• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दृष्टान्त बिडारी
२०७६ कार्तिक ३० शनिबार ०८:३६:००
समाज

बफर जोन बीसहजारी

२०७६ कार्तिक ३० शनिबार ०८:३६:००
दृष्टान्त बिडारी

भरतपुर चितवनबाट एक घन्टाको यात्रामा पुगिन्छ बीसहजारी ताल । नामै सुन्दा मनमा कुतूहल उत्पन्न हुने यो तालमा पुग्दा मन त्यसै उमंगित हुन्छ । वन्यजन्तुको समुन्नत विविधता देखेर मन यसै रमाउँछ । 

बीसहजारी ताल चितवन राष्ट्रिय निकुञ्जको ‘बफर जोन’अन्तर्गत पर्ने एउटा प्रसिद्ध ताल हो । सदरमुकाम भरतपुरबाट ५ किलोमिटर दक्षिणतर्फ रहेको यो ताल जैविक विविधतताका लागि प्रसिद्ध छ । भित्री मधेसमा समुद्री सतहबाट करिब २८६ मिटरको उचाइमा रहेको यो तालको कुल क्षेत्रफल ३२ सय हेक्टर रहेको छ भने तालको मात्र कुल क्षेत्रफल सय हेक्टर रहेको छ । महाभारत र सिवालिक रेन्जको बीचमा पर्ने यस ताललाई सन् २००३ देखि रामसार क्षेत्रमा सूचीकृत गरिएको छ ।

प्राकृतिक सुन्दरता मात्र होइन, यहाँ खतराको सूचीमा परेका प्रजातिहरू पाटेबाघ, जंगली हात्ती, भुँडीफोर, जीवाहार महाचिल, मालहाँस, सुन गोहोरोसहित काठे भालु, एकसिंगे गैँडा र ओट्टरजस्ता स्तनधारी जनावरसमेत पाइन्छन् । बीसहजारी तालमा पाइने यस्ता जनावर एक स्थानबाट अर्को स्थानमा जाने प्रमुख करिडोर पनि हो । माछा तथा अन्य पानीमा बस्ने जीवले भरिपूर्ण यो तालमा घडियाल, मगरगोही पनि देख्न सकिन्छ । डाटर (सुइरोठुँडे), ह्वाइट रम्पड भल्चर, ह्वाइट ब्रोड वागटेल (खोले टिकटिके), इन्डियन पन्ड हिरन (बकुल्लो), किङफिसर (माटिकोरे) जस्ता चरा पनि यो तालमा भेटिन्छन् ।

बीसहजारी तालको पानीको मुख्य स्रोत खगेरी नहर र वर्षाको पानी हो । जाडो छल्न उत्तरी ध्रुवबाट जाडो महिनामा तालमा विभिन्न किसिमका आगन्तुक चरा आउने गर्छन्, जसमा हाँस प्रजातिका चरा धेरै हुन्छन् । आगन्तुक चराको आगमनसँगै यो तालमा देश–विदेशका विशेषज्ञ तथा चरा हेर्न रुचाउनेको आवतजावत बढ्ने गर्छ । तालमा प्रकृतिको एउटा अनुपम सिर्जना देख्न सकिन्छ, जसको मनमोहकताले जोकोहीलाई लोभ्याउँछ, त्यसैले यो समयमा पर्यटक ताललाई स्वर्ग भन्न रुचाउँछन् ।

‘पर्यटन वर्ष ०२०’ को सय पर्यटकीय गन्तव्यको सूचीमा यो ताल पनि परेको छ । यो तालको प्रवर्धन हुन सकेको छैन । ताल क्षेत्रको कमजोर माटोको बाँध र पाँगो माटोले ताल पुरिँदै जानु यसको प्रमुख समस्या बनेको छ । तालको वरिपरिको क्षेत्रलाई ‘प्लास्टिक फ्री जोन’ घोषित गरिएको छ भने तालको हेरचाह तथा संरक्षणका लागि कामदार नियुक्त गरिएको छ । 


वन्यजन्तुको विविधता भएको ताललाई जोगाउन र पर्यटन क्षेत्रको रूपमा विकास गर्न उचित उपाय अपनाएर काम गर्न आवश्यक देखिन्छ । यसरी सरकारी तवर र स्थानीय सक्रियताबाट बीसहजारी ताललाई संरक्षण गर्न सकियो भने ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्रयाउन सकिन्छ ।