• वि.सं २०७६ मङ्सिर ३० सोमबार
  • Monday, 16 December, 2019

चेखबको प्रेमपत्र एबिलोवालाई : अबाउट लभ पढ्नू !

सम्बन्ध

२०७६ कार्तिक ३० शनिबार ०९:३०:००

आन्टोन चेखब भन्थे– ‘जे–जस्तो छ, जीवन त्यही हो ।’ उनको यस अभिव्यक्तिमा केही दुःखको भाव पाइन्छ र केही निराशाको पनि । सबैभन्दा बढी खुसी हुनुपर्ने विश्वका यति महान् र विख्यात लेखकको यो अभिव्यक्ति के कुराप्रति लक्षित होला – लेखन, जीवन या प्रेम ? 

आफ्नो जीवनकालमै विश्वचर्चित हुने लेखक कम छन् । त्यस्तै, लेखकमा पर्छन् आन्टोन चेखव । छोटो जीवनमा पनि उनी विश्वचर्चित मात्र रहेनन्, लोकप्रिय पनि रहे । कथा र नाटक विधामा उनले विश्वमै आफ्नो विशिष्ट परिचय स्थापित गरेका छन् । विषय, प्रस्तुति र शैलीमा उनको आफ्नै शक्तिशाली मौलिकता छ । आफ्नै मौलिकताका कारण पनि उनी विशेष चर्चामा रहने गरेका छन् । 

रुसमा मजदुर आन्दोलन चर्किरहेको थियो । क्रान्तिको नेतृत्व गरिरहेका लेनिन भूमिगत थिए । भूमिगत रहेरै उनी क्रान्तिको नेतृत्व गरिरहेका थिए । भूमिगत अवस्थामै उनले चेखबको ‘वार्ड नं. ६’ कथा पढे । कथाको अत्यन्तै शक्तिशाली प्रभावका कारण उनको दिमाग रन्थनियो । 

लेनिन मात्र होइन, धेरैको दिमाग रन्थन्याउने लेखनशिल्प चेखबमा थियो । त्यसैले, उनको प्रशंसा गर्ने पनि धेरै भए । उनलाई प्रेम गर्ने पनि धेरै भए । आफूलाई कसले कसरी प्रशंसा गरेको छ र प्रेम गरेको छ भन्ने कुरामा चेखबले खासै चासो राखेनन् । तर, उनको प्रशंसा र प्रेममा आकर्षित हुनेहरूको पंक्ति दिनप्रतिदिन बढ्दै गयो । 

लेनिनजस्ता विशिष्ट पाठक मात्र होइन, सामान्य पाठकको मूल्यांकनमा पनि चेखब विश्वसाहित्यमा उत्कृष्ट साहित्यकारको पंक्तिमा छन् । उनको शक्तिशाली लेखनको प्रभावबाट कोही पनि अप्रभावित छैनन् । तर, उनी आफैँ भने त्यस्तो ठान्दैनन् । उनी आफूले आफैँलाई ठूलो लेखक कहिल्यै ठानेनन् । उनी आफूलाई सामान्य लेखक ठान्थे । उनले त आफूलाई सधैँभरि एउटा डाक्टरकै रूपमा प्रस्तुत गरे । उनी कसैलाई आफ्नो परिचय दिनुप-यो भने पनि लेखकका रूपमा होइन, डाक्टरका रूपमा दिने गर्थे । 

चेखब आफैँ राम्रा डाक्टर थिए । उनले धेरैलाई बचाएका थिए । उनी कुनै पनि बिरामी मर्नु हुँदैन, उपचारबाट बाँच्नुपर्छ भन्थे । तर, उनी आफूले आफैँलाई बचाउन भने सकेनन् । सन् १८६० मा जन्मिएका चेखबको १९०४ मा निधन भयो । उनी ४४ वर्ष मात्र बाँचे । तर, त्यति नै उमेरमा पनि उनी आफ्नो सिर्जनामा सर्वाधिक सफल रहे । आफ्नो जीवनकालमै उनी रुसमा मात्र होइन, विश्वमै चर्चित बन्न पुगे । अत्यन्तै गम्भीर, प्रभावशाली र मर्मस्पर्शी लेखनका कारण नै चेखब छोटो समयमै लोकप्रिय बन्न पुगेका थिए । 

