• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
राजकुमार दिक्पाल
२०७६ कार्तिक ३० शनिबार ०८:५४:००
इतिहास

चैनपुरको लिम्बू विद्रोह

इतिहास

२०७६ कार्तिक ३० शनिबार ०८:५४:००
राजकुमार दिक्पाल

गोरखाली फौजसँग लड्ने भिड्ने लिम्बू सुब्बाहरूमध्ये केहीले गोरखाली राजा पृथ्वीनारायण शाहसँग सम्झौता गरी हिजो सेन राजाहरूबाट आफूले प्राप्त गरेको अधिकारसहितको लालमोहर लिए भने कतिपय सुब्बाहरू सिक्किमतिर राजनीतिक शरणमा पुगी आफूहरूको भूमि फिर्ता गर्ने उद्योगमा लागे । 

त्यसको केही वर्षपछि विक्रम संवत् १८४६ को सन्धिपछि तिब्बतले नेपाललाई तिर्नुपर्ने वार्षिक ५० हजार रुपैयाँ हर्जना पहिलो वर्ष ति¥यो । तर, पूर्वसन्धिअनुसार पछिल्लो वर्ष तिब्बतले नेपाललाई तिर्नुपर्ने हर्जाना तिर्न आलटाल गर्न थालेपछि नेपाल र तिब्बतबीच फेरि युद्ध हुने संकेत देखापर्दै थियो ।

यसैक्रममा नेपालका तर्फबाट विक्रम संवत् १८४८ साउन ३० गते काजी अभिमानसिंह बस्नेत र सरदार रणजित कुँवरहरू केरुङतर्फबाट अघि बढी झुँगामा रहेको तिब्बती किल्लामा आक्रमणका लागि प्रस्थान गरे । कप्तान कालु पाँडे र यशवन्त भण्डारी पनि यस अभियानमा सहभागी थिए । झुँगाको त्यस प्रशिद्ध किल्लामा उनीहरूले आक्रमण गर्दा राम्रै मुकाबिला गरी हार खाई भदौ २६ गते उनीहरू ‘केराउबारी’ भन्ने ठाउँमा आएर बस्न विवश भएको इतिहास शिरोमणि बाबुराम आचार्यको कृति ‘चीन तिब्बत र नेपाल’ (२०५९ः १५०–१५१)मा पढ्न पाइन्छ ।

यसअघि नै लिम्बूहरूले हाल संखुवासभाको रहेको चैनपुरमा तिब्बती, सिक्किमी र लेप्चाहरूको साथ लिएर गोरखालीविरुद्ध ठूलो विद्रोह गरी केही दिन चैनपुरलाई पूर्ण रूपमा कब्जामा दिई त्यहाँका गोरखाली पक्षधर स्थानीयहरूलाई अरुणपश्चिम कटाएका ऐतिहासिक घटनाहरू पाइन्छन् ।

त्यो वेला तिब्बती भारदारहरूले सिक्किम राज्यलाई उठाई नेपाल अधिराज्यको पल्लो–किराँतमा रहेका लिम्बू र लेप्चा नागरिकहरूलाई नेपाल सरकारविरुद्ध विद्रोही बनाएर आफ्ना केही सैनिकहरूलाई उठाई चैनपुरको सिद्धपोखरीमा आक्रमण गराइदिएका थिए (आचार्य, उही) । आचार्यअनुसार त्यो समय सुब्बा पूर्णानन्द उपाध्याय त्यस क्षेत्रको संरक्षकका रूपमा रहेका थिए । उनले सात सयजति सैनिक चैनपुरमा उतारेर आफूहरूको विपक्षी सैनिक पाँच 
सयजतिलाई मारे ।

तर, त्यहाँ युद्ध थामिएको थिएन । सिद्धपोखरीमा किल्ला बाँधेर बसेका लिम्बू, तिब्बती, सिक्किमी र लेप्चाहरूको विद्रोह दबाउन काठमाडौंबाट देवदत्त थापाको नेतृत्वमा सैन्यशक्ति त्यसतर्फ परिचालन गरियो । विभिन्न ठाउँबाट घेरा दिई सात सयजति लिम्बू, तिब्बती, सिक्किमी र लेप्चाहरूलाई मारे । यसमा दुईजना तिब्बती सेना नायक पनि परे (आचार्यःउही)।

