार्टीको तर्फबाट त्यो वेलादेखि नै अन्याय भएको थियो । तैपनि नेकपा मालेले चलाएको हरेक खाले आन्दोलनमा सहभागी भइरहेँ । शिक्षक आन्दोलन, महिला आन्दोलन, मानव अधिकार आन्दोलन अनि सांस्कृतिक आन्दोलन आदि सबैखाले आन्दोलनमा म पूर्ण ऊर्जा, निष्ठा र मनोयोगका साथ लागेकी थिएँ । 

सिर्जनलाई नदेखेको धेरै भएको थियो । मन साहै्र कल्पियोे र उसलाई भेट्न काठमाडौँ गएँ । ऊ विद्यालयमा साथीसँग खेल्दै रहेछ । मैले बोलाउँदा बोलेन र मतिर हेर्दा पनि नहेरी हिँड्न लाग्यो । म बाबु बाबु भन्दै पछिपछि हिँड्देै थिएँ । नजिकै भएको उसको साथीले उसलाई सोध्यो, ‘को हो सृजन ?’ सृजनले मतिर हेर्दै नहेरी दुईवटै कुमहरू उचाल्यो । मतलब प्रस्ट थियो ‘चिन्दिनँ ।’ त्यसवेला मेरो मनमा जे भयो, म शब्दमा वर्णन गर्न सक्तिनँ । उसको त्यो व्यवहार देखेर उसलाई प्रश्न गर्ने साथीलाई जवाफ दिएँ, ‘म उसको कोही पनि होइन बाबु । उसले मलाई चिन्दैन । मैले उसलाई जन्माएको पनि होइन । ऊ त आकाशबाट झरेको हो ।’ मैले यति भनिसक्दा–नसक्दा सृजन ओझेल भइसकेको थियो । 

त्यतिखेर मलाई आफूलाई थाम्न गाह्रो भयो । नजिकै विद्यालयको शौचालय रहेछ । त्यहाँ पसेँ, अनि मन लागेजति रोएँ । निकैबेर रोएपछि मेरो घाँटीमा परेको गाँठो केही फुस्किएजस्तो भयो । अनुहार पुछपाछ पारेर विद्यालयको त्यो सुनसान भइसकेको सानो खेलमैदानबाट बसपार्कतिर लागेँ ।

०००
काठमाडौँ बसेर मञ्जुल जथाभावी बोलिरहेको थियो । छोराको माध्यमबाट ऊ मेरो हुर्मत लिइरहेको थियो । पार्टीका नेता र बुद्धिजीवीहरू कोही पनि उसको मनपरी रोक्न वा त्यसको आलोचना गर्न तयार थिएनन् । सिपी, अमृत बोहोरालगायतका नेता उसकै पक्षधर थिए । 

२०४० सालदेखि पछि व्यक्तिगत र राजनीतिक हिसाबमा धेरै नै उल्लेखनीय घटना घटे, त्यसको बयान पछि गरुँला । अहिले ०६३ सालको चर्चा गर्छु । ठूलो छोरा सृजनले कता केके थाहा पायो कुन्नि, एक दिन मसँग भन्यो, ‘आमा अब बाउलाई मुक्त गर्नुपर्छ होला ।’ केहीबेर त म अकमक्क परेँ । मञ्जुल त महामुक्त थियो । सायद मेरो अनुहारमा आश्चर्यको भाव देखेर होला सृजनले भन्यो, ‘आमा मेरो भनाइ मञ्जुललाई छोडपत्र दिनुपर्ला भन्ने हो । तपाईंलाई कथंकदाचित केही भइहाल्यो भने त तपाईँको नाममा भएको सबै सम्पत्ति उसको नाममा स्वतः जाने रहेछ । अनि त हामी रोडमा पुग्दैनौँ र आमा ?’ 

