• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
ईश्वर कँडेल
२०७६ कार्तिक ३० शनिबार ०९:१२:००
साहित्य

आख्यानमा फरक दर्शन

पोस्टमोडर्न तत्वहरूले भरिएको यो उपन्यास एक सफल उत्तरआधुनिक औपन्यासिक किताब हो ।

२०७६ कार्तिक ३० शनिबार ०९:१२:००
ईश्वर कँडेल

१. अमरको कथा
‘प्रतिगन्ध’ किनेपछि पछाडिको कभरमा लेखिएको केही हरफ पढेँ । पुस्तकको पछाडि कभरमा लेखिएका कुरा मलाई पुस्तक अध्ययनको स्टार्टर जस्तो लाग्छ । अगाडिको कभर र कभरको चित्र ‘एपिटाइजर’ र पूरा पुस्तक ‘मेनकोर्स’ । पुस्तक पढ्ने क्रममा मुख्य–मुख्य अन्डरलाइन गरिएका हरफ ‘डिजर्ट’ हुन् मेरा लागि ।
अलकायदा प्रमुख ओसामा बिन लादेनबाट फरमल्ली सुरु भएको पुस्तक ‘अमर’को अमेरिका यात्राबाट सुरु भई त्यस यात्राकै क्रममा विमानभित्रका स–साना इभेन्ट्ससहित विमानकै गतिमा अगाडि बढेझैँ लाग्छ । 

उपन्यासमा नाटकको प्रभाव देखिन्छ । कतिपय स्थानमा सिनेमा इफेक्ट महसुस हुन्छ, झ्वाट्ट–झ्वाट्ट अप्रिय र पीडादायी सम्झनाहरू आइरहने । कथा अगाडि बढ्दै जाँदा उपन्यासकार ‘दार्शनिक’ देखिन्छन् । लादेन प्रसंग बीच–बीचमा आइरहन्छ । फेरि प्रासंगिक नदेखिने स्थानमा अमरको घटना अगाडि बढ्न थाल्छ । अनि फेरि फुच्चे जेट । वाक्यहरू सुन्दर तरिकाले क्राफ्ट गरिएका छन् । जस्तै, अमरको खुसी बंगुरको टाउकोबाट सिङ बेपत्ता भएझैँ भयो, ढोकामा ताल्चा मार्दा अनावश्यक सोचाइमा ताल्चा मारे जस्तै भयो इत्यादि ।

अमरका कथा पढ्दै जाँदा उपन्यासकार आफैँ अमर भएको भान हुन्छ । अमरको कोठामा आरतीले भेटेका पुस्तकहरू, कतिपय स्थानमा प्रसंग नमिलेजस्तो लाग्ने टेक्निकको प्रयोग, पाठकले आफू पढ्दै गरेका हरफ नबुझेर प्याराग्राफ नै दोहो-याउनुपर्ने अवस्थाले उपन्यासकारको उपन्यासमा भौतिक उपस्थितिजस्तै लाग्छ । 
अमर र आरतीको प्रेम विकसित हुँदाका प्रसंग, वार्ता, भेट्ने बहाना आदिले पाठक आफ्नै बैँस सम्झन पुग्छ । विवाहेतर सुखी जीवन भोग्दै गरेका अमर र आरतीको जीवन ईष्र्यालाग्दो छ ।

थोमस र अमरबीचका युद्धसम्बन्धी कुराकानीमा थोमस युद्ध कहिल्यै नरोकिने कुरा गर्छन् । थोमस (दोस्रो विश्वयुद्धका सिपाही) र अमरका यी वार्ता उपन्यासबाट नै उपन्यासकारले लिएको छोटो ब्रेकजस्तै लाग्न सक्छ । तर, अन्ततः थोमस भन्छन्, ‘युद्ध बेकार चिज हो, वार इज टोटल्ली ननसेन्स ।’ वार्ता युद्ध छाडेर अमेरिकी सहरमा सुरु हुन्छ । केही पान्नाहरूले पाठकलाई अमेरिकी सहर न्युयोर्क घुमाउन थाल्छन् । एक्कासि बीचमा प्रसंग आउँछ, अरबी मूलका जस्ता देखिने तन्नेरीहरूको, जसलाई सडकमा देखेर जुलिया डराउँछिन् । 

