• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ७ शनिबार ११:१४:००
अनुवाद

‘त्यसका निम्ति म क्षमाप्रार्थी छु’

आन्द्रेई ग्रोमिको र हेनरी किसिन्जरबीचको विशेष संवाद 

२०७६ मङ्सिर ७ शनिबार ११:१४:००
नयाँ पत्रिका काठमाडाैं

आन्द्रेई आन्द्रेयबीच ग्रोमिको (सन् १९०९–१९८९) तत्कालीन सोभियत संघका लागि सुरुमा अमेरिका र पछि बेलायतको राजदूत, पछि लामो समय परराष्ट्रमन्त्री भएर जोसेफ स्टालिन (सन् १८७८–१९५३) देखि पेरेस्त्रोइकाका पुरस्कर्ता मिखाइल गोर्वाचेभ (१९३१–८८ वर्ष)को कार्यकालसम्म पाँच दसक लगभग काम गरेका विश्वकै चर्चित कूटनीतिज्ञमा पर्थे । उनलाई सोभियत संघले मात्रै होइन, अमेरिकालगायत सिंगै पश्चिमा जगत्ले २०औँ शतब्दीका असाधारण क्षमता भएका वार्ताकारका रूपमा लिने गरेका छन् । उनी राष्ट्रपतिको सर्वोच्च पदमा पनि निर्वाचित भएका थिए । 

हेनरी अल्फ्रेड किसिन्जर बीसौँ शताब्दीका सर्वाधिक विख्यात अमेरिकी कूटनीतिज्ञ हुन् । तत्कालीन सोभियत संघ, चीनलगायत शक्ति राष्ट्रहरूसँगको परराष्ट्र–सम्बन्धमा उनको भूमिकाबारे बारम्बार चर्चा भइरहन्छ । जर्मनीको एक सम्भ्रान्त यहुदी परिवारमा सन् १९२३ मा उनको जन्म भएको थियो । उनले एक भूराजनीतिक परामर्शदाताका रूपमा समेत प्रसिद्धि कमाएका छन् । उनले सन् १९६९ देखि १९७७ सम्म संयुक्तराज्य अमेरिकाका राष्ट्रपति रिचार्ड निक्सन एवं राष्ट्रपति जेराल्ड फोर्डको राष्ट्रिय सुरक्षा सल्लाहकार एवं परराष्ट्रमन्त्री भएर काम गरेका थिए । उनले द्वितीय विश्वयुद्धपछि शीतयुद्धकालीन द्वन्द्वको स्थितिलाई संयुक्त राज्य अमेरिका र सोभियत संघबीच ‘देताँ’ अर्थात् शान्ति र मैत्रीको सम्बन्ध स्थापित गर्ने कार्यमा ऐतिहासिक भूमिका निर्वाह गरेका थिए । सन् सत्तरीको दशकमा जनगणतन्त्र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नमा उनको अग्रणी भूमिका थियो जुन कार्यले ‘पिङ्पोङ् डिप्लोमेसी’को नामले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो । 

१० जनवरी १९८९ का दिन हेनरी ए. किसिन्जर ‘क्रेमलिनमा’ आन्द्रेई ग्रोमिकोलाई भेट्न गएका थिए । ग्रोमिको त्यतिवेला सोभियत संघका राष्ट्रपति थिए । कुराकानी भएको केही महिनापछि ग्रोमिकोको मृत्यु भएको थियो । सोभियत संघ विघटन भएको तथा बर्लिन पर्खाल ढलेको तीस वर्ष पुगेको प्रसंगमा संसारभरि त्यसको समीक्षा–पुनर्समीक्षा भइरहेको छ । शीतयुद्धको उत्तराद्र्धमा तत्कालीन सोभियत राष्ट्रपति आन्द्रेई ग्रोमिको र किसिन्जरबीच आणविक हतियार नियन्त्रण, विश्वशान्ति र विश्व मानवताका विषयमा केन्द्रित यो अन्तर्वार्ता आज पनि उत्तिकै सान्दर्भिक छ । यस कुराकानीलाई ‘ग्रोमिको : मेमोयर्स’ सन् १९८९ मा प्रकाशित अंग्रेजी संस्करणमा समाविष्ट गरिएको छ ।

हेनरी किसिन्जर : ग्रोमिको महोदय, तपाईंलाई फेरि पनि भेट्न पाउँदा म निकै नै खुसी छु । पछिल्लोपटक सन् १९८७ को जाडोमा हाम्रो भेट भएको थियो । अहिले पनि तपाईंको दोहोरो नकारात्मक शब्द प्रयोग गर्ने जुन मोह थियो त्यसले वेलाबखत मलाई सम्झना दिइरहन्छ । यतिवेला के आशा गर्छु भने तपाईंले आफ्नाे जिम्मेवारी (कूटनीतिक !)बाट अवकाश प्राप्त गरिसकेकाले अब त्यो दोहोरो नकारात्मक शब्द प्रयोग गर्नु हुनेछैन ।