हुन त मैले मेरो सबै जायजेथाहरू दाइजो पेवा गरेर राखेकी थिएँ । ती सबै मेरो पैतृक सम्पत्ति थिए । मञ्जुलको जायजेथाबारे त मलाई केही पनि थाहा थिएन । २०३० सालमा मञ्जुलले मसँग प्रज्ञा प्रतिष्ठानको अगाडि बिहेको प्रस्ताव राखेको थियो । उसले टक्क अडिएर बडा लयालु भाषामा भनेको थियो, ‘हेर्नाेस्, अब म तपाईंविना बाँच्न सक्तिनँ जस्तो लाग्छ । हुन त मसँग सम्पत्तिको नाममा मेरा यी दुईवटा पाइला टेक्ने जमिन पनि छैन । तर, मैले हरेक पल तपाईँमा मेरी आमा नै देखिरहेको छु । हामी बिहे गरेर बसौँ न ।’ मञ्जुलसँग बिहे गर्दा बिहेको दोहोरो खर्च मैले नै गरेकी थिएँ । चार रुपियाँ लुङको दुई लुङ पोते र दुई रुपियाँ बट्टाको एक बट्टा सिन्दुरचाहिँ उसले किनेको थियो । यो दश रुपियाँको दसा बडो कडा रहेछ । 

०००
म आफैँ पनि लामो समयदेखि डोकोविनाको नाम्लो जस्तो निधारमा झुन्ड्याइरहेको सम्बन्धसँग छुटकारा पाउन चाहिरहेकी थिएँ । त्यसमाथि छोराहरूको पनि त्यही मनसाय भएकाले म ऊसँग छोडपत्र गरेर छोराहरूको भविष्य सुरक्षित गर्ने तयारीमा लागेँ । 

त्यसवेला कान्छो छोरा पनि लाठे भइसकेको थियो । हुर्किसकेका छोराहरूको सरसल्लाहमा मैले मञ्जुलसँग छोडपत्र माग्दै ललितपुर जिल्ला अदालतमा मुद्दा हालेँ । मेरो फिरादपत्रमा उसको सम्पत्तिमा कुनै दाबी नगर्ने कुरा उल्लेख थियो । ऊ सजिलै छोडपत्र दिन पनि तयार भएन । 

यो वेला कस्ता–कस्ता प्रकृतिका कष्ट भोगेँ, के–कस्तो मानसिक पीडाबाट गुज्रनुप-यो र त्यो वेला मेरो के हाल भयो भन्ने कुरा मलाई मात्र थाहा छ । मैले डिएनए टेस्ट गराउने माग अदालतमा राख्ने निर्णय गरेँ । हाल पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग मेरो चिनजान थियो । उनीबाटै मैले माग्न नमिल्ने रहेछ भनेर थाहा पाएँ । र, छोरालाई अंश मुद्दा हाल्न लगाउने निर्णयमा पुगियो । मञ्जुलले अन्तिम समयसम्म तारिख नबुझे पनि अन्ततः बुझ्न कर लाग्यो । त्यसपछि उसैले डिएनए टेस्टको लागि अदालतमा निवेदन हाल्यो । 

०००
मञ्जुलतिरका वकिल प्रकाश वस्ती रहेछन् । उनले लेखेको फैसला कसैैले पनि पढ्नु नपरोस्, न लेख्नु नै परोस् । मेरो बारेमा त्यस्ता भद्दा र पढ्दासमेत पनि आङ जिरिङ्ग हुने शब्दहरू किन प्रयोग गरियो मलाई ताजुब लाग्छ । हुन सक्छ, उपल्लो दर्जाको अभिनेता मञ्जुल अभिनयमा अत्यन्त निपूर्ण छ । ऊ ङिच्चङिच्च हाँसेर वा आँसु झारेर मान्छेहरूको मन पगाल्न र आफ्नो कुरा मनाउन सामथ्र्य राख्न सक्ने खालको मान्छे हो । सायद वस्ती पनि त्यही औजारको सिकार भए । 

त्यतिखेर पुनस्र्थापित प्रतिनिधिसभाको समय सकिएर माओवादीसहितको अन्तरिम संसद् बन्ने प्रक्रियामा थियो । मैले डिएनए परीक्षणबारे चर्चा गर्दा केही सांसद मित्रहरूले अन्तरिम संसद् नबनी डिएनएमा नजान सल्लाह दिएका थिए । 