उपन्यास अमेरिकी जीवन लिएर फेरि अगाडि बढ्दै जान्छ, फ्ल्यासब्याक शैलीमा । अमरको नेपालीहरूबीचको भाषण, फेरि अमरको जीवनप्रतिको दृष्टिकोण, मार्टिन लुथर किङ, अब्राहम लिंकन, इमर्सन, थोरोसँगको भेट र वार्ता उपन्यासमा स्वप्न यथार्थ हुन्, जहाँ अमर फेरि उपन्यासकारजस्तै लाग्छ । 

२. महेशको कथा
उपन्यासको दोस्रो खण्ड महेशकै मृत्युको खबरबाट सुरु हुन्छ । कथाको सुरुमा नै पात्रको हत्या हुनुलाई विभिन्न तरिकाले हेर्न सकिन्छ । यसरी सुरुमा नै महेशको हत्या हुनु उपन्यासकारको लेखन शिल्पमध्ये एउटा शक्तिशाली शिल्पको प्रयोग हो । तर, यसरी कथाको पात्रको हत्या हुँदा पाठकमा दुई फरक विचारको जन्म हुन जाने सम्भावना बढी देखिन्छ । मुख्य पात्रको हत्या भई नै सकेपछि कतिपय पाठक हत्याको कारण जान्नका लागि कथा लगातार पढेर कारण जानेरै छाड्ने अठोट गर्छन् भने केही पाठक कथामा अगाडि बढ्न संकोच मान्ने पनि हुन सक्छन् ।

 उपन्यासको दोस्रो खण्ड महेशको कथा हुनु र पहिलो वाक्यमै महेशको हत्या हुनु लेखकले उठाएको ठूलो रिस्क पनि हो । जब लेखक पाठकको पाठकीय अधिकारबारे कम चिन्तित र लेखकीय अधिकारलाई सर्वोपरी ठान्छन्, त्यसवेला यस्तो हुन सक्छ । तर, दोस्रो खण्ड पढ्दै जाँदा केही समयसम्म महेशको नाम पनि आएको छैन र त्यस खण्डको धेरै क्षेत्र अमरले ओगटेको छ ।

हेनरी ब्राउन्सको विवाहको २१औँ वर्षगाँठको प्रसंग अगाडि बढ्छ र त्यस जमघटमा विविध विषयमा कुराकानी चलिरहेको हुन्छ । नेपालमा माओवादी जनयुद्धको समयका घटनाहरू, युद्धका प्रभाव र असरहरू, वीर भनेर नाम चलेका साथै बुद्धको मुलुकका नागरिकको एकआपसी युद्ध, पशुजन्य व्यवहार, युद्धले निम्त्याउने कमजोर र असुरक्षाको मनोवैज्ञानिक त्रास आदि गफगाफका मुख्य विषय थिए । 

खानाको प्रसंग अनायासै रोकिएर महेशको आफूले काम गर्ने ग्रोसरीमा भएको मृत्युको प्रसंग अगाडि बढ्छ । महेशको लास र रगत देखेपछि अमरमा देखिएको भावुकता, जोगिन्दर सिंहको टुहुरोपन, लामपुच्छ्रे तारा जस्तो आकाशीय किरणका विषयमा अगाडि बढिरहेको उपन्यासको दोस्रो भागमा फेरि अनायासै जोडिन्छ, अस्वत्थामा । दोस्रो खण्डको मुख्य पात्र महेश थापा महसुस भए पनि त्यस खण्ड पढ्दै जाँदा अमर नै यस खण्डको मुख्य पात्र लाग्छ र महेशको हत्या उपन्यासकारले अर्थपूर्ण तरिकाले रचना गरेझैँ लाग्छ ।

अस्वत्थामा नामको उपस्थितिपछि उपन्यासको यस खण्डको बाँकी भागमा महाभारत कथांश जोडिन पुग्छ । कौरवले हतारमा निर्णय गरेर गरेको पाण्डव पक्षको हत्या र महेशको हत्याबीच पाठकले ठ्याक्क ठम्याउन सक्ने देखिँदैन । क्याम्पसमा विद्यार्थी राजनीति, विद्यार्थीबीच अर्थपूर्ण एकता, आन्दोलन, तत्कालीन परिवेशसँगको विद्रोहको जन्म, नारा जुलुस, प्रहरी धरपकडले बहुदलीय व्यवस्था सुरु हुनुअगाडिको एक प्रस्ट चित्र संयोजन गरेको छ । 