आचार्यले लिम्बूहरूको यो विद्रोह विषयमा उल्लेख गरेको कृति ‘चीन तिब्बत र नेपाल’ (२०५९)मा कुन मितिमा लिम्बूहरूको विद्रोह भएको थियो भन्ने स्पष्ट पारेका छैनन् । नेपाल र तिब्बतबीच युद्धको संकेत देखा परिरहेको र नेपाली सेना १८४८ को भदौ २६ गते तिब्बतीसँग हार खाई केराउबारी फर्किएको सन्दर्भको बीचमा ‘यसैबीचमा’ भनी आचार्यले यो विद्रोह भएको उल्लेख गरेकाले विक्रम संवत् १८४८ को भदौअघि नै यो विद्रोह भएको हुन सक्छ । तर, आचार्यले आफ्नो अर्को लेखनमा यो विद्रोह विक्रम संवत् १८४८ को फागुन–चैतमा भएको भन्ने उल्लेख गरेकाले अर्को भ्रम पनि सिर्जना हुन पुगेको छ । यसलाई निवारण गर्न जरुरी देखिएको छ ।

यो विद्रोहबारे सरकारी मुखपत्रमा पनि उल्लेख भएको पाइन्छ । यो विद्रोह भयानक थियो । शाके १७१३ अर्थात् विक्रम संवत् १८४८ मा भएको भन्नेचाहिँ स्पष्ट छ । पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’को संख्या २४ (श्रावण २०३०ः२) किराती मुलुकमा लिम्बूहरूले कुल गर्दा त्यो विद्रोह दबाउन गोरखाली सरदार बदलसिंह बस्नेत, सुब्बा पूर्ण पाध्या र सुब्बा अदल कम्पनीसमेत लिएर विजयपुर पुगेको पढ्न पाइन्छ ।

यसअनुसार कुल गर्ने अर्थात् विद्रोही योद्धाको संख्या ठूलो छ भन्ने अर्जी आएपछि काठमाडौंबाट काजी देवदत्त थापा, सरदार प्रतिमन राना, सुब्बा निधिरत्न, कोसल आले, श्रीनाथका सुवेदार वक्ताबरसिंह बस्नेत, पुराना गोरखका सुबेदार अम्भोज खवास, बरखका सुवेदार अम्वरसिंह थापा र रणभीमका सुवेदार दशरथ खत्रीलाई विद्रोह दमनका लागि खटाइयो ।

उनीहरूले सिद्धिपुरमा विद्रोहीहरूमध्ये कतिपयलाई काटे, कतिपयलाई भगाए । यो ठूलो लडाइँमा विद्रोहीहरूलाई दबाएर कनकामा आई खाँडो पखाली गोरखाली फौज कद्रुहीमा आई बसे ।यस विद्रोहमा करिब एक हजार दुई सय विद्रोहीले ज्यान गुमाउनुपरेको थियो । यसअनुसार लिम्बूहरूले हालको संखुवासभाको चैनपुरमा सिक्किमी, तिब्बती र लेप्चाहरूको सहयोगमा विद्रोह मच्चाएको स्पष्ट हुन्छ । 

सिक्किमबाट लिम्बूलाई सुवांगी
सिक्किमसँग लिम्बूहरूको उच्चस्तरीय राजनीतिक सम्बन्ध पनि थियो । लिम्बू इतिहासमा उनीहरूले पाएको सुवांगीको सन्दर्भ कोट्याउँदा उनीहरूले पहिले सेनहरूलाई ल्याएर विजयपुरमा स्थापित गरी आफूहरूले दिवान वा मन्त्री लिएर त्यहाँको शासनसत्तामा अधिकार जमाएको, आफूहरूको आवाद क्षेत्रमा सुवांगी अधिकार पाएको तथा त्यसैलाई शाह राजाहरूले निरन्तरता दिएको मान्यता स्थापित छ । 