ग्रोमिको : त्यो त ठीकै छ, तर मैले त्यस कुराको मूल्यांकन गर्ने होइन नि ! हो, तपाईंले भनेको कुरो ठीक हो, हामीले कयौँ गर्मी र जाडोयाममा एक–आपसमा भेट गरेका थियौँ । अँ साँच्चै, मैले तपाईंको संंंस्मरणात्मक कृति पढेँ । मैले यहाँ भन्नैपर्नेे कुरा के हो भने तपाईंको पुस्तक निकै नै रुचिकर लाग्यो । 

किसिन्जर : मैले त्यस पुस्तकमा एउटा परिच्छेदमा मात्रै तपाईंका केही नेताका विषयमा चर्चा गरेको छु, त्यसका निम्ति म क्षमा प्रार्थी छु । 

ग्रोमिको : तपाईंले कुन परिच्छेदको कुरा गर्नु भएको हो, मलाई त्यसको हेक्का भएन । तर, समग्रमा भन्नुपर्दा त्यस पुस्तकमा धेरै कुरा परेका छन्, जुन सकारात्मक पक्ष हुन् । म के भन्छु भने, त्यहाँ तपाईंका दृष्टिकोण र कतिपय घटनालाई केलाउने शैली पहिलेका भन्दा फरक छन् । साथै एउटा कुरा के प्रस्ट छ भने, यी आफ्ना अनुभव बटुलेर एउटा सिद्धहस्त व्यक्तिले लेखेको पुस्तक हो । त्यसमा एउटा यो कुरा पनि भनिहालौँ, कहिलेकाहीँ मलाई ‘हेनरी किसिन्जर कस्ता लाग्छन् तपाईंलाई ?’ भनेर सोभियत जनता, विदेशीहरू र खास गरेर पत्रकार सोध्ने गर्छन् । मैले उनीहरूलाई के भन्ने गरेको छु भने, ‘तपाईं बुझ्नुस् किसिन्जर महोदय साह्रै प्रतिभासम्पन्न व्यक्ति हुन् ।’ यस्तो कुनै पनि अवसर पाउँदा म यो कुरा पटक–पटक भन्न तयार छु । किसिन्जर महोदय, जस्तो कि तपाईंलाई थाहा छ, मैले मटरदानाझैँ छरेर मीठा–मीठा शब्द राख्ने गरेको छैन । हो, मान्नुहोस् तपाईंप्रति त्यस्तै धारणा राख्छु म ।

किसिन्जर : मैले तपाईंलाई चिनेको दसौँ वर्ष भइसकेको छ । हो,म स्वीकार गर्छु, तपाईंले कहिल्यै खुसी पार्ने, रिझाउनेखालका मीठा शब्द फिँजार्नुभएको छैन । अहिले म मस्कोमा छु । यतिखेर म हाम्राबीचका सुमधुर सम्बन्धलाई सम्झिरहेको छु । मलाई सम्झना छ, तपाईंले आफ्नो देशको स्वार्थको रक्षा गर्न दृढतापूर्वक पैरवी गर्नुभयो जुन हाम्रो विचारसित धेरैजसो मेल खाँदैनथे । तर, तपाईंप्रति भने मेरो सदा सम्मानभाव रह्यो । मैले कुराको सिलसिलामा धेरैजनासँग ‘ग्रोमिको महोदयलाई म अत्यन्त सम्मान गर्छु’ भनेको छु । 

एकपल्टको कुरा हो, हाम्रो दुई देशबीचको सम्बन्ध कठिन चरणमा रहेको अवस्थामा संयुक्तराज्य अमेरिका टेलिभिजनले ‘आन्द्रेई ग्रोमिकोका बारेमा तपाईंको के धारणा छ ?’ भनेर सोधेको थियो । मैले उत्तरमा, ‘ईश्वरले मलाई त्यसो भनेकोमा दण्डित गर्लान्, तर म ग्रोमिकोलाई मन पराउँछु’ भनेको थिएँ । त्यसको केही समयपछि शाह फैजलका छोरा (साउदी राजकुमार)सँगै डिनर गर्दा मैले उनलाई के भनेको थिएँ भने, ‘मैले तपाईंका पितासित अत्यन्त राम्रो सम्बन्ध गाँसेको थिएँ’ मैले तेसो भनिरहँदा उनले यस्तो जवाफ फिराएका थिए, ‘त्यस कुरामा तपाईं के बुझ्नुस् भने, ईश्वरले तपाईंलाई दण्डित गरिसक्नुभयो । अहिले तपाईं आफैँसित के गर्दै हुनुहुन्छ ?’