बाबु र छोराबीचको खुकुरी र चिर्पट काण्ड र त्यसपछि छोराको आधुनिक सोचले ऊ आधुनिक सिसिफसजस्तै देखिन्छ, जो बाँचिरहेको जिन्दगीप्रति खुसी छैन । सिसिफस खुसी नभए पनि जिन्दगी बाँचिरहन्छ, तर महेश आफ्नो ग्रामीण जिन्दगी गाउँमै छाडेर अमेरिका भाग्छ । यसवेला पाठकले महेशलाई भगौडा सिसिफस भन्न सक्छन् ।

उपन्यासको दोस्रो खण्डमा औपन्यासिक विकासक्रमका लागि आवश्यक पर्ने ‘टेन्सन’ फरक पुस्ताबीच हुने वैचारिक द्वन्द्व, प्रमुख पात्रभित्रको मनोदशा, पुरातन संस्कार त्याग्न खोज्ने तर प्रस्ट तरिकाले विद्रोह गर्न नसकेको युवाको किंकर्तव्यविमूढ अवस्थाभित्र भेटिन्छ । ग्रामीण परिवेशमा झांगिएको धामीझाँक्री प्रथा र अघिल्ला पुस्ता र युवा धामीझाँक्री प्रथासँग अति विश्वास साथै अति अनविश्वास समाजमा घटिरहेको सम्पूर्ण नेपाली पाठकको आफ्नै परिवेशको आफ्नै कथा हो प्रतिगन्ध । महेशले घर छाडेर काठमाडाैं गएको घटना जति विश्वसनीय छ, त्यति नै अविश्वसनीय लाग्छ, महेशको अमेरिका यात्रा । यति मात्र नभई महेशको नेपाल फर्कने र विवाह गर्ने योजना अनि ग्रोसरी स्टोरमा महेशको हत्या घटनामा उपन्यासकारले अलि हतारिएर कलम चलाएको हो कि झैँ लागिरहन्छ । 

३. युवराजको कथा
उपन्यासको तेस्रो खण्डमा एक नितान्त नौलो कथा सुरु हुन्छ, यस खण्डका मुख्य पात्र युवराज न्यु जर्सीदेखि लामो दूरी पार गरी ओक्लाहोमा राज्यमा सुपर टोर्नाडोको मुभमन्ट साथै यसले निम्त्याउने विपत्ति आफ्नै आँखाले हेर्ने रहर लिएर यात्रा गर्छ । र, टोर्नाडोको निर्माण प्रक्रिया हुँदै त्यसैसँग रोमाञ्चित हुन्छ ।
उपन्यासकार आफ्नो उपन्यासका हरेक खण्डहरू मृत्युबाट सुरु गरेर जीवनको यात्रा गराउँदै बेपर्वाह तरिकाले पाठकलाई कुनै निश्चित योजनाविना यसरी घुमाउँछन् कि पाठकहरू पात्रसँगको यात्रामा कति स्थानमा सँगै जान नमानेर कतै टक्क अडिएर सोच्छन्, ‘आखिर यो के हो ? के यस्तो हुन्छ ?’ 

युवराज हिरो पात्र कदापि होइन । ऊ आफ्नो इच्छाले भन्दा पनि उपन्यासकारको कर–बलले मृत्युतिर धकेलिएको पात्र हो । युवराजको जन्मको कथा, उसको युवा अवस्थाका बदमासी, फिल्म दुनियाँमा अभिनेता तथा चरित्र अभिनेताको भूमिकामा हरेक अभिनेत्रीसँग झुटो प्रेम र शारीरिक आनन्दको लोभ, अमेरिका बसाइमा लडी फरनान्डासँगको सम्बन्ध, न्युड संसारमा यात्रा, दैनिक फरक स्त्रिहरूसँग सम्भोग आदि आदिले आधुनिक युवाको लक्ष्यविहीन यात्रा साथै उद्देश्यविहीन कर्मको फेहरिस्त पाठकलाई ऐना हेरेझैँ प्रस्ट पार्न खोजेको छ उपन्यासले । उपन्यास उपन्यासको क्लासिक या बहुप्रचलित सिद्धान्तको फम्र्याटभन्दा फरक हुँदाहुँदै पनि आफ्नो एउटा बलियो इन्फ्रास्ट्रक्चरमा उभिएको छ । 

