• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
खगेन्द्र संग्रौला
२०७६ कार्तिक ३० शनिबार ०८:०३:००
समाज

प्रातः भ्रमणमा भक्तिजात्रा

गणेशनाथमा पात्र उनै छन्, दृश्य उही । तरुण थोरै छन्, अर्ध र वृद्ध अलि बढी एवं सराबरी छन् । यी तरुण, अर्ध र वृद्ध सबै मूर्तिको स्वरूपमा ढालिएका निष्प्राण ढुंगाहरूलाई सदाझैँ घुमिघुमी ढोगिरहेका छन् । आखिर किन ?

२०७६ कार्तिक ३० शनिबार ०८:०३:००
खगेन्द्र संग्रौला

अचेल माथि सिंहासनमा सरकार नेकपा डबलको छ, तल धूलीकणमा जीवन बेहाल छ । असुरक्षाको भय र महँगीको आतंकले आक्रान्त छ जीवन । अतः हाल जीवनमा उमंगमय नयाँ केही छैन । जे छ, सब सनातनी छ । रुढ, थोत्रो, अरसिक, अरुचिकर र पट्यारलाग्दो । जीवनयात्रा मियोवरिपरि नित्य घुमिरहने बूढो गोरुको जस्तै छ । निरन्तर संकुचित वृत्त उही, फन्को उही, ताना उही, रन्को उही । त्यसैले, सकल सनातनी यात्रीहरूमाझ मेरो प्रातः लमक्को हबिगत पनि उस्तै छ । बाटो नित्य उही छ, बाटाका यात्रीगण उनै । आँखामा हर्दम उनै बासी अनुहार, कानमा उनै बासी बोली । र, यी सब हद अभागी सहलमक्गार्मीहरूको बेतालको ताल पनि उही । 

साबिक क्षणमा घरबाट चाबेल गणेशथान पुगेँ म । हेर्छु– गणेशनाथमा पात्र उनै छन्, दृश्य उही । तरुण थोरै छन्, अर्ध र वृद्ध अलि बढी एवं सराबरी छन् । यी तरुण, अर्ध र वृद्ध सबै मूर्तिको स्वरूपमा ढालिएका निष्प्राण ढुंगाहरूलाई सदाझैँ  घुमिघुमी ढोगिरहेका छन् । आखिर किन ? चैतन्य एवं वाणीरहित अनस्तित्ववासी करुणानिदानसँग भाग्य अजमाइमाग्न । वैभव, सुख र विलासको वरदान माग्न । त्रिकालभरि कतै हुँदै नभएका ‘वैकुण्ठवासी’ निजहजुरसँग आफूले गरेका यावत् पापकर्मका कलंक पखालीमाग्न । अनि... अनि...? म सम्झन्छु– अस्ति र हिजो यी यो वेला यहीँ थिएँ । यी यहाँ खसोखास यसै गर्दै थिए । आज पनि यी यहीँ छन् । यी खसोखास उसै गर्दै छन् । यी भोलि पनि यहीँ होलान् । र, यी यहाँ यसै गर्दै होलान् ।

दिक्क मान्दै सोच्छु म– कठैबरा मेरा लमक्यात्रीहरू ! यस्तो पाङ्दुरे जीवन पनि जिउनु ! लाग्छ, यिनको योग्यता, क्षमता, हैसियत जे भने पनि केवल याचना गर्नु हो । आत्महीन मुद्रामा निहुरिनु, हात पसार्नु र खालि माग्नु । माग्नु त्योसँग, जो कहीँ, कतै हुनु छैन, देखिनु छैन, सुनिनु छैन । मेरोसामु एक समयको नामी मार्क्सवादी प्रशिक्षक आइपुग्छ ।