ग्रोमिको : म अचेल निकै पढ्ने गर्छु र लेख्ने पनि गरेको छु । साँझतिर यसो टहलिने गर्छु र दिनमा तीन, पाँच र कहिले त ६ माइलसम्म हिँड्छु । दैनिकजसो त्यति हिँडेपछि जीउ हलुँगोजस्तो लाग्छ । मेरी पत्नी मसँग ठट्टा गर्छिन्– सबैजना हिँडेर आएपछि थाकेको अनुभव गर्छन्, तर तपाईं यसको उल्टो हुनुहुन्छ, हलुँगो र सञ्चो भएको मान्नुहुन्छ ।

किसिन्जर : तपाईं ‘युएसए’ आउनुभयो भने मकहाँ (न्युयोर्क) अवश्य नै पाल्नुहोला । मेरो एउटा घर सहरभन्दा बाहिर छ र म पनि पैदल डुल्न रुचाउँछु । 

ग्रोमिको : अब केही गम्भीर कुरा, म जान्दिनँ तपाईं आफ्नो जीवन जिउने कुनचाहिँ तरिका सही ठान्नुहुन्छ । तर, अचेल म धैरैजसो साहित्यिक र गैरसाहित्यिक क्रियाकलापमा समय दिइरहेको छु । भर्खरैजसो एउटा ब्रिटिस टेलिभिजन कम्पनीलाई मैले अन्तर्वार्ता दिएको थिएँ । पछिल्लो समयको परराष्ट्रनीतिमा पनि अलिअलि लेख्ने गरेकोछु । लेखनका क्षेत्रमा यस विषयको राम्रो बजार छ भनेर पश्चिमको व्यावसायिक दुनियाँमा भन्ने गरिन्छ । म आफूसँग रहेको ऊर्जाको उत्सर्जन राम्रो गरी भइरहेको पाउँछु । मैले आफ्ना कमरेडसँग यस विषयमा पटक–पटक कुरा राखेको छु । अचेल म आफूलाई यसरी नै व्यस्त बनाइरहेको छु । र, मलाई यो जिउने शैली जँचेको पनि छ । समग्रमा, म त्यस्तो व्यक्ति हुँ, जसले आफूले आफ्नो अवकाश पाउनुपर्ने प्रश्न उठाएको थियो । तपाईंलाई थाहा छ मैले चानचुन ५० वर्ष राज्यको सेवामा खर्चेको छु । म के कुरामा खुसी छु भने, हाम्रो दुई देशबीचको सम्बन्ध एउटा वास्तविक सुधारतर्फ उन्मुख भएको छ । यो राम्रो र सकारात्मक कुरा हो र अपेक्षा गर्छु त्यसै दिशातर्फ सम्बन्धका अरू पक्ष पनि निर्देशित हुने गरून् । 

युद्धको स्थिति कहिल्यै आउन दिनुहुँदैन । विश्व परिस्थितिलाई हेर्दा के लाग्छ भने युद्धबाट न ‘युएसए’ न त ‘युएसएसआर’ले एक–अर्काबाट केही पाउन सक्छन् । यदि हामी यसैगरी आपसी द्वन्द्वमा अल्झिरह्यौँ भने त्यसबाट हामी दुवैले अरूकैे स्वार्थमा एक–अर्कालाई कमजोर बनाइरहेका हुन्छौँ ।

किसिन्जर : मलाई लाग्छ, नयाँ अमेरिकी प्रशासनले सम्बन्धको त्यस दिशालाई निरन्तरता दिनेछ । अँ एउटा कुरा, के तपाईंको पुस्तक (संस्मरण !) अंग्रेजीमा प्रकाशित हुन थालेको हो ? म त यो कुरा सुन्नेबित्तिकै रोमाञ्चित भएको छु । 

ग्रोमिको : हो, तपाईंले ठीकै सुन्नुभयो, त्यो अंग्रेजीमा प्रकाशित हुँदै छ । त्यसमा के भन्नु छ भने, हाम्रो दुई देशबीचको सम्बन्धलाई अझै उन्नत दिशातर्फ सुधार गर्न वर्तमान नेतृत्वले महत्वपूर्ण भूमिका खेलेका छन् । यसमा राष्ट्रपति मिखाइल गोर्वाचेभको भूमिका विशेष किसिमको रह्यो, जुन तपाईंलाई राम्रोसँग थाहा छ । यो कुरा खास गरेर संयुक्तराष्ट्र संघको महासभामा भर्खरै उहाँले दिनुभएको गम्भीर र उच्चकोटिको भाषणले पुष्टि गर्छ । उहाँको त्यस दृष्टिकोणमा तपाईंको के भनाइ छ ? हामी आ–आफ्ना तत्कालका धारणा राखौँ । 

