• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
अग्रिम अधिकारी  काठमाडाैं
२०७६ मङ्सिर ७ शनिबार १२:२२:००
समाज

चाबेल–चारुमती साइनोे

चोक

२०७६ मङ्सिर ७ शनिबार १२:२२:००
अग्रिम अधिकारी  काठमाडाैं

एभरेस्ट प्राइभेट लिमिटेडको बोर्ड देखेपछि एकाएक मेरो दिमागमा विगतको चित्र नाच्न थाल्यो । किनभने भोला अंकलको घर भएको ठाउँमा अहिले कुनै लिमिटेड बनेको छ । त्यो घरमा वेलाबखत बा (गोविन्द वर्तमान) सँग चिया खान जान्थेँ । तर, अब ती क्षण केवल स्मृतिमा सीमित भइसके । त्यसवेलाको चाबहिल र चारुमती पनि अब मेरा निम्ति बिस्तारै बिरानो हुन थालेछ । परिचितको भिड लाग्ने त्यो ठाउँ हिजोआज अपरिचितको मेला लाग्ने ठाउँ बनेको छ ।

नेपालको इतिहास साह्रै रहस्यमय छ । गौशालाबाट मित्रपार्क हुँदै जब चाबेलको स्तूपवरपर आइपुगिन्छ, तब एउटा बेग्लै शक्तिको आभास हुन थाल्छ । यतिवेला चाबेललाई चाबहिल भन्न थालिएको छ । समयको गतिसँगै मौलिकता हराउँदै गएको छ । चाबेलले आफ्नो चिनारी गुमाउँदै गएको छ । अहिले चाबेलवरपर बनेका र बन्दै गरेका ठुल्ठूला भवन र सुपरमार्केटहरूले संस्कृतिका थुप्रै पाटाहरूमा धक्का पुर्‍याउन थालेको छ । आयातित आधुनिक संस्कृतिको रजाइँले हाम्रो मौलिक संस्कृति र पहिचानका आधारस्तम्भ धमाधम भत्किन थालेका छन् । अरू देशमा पनि ‘मोर्डनाइजेसन’ले डेरा नजमाएको हैन, तर उनीहरू विकास र इतिहास दुवैलाई आवश्यक पाटो मान्छन् र सँगसँगै लान्छन् । तर, नेपालमा विकास र इतिहास सँगै हिँड्न सकेको छैन । विकासको गगनचुम्बी महलले इतिहासका महत्वपूर्ण दस्ताबेज छोपिदिएको छ । 

चाबेल स्तूपको छुट्टै इतिहास छ । बुद्धको अस्तुधातुहरूलाई सुरक्षित राख्ने मनसायले त्यसको थुप्रो बनाई त्यसलाई माथिबाट छोप्न स्तूप बनाइएको चारुमती विहार गुठीका पदाधिकारीहरू बताउँछन् । धातुको थुप्रोलाई ‘थुप’ भनिन्थ्यो र बिस्तारै त्यो ‘थुप’ शब्द आफैँमा विकास हुँदै स्तूप भएको हो । अहिले त्यसलाई कतिले स्तूपा पनि भन्छन् । त्यसैगरी ध्यान गर्न मात्रै पनि स्तूपहरू बनाउन थालियो । क्षेत्रफल र विशालताको आधारमा हेर्दा चाबहिलको स्तूप बौद्धको भन्दा निकै सानो लाग्छ र यसको महत्व पनि कम भएझैँ लाग्छ । तर, इतिहास र यसका विशेषताका आधारमा हेर्ने हो भने बौद्धभन्दा पनि चाबेलको स्तूप महत्वपूर्ण छ । अहिले चाबेलको स्तूपलाई चारुमती स्तूप भनिन्छ । त्यसका केही कारण छन् ।