डिएनए परीक्षण प्रविधि भर्खर–भर्खर नेपाल भित्रिएको थियो । तर, म भने एक दिन पनि ढिलो नगरी रगत दिनका लागि तयार थिएँ । त्यसवेला एमालेका भन्दा कांग्रेसका मान्छेहरूले मलाई यसप्रकारको सहानुभूति र सुझाब दिएका थिए । आत्मीय मित्र तथा शुभेच्छुकहरूको भनाइ हाल रक्त परीक्षणमा नजानु भन्ने थियो । उनीहरूको भनाइ थियो, ‘तपाईं केही समय रगत दिन नजानोस् ।’ म भन्थेँ, ‘अदालतको अवज्ञा कसरी गर्नु ?’

‘अवज्ञा नगर्नु तर केही समय सार्न सकिन्छ । बिमारीको निहुँ गर्दा पनि हुन्छ ।’ म कुनै उत्तर दिन्नथेँ, किनकि प्राप्त भएको डिएनए परीक्षणको अवसर गुमाउन चाहन्नथेँ ।‘कमसेकम अन्तरिम संसद् बन्न दिनोस् न । कदाचित तपाईंको परिणाम खराब आयो भने एमालेले तपाईंलाई सांसद बनाउनु त उही हो । तपाईंप्रति पार्टीको व्यवहार यसै पनि राम्रो देखिँदैन । तपाईं सांसद भएर मुद्दा लड्नु र बाहिर आममान्छेको हैसियतमा मुद्दा लड्नुमा ठूलो अन्तर हुन्छ । हामीलाई यस्तो लाग्छ, बाँकी निर्णय तपाईँको,’ कांग्रेसी सांंसद माननीय कमला पन्तले भनिन् । 

‘दिदी विधिविज्ञान प्रयोगशालाको अहिलेसम्मको नतिजा महिलाहरूको पक्षमा आएको छैन । के ती सबै नै महिलाहरू बदमासै थिए होलान् त ?’ उनको अनुहारमा गहन संशय, भय र आश्चर्य मिसिएको भाव थियो । यी सब कुराले मलाई पनि केही नहच्काएको त होइन । तर, पनि मलाई आफूमाथि कुनै शंका थिएन । मैले अर्को कुनै पुरुषसँग कुनै खाले सम्बन्ध नराखेको हुनाले डिएनए परीक्षण बिग्रिँदैन भन्नेमा सय प्रतिशत नै विश्वस्त थिएँ । मेरो मानसमा समेत कुनै अर्को पुरुष थिएन । महाभारतकी कुन्तीले सूर्य, इन्द्र र वायुको सम्झना गरेर तीन भाइ छोरा पाएजस्तो पनि मेरो अवस्था थिएन । 

भोलिपल्टका लागि डिएनए परीक्षणको समय निर्धारित भएको थियो । ‘सुझाब लिनु अरूको, निर्णय गर्नु आफ्नो’ भन्ने सोचाइ उपयुक्त लाग्छ मलाई । हुन त डिएनए परीक्षण माग गर्नु भनेको पनि मेरो घोर अपमान हो भन्ने महसुस नभएको होइन मलाई । यो डिएनए कानुनविपरीत मागिएको थियो । सम्बन्धविच्छेद भएको दश महिनासम्ममा जन्मिएको बच्चा उही बाबुको हुने कानुनी व्यवस्था भएको अवस्थामा उसले डिएनए माग्नु र अदालतले त्यसको आदेश दिनु हदै गलत कुरा भएको मलाई थाहा थियो । 

६ तलामाथिको झ्यालको छेउमा गएर छोरालाई दुई हातले उचाल्दै छेउमै उभिएका माधवकुमार नेपालतिर हेर्दै भनेँ, ‘कमरेडहरू ! अब के भविष्य हुन्छ यो बाउविनाको बच्चाको ? के झ्यालबाट फ्याँकिदिऊँ यसलाई ?’ डन्डा नभएको थियो त्यो झ्याल । ‘तपाईंको खुसी गर्नोस्,’ माधव नेपालले रुखो स्वरमा भने । उनको अनुहारमा कुनै मानवीय संवेदना देखिनँ ।

