• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
युवराज लुइँटेल, समाजशास्त्री
२०७६ कार्तिक ३० शनिबार ०८:३६:००
समाज

नेपाली समाज : न स्थिर, न गतिशील

अन्तर्वार्ता

२०७६ कार्तिक ३० शनिबार ०८:३६:००

बितेको एक–डेढ वर्षयता निर्मला हत्या प्रकरणदेखि लिपुलेकसम्म आइपुग्दा फरक–फरक प्रसंगका घटनाले समाजलाई निकै तरंगित बनायो । प्रत्येक महिनाजसो कुनै न कुनै घटना सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहे । ती घटना र तिनले निर्माण गरेको सामाजिक मनोविज्ञानले हाम्रो समाज कता गइरहेको संकेत गर्छ ? यसबारे त्रिविका सहप्राध्यापक समाजशास्त्री डा. युवराज लुइँटेलसँग राजु स्याङ्तानले कुराकानी गरेका छन् :

पछिल्लो समय फरक–फरक प्रकृतिका घटनाले सिंगो नेपाललाई नै तरंगित बनाइरहेको छ । यस्ता घटना एकपछि अर्को बढ्दै गएको देखिन्छ । यसको संकेत के हो ? समाजशास्त्रले यसलाई कसरी हेर्छ ?
पछिल्लो समय देखिएका घटना फरक–फरक प्रकृतिका छन् । बेग्लाबेग्लै प्रकृतिका घटनालाई बेग्लाबेग्लै ठाउँमा राखेर विश्लेषण गरिनुपर्छ । सबै घटनालाई एकै ठाउँमा राखेर पनि विश्लेषण गर्न सकिन्छ । यी घटनालाई एकै ठाउँमा राखेर हेर्दा पछिल्लो डेढ दशकयता नेपाली समाजमा संवेदनशीलता बढेको देखिन्छ । यी घटनाकै आधारमा नेपाली समाज विशृंखलित हुँदै छ भन्ने निष्कर्षमा पुग्न मिल्दैन । समाज गतिशीलतातर्फ हिँड्नुपथ्र्यो, त्यो भइरहेको छैन । समाजको प्रवृत्ति अस्थिरतातर्फ उन्मुख छ । यो सबैलाई सही मार्गमा ल्याउनुपर्ने राजनीतिले हो, तर राजनीति ठीक हालतमा छैन । राजनीतिमा डनवाद, बिचौलियावाद, नातावाद हाबी छ । त्यसको असर सर्वसाधारण मानिसको जीवनमा पनि परिरहेको छ । त्यसको प्रभावले समाज अर्डरभन्दा डिसअर्डरतर्फ पनि प्रवृत्त 
भइरहेको छ । 
पछिल्लो समय समाजमा कुनै घटना हुनेबित्तिकै सिंगो नेपाल नै तरंगित हुने गर्छ । मानिसहरू तरंगित भइहाल्ने खास कारण के हो ?
यी घटनामा सूचना प्रविधिको महत्वपूर्ण भूमिका छ । पहिले समाजमा सूचनाको पहुँच कमजोर थियो । कुनै घटना ढिलो थाहा हुन्थ्यो । कुनै घटनाले मानिसलाई यति धेरै तरंगित बनाउँदैनथ्यो । अहिले घटनाहरूले तरंगित बनाउने क्रम बढेको छ । यसको कारण यो डेढ दशकको उपलब्धि आममानिसमा सूचनाप्रविधिको पहुँच पुग्नु हो । घटनालाई बढाइचढाइ प्रस्तुत गरी मानिसलाई बढी तरंगित बनाइरहेको छ । मानिसको उत्तेजनाको व्यापार पनि भइरहेको छ । यस्तो वेला मूलधारको मिडिया ओझेल परिरहेको छ र कसैले जिम्मेवारी लिन नपर्ने इन्फर्मल मिडियाले लिड गरिरहेको छ । इन्फर्मल मिडियाले सूचनालाई आवश्यकताभन्दा बढी तन्काएर प्रस्तुत गर्दा समाज तरंगित र उत्तेजित भइरहेको छ । घटना नै नभएको भन्नेचाहिँ होइन । 

सूचना थाहा पाउनेबित्तिकै मानिसहरू किन तरंगित भइहाल्छन् ? त्यसको पछाडि केही कारण छ कि ?
तरंगित भइहाल्ने केही कारण छन् । ती कारण हुन्, कम साक्षर, आर्थिक रूपमा कमजोर, भविष्यप्रतिको दृष्टिकोण बनिनसकेको र व्यस्तता नहुनु । यस्तो जमातमा कतै पनि सेन्सर नभएको सूचना सीधै पुगेपछि त्यो समूह तरंगित भइहाल्छ । 