किसिन्जर : म (राष्ट्रपति) ‘बुस’लाई राम्रैगरी जान्दछु । हामीले सँगै काम गरेका छौँ । म ‘स्कोक्रोफ्ट’ र उहाँका अरू सहयोगीलाई पनि जान्दछु । बुस महोदय के चाहन्छन् भने, हाम्रा नीति र कार्य–व्यवहार त्यसै दिशातर्फ अघि बढाऔँ जसले सोभियत संघसँग द्विपक्षीय सम्बन्ध एउटा राजनीतिक समझदारीमा अग्रसर होओस् । त्यो राजनीतिक समझदारी शस्त्र नियन्त्रणमा सीमित नरहेर विश्वका विभिन्न भूभागको राजनीतिक परिस्थितिसमेत सुव्यवस्थित होओस् । मलाई के लाग्छ भने, बुस महोदय त्यसै दिशातर्फ काम गर्ने मेसो गरिरहेका छन् । जहाँसम्म दृष्टिकोणको कुरा छ, त्यसमा मैले सकारात्मक सोच राखेको छु । 

ग्रोमिको : तपाईंका यी कुराहरू सुन्दा मलाई खुसी लागेको छ । 

किसिन्जर : आजै बिहान मैले गोर्वाचेभ महोदयलाई भेटेर भनेको छु । यस विषयमा एउटा सकारात्मक प्रेस–वक्तव्य पनि आउँदै छ । सोभियत नेताहरूले मेरो रचनात्मक मूल्यांकनलाई साझे गर्नेछन् भन्ने आशा गरेको छु । 

ग्रोमिको : हो, ठीक भन्नुभयो । सोभियत संघ, गोर्वाचेभ र स्वयं मैले पनि यी कुरालाई बुझेका छौँ । तपाईंलाई विश्वासका साथ के भन्न सक्छौँ भने, हामीले भर्खरै निर्धारित गरेर कागजमा लिपिबद्ध गरेको यस राजनीतिक दिशालाई अनुुसरण गर्नेर्छौँ । मलाई लाग्छ ‘युएसए’ सँगै तपाईंले पनि भुल गर्नुभएन भने, हामीले जुन सिद्धान्तलाई आधार बनाएर सहकार्य गर्ने विचार राखेका छौँ आशा छ तपाईंहरू पनि त्यसतर्फ लाग्नु हुनेछ । तर, यहाँ के अपेक्षा राखिन्छ भने यसमा कुनै अप्रिय र अप्रत्यासित कार्य हुने छैन, के तपाईं यसमा सहमत हुनुहुन्न ? समग्रमा, निशस्त्रीकरण र हतियार नियन्त्रणबाट मात्र नभएर सामान्य रूपमा आर्थिक र राजनीतिक क्षेत्रको सम्बन्धमा पनि आश्वस्त पारिनुपर्छ । अनि मात्र वास्तविक सफलता प्राप्त हुन सक्छ । यिनै कुरामा हामीले जोड दिनु अपरिहार्य छ भन्ने ठान्छु ।

किसिन्जर : केही नाम चलेका व्यक्तिका कुराकानीबाट जहाँसम्म मैले बुझेको छु र के थाहा पाएको छु भने ‘युएसए’ कुनै अप्रिय र अप्रत्याशित घटनाका कारण बन्नेछैन । हामी के कुराको पनि आशा गर्छौँ भने ती अनपेक्षित घटनालाई अन्य तरिका र उपायबाट पन्छाउनेछौँ । यदि कुनै अप्रिय तथ्य बाहिर आएछ भने, त्यहाँ हामीले नचाहेको कुराको खतरा त रहन्छ नै । 

