• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिशिर वैद्य
२०७६ मङ्सिर १४ शनिबार ०८:२७:००
सम्झना

विनाकारण किताब प्रतिबन्ध

२०७६ मङ्सिर १४ शनिबार ०८:२७:००
शिशिर वैद्य

कुरा ३४ वर्षअघिको हो । ०४२ सालको । साहित्यकार एवं वामपन्थी विद्वान् मोदनाथ प्रश्रित लिखित एक पुस्तक, ‘वैचारिक विकासको सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटा’को प्रेसमा धमाधम कम्पोज हुँदै थियो । भित्री पाना छापी नसकिँदै लक्ष्मीप्रसाद देवकोटाको चित्र अंकित गाता तयार भइसकेको थियो । आवरण तयार पारेका थिए कलाकार कुलमान सिंहले ।

०३५ सालमा ‘सुस्केरा’ साहित्यिक पत्रिकामा लेखकको देवकोटाबारे प्रकाशित लेखहरूको संग्रह हो यो पुस्तक । उनले ‘हिमाली’ उपनामबाट लेखेका थिए ती लेख ‘सुस्केरा’मा । शुद्धाशुद्धिपछि धमाधम क्रमबद्ध भएर फर्मा (८ पेजको एक फर्मा)हरू छापिए । फोल्डिङ, बाइन्डिङपछि गाता लगाउने कार्य पनि सकियो । पुस्तक तयार भयो । तर, ०४२ सालमा तयार भएको पुस्तक बजारमा आइपुग्न पाँच वर्ष लाग्यो । छापिएर तयार भएको एउटा पुस्तक बजार पुग्न लागेको यो समय प्राविधिक गडबडीका कारण थिएन बरु राजनीतिक गडबडीका कारणले थियो । 

समय निर्दलीय पञ्चायती शासनको थियो । पुस्तक तथा पत्रपत्रिका प्रकाशित भएर बजारमा आउनुअघि अञ्चलाधीश कार्यालयबाट स्वीकृति लिनुपथ्र्यो। तीनप्रति पुस्तक स्वीकृतिका लागि अञ्चलाधीश कार्यालयमा बुझाएपछि बल्ल बजारमा जान पाउने/नपाउने चिठ्ठी हातमा पथ्र्यो । अञ्चलाधीश कार्यालय राजाका विश्वासपात्र कर्मचारीले भरिएका हुन्थे । श्री ५ र पञ्चायती व्यवस्था बर्खिलाफ हुने गरी लेखिएका वा त्यस्तै छनक आउने केही पनि सामग्री प्रकाशित हुने, बजारमा पुग्ने सम्भावना हुँदैनथ्यो । गुप्तचरहरूले भरिएको हुन्थ्यो अञ्चलाधीश कार्यालय । 

देवकोटाबारे लेखिएको प्रश्रितको उक्त पुस्तक न व्यवस्थाविरुद्ध थियो, न पञ्चायत विरोधी, न राजा विरोधी । तर, पनि राज्य यति सशंकित र भयभीत थियो कि एउटा लेखक, कवि, समालोचक, समीक्षकसँग डरायो । नत्र देवकोटाको वैचारिक विकासका बारेमा गरिएको समीक्षाले बजार पुग्न नपाउनुको अरू कारण के नै हुन सक्ला ? त्यसैले वितरण स्वीकृतिका लागि पुगेको उक्त पुस्तक गुप्तचरका आँखामा प-यो । अर्थात् सत्ताका लागि आँखाको कसिंगर भयो पुस्तक ।

अञ्चलाधीश कार्यालय पुगेको भोलिपल्टै प्रेसबाट फोन आयो । पुस्तक प्रकाशन र वितरण गर्न बन्देजको आदेशपत्रसहित यहाँ अञ्चलाधीश कार्यालयबाट मान्छे आएका छन् । प्रकाशक र मुद्रक दुवैलाई पुस्तक बजारमा नपठाउने र बिक्री–वितरण नगरिने कडा सर्तसहितको कागज गराएर कर्मचारी फर्किए । प्रेसको एउटा कुनोमा थन्किए पुस्तक । ०४२ सालमा प्रेसमा थन्किएको पुस्तकले ०४६/०४७ को जनआन्दोलनले पञ्चायत ढालेपछि बल्ल पाठकमाझ आउने मौका पायो । 