तर, लिम्बूहरूले सिक्किम राज्यबाट हाल नेपालको भूगोलमा रहेको क्षेत्रमा पनि नगरासहित सुवांगी पाएको इतिहास पनि छ । सिक्किमी राजाबाट सुवांगी पाउनेमा मिंहित राई देखिएका छन् । उनको नाममा विक्रम संवत् १८६९ वैशाख सुदी ५ मा तत्कालीन गोरखाली राजा गिर्वाणयुद्धविक्रम शाहले जारी गरेको लालमोहरबाट यो पुष्टि हुन्छ । लालमोहरमा ‘... तेरा वावु वराजु देषि षाई विहोरी आयाको किपटजिमिन संलुप्पा तस्को साँध सुवेलं ढुङ्गो देषि पुर्व लाया रुवा देषि चार किल्ला भित्रका जिमिन सुषिंको राजाले फागुंदेषि फोरि तँलाई नगारा स्मेत भिन्न पारि भिन्ना पारि सुवाँगि गरिदियाको रहेछ हाम्रा प्रतापले मिच्यापछि–१ वाट पनि मोहर गरि भिन्न सुवांगि थामि वक्सनु भयाको रहेछ आज हामीले पनि फागुको अलाक गरी सुषिंमले दियाको वमोजिम सुवागी चार किल्ला भित्र जिमिन थामि बक्स्यौं...’ भन्ने तथ्य ‘प्राचीन नेपाल’, (कात्तिक मंसिर २०४२ः३१) मा उल्लेख छ ।

आचार्यको लेखनको खण्डन
इतिहास शिरोमणि आचार्यले इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’को पूर्णांक ६३ (चैत्र २०४१ः१३) मा आफ्नो शृंखलाबद्ध लेखमा उल्लेख गरेअनुसार गोरखालीहरूले डिगर्चाका मठहरू लुटेपछि भोटका लामा र चीनका अम्बाहरूले डिगर्चाबाट फर्किएका गोरखाली सेनाको संहारका लागि सिक्किमलाई गुहारे । सिक्किमका सेनापति युक्सथुकले भोटिया र लेप्चा सेना जम्मा गरी पल्लोकिरातको सिद्धपुर (चैनपुर) ल्याइपु-याए । उनीहरूसँग त्यहाँका याक्थुङ्वा (लिम्बू) पनि मिले । यो देखेर तिब्बतको टिंग्रीबाट फर्किएका गोरखाली सरदार बदलसिंह बस्न्यातको सैन्य समूह र पूर्णानन्द उपाध्यायको सैन्य समूह मिलेर आक्रमण गर्दा पाँच सयजति शत्रु सेना फेब्रुअरी अर्थात् फागुन महिनामा मारिए । त्यसपछि युक्सथुकले आफ्ना सेनालाई बडो होसियारीपूर्वक विकट भेगको सिद्धपोखरीमा पु¥याए । त्यहाँ काठमाडौंबाट पुगेको देवदत्त थापाको नेतृत्वमा रहेको गोरखाली सेनाले आक्रमण गरिदिँदा सेनापति युक्सथुकसहित ६ सय विद्रोही मार्च अर्थात् चैत महिनामा मारिए ।

आचार्यको यस लेखनअनुसार यो विद्रोह विक्रम संवत् १८४८ को फागुन र चैतमा भएको हो । तर, यसलाई खण्डन गर्ने ऐतिहासिक पत्रहरू उपलब्ध छन् । यसैको आधारमा केही विवेचनाहरू तल ‘ऐतिहासिक पत्रहरू’मा दिइनेछ ।विद्रोह दबाउन षड्यन्त्र रचनागोरखाली सेना शत्रुपक्षलाई जित्न षड्यन्त्र रचनामा पनि बडो खप्पिस थियो । यस्ता प्रसंगका ऐतिहासिक प्रकरणहरू अनेकौँ छन् । उनीहरूको यस रणनीतिअनुसार सकेसम्म आफूहरूको कम क्षति गरी शत्रुपक्षको सर्वनाश गर्नेसम्मको रहेको अनेकौँ ऐतिहासिक तथ्यहरू पाइन्छन् ।चैनपुरमा भएको लिम्बूहरूको विशाल विद्रोह दबाउन पनि यस्तो रणनीति गोरखाली पक्षबाट अपनाइयो ।

पल्लो किरातको विद्रोहमा चैनपुर किल्ला र त्यसअन्तर्गतको किल्लासमेत विद्रोहीको कब्जामा थियो । त्यो वेला गोरखाली पक्ष पनि खलंगा बनाई बसेको थियो । विद्रोहीहरूको दमन गर्न चैनपुरमा विक्रम संवत् १८४८ भन्दाअघिनै बसोवास गरिरहेका क्षेत्री बाहुनहरूले गोरखालीहरूको पक्षमा महत्वपूर्ण भूमिका निभाए । स्थानीय लोकगाथाअनुसार विद्रोहीहरूले चैनपुर कब्जा जमाएपछि गोरखा पक्षका सैन्य र जनता अरुणपश्चिम भाग्नुपरेको थियो ।