रुसी साहित्य र विश्वसाहित्यमा चेखबका बारेमा चर्चा–परिचर्चा हुनु र भइरहनु स्वाभाविक हो । उनको चर्चा हुँदै आएको छ, अहिले पनि भइरहेको छ, भविष्यमा पनि भइ नै रहनेछ । उनको साहित्यिक योगदानका सन्दर्भमा नेपालमै पनि समय–सन्दर्भमा चर्चा–परिचर्चा भइरहने गरेका छन् । चर्चा–परिचर्चाकै क्रममा चेखबको जीवनका सुख–दुःखका बारेमा पनि धेरैले धेरै कुरा बोलिसकेका छन् । लेखिसकेका पनि छन् । तर, त्यसक्रममा चेखबको जीवनको एउटा पक्षका बारेमा भने त्यति धेरै चर्चा भएको पाइँदैन । त्यो हो उनको जीवनको – प्रेम प्रसंग । 

चेखब प्रतिभाशाली मात्र थिएनन्, सुन्दर रुसी पुरुषमध्ये उनी पनि औसत सुन्दरमै पर्थे । त्यसमाथि उनी डाक्टर पनि बने । त्यसैले प्रतिभा, रूप, पेसा तीनवटै कारण उनका वरिपरि मानिस झुम्मिन्थे । उनका रचना पढ्ने, उनीसँग कुराकानी गर्ने र चिकित्सा पेसामा उनको समर्पणलाई देख्नेहरू उनीबाट प्रभावित बन्थे । उनीबाट प्रभावित बन्नेमा युवतीहरू पनि थिए । चेखबलाई थाहै नभईकन उनलाई एकतर्फी प्रेम गर्ने युवती पनि थिए । तिनमा लेखक र कलाकारसमेत थिए ।  

 चेखबलाई एकतर्फी प्रेम गर्ने युवतीहरू कति थिए भन्ने कुरा प्रामाणिक छैन । भनिन्छ– त्यस्ता युवती धेरै थिए । तर, यो चर्चा र अनुमानकै कुरो हो । उनको व्यक्तित्व र प्रतिभाबाट आकर्षित भएर प्रेम गर्न चाहनेहरू धेरै थिए भन्ने अनुमानमै त्यो चर्चा सीमित रहेको छ । 

प्रेम–प्रसंगमा चेखबको नाम तीनवटी रुसी महिलासँग जोड्ने गरिन्छ । ती तीन महिला थिए– लेखिका लिडिया एबिलोवा, अभिनेत्री यावोस्र्काया र अर्की एक महिला मिजिनोवा । यी तीनमध्येमा यावोस्र्काया र मिजिनोवासँग चेखबको प्रेम सम्बन्ध रहेको भन्ने चर्चा सत्यतथ्यका आधारमा सही मानिँदैन । चेखब र ती दुई महिलाको प्रेम प्रसंगलाई जोडेर धेरै प्रचार गरिएका छन् । तर, त्यस प्रचारमा भरपर्दो आधार नभएको संकेत लिडिया एबिलोवाको छ ।

चेखब स्वयंले पनि त्यस किसिमको प्रचारलाई स्वीकार गरेका छैनन् । उनले त्यस्ता प्रचारलाई सधैँभरि अस्वीकार नै गरे । यावोस्र्काया र मिजिनोवाले पनि त्यसबारेमा तथ्यपूर्ण दाबी गरेको कतै पाइँदैन । तर, लिडिया एबिलोवासँग भने चेखबको स्वच्छ, आदर्श, सम्मानित र गाढा प्रेम थियो भन्ने कुरालाई एबिलोवाले नै सार्वजनिक गरेकी छिन् । चेखब र एबिलोवाबीचको प्रेम आदर्श मात्र थिएन, अन्तत : आदर्शकै कारण असफलसमेत थियो भन्ने प्रसंगलाई पनि एबिलोवाले उजागर गरेकी छिन् । चेखब–एबिलोवा प्रेमको दुःखद अन्त्य कसरी भएको थियो भन्नेबारेमा पनि एबिलोवाले नै सत्य–तथ्य सार्वजनिक गरेकी छिन् । 