भनिन्छ, अशोकले लडाइँ र हत्या–हिंसा धेरै गरे । स्वयं आफ्नै दाइलाई पनि मारे । पछि उनलाई पश्चात्ताप भयो । उनमा चेतनाको विकास पनि भयो । अशोक पाप काट््न चाहन्थे । आफूबाट मारिएका दाइको छोरोले भनेपछि उनी बुद्ध धर्ममा लागेर भिक्षु हुन पुगे । अहिले उही अशोकले बनाएको स्तम्भ लुम्बिनीमा भएको र बुद्ध त्यहीँ जन्मिएका सबैभन्दा ठूलो चिनारीको रूपमा लिइन्छ । अशोक बुद्धका ठूला भक्त भएपछि उनी बुद्ध धर्मको प्रचार गर्न लागे । त्यही दौरान अशोककी छोरी निकै समयपछि काठमाडौं आएका वेला उनले शाक्य समुदायका एक राजकुमारसँग चाबहिलको भ्रमण गरेको इतिहास छ । त्यही दौरानमा उनीहरूबीच प्रेम भएको बताइन्छ । राजकुमारको नाम देवपाल हो भने अशोककी छोरीको नाम चारुमती हो । जब अशोककी छोरी चारुमती र शाक्य राजकुमार देवपालबीच माया बस्यो, तब चाबेलमा चारुमती विहार र स्तूपको स्थापना भयो । 

चाबेलको स्तूप भौतिक रूपमा हेर्दा बौद्धको स्तूपभन्दा अलिक सानो देखिन्छ । तर, स्तूपले कति क्षेत्रफल ओगट्यो भन्दा पनि त्यसको इतिहास महत्वपूर्ण मान्नुपर्छ । चाबेल नजिकै गौशालाको छेउमा एउटा जंगल छ । त्यो ठाउँलाई भण्डारखालको जंगल पनि भनिन्छ । त्यो ठाउँ बेलुका पाँच बजेपछि कुनै हिन्दी सिनेमा ‘हन्टेड हाउस’ झैँ भइदिन्छ । तर, त्यो ठाउँको पनि बेग्लै अस्तित्व छ । भण्डारखालमा पहिले ठूलो बस्ती भएको मानिन्छ । हालसालै अमेरिकाको सिकागोस्थित डिपल विश्वविद्यालयको टोलीले यो कुरा पुष्टि गरेको छ । त्यहाँको इतिहास खोतल्न विश्वविद्यालयका चान्सलर स्वयं नेपाल आएका थिए । 

म चाबेलको एउटा प्रतिनिधि हुँ । चाबेलका हराउँदै गएका सम्पदाहरू मेरा सम्झनामा छन् । म त्यसको एउटा साक्षी हुँ । 

कसरी भयो बस्तीको पुष्टि ? मनमा उठ्ने एउटा सम्भावित प्रश्न हो यो । उनीहरूसँग भएको प्रविधिका कारण त्यो सम्भव भएको हो । उनीहरूले निकै गहिरो अध्ययन र उत्खननपछि यो कुरा पत्ता लगाए । उत्खननमा उनीहरूले छुट्टै मेसिनको प्रयोग गरेका थिए । त्यस प्रयोगबाट हरेक ठाउँ, जहाँ मेसिनकोे प्रयोग गरी सयौँ फिट तल भएको सामग्रीको अंश निकालियो, त्यसबाट हरेक ठाउँमा खाना बनाउन प्रयोग हुने माटोको भाँडाका टुक्राहरू भेटिए । के माटाका भाँडाहरू त्यसै भेटिएका हुन् त ? पक्कै पनि हैन । यी माटाका भाँडाहरूले बस्ती भएको सटिक अर्थ दिएका छन् । 

चाबेलको चर्चा वा यसको इतिहाससँग जोडिएर आउने थुप्रै प्रसंग मेरा निम्ति आफ्नै जस्ता लाग्छन् । आफ्नै खोजी र अध्ययनका विषयजस्ता पनि लाग्छन् । 