यस्ता घटना समाजमा बढ्दै जानु र आममानिस तरंगित भइहाल्नुमा व्यक्तिविशेषको मात्रै दोष छ कि राज्यको संरचनात्मक कारण पनि दोषी छ ?
राज्य कसरी अघि बढिरहेको छ भन्ने पनि हेर्नुपर्छ । अहिले नेपालमा चाहेर वा नचाहेर दलाल पुँजीवादी अर्थतन्त्र निर्माण भयो । तर, दलाल अर्थतन्त्रकै कारण यी सबै घटना भइरहेका छन् भन्ने पक्षमा म छैन । समाजको ऐतिहासिक पक्ष पनि केलाउनुपर्छ । नेपाली समाज एकपछि अर्को ठुल्ठूला घटना, क्रान्ति, आन्दोलन, छलाङ मार्ने परिघटनाबाट गुज्रिरहेको छ ।

गएको डेढ दशकमा नेपाली समाज जहाँबाट यहाँसम्म आइपुग्यो, यस्तो संसारका कमै देशमा भयो । यति ठूलो रूपान्तरण फ्रान्सको राज्य क्रान्तिमा पनि यति चाँडै भएन । अमेरिका र बेलायतमा पनि भएन । ०३६ र ०४६ पछि नेपाली समाजले एकपछि अर्को गर्दै राजनीतिक क्रान्तिको प्रयोग गर्दै आएको छ । खासगरी माओवादी सशस्त्र जनयुद्धले समाजमा राम्रो–नराम्रो दुवै प्रभाव पा-यो । आजको युवापुस्ता त्यही समयमा हुर्कियो । तपाईंले बन्दुक बोक्नुभयो कि भएन ठूलो कुरा होइन । तर, बन्दुक बोक्ने समयमा तपाईं हुर्किनुभयो ।

तपाईं अहिले ३० वर्षको हुनुहुन्छ भने तपाईंको १० वर्षको जिन्दगी युद्धमा बित्यो । त्यो पुस्ता अहिले छ्यालब्याल भएको समाज हो । समाजको ठूलो जनसंख्या बारुदी गन्धबाट, त्यसले ल्याएको राम्रा–नराम्रा तरंगहरूबाट, मानसिक उद्वेलनबाट गुज्रिएर आएको छ । युवापुस्तामा त्यसको ठूलो प्रभाव छ । त्यहीअनुसारको राजनीतिक परिघटना पनि विकसित भए । यस्तो समयमा एक खालको विशृंखलता, एकखालको अराजकता, अलिकति कानुनहरू कमजोर हुने, राज्यलाई चुनौती दिने स्थिति देखिएको छ ।

हामीले सिकेकै राज्यलाई चुनौती दिन हो । ‘यो राज्यसत्ता’ भन्दै दौडिन सिक्यौँ हामीले । त्यो राज्यसत्तामा मेरो योगदान के भन्नेतर्फ हाम्रो ध्यान हुँदैन । मूल्य–मान्यताको कडी पञ्चायतकालमा थियो । बहुदलपछिको समय कांग्रेस र कम्युनिस्टबीचको अन्तरखेलमै १०, १५ वर्ष सकियो । अब हामीले नयाँ मूल्य–मान्यता स्थापित गर्नुपर्छ । भिटेनजस्ता युवालाई केही भन्नै नपरोस् । उनीहरू हुर्किँदा नयाँ मूल्य–मान्यतासँगै हुर्किऊन् । नयाँ मान्यता स्थापित हुन बाँकी छ । पोस्ट वारको चरणमा छौँ हामी । अलिकति विशृंखलित हुने नै समय हो यो । 

त्यसो भए आजको समाजमा पशुपति शर्मा, भिटेनलगायतलाई राज्यले नियन्त्रण गर्नुपर्ने हो कि नियमन गर्नुपर्ने हो ?
राज्य शक्तिशाली नियमनकारी भूमिकामा हुनै पर्छ । राज्यले जति दह्रोसँग नियमन गर्न सक्यो, त्यति नै समाज अनुशासनमा बस्छ । अमेरिका, युरोपतिर व्यक्तिबाट कुनै गल्ती भयो भने राज्यले छाड्दैन । नागरिकलाई नियमनमा राख्ने नै राज्यको आधारभूत काम हो । हरेकलाई अनुशासनमा राख्ने, कानुनको जानकारी दिने काम राज्यको हो । भिटेनको केसलाई मैले त्यति गम्भीर रूपमा लिइरहेको छैन । तर, भिटेनलाई जुन व्यवहार पुलिसले ग-यो, त्योचाहिँ लोकतन्त्रउन्मुख समाजअनुकूल भएन । मानिसलाई त्यसरी अँध्यारोमा राखेर, अत्याएर, तर्साएर, बकाउन मिल्दैन । 