चैनपुरमा लिम्बूहरूले गरेको यो भयानक विद्रोह दबाइएपछि पनि यहाँका लिम्बू सुब्बाहरूलाई थमौती गरिदिएका रुक्काहरू गोरखाली राजा तथा काजीबाट जारी गरिए । यस विद्रोहलाई पुष्टि गर्ने तीनवटा रुक्काहरूको व्यहोरा यहाँ प्रस्तुत छ ।
 

उनीहरूले विद्रोहीसँग कुरा मिलाई गोरखा पक्षका मानिस मरेमा चैनपुरमै ल्याउनुपर्ने परम्परा रहेको कुरा गरी बहाना पारी त्यसका निम्ति भोटे र सिक्किमी सेनासँग स्वीकृति लिई हातहतियारको मुर्दा बनाउँदै चैनपुरको वनभित्र गाड्ने चलाखी गरेको रमेशकुमार ढुंगेलले ‘प्राचीन नेपाल’ (भदौ–असोज २०४६ः१०–११) उल्लेख गरेका छन् । उनी हाल डा. रमेश ढुंगेलको नाममा परिचित छन् ।

उनका अनुसार विजयपुर र काठमाडौं केन्द्रसमेतका सैनिक सहयोग गर्न आएपछि उक्त हातहतियारको प्रयोग गरेर विद्रोहीहरूलाई परास्त गरियो । यस्तो भूमिका निर्वाह गर्ने क्षेत्री बाहुनहरूमा आशा खत्री, मनोहर डागी, बालु ढकाल र विश्राम राउत थिए । तीमध्ये आशा र मनोहरले केही सुविधा र अधिकारसमेत पाए ।
यसरी षड्यन्त्रमूलक ढंगले लिम्बूहरूको भयानक चैनपुर विद्रोह दबाइयो ।

विद्रोह दमनपछि हर्षबढाइँ
विपक्षीहरूलाई दमन गरेपछि विजयी पक्षले हर्षबढाइँ गर्ने परम्परा स्वाभाविक रूपमा चल्दै आएको छ । विद्रोह दमनपछि तत्कालीन विजयी राजा रणबहादुर शाहको खुसीले उनको राज्यको पनि सीमा नाघेको पाइन्छ ।विद्रोह दमनपछि हर्षबढाइँ गर्न तत्कालीन राजा रणबहादुर शाहले जाजरकोटी राजा गजेन्द्र शाहलाई हर्षोल्लासपूर्वक पत्र पठाए ।

राजा रणबहादुर शाहले ‘...उप्रान्त सै समाचारका अर्थ कन उत्तर तरफ यथास्थितै छ विजैपुर तिर अरून नदीपार सुखिम चयनपुरमा चिनिया भोट्या स्मेत् आई लिंवुवान लापच्या लाई भित्र संच षर्चदी कमाई कन कुलगरि चयनपुरको गढीसमेत् १।२ जग्गा लियोथ्यो ५।७ हजार वैरी आयाको रहेछ विजैपुरको सुब्बा पूर्णानन्दपाध्याले १।१ कोंपनि तिलं(गा) अरू ढलेत सिपाही लि चयनपुरको गढी सिद्धिपुरमा षलंगा बारी वस्याका बैरीकन हानेछ वग्गा पनि लियो भोट्याका सरदार जना सात समेत् ४।५ सय बैरी कत्तल गरेछ । ञहाँबाट गुहारलाई पठायाका पलटन फौज पुगी सामील भई सिद्धपोपोखरिमा ३ ठूला ठूला षलंगा बारी बस्याका बैरीलाई हाम्राले २ मुष गरी छेका पारी हान्याछन यक पनि उम्कन नपाईए कत्तल ग-याछन् षलंगै भित्र ५ सय वैरीका गिड प-या छन् बाहीर अन्य बस्याका बैरिकन हाम्रा सीपाहीले काट्दै थिया गरे एती काटीया भनी षबर आइपुग्याको छैन एसपाला पनि बैरीका करुवाङ् भन्याका २ काजी काटियाका छन्’ भन्दै राजा रणबहादुर शाहले विक्रम संवत् १८४८ चैत्र शुक्ल २ रोज ७ मा जाजरकोटी राजा गजेन्द्र शाहलाई हर्षबढाइँ गर्न आग्रह गर्दै पत्र पठाएको योगी नरहरिनाथद्वारा सम्पादित ‘इतिहास प्रकाशमा सन्धिपत्र संग्रह’ (२०५५ः६–७) मा पढ्न पाइन्छ ।

