• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सुमनराज ताम्राकार
२०७६ कार्तिक ३० शनिबार ०९:१२:००
समाज

सिटामोल युग

ब्रान्ड

२०७६ कार्तिक ३० शनिबार ०९:१२:००
सुमनराज ताम्राकार

बिहान अस्पताल–वार्ड राउन्डका क्रममा बिरामीको आडैमा सिटामोलको पट्टा देखपछि म पुराना स्मृतितिर पसेँ । खुसी हुन, रमाइलो मान्न धेरै ठुल्ठूला कुरा नचाहिने रहेछन्, स–साना चिजले पनि खुसी दिने रहेछ । सानो आगोका फिलिंगोले डढेलो लगाएझैँ सानोतिनो वस्तुले पनि सुदूर समयकालमा पु-याउँदो रहेछ, आखिर म सिटामोल पुस्ताको हुँ । 

मेरा समकालीनमध्ये सिटामोल नखाने सायदै होलान् । आखिर पाइन्थ्यो नै के र त्यो वेला ! जीवनजल, एमजिट– यस्तै केही नेपालीमेड नै खाइन्थ्यो । प्रजातन्त्रको कोपभाजनमा परेका धेरै कुरामध्ये सिटामोल पनि एक हो । अन्यको फेहरिस्त लामै छ । सिटामोल यति पपुलर थियो कि, रातामकैको थेगोमा पनि समेटियो ‘हे सिटामोल’ भनेर । अहिले दूरदराजमा स्वास्थ्य सेवाको दुर्गति औँल्याउनुप-यो भने सिटामोलधरि छैन, ‘जाबो सिटामोल मात्र त दियो नि’ भनिन्छ । सिटामोलको किस्सा अलि लामै छ । 

त्योवेलाको शाही औषधि लिमिटेडको सिग्नेचर उत्पादनमध्ये एक थियो– सिटामोल । मेरा हजुरबुबा, बुबाआमा पुस्ताको त कुरै छाडौँ, कतिपय मेरो पुस्ताका उहिलेका कुरा पनि अहिले कथाजस्तो लाग्न थालिसके । पूरापूर अर्गानिक जीवन थियो त्यो वेला, सागपात अन्नपात फल–फलादि सबै आफ्नै खेतबारीका हुन्थे । आफ्नै रोपाइँ, गोडमेल, खनजोत, रेखदेखमा हुकाईएका उत्पादन नै सेवन गरिन्थ्यो । खेतीपातीमा पनि कीटनाशक, विषादी, भिटामिन प्रयोग गर्न मिल्छ भन्ने त ज्ञानै थिएन । आफ्नै पसिनाले सिँचिएका ती खाद्यवस्तुका स्वाद निकै मिठा, रसिला हुन्थे । आजकलको ‘सोकल्ड बायो अथवा अर्गानिक, ताजा फार्म फ्रेस’ दाबी गरिए भन्दा कता हो कता ?

चिकित्सा विज्ञानमा सिटामोल एक म्याजिक औषधि नै हो । विशेषतः यसको काम ज्वरो कम गर्ने भए पनि दुखाइ तथा सानोतिनो सुजन (सुन्निने अवस्था) लाई पनि मत्थर पार्छ यसले । खासमा सिटामोलको चिनाको अर्थात् न्वारानको नाम त एसिटामिनोफेन वा पारासिटामोल हो । बोलीचालीको भाषामा सिटामोल भन्न थालिए पनि विभिन्न औषधि उत्पादकहरूले फेरि विभिन्न रंगीचंगी नाम दिएका छन् । मैले अघि नै भनेँ– यो एकदम म्याजिक औषधि थियो । फेसनको दुनियाँमा पेन्ट बेलिबटमबाट क्रमशः चुज हुँदै फेरि बेलिबटमतिरै फर्किन लागेको अवस्थाजस्तै सिटामोलको नियति पनि फेरिँदो छ । आजभोलि गम्भीर खालको शल्यक्रियापछिको पीडा वा ज्वरोलाई मध्यनजर राखी सिटामोल नशाद्वारा नै दिइने गरेको छ । सारांशमा सिटामोलको दिन फिर्दै छ । 

यसो, त्यसो मानिसले आफ्नो जीवनमा ज्वरो आउने, दुखाइ हुने तथा सुजन हुने व्यथा खेपेकै हुन्छ । यस्तोमा सिटामोल वा यसका दाजुभाइ खलक (ब्रुफेन, एस्पिरिन, निम्स) सेवन नगर्ने पनि सायदै होलान् । यतिविघ्न काम लाग्ने एवं प्रयोग हुने औषधि भएर पनि नेपालमा यसको अवमूल्यन गरिएको छ । अहिले सिटामोललाई ‘जाबो सिटामोल’को संज्ञा दिइन्छ । 

औषधि विज्ञानमा एसिटामिनोफेन वा पारासिटामोलले परिचित सिटामोल अमेरिका, बेलायत तथा युरोपेली मुलुकमा मज्जैसँग प्रयोग गरिन्छ । विकसित देशमा मात्र के कुरा, विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा ठुल्ठूला अस्पतालदेखि वडास्तरसम्मका स्वास्थ्य निकायमा राखिनुपर्ने निकै आधारभूत औषधिहरूको सूचीमा सिटामोललाई राखिएको छ । विश्व बजारमा सिटामोलको आविष्कार वा उत्पादन भएको करिब एक सय ५० वर्ष (सन् १८७७ मा) हुन लाग्यो ।