कतिपय भक्तहरू उसलाई मार्क्सवादी दार्शनिक पनि भन्थे । उमेर साठीमाथि होला । शिरमा क्याप टोपी छ, मुखमा मास्क, कुममुनि कपडाको झोला । आफ्नै सुरमा छ ऊ, मलाई देख्दैन । ऊ कुप्रिएर काठको हनुमानलाई सभक्ति ढोग्न थाल्छ, ढोँगी ब्रोले नदेखोस् भनेर म गणेशको मूर्तिले छेलिन्छु । ‘मार्क्सवादी’ हरिलट्ठक आफ्नो पूर्वआस्थालाई उपहास गर्दो छ, घुमिघुमी एउटै नबिराई मूर्तिलाई ढोग्दो छ । यो हो, जीवनको झल्ला नाटकको थर्ड क्लास जोक्कर !

म गम खान्छु– प्रातः लमक्का मेरा सहयात्री यी मगन्तेहरू बरा आफूआफूसँग छैनन् । यी आफू रत्तिभर आफ्ना होइनन् । आफ्नो भाग्यको लगाम यिनको आफ्नो हातमा छैन । यी सिंगै आफू अरूलाई सुम्पिँदै हिँड्या छन्, हिँड्या छन् । यिनले दृश्यमा नित्य अनुपस्थित, अगोचर एवं निराकार देवी–देवताको उपासना ग-या छन्, ग-या छन् । आफ्नो दैनिक दासवत् भक्ति, पूजा एवं आराधनाको फल कतै केही फल्यो होला कि ? कम्तीमा कतै चिचिलोसम्म त लाग्यो होला कि भनी यी कोही कहिल्यै केही सोच्दैनन् ।

भन्नुमात्र हुँदैन, बिचरा यी सब अन्धमति एवं मूढमति दीन–दुःखीहरू हुन्, जो अन्धता एवं मूढताको नशाले लट्ठ छन् । यिनका लागि जिज्ञासा दुःख हो । प्रश्न शूल हो । सन्देह अनर्थ हो । विमति बकवास हो । तर्क क्लेश हो । विवाद व्यर्थ हो । यिनका लागि जीवनमा जे असल हो, त्यो प्रश्नरहित, सन्देहरहित, तर्करहित, विवादरहित आस्था हो । जे प्रीतिकर हो, त्यो तर्कशून्य भक्ति हो । जे सानदार हो, त्यो अगोचर प्रभुको नित्य पूजा हो । र, जे सरल एवं सहज हो, त्यो एक न एक दिन प्रभुबाट भक्तिको फल प्राप्त हुन्छ भन्ने सारशून्य विश्वास हो । 

चल्तीको थेगोमा यिनीहरू यस्तै त हुन् ब्रो भनेर जाँगर मरेका पाइला चाल्दै म गणेशनाथबाट अघि बढ्छु । ज्यानमारा टिप्परबाट बल्ल–तल्ल ज्यान जोगाएर मूल बाटो काट्छु म । र, पारि पीपलको बोटबाट लाग्छु फटाफट ओरालै–ओरालो । जब गौरीघाट पुग्छु, म उही दृश्य देख्छु, उही रोइलो सुन्छु । उही अस्तिको, उही हिजोको । ‘जय गौरी माता !’ धूमिल परिवेशमा तल धमिलो वाग्मती हेर्दै भक्त–भक्तिनीहरू पुकारा गर्छन् । रुँरुँ लाग्ने करुण स्वरमा । मानौँ चरम दीनताको प्रदर्शन गर्दा गौरी माताको चित्त पग्लेला कि भनेर व्यर्थको आशा गर्दै ।

म गम खान्छु– प्रातः लमक्का मेरा सहयात्री यी मगन्तेहरू बरा आफू आफूसँग छैनन् । यी आफू रत्तिभर आफ्ना होइनन् । आफ्नो भाग्यको लगाम यिनको आफ्नो हातमा छैन । यी सिंगै आफू अरूलाई सुम्पिँदै हिँड्या छन्, हिँड्या छन् ।