लिडिया एबिलोवा निकै राम्री थिइन् । कतिले ‘एबिलोवा, तिमी त कति सुन्दरी !’ भनेर उनको रूपको प्रशंसा पनि गर्थे । तर, उनी भने आफूभन्दा सुन्दर चेखबलाई देख्थिन् । उनी शारीरिक सुन्दरतालाई मात्र सौन्दर्य मान्दिनथिन् । मानिसको सुन्दरताका बारेमा उनको छुट्टै मान्यता थियो । शारीरिक सुन्दरताका अतिरिक्त उनी मानिसको स्वभाव, प्रतिभा र व्यक्तित्वलाई पनि सौन्दर्य ठान्थिन् । त्यस्तो सुन्दरता उनले चेखबमा देखेकी थिइन् । त्यसैले, उनी चेखबप्रति आकर्षित हुन पुगेकी थिइन् । 

एबिलोवा आफैँ पनि साहित्यिक सक्रियतामा थिइन् । उनी कथा लेख्थिन् । त्यो पनि चेखबबाटै प्रभावित भएर । लेख्ने रुचि पहिलेदेखि नै भएर अलि–अलि लेख्ने गरे पनि लेखनमा उनी त्यति सक्रिय थिइनन् । तर, चेखबका कथा पढेपछि उनमा कथा लेख्ने सक्रियता बढेको थियो । चेखबकै कारण उनको जीवनमा ऊर्जा थपिएझैँ भएको थियो । बेग्लैखालको जाँगर र जोश थपिएको अनुभव उनलाई भएको थियो । उनी चेखबप्रति आकर्षित मात्र थिइनन्, चेखबबाट प्रभावित र प्रेरित पनि थिइन् । 

युवती नै भए पनि लिडिया एबिलोवा अविवाहित भने थिइनन् । पिटर्सबर्गका एक अधिकारीसँग उनको विवाह भइसकेको थियो । बालबच्चा पनि जन्मिइसकेका थिए । उनको परिवार सुख–शान्तिका साथ बाँचेको थियो । धनसम्पत्तिको कुनै कमी थिएन । सामाजिक र पारिवारिक सम्बन्धका कारण पनि कुनै समस्या थिएन । उनको जीवनमा अन्य कुनै पनि कुराको दुःख थिएन । उनी सधैँभरि हाँसीखुसी नै देखिन्थिन् । आफ्ना पतिसँग पनि उनको राम्रै सम्बन्ध थियो । पतिले पनि उनलाई माया नै गर्थे । यद्यपि, उनी चेखबप्रति आकर्षित बन्न पुगेकी थिइन् । 

चेखब र एबिलोवाबीच पहिलोपटक भेट हुँदा दुवै युवा थिए । एबिलोवा चेखबभन्दा चार वर्ष कान्छी थिइन् । उनले सन् १८८९ मा पहिलोपटक चेखबलाई भेटेकी थिइन् । त्यतिवेला उनी २५ वर्षकी थिइन् । त्यतिवेलै उनी एउटा बच्चाकी आमा बनिसकेकी थिइन् । चेखब त्यतिवेला २९ वर्षका थिए । एउटा सशक्त लेखकका रूपमा रुसमा उनको नाम चर्चित बनिरहेको थियो । उनका तीनवटा कथाकृति प्रकाशित भइसकेका थिए । ती कृतिले रुसमा ठूलै प्रशंसा बटुलिरहेका थिए । चेखबका ती कथाकृतिका प्रशंसकहरू असंख्य थिए । थुप्रै युवतीसमेत उनका कृतिका प्रशंसक बनेर देखापरेका थिए । तिनैमध्येकी एउटी प्रशंसक थिइन् – लिडिया एबिलोवा । 