ग्रोमिको : यो गहकिलो सोच हो । तपाईंलाई थाहै छ, अहिले यो विश्वबाट आणविक हतियारलाई समूल नष्ट गर्ने जुन समस्या छ त्योभन्दा अर्को कुनै ठूलो दबाबपूर्ण र महत्वको समस्या हामीसमक्ष छैन । आणविक हतियार नष्ट गरिएन भने मानवजातिले ठूलो विपत्तिको सामना गर्नुपर्नेछ । सन्दर्भमै, एउटा खतरा के देखिन्छ भने ‘क्याटस्ट्रोपी’ (महाविपत्ति !) शब्दको कति धेरै प्रयोग गर्न थालिएको छ भने पछि–पछि मानिसहरूले प्रतिक्रिया दिनुपर्ने यस डरलाग्दो विषयलाई प्रतिक्रिया नदिएर सामान्य रूपमा लिन थाल्नेछन् । त्यस्तो मानवनिर्मित विपत्ति यो मानवजातिका लागि ठूलो खतरा हुन सक्छ, तर धन्य, अहिलेसम्म परेको छैन । विपत्ति भनेको निश्चित रूपले विपत्ति नै हो । किनभने, यो निरन्तर आइलागिरहने कुरा होइन । तर, यसलाई पन्छाउन भने सकिन्छ र त्यसको खतरालाई समाप्त गर्न पनि सकिन्छ । मानिसले आणविक हतियारलाई समाप्त गर्न सकेन भने त्यसैले मानवजातिलाई विनाश गरिदिनेछ, यसले गर्दा हामी सबैको अन्त्य हुन जाला । एकपटक र मात्र एकपटक अमेरिकामा मैले अलबर्ट आइन्स्टाइनलाई भेट्ने अवसर पाएको थिएँ । उनले मसित भनेका थिए, ‘हामीले आणविक हतियार नष्ट गर्ने ती सबै सम्भव भएसम्मका उपाय र प्रयत्न गर्नुपर्छ नत्र त तिनै हतियारले यस ‘गोलो जहाज’ (जसलाई हामी धरती भन्छौँ)का प्रत्येक जीवनलाई समाप्त गर्नेछ ।’ ज्ञानले भरिएका उनका ती ओजपूर्ण शब्द एक ज्ञानी पुरुषबाट निःसृत भएका थिए । आफ्नो जीवनको अन्तकालसम्म उनी आफ्ना ती विचारमा अटल थिए । 

विपत्ति भनेको निश्चित रूपले विपत्ति नै हो । किनभने, यो निरन्तर आइलागिरहने कुरा होइन । तर, यसलाई पन्छाउन सकिन्छ र त्यसको खतरालाई समाप्त गर्न पनि सकिन्छ । मानिसले आणविक हतियारलाई समाप्त गर्न सकेन भने त्यसैले मानवजातिलाई विनाश गरिदिनेछ, यसले गर्दा हामी सबैको अन्त्य हुन जाला ।

किसिन्जर : म एउटा कुरा के निश्चित गर्न चाहन्छु भने, यदि हामी दुवै पक्षले आफ्ना आणविक हतियार नष्ट गर्ने भयौँ भने अन्य कुनै देशले आफ्नो आणविक योजनालाई खुलस्त गर्न थालेर हामीलाई ‘ब्ल्याकमेलिङ’ गर्न थाल्नेछन् ।

ग्रोमिको : त्यस्तो कार्य कुनै पनि हालतमा स्वीकार्य हुनेछैन ।

किसिन्जर : युद्धको स्थिति कहिल्यै आउन दिनुहुँदैन । विश्व परिस्थितिलाई हेर्दा के लाग्छ भने युद्धबाट न ‘युएसए’ न त ‘युएसएसआर’ले एक–अर्काबाट केही पाउन सक्छन् । यदि हामी यसैगरी आपसी द्वन्द्वमा अल्झिरह्यौँ भने त्यसबाट हामी दुवैले अरूकैे स्वार्थमा एक–अर्कालाई कमजोर बनाइरहेका हुन्छौँ । तपाईंसित आठ वर्षसँगै काम गरेँ, ग्रोमिको महोदय ! तर, त्यसबीचमा तपाईंले मुस्किलले कुनै दिन ‘पूर्ण सत्य’(एब्सोल्युट ट्रू) भन्नुभयो होला । बरु कहिलेकाहीँ ‘त्यो सही होइन’ भन्नु भएको छ । अनि तपाईं दोहोरो नकारात्मक शब्द प्रयोग गरेर सकारात्मक दृष्टिकोण लिने व्यक्तिका रूपमा चर्चित हुनुहुन्थ्यो । म जहिले पनि तपाईंको भन्ने त्यो शैली सम्झिन्छु । 