जब म थोरै अघि बढ्छु, आँखासामु एकाएक नयाँ दृश्यको पर्दा उठ्छ । खुल्दुलीसाथ हेर्छु– दृश्यमा एकजना पूर्वप्रहरी प्रमुख छन् । ढ्याके ज्यान, रुग्ण स्वर, सुस्त गति । बन्दुकधारी तामसी एवं जंगी संगठगनका पूर्व हुन् भनेर पत्याउनै गाह्रो । उनी कुमदेखि कुर्कुच्चासम्म गेरुवस्त्रमा सजिएका छन् । यो गेरु रङ उनको रुचिको रोजाइ हो, बूढेसकालको फेसन हो वा वैराग्यको द्योतक, त्यो म जान्दिनँ । मैले यी फ्यालफ्याले गेरुलार्ई वाकपथमा भेटेको निकै वर्ष भयो । रोचक कुरा, यी घरिघरि परिधान परिवर्तन गर्छन् । कहिले यी यसरी पूर्ण गेरुवस्त्रमा हुन्छन् र मेरा मित्र पहाडी पो हुन् कि भनी मलाई कुतकुत्याउँछन् । कहिले यी मुडुलै हुन्छन् । कहिले अरब मरुभूमिको उपद्रो गर्मीमा लगाइने हेमानको छत्रेटोपी ढल्काउँछन् ।

चुल्बुले ठिटालेझैँ  कहिले क्यापटोपी उल्टो लगाउँछन् । र, यी कहिले माथिदेखि तलसम्म पूरै सुगा रङका पोसाकमा ठाँटिएका हुन्छन् । यिनको पोसाक परिवर्तनको छटा देखेर म तर्क गर्छु– सायद यी पहिचानको संकटमा छन् । अथवा आत्मविज्ञापनको तृष्णाले हुनसम्म पीडित छन् यी । अथवा प्रहरी प्रमुखको गद्दी छुटेपछि लोकले मलाई नदेख्ला कि, मलाई नचिन्ला कि, मलाई बिर्सला कि भनी यी भित्रैदेखि चिन्तातुर छन् । त्यसैले त नानाओली हाउभाउ र नखरा प्रदर्शन गर्न यी सायद अभिशप्त छन् । 

यी पूर्वप्रहरी चिफलाई पूर्वपदीय मानव भनेर म चिन्छु । नपढे पनि सायद यी मलाई लेखक भनेर चिन्दा हुन् । प्रातःलमक् पथमा हाम्रो प्रायः चक्षु मिलन भइरहन्छ, तर बोलचाल हुँदैन । हाम्राबीचमा कुरा गर्नलाई कुराकै दुःख छ । उनी पूर्वप्रहरी प्रमुख, अर्थात् निरंकुश सत्ताका दमनकारी औजार प्रमुख । म उक्त औजारद्वारा घरिघरि प्रताडित वागी मानव । अनि हाम्रो के कुरा हुनु ? उसो त हाम्रो अभिवादनधरी हुँदैन । उनी ‘जय शम्भो’ पथमा कटिबद्ध छन् । म अझैँ सकीनसकी कन्दै भए पनि ‘गुड मणिङ’ वा ‘शुभ प्रभात’ वा ‘जय नेपाल’को जिद्दीमा छु । 

मैले यी गेरुधारी चिफलाई यसअघि यो ठाउँमा कहिल्यै भेटेको थिइनँ । यी कि माथि गणेशथानमा भेटिन्थे कि पीपलबोटमुनि ओरालोमा लुखुरलुखुर । म लमक्बाट फर्किँदै हुन्थेँ, यी लमक्मा जाँदै हुन्थे । आज धर्मभीरुजनको विशेष दिन परेछ क्यार, गेरु सर त अघि नै गुहे्श्वरीको दर्शन गरेर फर्किँदै रहेछन् । यी चिफ साप् यहाँ छन् र नै यहाँ केही उल्का हुँदै छ । ऊ, ल हेर उल्का ! सिंहदरबारको नोकरशाही जुरुक्क उठेर यो सडकमा घोप्टिन आएजस्तो ! सजिलोका लागि हामी नोकरशाहीको आफ्नै परिभाषा गरौँ । यसमा दुई तत्व् छन्– नोकर र शाही ।