एकाएक सम्झन्छु, परमानन्द शाक्य सरका अनमोल शब्दहरू । चारुमतीकै छेउको एउटा चिया पसलमा गफको क्रममा उहाँले मलाई भन्नुभएको हो, चाबहिल र चारुमतीसम्बन्धी अनेक गाथाहरू छन् ।’ अनि मेरो मस्तिष्क उहाँले भनेका इतिहासका पाटाहरूलाई वर्तमानसँग दाँज्ने ठूलो प्रयत्नमा थियो । बेवारिसे तालमा छोडिएका इतिहासका यी स्तम्भहरू, मलाई लाग्छ आफ्नो अस्तित्व गुमाउने अवस्थामा छन् । लाग्छ, इतिहासका महत्वपूर्ण वस्तुहरू विलीन हुने क्रममा छन् । यसप्रति मानिसहरूको ध्यान गएको देखिन्न । 

चाबेल वरपरका केही रहस्यबारे खोतल्न आवश्यक छ । चाबेल चोकभन्दा अलिक अगाडि मैजुबहाल छ । मैजुबहाल नामकरण कसरी भयो भन्नेबारे छुट्टै कथा छ । मैजु भनेको नेपाल भाषामा छोरी हो । छोरीहरूलाई युद्धका वेलामा जोगाउनका निम्ति त्यो ठाउँ रोजिएको थियो । त्यसैले त्यस ठाउँको नाम मैजुबहाल भयो । त्यसैगरी चाबहिल नजिकै अर्को एक ठाउँ छ, हाँडीगाउँ । यो ठाउँबारे एउटा भनाइ निकै प्रचलित छ– कहीँ नभएको जात्रा हाँडीगाउँमा ।’ किन त्यसो भनियो होला ? सामान्यतया कुनै पनि जात्रामा रथका तलाहरू ठूलोबाट सानो हुँदै जान्छ, तर हाँडीगाउँको जात्रामा भने यो सानोबाट झन् ठूलो हुँदै जान्छ । त्यसैकारणले गर्दा यसो भनिएको हो । 

इतिहासका धरोहरहरू मिल्किन मिल्दैन । सो अर्थमा म फेरि एकपटक चारुमतीलाई जोड्न चाहन्छु । म केही दिनअघि मात्र चारुमतीपरिसर अगाडि थिएँ । मनमा अनेक प्रश्नको सँगालो लिएर म प्रश्न गर्दै स्वयं उत्तर दिइरहेको थिएँ । प्रश्न थियो, के मेरो नातिले पचास वर्षपछि चाबेलको रौनकताको स्वाद लिन पाउला ? के चारुमती र यसको महत्वका अनेक गाथाहरू आफ्ना नाङ्गा आँखाले हेर्न पाउला ? पाउँछ भने के गरी पाउँछ र पाउँदैन भने किन पाउँदैन ? यस किसिमका अनेकौँ सोचको सिकार भइरहेको थिएँ म । हिजोको कुरा आज इतिहास भैसक्यो । त्यसैगरी आजको कुरा भोलि इतिहास हुनेछ । त्यसैले रोक्न नसक्ने समयलाई नहेरौँ तर बचाउन सक्ने सम्पदातिर हेरौँ । 

म चाबेलको एउटा प्रतिनिधि हुँ । चाबेलका हराउँदै गएका सम्पदा मेरा सम्झनामा छन् । त्यसको एउटा साक्षी बनेको छु म । त्यस्तै, वसन्तपुर, भक्तपुर र पाटनका सम्पदाहरूको पनि म एउटा सानोतिनो साक्षी हुँ । सम्पदाहरू जोगाउन वा भनौँ भूकम्पपछि पुनर्निर्माण गर्न ढिला भइरहेको छ । यी सम्पदाहरू विलीन हुन सक्ने चिन्ताले मलाई डसिरहन्छ । इतिहासको माया बोकेर म काठमाडौँ घुम्न निस्किएको छु । धुलोधुवाँका यातनाहरू भोग्दै म चाबेलबाट न्युरोडसम्म पुगेको छु । भत्किरहेका सम्पदाहरू देखेर एकतमासको उदासी र दिक्दारी मभित्र पलाउँछ ।