• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तारानाथ सापकोटा
२०७६ कार्तिक ३० शनिबार ०७:५७:००
साहित्य

डर

कविता

२०७६ कार्तिक ३० शनिबार ०७:५७:००
तारानाथ सापकोटा

डर सबैलाई लाग्छ
कमजोर मानिस डराउँदा ऊ एक्लै मर्छ, बाँँच्छ
घाम उदाउनु र अस्ताउनुजस्तो एउटा लम्बेतान प्रक्रिया
तर शक्तिशाली मानिस डराउँदा आफ्नो वरिपरि
इन्द्रियशून्य मानिसहरूको पर्खाल लगाउँछ

धर्तीको सबैभन्दा शक्तिशाली र जब्बर शासक पनि डराउँछ
वास्तवमा ऊ अझै बढी डराउँछ
मानिसका खुला आँखाभित्रको डँढेलोसँग डराउँछ, बन्द मुठ्ठीसँग डराउँछ
मानिसको विवेक, चेतना, स्वाभिमानसँग डराउँछ
अक्षरसँग डराउँछ, यहाँसम्म कि ऊ बच्चाको सिसाकलमसँग डराउँछ
त्यसमा उसले अलग भूगोल देख्छ
मानिसका विवेक, चेतना, स्वाभिमानभित्र समानान्तर सत्ता देख्छ
प्रश्नहरूदेखि तर्सिन्छ
त्यसभित्र उसले आफ्नो भविष्यको आयतन देख्छ
आफूलाई अजम्बरी बनाउन ऊ प्रश्नहरूको समूल विनाश गर्ने प्रयत्न गर्छ
र सारा गडबडी त्यही समयदेखि सुुरु हुन्छ

डर सधैँ सरल रेखामा हिँड्दैन
डर सधैँ डराइरहेको मानिसको अनुहारजस्तो पनि हुँदैन
बीभत्स र भयानक रूपमा प्रकट हुन्छ डर
सबैभन्दा कुरूप र त्रासद इतिहासका पन्नाहरू डरका फेहरिस्त हुन्

जस्तो कि एउटा भुइँमान्छे डराउँदा आफैँ बसेको माटो कोपर्छ
तर एउटा शासक डराउँदा सिँगो क्षितिज रगताम्य हुन्छ
जस्तो एक भोटको मालिक डराउँछ
र आफ्नै आँखाको अँध्यारोमा खसेर बिलाउँछ
तर देशको शासक डराउँदा सिंगो देशको घाम डुब्छ
एउटा मान्छे डराउँदा उसको झुपडीको छानो उड्छ
तर एउटा शासक डराउँदा नयाँ देउता जन्मिन्छ, नयाँ तीर्थको निर्माण हुन्छ
जस्तो कि तलका मानिसहरू डराउँदा एउटा निम्छरो भाष्य मर्छ
तर एउटा शासक डराउँदा नयाँ सिद्धान्तका बार बारिन्छन्
नयाँ वर्णमालाको निर्माण हुन्छ, जसमा आरति र भजन मात्रै लेखिन्छन्
र इतर मानिसहरूलाई निगरानीमा राखिन्छ

एउटा शासक त्यस दिन सबैभन्दा धेरै डराउँछ
जब कमजोर मानिसको मनबाट डरले बिदा लिन्छ
शक्तिशाली मानिसको डर वास्तवमा डरलाग्दो हुन्छ
यो डरको आँधीले देशमाथिको सिंगो आकाश उडाउँछ

कमजोर वा शक्तिशाली सबैलाई उस्तै डर लाग्छ
फरक केवल त्यो डरको पटाक्षेपमा मात्रै हुन्छ 
फरक केबल त्यो डरले पैदा गर्ने आँधीको आवृत्तिमा मात्रै हुन्छ ।