नोकर त नोकर भइहाल्यो, शाही भनेको ख्वामित्, बोस, प्रभु वा हाकिम हो । यहाँ शाहीको भूमिकामा गेरु चिफ छन्, नोकरको भूमिकामा छन् उनका आउरे, पाउरे एवं धुपौरे टाइपका जनहरू । उः, ख्वामित्समक्ष शिर कम्मरसम्म दोब्य्राएर, ढाड तेर्सा पारेर, जुम्ला हात गरेर भक्तहरू खडा भए । भक्त नम्बर एक, दुई, तीन, चार । ‘दर्शन हजुर !’ ‘नमस्कार चिफ साहेप !’ ‘सलाम प्रभु !’ ‘पाउलागी सर !’ एवं रीतले ख्वामित्माथि भक्तिवचनहरूको वर्षा भयो ।

म विस्फारित नेत्रले हेर्छु– ख्वामित् मखलेल छन् । उः, प्रभुका आँखा रिमझिम भए । गालामा नजानिँदो लाली चढ्यो । हि“डाइको तेज बढ्यो । र, उनको प्रायः रुग्ण लाग्ने ‘जय भोले’मा दम गुन्जियो । को हुन् यी भक्तहरू ? म तर्कना गर्छु । यी कोही जुनियर प्रहरी होलान् । कोही जुनियर निजामती होलान् । कोही गेरु ब्रोलाई प्रहरी चिफ भनेर चिन्ने जनसाधारण होलान् । यी जो जे हुन्, ख्वामित्का चरणदास हुन् । आ“खासामु चरणदासको झुन्ड देखेर चिफ सर आनन्दविभोर छन् । त्यसै–त्यसै मग्न, मस्त र मखलेल !

ऊ, बाफ रे ! पूर्वचिफका पछाडि धेरै पर धनुषटंकार नमस्कार गर्नेको अर्को झुन्ड रहेछ । ल हेर ! ती सब चिफ सरको ढ्याब्रे नितम्बलाई सभक्ति नमस्कार गरिरहेछन् ! आखिर यही त हो नोकरशाहीको चरित्र । माथिको प्रभु केवल भक्ति पाउनुमा अस्तित्वबोध गर्छ । तलको नोकर केवल भक्ति टक्याउनुमा अस्तित्वबोध गर्छ । माथिको ख्वामित् हर्दम् चाकरीको चाहना गर्छ, तलको धूलीकण नित्य चाकरी टक्याउन हत्ते हाल्छ । 

यसरी अगाडि र पछाडि दर्शनार्थी धनुषटंकारद्वारा तँछाडमाछाड गर्दै भक्ति अर्पण गरिँदा पूर्वबन्दुके चिफलाई कस्तो लाग्दो हो ? सके यिनलाई हिजोका दिनको झल्झली याद आउँदो हो । ती दिन जब यी बोस उच्च पदीय गद्दीमा थिए । जब बिहानदेखि बेलुकासम्म छाती र कुम तनक्क तन्काउँदै तलकाहरू बुट ठोकर यिनलाई सलोट गर्थे । जब यी ‘साप्’ ती सब ‘तँहरू’लाई एक–एक गरी संस्कृतमा थर्काउँथे । जब बिहानदेखि बेलुकासम्म यिनका चरणमा कोसेलीपात ओइरिन्थे ।