चेखबको निधनपछि चेखब र एबिलोवाका बीचको सम्बन्धलाई लिएर लिखित–मौखिक अनेक खालका हल्ला भए । सत्य–तथ्यभन्दा बाहिर गएर चेखब–एबिलोवाबीचको आदर्श सम्बन्धलाई बदनाम गराउने प्रयत्नसमेत भए । त्यसैले, एबिलोवाले त्यसबारेमा एउटा पुस्तक नै लेख्ने विचार गरिन् । उनले ‘चेखब इन माई लाइफ’ भन्ने पुस्तक नै लेखिन् । त्यस पुस्तकमा लिडिया एबिलोवाले चेखब र उनीबीचका दशवटा भेटघाट तथा कुराकानीलाई सप्रसंग प्रस्तुत गरेकी छिन् । उनको यो पुस्तक निस्किएपछि पनि विवाद गर्नेहरूले गरिरहे । उनीहरूबीच त्यसबाहेक पनि धेरैपटक भेटघाट भएका चर्चा फेरि पनि गरिए । कतिले चेखब र एबिलोवाबीच अनगिन्ती भेटघाट भएका र तिनलाई एबिलोवाले जबर्जस्ती गोप्य राख्ने प्रयास गरेको आरोप पनि लगाए ।

एबिलोवाले दशपटक मात्र भेटघाट र कुराकानी भएको प्रसंगलाई सार्वजनिक गर्नुमा पनि ‘केही रहस्य भएको’ हल्ला चलाइए । तर, एबिलोवा आफ्नो जीवनका सत्य–तथ्यबाट डगमगाइनन् । चेखब र एबिलोवाबीच दोस्रो भेट तीन वर्षपछि मात्र भएको थियो । त्यतिवेलासम्म एबिलोवा तीन बालबच्चाकी आमा बनिसकेकी थिइन् । उनको परिवार झनै सुखी र खुसी बन्दै गएको थियो । उनका पतिको उनीप्रतिको माया पनि मरेको थिएन ।

पत्नीलाई जति माया गर्नुपर्ने हो त्यति गरिनै रहेका थिए । तर, पनि एबिलोवा भने भावनात्मक रूपमै चेखबसँग नजिक बन्न पुगिन् । उनी चेखबप्रति यति धेरै आशक्त बन्न पुगिन् कि आफ्नो सुखपूर्ण पारिवारिक जीवन त्याग्न पनि तयार भइन् । चेखबले स्वीकार गरेको अवस्थामा आफ्नो पतिस“ग सम्बन्धविच्छेद गरेर चेखबस“गै विवाह गर्नसमेत तयार रहेको बताउन थालिन् ।

दोस्रो–तेस्रो भेटदेखि नै एबिलोवा चेखबसँगको प्रेममा हुरुक्कै हुन पुगेकी थिइन् । चेखब पनि एबिलोवाप्रति मोहित बनेका थिए । तर, उनी हुरुक्कै भएर उनलाई पत्नी बनाइहाल्ने स्थितिमा थिएनन् । आफ्ना कारण कसैले वा कसैको परिवारले दुःख र पीडा सहन नपरोस् भन्ने भावना चेखबमा थियो । अरूको परिवारलाई बिगारेर प्रेमका नाममा आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्य उनमा थिएन । त्यसमा पनि उनी आफैँ दुःखजिलोसँग बाँचिरहेका थिए ।

एबिलोवासँगै उनका तीनवटा सन्तानसमेत लालन–पालनको जिम्मेवारी लिनु परेको अवस्थामा आफ्नो आर्थिक अवस्थाले थेग्न नसक्ने हिसाब–किताब पनि चेखबले गरिसकेका थिए । त्यसैले, चेखब एबिलोवालाई प्रेमिकाबाट पत्नीका रूपमा स्वीकार गर्ने कुरामा सहमत हुने मानसिकतामा थिएनन् । उनको अन्तर्मनको चाहना थियो–एबिलोवा प्रेमिकाकै रूपमा मात्र रहून् । त्यो पनि अलिकति टाढाकै प्रेमिकाका रूपमा । एबिलोवा मनले नजिक भए पनि भौतिक रूपमा टाढै रहँदा राम्रो हुने आशय चेखबको थियो । 