ऐतिहासिक पत्रहरू
चैनपुरमा लिम्बूहरूले गरेको यो भयानक विद्रोह दबाइएपछि पनि यहाँका लिम्बू सुब्बाहरूलाई थमौती गरिदिएका रुक्काहरू गोरखाली राजा तथा काजीबाट जारी गरिए । यस विद्रोहलाई पुष्टि गर्ने तीनवटा रुक्काहरूको व्यहोरा यहाँ प्रस्तुत गरिएको छ । यी रुक्काहरू यो लेखकले लिम्बू इतिहास र संस्कृतिविद् साहित्यकार टंक वनेमबाट प्राप्त गरेको हो ।

यो विद्रोह भइरहेको वेला यस क्षेत्रको मैवाखोलामा नामुद सुब्बा थिए, सिर्देउ राय । उनको नाममा तत्कालीन राजा रणबहादुर शाहले १८५२ साल मिति अधिके भाद्र शुदि ७ रोज ६ मा जारी गरेको एक रुक्कामा ‘...सिर्देउराईके. तेरो वावु. वराज्युका पालादेषिको किपटजिमिन. तेरा भाई विरादार. मुसा पर्जा. अठचालिस सालमा कुल हुँदा. भागि. ठडियाका. प्रजा. थामिबक्स्यौं. भोट. मधेश गयाका. झिकि. बस्ति बसाई. भोग्य गर...’ भन्ने परेको छ । यसबाट अठचालिस साल अर्थात् विक्रम संवत् १८४८ मा लिम्बूहरूले विद्रोह गरे र कतिपय लिम्बूहरू भागे, कतिपय त्यहाँ अडिए भन्ने स्पष्ट हुन्छ । भाग्ने र त्यहीँ अडिने लिम्बूहरूलाई पनि थमौती गरिएको र भागी मधेसतिर गएका लिम्बूहरूलाई पनि बोलाएर बस्ती बसाई जमिन उपभोग गर्नू भन्ने आशय यो रुक्कामा स्पष्ट रूपमा व्यक्त भएको देखिन्छ ।

अझ यो विद्रोहलगत्तै विक्रम संवत् १८४८ मा राजा रणबहादुर शाह र गोरखाली राजखलक काजी श्रीकृष्ण शाहले उनै सिर्देउ रायलाई विद्रोह गरी जे–जति भत्के बिग्रे पनि थमौती गरिदिएको भाकामा रुक्का जारी गरिदिए । श्रीकृष्ण शाह पृथ्वीनारायण शाहका भाइ महोद्दामकीर्ति शाहका छोरा हुन् । राजा रणबहादुर शाहले सिर्देउ रायलाई ‘...तिमीहरूले अघि सिक्किमसित मिली कुल गरे पनि हारेउ सुवाहरूले डंड लिया कुल गरेको ससना ग-याको छैन येस साल फिरि पूर्वतिर काज आघ्वि सवै लीम्वुको नाउमा मोहर जान्छ...’ भनी विद्रोहलगत्तै लिम्बूहरूको थमौती गर्न राजा रणबहादुर शाहले १८४८ भाद्र बदी २ रोज २ मा रुक्का जारी गरिदिए ।

यसैगरी काजी श्रीकृष्ण शाहले पनि सिर्देउ राय र जयकर्ण रायको नाममा ‘...तेरो पिछा हामीले लियाको छ मेरो बन्याको दिन तेरो ज्या विग्य्राको छ म बनाइदिऊँला षातिर्जामा बस...’भनी विक्रम संवत् १८४८ भाद्र सुदी ३ रोज ४मा रुक्का जारी गरे ।यी ऐतिहासिक तथ्यहरूबाट लिम्बूहरूले चैनपुरमा १८४८ सालको भदौअघि विद्रोह मच्चाएको र उनीहरूको विद्रोह दमन गरिसकेपछि पनि गोरखाली पक्षबाट थमौती गरिएको र कुनै दण्डजरिवाना नगरिएको पुष्टि हुन्छ ।