ग्रोमिको महोदय, यदि अनुमति दिनुहुन्छ भने म तपाईंलाई धेरै वर्षअघि भएको एउटा ऐतिहासिक महत्व राख्ने घटनाका विषयमा प्रश्न गर्न चाहन्छु । तपाईं त्यसवेलादेखिका ती केही जीवित व्यक्तिमध्ये पर्नुहुन्छ जसले मेरो प्रश्नको उत्तर खुलाएर दिन सक्नुहुन्छ । केही मित्रसँग सन् १९४८ मा सोभियत संघले गरेको बर्लिन नाकाबन्दीका बारेमा हामी छलफल गर्दै थियौँ । हामी कुन कुरामा छक्क पर्‍यौँ भने जोसेफ स्तालिन त्यो अप्ठ्यारो समयमा सम्भावित युद्धको जोखिम उठाउन किन उद्यत भएका थिए ? त्यतिखेर उनको लक्ष्य के हुन सक्थ्यो ? मैले तपाईंसित यी प्रश्न आलोचनाको मनसाय लिएर गरेको होइन, बरु मजस्ता मानिसहरूको मस्तिष्कमा आन्दोलित भइरहेको त्यो सन्दर्भको विवेचनाका लागि सोधेको हुँ । 

ग्रोमिको : म तपाईंको प्रश्नको उत्तर पुछारबाट दिन चाहन्छु । म के कुरामा विश्वस्त छु भने स्तालिनलाई वास्तवमा कसैले पनि प्रत्यक्ष रूपमा यो प्रश्न गरेन । त्यस कारबाहीलाई थाल्दा उनले पाएका केही सूचनाका आधारमा त्यो द्वन्द्व आणविक युद्धमा पुग्ने सम्भावना छैन भन्ने निष्कर्षमा उनी पुगेको हुनुपर्छ, यो पहिलो कारण थियो । स्तालिनले के सोचे भने अमेरिकाको राज्य सञ्चालन बुद्धि नभएका हलुका व्यक्तिबाट पक्कै चलेको छैन जसले यस्तो परिस्थितिमा पनि आणविक युद्ध सुरु गरिहाल्नेछ, यो पहिलो बुँदाको स्पष्टीकरण भयो । 

किसिन्जर : तर, यो कुरा त पक्कै मान्नुहुन्छ होला, परम्परागत हतियारले गरिएको युद्ध पनि सोभियत संघका लागि ठूलै खतरा हुन्छ होला, होइन त ?

ग्रोमिको : तपाईंले भन्नुभएको परम्परागत हतियारबाट गरिने युद्ध अन्य देशका लागि ठूलै खतरा हुन सक्ला । तर, सोभियत पक्ष र व्यक्तिगत रूपले स्तालिनले ‘युएसए’को सबै रणनीति र वैकल्पिक कारबाहीको चरणसमेतलाई विचार गरेर प्रतिवादको योजना सोचेकै हुनुपर्छ । यो तपाईंको प्रश्नको दोस्रो बुँदा हो । सोभियत संघले एकपक्षीय ढंगले गर्न सक्ने कुनै ‘कन्सेसन’ (छुट !) उसको कार्यसूचीमा थिएन । 

पछिल्लो र अन्तिम बुँदा यस्तो छ । पहिलो संकेत के हो भने ‘युएसए’ शान्तिपूर्ण तरिकाले पछि हट्ने तर्खरमा थियो र के कुरा ध्यानमा राखेको हुनुपर्छ भने, सोभियत र अमेरिकी टैंक केही मिटरको दूरीमा आमने–सामने थिए । हामीले त्यस गम्भीर परिस्थितिको आकलन गरेर तत्परताले काम गर्‍यौँ । हामी पछि हट्नुपर्छ भन्ने कुरामा स्तालिनको पनि सोच वा मनसाय रहेको हुनुपर्छ । अब म तपाईंलाई के भन्छु भने त्यतिखेर स्तालिनले त्यो गम्भीर परिस्थितिमा ठूलो दूरदर्शिता देखाएका थिए । स्तालिन के कुरामा ढुक्क थिए भने उनले गरेका कार्यले अन्ततः सकारात्मक परिणाम दिनेछ । त्यो निर्णय वस्तुपरक थियो र एक मात्र सही निर्णय थियो । यसरी, हामी भिडन्तको अवस्थाबाट पछि हट्यौँ । यसलाई लाक्षणिक अर्थमा भन्ने हो भने यो हामी दुवै शक्तिराष्ट्रको स्वार्थको कुरा हो, तसर्थ ‘तिमीहरू के सोचिरहेका छौ, तुरन्त द्वन्द्वको प्रतिस्पर्धा रोकेर परिस्थितिको आकलन गर’ भन्ने धरतीबाट एक किसिमको आवाज प्रतिध्वनित भएको थियो । यो त्यस्तो आवाज थियो जसले हामी दुवै शक्तिराष्ट्रलाई शान्तिपूर्ण तरिकाले तत्कालै मुठभेडबाट पछि हट्ने आवश्यकता थियो । म सिर्जनात्मक लेखक हुँदो हुँ त त्यो घटनालाई बडो राम्रो ढंगले चित्रण गर्ने थिएँ । वास्तवमा त्यो त्यस किसिमको जटिल समस्या छँदै थिएन जसमा हाम्रा दुवै देशले युद्धको आगोमा हामफाल्ने खतरा लिनु परोस् । 