नेपालमा ढिँडो, रोटी अनि लोकल प्रडक्टको दिन फिरेजस्तै नेपाली उत्पादन सिटामोलको दिन फिरेको छ

माइग्रेन, टेन्सनलगायत जुनसुकै प्रकारको टाउको दुखाइका लागि पनि प्रयोग गर्न सकिने सिटामोलको ओभरडोज वा अधिक मात्रामा लामो समयसम्म सेवन नगरेसम्म यसको खासै साइड इफेक्ट छैन । अन्य कतिपय दुखाइका लागि प्रयोग गरिने औषधिभन्दा यो निकै सुरक्षित छ । यहाँसम्म कि गर्भवती महिला तथा स्तनपान गराइरहेकी महिलाले पनि आवश्यकताअनुसार सिटामोल सेवन गर्न सक्छन् । सन् २०१५ को एक मेडिकल रिभ्युमा पनि यही उल्लेख छ ।

नेपालमा मात्र यसलाई ‘कौडीको भाउ’ दिइएको हो । विकसित देशमा क्यान्सर, जटिल प्रकारका शल्यक्रियापछि ज्वरो, पीडा एवं सुजन कम गराउन सिटामोल नै दिइन्छ । झोल, चक्की, नशा वा मलद्वारमा सपोजिटरीको रूपमा दिन सकिने, विभिन्न फर्ममा उपलब्ध हुने सिटामोल अमेरिकामा मात्र थाइरोइड, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल, ग्यास्ट्राइटिसका औषधिहरूसँगै अधिक प्रेस्क्रिप्सन गरिने औषधिको सूचीमा सत्रौँ नम्बरमा पर्दो रहेछ । त्यसो त सिटामोलको साइड इफेक्ट हुँदै नभएको भने होइन, यसको अधिक सेवनले कलेजो फेल खाने, छालामा रियाक्सन हुने, दम बढ्ने हुन सक्छ ।

एकाध गर्भवती महिलामा गर्भावस्थामा सिटामोल सेवन गर्नाले नवजात शिशुमा दमको समस्या देखिने गरेको पनि पाइएको छ, तर यो निकै विरलै मात्र हुन्छ । र, मुटु कमजोर भएका (मर्छु नै भनेर आँट गर्न नसक्ने) तथा घरपरिवारका मानिसलाई तर्साउने हेतुले आत्महत्याको असफल प्रयास गर्नेहरूले पनि सिटामोल अधिक मात्रामा लिने गरेका छन् । भन्नुको तात्पर्य आत्महत्या गर्ने अभिप्रायले मुसा मार्ने विष, कीटनाशक विषादी सेवन गर्ने गरेजस्तै कतिपयले सिटामोलको ओभरडोजिङ गर्ने गरेको पाइएको छ । आपूmखुसी वा मेडिकल पसलेले चाहेअनुसार सजिलै बिक्रीवितरण गर्ने नेपालमा त सामान्य भइहाल्यो, विश्व बजारमा पनि प्रेस्क्रिप्सनबेगर अर्थात् ओभर द काउन्टर अधिक बिक्री हुने औषधिमा पर्छ– सिटामोल ।

जे–जस्तो भए पनि अस्पतालको राउन्डका वेला उही पुराना खोलवाला सिटामोलको पट्टा देखेपछि मेरो आँखाले शीतल अनुभव ग-यो । मनैदेखि गर्वसाथ भन्न मन लाग्यो, ‘यो हो नि नेपाली उत्पादन !’ वर्षौंसम्म सुषुप्त अवस्थामा रहेको सिटामोलसँग जोडिएको सम्झना सररर .... चलचित्रको दृश्य रिवाइन्ड भएझैं भयो । ३०–४० को दशकमा जे–जस्तो स्वास्थ्य समस्यामा पनि सिटामोलको भूमिका महत्वपूर्ण थियो । किनकि अल्पविकसित मुलुकमा धेरैजसो हुने भनेको त्यही सरुवा रोग नै मुख्य हुन् । टाइफाइड, हैजा, झाडापखाला, मेनिन्जाइटिस, औलो आदि इत्यादि ज्वरो त सिटनका रूपमा आइहाल्थ्यो नै, सिटामोल चाहिन्थ्यो नै । र, पाइने पनि सिटामोल नै थियो । 

सिटामोललाई साधारण औषधि नठान्नु, यो राम्रो एवं गुणिलो औषधि हो । यो ‘सिम्प्ली द बेस्ट’ हो । सिटामोललाई विश्वास गरेर खानुस्, दुखाइ, ज्वरो र सुजनका लागि निकै फाइदाकारी छ । नेपालमा ढिँडो, रोटी अनि लोकल प्रडक्टको दिन फिरेजस्तै नेपाली उत्पादन सिटामोलको दिन फिरेको छ । यसअघिका उद्योगमन्त्रीको विशेष पहलमा पुनः उत्पादन हुन थालेको सिटामोलको सफलतालाई विचार गरेर नेपाल औषधि लिमिटेडबाट अन्य पुराना औषधि पनि फेरि उत्पादन हुँदै छ भन्ने सुनिन्छ । सिटामोल उक्त कम्पनीको दोस्रो इनिङको सुरुवाती अर्थात् प्रस्थानबिन्दु बन्न सकोस् ।