केही साहित्यकारबाट ‘यो तपाईंको घोर अपमान हो र वाहियातको अग्निपरीक्षा हो, रगत नदिनोस्’ भन्ने सुझाब पनि आएको थियो । तर, मलाई के थाहा थियो भने भोलि धेरै मान्छेको शंका ममाथि जानेछ । उनीहरू भन्न थाल्नेछन्, ‘यदि केही गल्ती थिएन भने रगत जाँच्दा के हुन्थ्यो र ?’

रातभरि मेरो मनमा कुराका तरंग चलिरहे । म घरि फर्केर ०३० सालमा पुग्थेँ, घरि वर्तमानमा फर्कन्थेँ । ०३० सालमा उसले मलाई डरलाग्दो ब्ल्याकमेलिङ गरेको थियो । मेरो आँखाअगाडि ०३० सालको उसको आकृति प्रस्ट रूपमा आइरहेको थियो । एउटा भ्याङ्लो सुट, जो उसको शरीरमा पटक्कै फिट थिएन, टालेको काठको डन्डावाल छाता अनि काँधमा भिरेको डोरीको झोला । उसले मेरो माइतीको घरमा चढ्नसमेत आँट गरेको थिएन । शिष्टतावश मैले उसलाई माथि बोलाएँ । तर, उसले घरमा आउने हिम्मत गर्न सकेन । उसलाई लिन म तल गएँ । गल्ली हिँडिसकेपछि आउने भ-याङमुनि टक्क उभिएर उसले एकदम काँतर स्वरमा भनेको थियो, ‘तपाईंविना म बाँच्न सक्दिनँ । यहीँ झुन्डिएर मर्छु । मैले डोरी लिएर आएको छु ।’

त्यतिवेला म असाध्यै डराएँ । यो मान्छे म-यो भने मेरो मात्र होइन, परिवारकै भयानक बेइज्जत हुनेछ जस्तो लाग्यो । त्यतिवेला मेरो आँखाअगाडि हजुरआमा (आमाको आमा)को तस्बिर आयो । उनले आत्महत्या गरेकी थिइन् । त्यतिखेर बुबाआमा र म अत्यन्तै डराएका थियौँ । ओठमुख सुकेर प्याकप्याकती भएको थियो । हजुरआमाको सद्गत नगरेसम्म हाम्रो होस् ठेगानामा आएको थिएन । आत्महत्या भन्नेबित्तिकै मेरो मुटुले ढ्यांग्रो ठोक्यो र मैले उसलाई बिहेको स्वीकृति दिएँ ।

उसलाई राम्ररी थाहा थियो । यहाँ मेरो विवाहको कुरा सिभिल इन्जिनियरिङमा एमई गरेको मान्छेसँग चलिरहेको थियो, जो हाम्रै स्तरको थियो । यो कुरा तुलाराम विश्वकर्मालाई पनि थाहा थियो । त्यतिखेर उसले नै मञ्जुललाई पाठ पढाएर धरान पठाएको हो भन्ने कुराको पक्का विश्वास छ मलाई । जे होस्, फस्नु थियो, म फसेँ । उसको प्रेमको कारणले फसेको होइन, डरले, लोकलाजले, आफ्नो अनि परिवारको समेत इज्जतको कारणले फसेँ । जिन्दगीभरका लागि फसेँ । तनाव र झञ्झावातको भड्खालोमा कहिल्यै नउक्सिने गरी फसेँ ।

छोरा प्रशान्तलाई लिएर म खुमलटारस्थित विधिविज्ञान प्रयोगशालामा गएँ । मञ्जुल पनि पुगेको रहेछ । भित्र प्रयोगशालामा गएर रगत दिने काम भयो । डिएनए शब्द त सुनिएको थियो तर परीक्षण कसरी गरिन्छ भन्ने थाहा थिएन । एकदम सामान्य प्रक्रिया हुँदो रहेछ यसको । औँला घोचेर एक ठूलो थोपा रगत अलि–अलि खाल्डो परेजस्तो भएको टिसु पेपरमा चुहाइँदो रहेछ ।