‘द सी गल’ चेखबको चर्चित नाट्यकृति हो । यस कृतिलाई चेखबको जीवनकै असाधारण सत्य र इमानदार कृतिका रूपमा पनि चर्चा गर्ने गरिएको छ । यस नाटकमा चेखब–एबिलोवा प्रेमका कतिपय प्रसंगसँग मेल खाने घटना पनि छन् । चेखबले एबिलोवास“गको आफ्नो प्रेमकै आधारमा यो नाटक लेखेको दाबी गर्नेहरू पनि छन् । तर, सम्पूर्ण नाटक त्यही प्रेम–प्रसंगमै आधारित भने छैन । एबिलोवास“गको प्रेम–प्रसंगका केही घटनालाई नाटककार चेखबले यस नाटकमा पनि प्रयोग गरेको भन्ने आधारलाई भने धेरैले स्वीकार गरेका छन् । 

चेखब र एबिलोवाबीचको प्रेम दश वर्षसम्म चल्यो । त्यो दश वर्षमा उनीहरूबीच भेटघाटसँगसँगै चिठीपत्रमार्फत पनि आफ्ना विचार र भावनालाई एक–अर्कामा खुलस्त ढंगले प्रस्तुत गर्ने काम भयो । चेखबले एबिलोवालाई लेखेका कतिपय पत्र जीवन र साहित्यका सन्दर्भमा महत्वपूर्ण पनि मानिन्छन् । चेखब लेखनमा जति महान् थिए, व्यक्तिगत व्यवहारमा निकै सरल र सामान्य थिए भन्ने कुरा पनि उनले एबिलोवालाई लेखेका पत्रहरूबाट बुझ्न सकिन्छ । आफ्नो घरायसी समस्या र बसोवासका सम्बन्धमा एबिलोवासँग सल्लाह माग्ने गरेका सन्दर्भहरूबाट त्यो कुराको महसुस गर्न सकिन्छ । घरका सानाभन्दा साना विषयमा पनि एबिलोवासँग कुराकानी गर्ने गरेबाट चेखब एबिलोवासँग कति नजिक थिए भन्ने कुराको अनुमान गर्न सकिन्छ ।  

दश वर्षसम्म चलेको चेखब–एबिलोवा प्रेम सफल हुन भने सकेन । अन्ततः त्यो प्रेम असफलतामै टुंगियो, दुःखान्तमै टुंगियो । एबिलोवाले चेखबसँग विवाह गर्न चाहे पनि चेखबले त्यसलाई स्वीकार गर्न सकेनन् । उनले आफ्नो परिवार, एबिलोवाको परिवार र जीवनको भविष्यका बारेमा यावत् कुरा सोचे । त्यस्ता सबै कुरा सोचिसकेपछि उनले एबिलोवालाई पत्नी बनाउने कुरालाई उचित ठानेनन् ।

उनले अन्तर्मनदेखि नै एबिलोवासँगको सम्बन्धबाट अलि टाढै रहनु उचित हुने निष्कर्ष निकाले । यही निष्कर्षसहित अन्तिममा चेखबले एक विवाहित, तीन बच्चाकी आमा र सुखपूर्ण पारिवारिक जीवनमा रहेकी एबिलोवालाई एउटा पत्र लेखे । त्यो त्यस्तो पत्र थियो, जसले उनको पछिल्लो निष्कर्षलाई सफल बनाउन र एबिलोवासँगको प्रेमलाई असफल बनाउन निर्णायक भूमिका खेलेको थियो । चेखबले त्यस पत्रमा आफ्नो नवीनतम कथा ‘अबाउट लभ’ पढ्न र सोहीअनुसार आफ्नो जीवनलाई पहिलेकै अवस्थामा अगाडि बढाउन एबिलोवालाई भनेका थिए । त्यो त्यस्तो कथा थियो जुन कथामा नायिकालाई लिडिया एबिलोवाकै वंशनाम दिइएको थियो । कथामा विवाह भएर आमासमेत बनिसकेकी नायिकालाई परपुरुषको प्रेममा नलागी आफ्नै आदर्श र उद्देश्यमा अगाडि बढ्न अभिप्रेरित गरिएको थियो । 

चेखबको जीवनका सुख–दुःखबारे धेरैले धेरै कुरा लेखिसकेका छन् । तर, उनको जीवनको एउटा पक्षबारे भने उति चर्चा भएको पाइँदैन ।त्यो होचेखबको प्रेम–जीवन । 