जीवनको पिलरमा अडिएर उपन्यासकार मृत्यु मात्र देख्छन् जताततै । अर्थहीन जीवनभन्दा अर्थपूर्ण मृत्यु सुन्दर देख्ने उपन्यासकारका रक्तबिजहरू जिन्दगीको ओक्लोहामा स्टेटमा उभिएर आफ्ना दुवै हात फैलाएर क्षितिजमा आफ्नै मृत्युको निर्माण हेर्न र मृत्युलाई हाँसी–हाँसी स्वागत गर्न आतुर छन् ।

४. रवि, अर्पणा र फेरि अमरको कथा
मानिस कुनै एक दर्शनको दास हुँदैन र समय र परिस्थितिले त्यस व्यक्तिमा फरक–फरक दर्शनको जन्म र मृत्युको भाँडाकुटी खेलिरहेको हुन्छ भन्ने कुराको बलियो प्रमाण बोकेर चौथो शृंखला उपन्यासमा उभिएको छ । मानिस आफू अनेक अनुहारको मास्कहरूको लेयर लगाएर हिँडेको हुन्छ । उपन्यासकारले रविलाई आफ्नो निजी इच्छाअनुसार सजिलै चलाउन सक्ने पात्रको रूपमा जन्माएर हुर्काएका छन् । रवि विद्रोही पात्र छैन । आधुनिक साथै पढेलेखेको, उपन्यासका अन्य पात्रभन्दा निकै फरक र व्यावहारिक देखिने रवि गाउँको पुरानो रुढिवादी संस्कार र अमेरिकन नौलो साथै कतिपय तरिकाले अपाच्य लाग्ने संस्कारको बीचमा जाँतोमा अन्नसँगै घुन पिसिएझैँ पिसिन्छ । 

रविलाई पाठकले शारीरिक तरिकाले बुझ्नुभन्दा उसको मानसिक यात्रासँगै बुझ्ने चेष्टा गरेमा उपन्यास सुन्दर लाग्छ । हामीजस्ता धेरै पाठक उपन्यास या कथामा अर्डर, प्रेम, सुन्दर कथावस्तुको खोजी गर्ने, उपन्यासकारको कल्पनाशक्तिले सिर्जना गरेको काल्पनिक दुनियाँभन्दा इतिहासका अंशहरूको उपस्थिति धेरै खोज्ने आदतमा बाँचेका छौँ । 

अर्पणा पनि फरक संस्कारको मिसअन्डरस्ट्यान्डिङको सिकार भएकी छिन् । जेम्स र अर्पणा बिलकुल फरक वातावरण, धर्म, संस्कारमा हुर्किएका पात्र हुन् । जेम्स दिमागले सोच्छ भने अर्पणा मनले । साथै डिभोर्सका लागि हामी त्यति सजिलै तयार हुँदैनौँ, जति अमेरिकन या युरोपियन हुन्छन् । अमेरिकामा बसेर पनि बंगालीहरू आफ्नो संस्कारप्रति जति सजग छन्, उति हामी छैनौँ । हतारमा गरिएको निर्णय, अमेरिकालाई सपनाको मुलुक ठान्ने आमनेपाली प्रवृत्ति आदि कुरा पनि हाम्रा दुःखका कारण हुन् । 

अन्त्यमा, अमरको कथा जोडिन्छ मेटा फिक्सनको भाषामा र कथा अगाडि बढ्छ, जसरी अगाडि बढेको हुन्छ हाम्रो नियति । सांस्कृतिक विविधता, एक संस्कारले अर्को संस्कारलाई पचाउन या स्वीकार गर्न नसकेको परिवेश, अमेरिकामै बाँचेको नयाँ पुस्तामा देखिएको कन्फ्युज्ड मानसिकता, अमेरिकनहरूको त्रास र डरले भरिएको मनोवैज्ञानिक ट्रमा, अमेरिकन ड्रिम डिफर्ड हुँदाको पीडा र अन्य पोस्टमोडर्न तत्ववहरूले भरिएको यो उपन्यास एक सफल उत्तरआधुनिक औपन्यासिक किताब हो । 

लेखक : सरुभक्त
प्रकाशक : बुक–हिल 
पृष्ठ : ४९६
मूल्य : रू. ५९९/-