कति जिन्सी, कति नखत । चोरलाई साधु बनाइदिँदाको कोसेली । साधुलाई चोर बनाइदिँदाको कोसेली । भर्ती गराइपाउँदाको कोसेली । घरपायक मिलाइपाउँदाको कोसेली । बुट र बर्दीको कमिसन भागको कोसेली । चाडपर्व र उत्सवको कोसेली ।

जाबो स्कच ह्विस्की त कतिकति ! गोजेरो टन्न हुने गरी अटुट खाएर बेच्न पनि उभ्रिने । त्यो ठाँटबाँट र शान–सौकात, त्यो मोजमस्ती र मानसम्मान, त्यो भोग, सोख, हाटहुट र लाटलुट– चिफ सरका क्या थिए ती दिन ! अहिले सम्झिँदा त्यो सब सपनाभित्रको दूर सपनाजस्तो लाग्छ । अहिले यी एकाध सडकछाप चाकरीबाजहरूको दुर्लभ भक्तिभावबाट चित्त बुझाउन विवश हुुनुप-या छ ।

जे होस्, यो क्षणिक सुखद घडीमा यी पूर्वलाई लाग्दो हो– साला म भनेको मै हुँ । म राजाको कुमकुमसम्म पुग्ने छोटे राजा हुँ । सलामी खान्थ्यो कि राजाले म खान्थेँ । भक्तिभजन गाइन्थ्यो कि राजाको कि मेरो । पदमा नभएर के भो, मर्निङ वाक्मा मेरोजति मान–सम्मान छ, त्यति कुन बूढीबाख्रीका छोराको छ ? यहाँनेर पूर्वचिफ सर भक्तगणलाई अगाडि हेर्छन्, पछाडि हेर्छन् । गमक्क फुल्छन्, जु“गामा ताउ लाउँछन् र ख्वाक्क खोक्छन् । हुँ ! चिफका मुखारबिन्दबाट हुंकारमय ध्वनि प्रस्फुटित हुन्छ– हुँ ! मलाई लाग्छ– यी पूर्वचिफ राजै हुन् । राजाका लघु औतार । र, यी भक्तहरू खसोखास यिनका रैती हुन् । 

राजा र रैतीको यो नाता यी पूर्वप्रहरी चिफ र यिनका अर्दलीबीचको नातामा प्रत्यक्ष गोचर हुन्छ । प्रसंगवश, यी चिफका एकजना अर्दली छन्, खिरिलो ज्यान भएका । ती यिनको मूल्यवान् अंगका रक्षक हुन् । पूर्वभिआइपीको हैसियतले प्राप्त सरकारी अर्दली । यी चिफ जहाँ जान्छन्, यिनको छायाझैँ  ती अर्दली यिनको समीपमा नित्य हाजिर हुन्छन् । अहिले प्रातःलमक्मा पनि ती सँगै छन् । सधैँ चिफ दायाँतिर हुन्छन्, अर्दली उनको हाराहारी, एकाध इन्च पछाडि, बायाँतिर । यो स्थानको हिसाबले लाग्छ– चिफ दक्षिणपन्थी हुन्, अर्दली वामपन्थी ।

अर्दलीका हातमा सधैँ एउटा लट्ठी हुन्छ, चिफको हात सधैँ खालीखाली । बर्खामास अर्दलीको अर्को हातमा छाता हुन्छ । जब हल्का पानी पर्छ, अर्दली बोसलाई छाता ओडाउँछन् । जब मुसल्धारे पानी पर्छ, बोस छाता आफैँ लिन्छन् । उनी आफू पूरै ओतिन्छन्, अर्दलीको आफूतिरको गालो मात्र ओतिन्छ ।

छेउमा पुग्दा म सधैँ बडो खुल्दुलीसाथ कान थापेर सुन्छु, यी बोस अर्दलीसँग कहिल्यै बात मार्दैनन् । किन ? किनभने हैसियत मिल्दैन । उनी उच्च हुन्, अर्दली तुच्छ । उनी पूज्य हुन्, अर्दली त्याज्य । उनी शुद्ध हुन्, अर्दली खोटो । उनी महान् हुन्, अर्दली नीच । उनी राजा हुन्, अर्दली प्रजा । उनी मालिक हुन्, अर्दली कमारो । बस्, यही त हो राजतन्त्रको संस्कृति ! यही त हो नोकरशाहीको संस्कृति ! यही त हो भगवान् र भक्तको सम्बन्ध !