राज्यले त्यसरी कलाकारलाई कडा नियमनमा राखेर डिसअर्डरतर्फ जान खोजेको समाजलाई अर्डरमा ल्याउन खोजेको हो कि ?
राज्यले नियमन गर्ने तहसम्म ठीक छ । तर, पुलिसले जुन तौरतरिकाले भिटेनमाथि व्यवहार ग¥यो, त्योचाहिँ पञ्चायतकालीन पुलिसको निरन्तरता भयो । चिसो छिँडीमा राख्नैपर्छ भन्ने सोच पुलिसमा छ, जुन गलत छ । २२ वर्षे युवाले सामान्य गल्ती त गरिहाल्छ नि । उनलाई सम्झाएर पठाउनुपथ्र्यो । पुलिसले जुन व्यवहार गरे, त्यो ठीक भएन । तर, त्यसैलाई आधार बनाएर सरकार अधिनायकमुखी भयो भन्ने पक्षमा म छैन । राज्य सचेत हुनैपर्छ । अनुशासन सबैलाई लागू हुनुपर्छ । अभिव्यक्ति स्वतन्त्रता पनि एउटा नियममा बसेर हुन्छ । व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता भन्दा पनि राज्य कसरी चलाउने भन्ने प्रमुख हो । राज्य रहेन भने केको अभिव्यक्ति स्वतन्त्रता ?

अहिले देखिएका सामाजिक घटना सामाजिक स्थिरताको संकेत हो कि गतिशीलताको संकेत हो ? 
यो स्थिरताको संकेत होइन । अस्थिरता पनि भनिहाल्न जरुरी छैन । गतिशील पनि छैन । गतिशीलता भन्न समाज सकारात्मक बाटोतर्फ गएको हुनुपर्छ । कुनै पनि परिघटनाबाट समाज सकारात्मक बाटोतर्फ हिँडेको संकेत छैन । अलिकति अस्थिर छ, अलिकति अस्तव्यस्त छ । अमनचैन छैन । स्थिरता हुँदै होइन । स्थिरता हो भने मानिसलाई उद्वेलित गर्ने यस्ता घटना हुँदैनन् ।

डेढ दशकमा नेपाली समाज जहाँबाट यहाँसम्म आइपुग्यो, यस्तो संसारका कमै देशमा भयो । यति ठूलो रूपान्तरण फ्रान्सको राज्यक्रान्तिमा पनि यति चाँडै भएको थिएन । अमेरिका र बेलायतमा पनि भएन ।

अगाडि बढेको पनि होइन । बिग्रेको भत्किएको पनि होइन । यी सबै परिघटनाले देखाउँछ, हामी संक्रमणकालमै छौँ । सतहमा देखिएका घटना सबै संक्रमणको, अराजकताको, अनुशासनहीनताको अभिव्यक्ति हो । भिटेनदेखि महरासम्मका घटना अराजकता र अनुशासनहीनताको अभिव्यक्ति हो । अनुशासनहीनता त्यतिवेलासम्म रहन्छ, जतिवेलासम्म समाजमा एउटा अर्डर, थिति, नयाँ मूल्य–मान्यताको स्थापना हुँदैन । त्यसका लागि राज्य नै शक्तिशाली बन्नुपर्छ । राज्यले डन्ड चलाउँनैपर्छ । जहाँ जसले गल्ती गर्छ, त्यहाँ राज्य अघि बढ्नैपर्छ । पछिल्लो डेढ महिनामा आपराधिक घटनामा राज्यले जसरी आफ्नो उपस्थिति देखाइरहेको छ, त्यो सकारात्मक छ । 