त्यो कथा पढेपछि एबिलोवा चेखबसँग क्रोधित बन्न पुगिन् । उनलाई भविष्यको आफ्नो सम्पूर्ण जीवन अँध्यारोमा भास्सिएझैँ लाग्यो । पत्र पढ्नेबित्तिकै चेखबलाई दुत्कार्ने भावना पनि जागेको थियो । तर, उनले त्यसो गर्न सकिनन् । उनी चेखबप्रति क्रोध जनाउँदै झोक्राउन थालिन् । चेखबप्रतिको उनको प्रेमलाई मेटाउन निकै कठिन भयो । त्यही अवस्था चेखबको पनि थियो । एबिलोवाप्रति गहिरो प्रेम हुँदा–हुँदै पनि अरूको खुसी परिवारलाई दुःखी बनाउने काम आफ्ना कारणबाट नहोओस् भन्ने सोचेर नै चेखबले त्यो कथा पढ्नका लागि सुझाएका थिए । आफ्नो कथा व्यावहारिक दृष्टिले समेत सफल रहेको महसुस चेखबले गरे । एबिलोवास“गको दश वर्ष लामो प्रेमबाट टाढा हुन चेखबलाई पनि निकै नै कठिन भएको थियो । किनकि, चेखबको जीवनमा उनको भावनामा गहिरो प्रभाव पार्ने महिलाको रूपमा एबिलोवा मात्र देखापरेकी थिइन् । 

चेखब–एबिलोवाको अन्तिम भेटघाट, पहिलो भेटको ठीक दश वर्षपछि, सन् १८९९ मा मस्को रेलवे–स्टेसनमा भएको थियो । त्यो दिन मस्को आर्ट थिएटरले चेखबलाई नै देखाउन भनेर उनकै नाटक ‘द सी गल’ को विशेष मञ्चन गर्न लागेको थियो । चेखब–एबिलोवाको साथ त्यो मञ्चन हेर्न चाहन्थे । यसअघि त्यो नाटकको अत्यन्तै असफल मञ्चन एबिलोवाले हेरेकी थिइन् । चेखब आफ्नो नाटकको सफल प्रदर्शन एबिलोवालाई देखाउन चाहन्थे । तर, एबिलोवाले चेखबको प्रस्ताव स्वीकार गरिनन् । जसरी यसअघि एकपटक चेखबले उनको प्रस्ताव अस्वीकार गरेका थिए, त्यसरी नै उनले चेखबको प्रस्ताव स्वीकार गरिनन् । त्यसपछि उनीहरूबीच भेटघाट भएन । पत्राचार पनि भएन । एउटा आदर्श प्रेमको अन्त्य यत्तिकैमा भयो । 

प्रेम स्वच्छ होओस्, आदर्श होओस् र त्यसले कसैलाई नकारात्मक नबनाओस् भन्ने धारणा चेखबमा थियो । कसैको प्रेमले अरू कसैको घरपरिवार बिगार्ने काम पनि नगरोस् भन्ने विचार पनि उनमा थियो । मानिसले मानिसलाई गर्ने प्रेम वा महिला–पुरुषको प्रेमलाई खराब रूपमा कसैले पनि नबुझून् भन्ने उनी चाहन्थे । आफ्ना कारण प्रेमलाई घृणा गर्ने स्थिति नबनोस् भन्ने भावना पनि उनमा थियो । त्यसैले पनि उनले एबिलोवासँगको प्रेम–सम्बन्धलाई अन्ततः दुःखान्तमा टुंग्याएको हुन सक्छ । 

आन्टोन चेखब जीवनको कुनै पनि सुखदुःखको क्षणमा आफ्नै आदर्शको मान्यतामा भन्ने गर्थे, ‘जेजस्तो छ, जीवन त्यही हो ।’ एबिलोवा हुँदाको जीवन र उनीस“गको विछोडपछिको जीवन,सायद उस्तै–उस्तै पक्कै लागेन चेखबलाई । तैपनि उनले आफ्नो जीवनको आदर्शका रूपमा भनिरहे – ‘जे–जस्तो छ, जीवन त्यही हो ।’

प्रतिकृया दिनुहोस