किसिन्जर : म तपाईंको पुस्तक अंग्रेजीमा पढ्न उत्सुक छु र प्रतीक्षा गरिरहेको छु । मैले तपाईंबाट चाहेको के हो भने बितेका ती समयका प्रसंग र घटनालाई आनन्दका साथ सम्झिन चाहन्छु जतिवेला मैलै तपाईंसँग परराष्ट्रमन्त्री र राष्ट्रप्रमुखको हैसियतले सम्बन्ध जोरेर व्यवहार गरेको थिएँँ । तपाईं बडो दृढ र आफ्नो प्रयोजनमा सम्झौता गर्नेतर्फ लागिरहने एक निष्ठावान् वार्ताकार हुनुहुन्छ । तर, पनि हामी केही सम्झौता गर्न सफल भयौँ । जुन कुराले हामीलाई आ–आफ्ना हठलाई छाड्न लगायो । 

ग्रोमिको : के तपाईं भ्लादिवोस्तकमा (रुसको सुदूर पूर्वीय सीमा) राष्ट्रपति जेराल्डफोर्डका साथ रहदाको समयलाई सम्झिनुहुन्छ ? तेतिखेर दुईवटा विषय–वस्तुमा हाम्रो विचार बाझियो, हाम्रो वार्ता त्यहीँ रोकियो । दुईवटा मुद्दामध्ये एउटा पहिलेदेखि तैनाथ रहेको अमेरिकी सैनिक अखडाको विषय थियो । त्यसमा हामी सोभियत पक्षले एउटा मुद्दा दर्ता गराएका थियौँ । जबकि, तपाईंले सोभियत संघको ‘हेभी मिसाइल एसएस–१८एस’बारे थाहा पाएर लडखडाउनु भएको थियो । हामीले ती दुवै सवाललाई एकैपटक सँगसँगै निस्तेज पार्नुु परेको थियो, अरू विषयलाई अगाडि बढाउनुभन्दा पहिल्यै । लियोनिद ब्रेझनेव(सन् १९०६–१९८२) तत्कालीन सोभियत राष्ट्रपति) र म वार्ता भइरहेको कोठाको एक छेउमा पुग्यौँ र टेलिफोन राखिएको ठाउँको कुनामा बस्यौँ । ब्रेझनेवले सोभियत नेतृत्वमा रहेका दुई–तीनजनालाई मस्कोमा फोन गर्नुभयो । उहाँले भ्लादिबोस्तक शिखर बैठकमा ती दुईवटा मुद्दा समाधानका लागि हामीले कसरी प्रस्ताव गर्‍यौँ भनेर बताउनुभयो । हामीले फोर्ड (जेराल्ड फोर्ड,(सन् १९१३–२००६, तत्कालीन अमेरिकी राष्ट्रपति) र स्वयं तपाईंलाई पनि यस विषयमा बतायौँ । र, त्यसै बिन्दुमा हामीले सम्झौताका आधार भेट्यौँ अनि समझदारीमा पुुगेका थियौँ । त्यति हुँदाहुँदै पनि सन्धिको मस्यौदामा दस्तखत हुन थप पाँच वर्ष कुर्नुपर्‍यो ।

किसिन्जर : म सन् १९७२ मा मस्कोमा रहँदाको प्रसंग सम्झिन्छु । त्यतिखेर तपाईं र मैले दिनरात नभनेर अनेकौँ दिनसम्म वार्ता गरेका थियौँ । अनि कुनैे एक बिहान वार्तामा एउटा नयाँ मोड आयो र त्यसको खाका बन्यो । त्यसै साँझ हामी सम्झौतामा दस्तखत गर्न तयार भयौँ । हामीले हेलसिन्कीमा एन्टिब्यालेस्टिक मिसाइल ट्रिटी र साल्ट–१ सन्धिका लागि वार्तारत आफ्ना प्रतिनिधिलाई बुँदागत निर्देशन दिएका थियौंँ । 

ग्रोमिको : हो, हामी कसरी समझदारीमा पुग्यौँ त्यो घटना म सम्झिन्छु । तर, हामीले आफ्ना प्रतिनिधिमण्डललाई पठाएको निर्देशन स्पष्ट हुने गरी तोकेर पठाएन छौँ । तर, पनि तिनीहरूले सामान्य निर्देशनको अनुसरण भने गरेका रहेछन् । 