जब अघिपछिका भक्तहरू दासवत् मुद्रामा आफ्नो भक्तिमा समर्पित हुन्छन्, यी पूर्वप्रहरी बोसको अहंकारले भन्दो हो– म भगवान्का नाइटा–नाइटासम्म आउने लघुकाय भगवान् हुँ । चित्तमा यस्तो भावतरंग जागृत हुँदा उनी धरतीबाट जुरुक्क माथि उठ्दा हुन् । माथि नील गगनमा । तलका धूलीकणहरूको पहुँचको सामथ्र्यभन्दा माथि । र, आफ्नो दृष्टिमा उनी आफू मत्र्यलोकका तुच्छ जीवहरूभन्दा सर्वथा पृथक्, विशिष्ट, अप्रतीम, दुर्लभ एवं अद्भुत देखिँदा हुन् । उनका वैकुण्ठवासी देवताका लघु औतारजस्ता । जगत्का नियम र कानुन, संहिता र मर्यादा, लाज र सरमभन्दा माथि । 

भिभिआइपीको सडक वा गगन सवारीमा हेर्नु, नोकरशाहीको बिछट्टको चर्तिकला देखिन्छ । र, देखिन्छ राजतन्त्रको उन्मत्त ठाँटबाँट र भड्किलो सान–सौकातको बासी झलक पनि । यी भिभिआइपीले जीवनमा देखेको र सिकेको कुरा सायद यही हो र यहीमात्र हो । अर्थात् यही नोकरशाहीको विद्रूप चर्तिकला, यही राजतन्त्रको सढाउ संस्कार ।

यही देव र भक्तको तुच्छ नाता । जब यी सवारीमा निस्कन्छन्, यिनलाई लाग्छ– म भनेको मै हुँ । राजापछिको राजा म, देवतापछिको देवता म ! म राजाका कानकानसम्म आउने राजा ! म देवताका कानकानसम्म आउने देवता ! भिभिआइपीका चित्तमा यस्तो भाव जब जागृत हुन्छ, ती अहंकारको वायुपंखी घोडामा सवार भई धरतीबाट गगनमा जुरुक्क उठ्छन् ।

धूलीकणका तुच्छ जीवहरू उभिने नाथे धरतीमा के रहनु ? तीसँगै, तिनका समीपमा, तीजस्तै क्षुद्र देखिने गरी ! तिनको तुच्छताको अंशियार भएर ! धरतीबाट गगनमा उठेपछि भिभिआइपी आफ्ना दिव्य दृष्टिमा जगत्का नियम र कानुन, संहिता र मर्यादा, लाज र सरमभन्दा कति–कति माथि हुन्छन् !

लोकले एक मुखले तिनको दम्भ, तिनको स्वेच्छाचार र अत्याचारको जतिसुकै नाटीकुटी गरोस्, धारेहात लगाओस्, निन्दा गरोस्, त्यो सबले तिनको एउटा रौ“लाई पनि स्पर्श गर्दैन । किन ? भनिसकियो, ती लाज–सरमभन्दा माथि हुन्छन् । अर्थात् ती लाज–सरमको भावनाबाट सर्वथा मुक्त हुन्छन् । र, तलकाहरूको निन्दा–भत्र्सनालाई गिज्याउँदै ती भन्छन्– यी कुकुरहरू भुक्दै गर्छन्, हात्ती लस्किँदै गर्छ । यी नरपीडक प्रभुहरू यस्तै त हुन् ब्रो !