एक दशकभन्दा लामो समयदेखि नेपाली समाजको चरित्रलाई संक्रमणकाल भनिँदै आएको छ । पछिल्लो समय शान्ति–प्रक्रिया टुंगियो भनेको पनि सुनिन्छ । तपाईंले अझै हामी संक्रमणमै छौँ भन्नुभयो । यो संक्रमणकालको अवधिचाहिँ खासमा कति हुन्छ ?
संक्रमणकालको कुनै अवधि हुँदैन, यसको प्रवृत्ति हुन्छ । यस्ता घटना जतिवेलासम्म समाजमा घटिरहन्छन्, त्यसवेलासम्म समाज संक्रमणकालमा छ भनेर बुझ्नुपर्छ । जब यस्ता घटना थिग्रिन थाल्छन् र समाजले स्थिरता र गतिशीलता ग्रहण गर्छ, त्यसपछि संक्रमणकाल सकिएछ र समाज नयाँ गतिमा प्रवेश ग¥यो भनेर बुझ्नुपर्छ । कुनै समाजमा अवधि थोरै होला, कुनै समाजमा धेरै होला । हाम्रो जस्तो समाजमा अलि ढिलो भइरहेको छ । किनकि हाम्रोमा धेरै विविधता छ । धर्म, संस्कृति, वातावरण, जीवनशैली सबैले असर गर्छ । समाजले ढिलो–चाँडो गति पक्रिन्छ, कहिले पक्रिन्छ यसै भन्न सकिँदैन । संक्रमणकालको अवधि कति लम्बिन्छ भन्ने कुरा राजनीतिक नेतृत्वमा भर पर्छ ।

ठूलो संघर्ष र बलिदानपश्चात् हामीले लोकतन्त्र प्राप्त ग-यौँ । लोकतन्त्र प्राप्ति पनि किन सहज भइरहेको छैन ? 
हामी समाजको सहज यात्राको परिकल्पना गर्छौं, तर यात्रा हामीले सोचेजस्तो सहज कहिल्यै हुँदैन । समाज विभिन्न अप्ठ्यारा पार गर्दै अघि बढ्छ । कुनै समय संसार हाँकेको बेलायत अहिले अशान्त छ । ट्रम्पको पनि यात्रा सहज छैन । महाभियोग कुन दिन आउँछ भन्नेमा उनी त्रसित छन् । चीन अलि शान्त देखिन्छ । त्यो पनि कति प्राकृतिक हो, कति कृत्रिम हो भित्र पसेपछि मात्रै थाहा हुन्छ । लोकतन्त्र आएपछि संस्कारमा जुन परिवर्तन होला भन्ने कल्पना गरेका थियौँ, त्यो भएन ।

मानिसको दैनिक जीवनमा लोकतन्त्रको प्रभाव पर्नुपथ्र्यो । नेताहरूको सोच, शैली, खानपिन, उठ–बस र लोकतन्त्रको सबैभन्दा ठूलो उपलब्धिस्वरूप संविधानमा लेखिएको ‘समाजवादउन्मुख’ बिच अन्तरविरोध छ । जसले ‘समाजवादउन्मुख’ भन्ने लेख्यो, त्यही मानिसको जीवन समाजवादउन्मुख छैन । समाजवादप्रति हामी कति प्रतिबद्ध छौँ भन्ने कुरामा अलिकति सन्देह गर्नुपर्ने देखिन्छ । संविधानमा ‘समाजवादउन्मुख’ लेख्यौँ, तर सामन्ती संस्कारबाट बाहिर निस्कन सकेका छैनौँ । ‘समाजवादउन्मुख’ भनेपछि हाम्रो सोच्ने तरिका पनि त्यही दिशामा हुनुपथ्र्यो । तर, भएन । हाम्रो संस्कृति, हाम्रो सोच र व्यवहारमा रूपान्तरण आउनुपथ्र्यो, आउन सकेन । हामी राम्रो पुँजीवाद पनि अभ्यास गरिरहेका छैनौँ । 

त्यसो भए समाजमा केचाहिँ परिवर्तन भयो त ? समाज परिवर्तन हुँदै छ भनेर कसरी थाहा पाउने ? 
समाजको सोच, समझ र व्यवहारमा आमूल रूपान्तरण भयो कि भएन भन्ने हेर्नुपर्छ । नेपाल आमूल रूपान्तरणको शृंखलाहरूबाट गुज्रिएर यहाँ आइपुगेको हो । यस्तो समाजमा मानिसमा केही न केही चेत खुल्नुपथ्र्यो, त्यो खुलेन । अहिले पनि हामी निधाएको सुतुरमुर्गजस्तै छौँ । 

समाजमा देखिएको परिवर्तनमध्ये एउटा मानिस–मानिसबीच ‘कनेक्टिभिटी’ बढ्नु हो । एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम पनि बढेको छ । सडक र अन्य पूर्वाधारकोे सुविधा नभए पनि सञ्चारमा पहुँच बढेको छ । त्यसले समाजमा सचेतना पनि बढाएको छ । सामाजिक सम्बन्धहरू पनि सघन भएको छ । त्यसैमा टेकेर नेपाली समाजले उत्पादकत्वमा वृद्धि गर्नुपथ्र्यो । रोजगारीमा वृद्धि गर्नुपथ्र्यो, परिवर्तनकामी काम सुरु हुनुपथ्र्यो, त्यो हुन सकेन । त्यहाँ हामी चुक्यौँ ।