किसिन्जर : हामी त्यहाँ वार्ताको अन्तिम दिन बिहान पुगेका थियौँ । सम्झौतापत्रमा दस्तखतको कार्यक्रम त्यसै साँझ ९.०० बजे हुने निश्चित भएको थियो । तर, केही प्राविधिक विषयमा अन्तिम टुंगो लगाउन बाँकी नै थियो ।

ग्रोमिको : यस ऐतिहासिक प्रसंगमा ब्रिटिस टेलिभिजनले अन्तर्वार्ता लिँदा मलाई स्पष्ट शब्दमा उत्तर दिन भनेको थियो । मैले भनेँ, हामीले कुनै विशेष कुरामा जोड नदिएर सामान्य दिशामा निर्देश दिने भनेर सहमति जनाएका थियौँ । यद्यपि, ती निर्देशनमा पूर्णतः एकरूपता भने थिएन । मलाई के लाग्छ भने त्यस ऐतिहासिक घडीमा तपाईं र मैले मिलेर त्यो वार्तालाई प्रगतितर्फ लैजान महत्वपूर्ण कार्य गरेका थियौँ । 

किसिन्जर : तपाईंको भनाइमा म सहमत छु । दुर्भाग्यवश ! अहिले मेरो समय सकियो । तर, के दोहोर्‍याएर भन्छु भने तपाईंलाई फेरि पनि भेट्न पाउँदा मलाई साह्रै नै खुसी लागेको छ । तपाईँकी पत्नीलाई श्रीमती किसिन्जरको तर्फबाट न्यानो अभिवादन पुर्‍याइदिनु होला । तपाईंको युएसए भ्रमणमा आउने कुनै कार्यक्रम छ अथवा तपाईंको क्रियाकलाप सोभियत संघको सीमाभित्र सीमित गरिएको छ ?

ग्रोमिको : तत्काल भ्रमणमा जानुपर्ने कुनै प्रयोजन म देख्दिनँ । तर, भविष्यमा भने त्यसको सम्भावना छैन पनि भन्दिनँ । जसले पनि सधैँ आफ्नो विकल्पको ठाउँ खुला राख्नुपर्छ भन्ने मेरो मान्यता छ । यदि तपाईं न्युयोर्क वा वासिङ्टनमा कुनै दिन हराउनु भएछ भने तपाईं मलाई जहिले पनि भन्न सक्नुहुन्छ र म तपाईंलाई सहयोग गर्नेछु । र, तपाईं जुन ‘स्ट्रिट’ खोज्दै हुनुहुन्छ म भेट्टाइदिनेछु । 

किसिन्जर : तपाईंले साँच्चि नै हाम्रो देशलाई चिन्नु भएको छ । तर, अहिले तपाईंले ‘युएसए’ भ्रमण गर्नुभयो भने मलाई भेट्न आउनुहोला भन्ने आशा गर्छु । न्युयोर्क सहरको बाहिर मेरो एउटा घर छ । त्यहाँ दैनिकजसो म टहलिन जाने गरेको छु । हामी दुवैजना सँगै टहलिन जान सक्छौँ र न्युयोर्कको एपार्टमेन्टमा ‘डिनर’ खान सक्छौँ । 

ग्रोमिको : म पनि दिनको ३ देखि ६ माइल टहलिने गर्छु । तर, तपार्ईं अचेल स्वयं के गर्दै हुनुहुन्छ ?

किसिन्जर : साँचो कुरा भन्नुपर्दा धेरैजसो निजी धन्दामा संलग्न रहन्छु । तर, त्यसमा धेरै सक्रिय रूपले लागेको भने छैन । पैसा कमाउनु आवश्यक भए पनि साँच्चिकै पट्यारलाग्दो काम हो ।

ग्रोेमिको : मैले बर्नार्ड बरुच (सन् १८७०–१९६५) लाई एउटा अवसरमा भेटेको सम्झिन्छु । उहाँ लामो समय कुनै अफिसियल पोजिसनमा रहनु भएन । उहाँले लेखेको ‘म कसरी करोडपति भएँ’ भन्ने किताब पढ्नुभयो कि भनेर सोध्नु भएको थियो । मैले भनेको थिएँ, मैले त्यो पुस्तक धेरै रुचिका साथ पढेँ । तर, मैले उहाँको सुझावलाई पालना गरिनँ । मिसेज किसिन्जरलाई कृपा गरेर मेरो र मेरी पत्नीको तर्फबाट हार्दिक अभिवादन पुर्‍याइदिनु होला ।

(क्रेमलिन, मस्को १७ जनवरी १९८९,

अनुवाद– राप्रउ पोखरेल)