एउटै टिसु पेपरको तीन ठाउँमा तीनजनाको रगत लिइयो । प्रयोगशालामा रगत दिइसकेपछि मैले अलि ठूलो स्वरमा भनेँ, ‘तपाईंहरूले सही तरिकाले जाँच गर्नुहोला । कसैको डर र धक नमान्नुहोला ।’ निकै वर्षपछि मनले आराम पाउने वेला आएको थियो, अब दूधको दूध पानीको पानी हुनेवाला थियो र यत्तिका वर्ष भोगेको बेइज्जत र तनावको हिसाबकिताब हुनेवाला थियो ।

एउटा महिला र बालकमाथि गरिएको अन्यायमा सबै मूकदर्शी बनेको किन होला भनेर सोच्छु कहिलेकाहीँ । त्यति मात्र होइन, हरेक हिसाबले मञ्जुललाई तिनले किन सहयोग गरे होलान् भन्ने पनि सोच्छु । आफन्त त आफन्त भइगए, पार्टीभित्रकै पनि लगभग सबै नेताहरू उसको पक्षमा थिए । उसले गरेको गैरकानुनी बिहेबारे कोही चुइँक्क बोलेनन् ।

अझ कति त बिहेभोज खान पनि गए । मोदनाथ प्रश्रितलगायतका पार्टीका नेताहरू उसलाई चोख्याउन, उसलाई राजनीतिमा स्थापित गर्न कम्मर कसेर लागेका थिए । भूमिगतकालमा मलाई लामा–लामा पत्र लेखेर ढाडस बढाउने, मञ्जुललाई छोडपत्र नदिनू भनेर सल्लाह दिने प्रदीप नेपाललाई पनि रक्त सम्बन्धले सकस पारेछ क्यार, बहुदल आउनेबित्तिकै उनी दाजुकै बचाउ गर्न लागे । वैचारिक सम्बन्ध र विचारभन्दा रक्तसम्बन्ध बलियो हुने कुरा मैले प्रदीप नेपालकै व्यवहारबाट थाहा पाएँ ।

यसरी बारम्बार मेरो अग्निपरीक्षा लिने काम भयो । पार्टीभित्रका माक्र्सवादी विचारधाराले लैस आधुनिक धोबीहरू, कलाकार, साहित्यकारको नाम भिरेका पढालिखा धोबीहरू अनि समाजमा प्रतिष्ठित गन्यमान्य धोबीहरू सबै नै मलाई आगोमा डढाउन, हुरहुरी सल्काउन उद्यत रहे । हुँ डार र ब्वाँसाहरूबाट खेदिएको, मातृत्वको बोझले हड्बडाएको एउटा क्लान्त अनि थकित मृगको जस्तो मेरो हाल भयो । तर, म त सीता थिइनँ, जो धोबीहरूले गरेको अपमानबोधले ठूलो खाडलमा हामफाल्न पुगिनँ ।

म नानीहरू हुर्काउँदै निरन्तर अनि अथक रूपमा आफ्नो कर्ममा लागिरहेँ, संघर्षमा लागिरहेँ । डिएनए परीक्षणको रिपोर्ट मेरै पक्षमा आएको भए पनि, म निर्दोष साबित भए पनि मञ्जुल तथा उसका पक्षधर मानिसको व्यवहारमा कुनै परिवर्तन आएन । ‘सत्यमेव जयते’ यस भनाइमा मेरो अखण्ड विश्वास थियो र यही विश्वासले मलाई जटिल अनि आँधी–बेहरीयुक्त जीवनमार्गमा अगाडि बढ्न प्रेरणा, साहस र ऊर्जा प्रदान गरिरह्यो । जे कष्ट भोगेँ कुनै गुनासो छैन, किनभने ती कष्ट झेल्न सक्ने शक्ति पनि तिनै कष्टबाटै त पाएँ ।