प्रश्रितका किताबप्रति पूर्वाग्रही थियो राज्य । उनी लिखित पुस्तक पढ्नु, बेच्नु, छाप्नु मात्रै होइन, बोकेर हिँड्नु पनि राज्यद्रोहबराबर थियो । ‘मानव’ महाकाव्य, ‘नारी बन्धन र मुक्ति’, ‘देशभक्त लक्ष्मीबाई’, ‘देवासुर संग्राम’ आदि उनका थुप्रै किताब लुकीलुकी पढिने पुस्तकमा पर्थे । यी पुस्तक भूमिगत रूपमै बजारमा आउँथे । हातहातै बिक्थे । तर, कुनै पनि पुस्तक व्यवसायी यी पुस्तक खुल्लमखुल्ला बेच्ने हिम्मत गर्दैनथे । समाजमा भएका अन्याय–अत्याचारविरुद्ध लेखिएका यी पुस्तकले जनतामा जागरुकता ल्याउन र राज्यविरुद्ध आन्दोलित हुन, अन्यायविरुद्ध लड्न उत्प्रेरित गथ्र्यो । तर, देवकोटाबारे समीक्षा गरिएको पुस्तकमाथि राज्यको दमन किन ? वर्षौँपछि बुबाको पुस्तकालय खोतल्दा भेटिएको उक्त पुस्तकले मनमा प्रश्न उब्जायो । के लेखिएको रहेछ त पुस्तकमा ? उत्सुकताले पुस्तकका पाना पल्टाउन बाध्य पा-यो । 

पञ्चायतमा पुस्तक तथा पत्रपत्रिका प्रकाशित भएर बजारमा आउनुअघि अञ्चलाधीश कार्यालयबाट स्वीकृति लिनुपथ्र्यो । स्वीकृतिका लागि तीन प्रति पुस्तक अञ्चलाधीश कार्यालयमा बुझाएपछि बल्ल बजारमा जान पाउने/नपाउने चिठी हातमा पथ्र्यो ।

देवकोटाको वैचारिक विकासलाई पाँचवटा लेखमा विभाजित गरेका छन् लेखकले । ‘दन्त्यकथाका देवकोटा’, ‘सामन्ती पुनरुत्थानवादी देवकोटा’, ‘पुँजीवादी प्रजातान्त्रिक देवकोटा’, ‘समाजवादोन्मुख देवकोटा’ र ‘अस्ताचलका देवकोटा’ । दन्त्यकथाका देवकोटामा प्रश्रित लेख्छन्, ‘कलात्मक सिर्जनाको असीम प्रतिभा, सरल र मिलनसार बानी, सबै वर्गसँग घुलमिल भएर हिँड्ने मध्यमवर्गीय उदार आदत, भोलिका निम्ति सञ्चय नगर्ने फाङफुङे फकिरीपन, अनेकौँ भाषाको ज्ञान, मोहनी लाग्दो भाषणशक्ति, आदर्शवादी स्वाभिमान, सीमा नाघिरहने भावुकता र संवेदनशीलता, घटना र दुर्घटनाले भरिएको, मन्त्रीदेखि ढाक्रेसम्मको जीवनक्रम आदि–आदि तमाम कुराले देवकोटा साहित्यका क्षेत्रमा मात्र हैन अरू अनेकौँ क्षेत्रमा पनि ज्यादै चर्चित र जनप्रिय व्यक्ति बने ।’ उनी थप लेख्छन्, ‘देवकोटा जीवनको पहिलो चरण (१९७७ देखि २००३) सम्म सामन्ती पुनरुत्थानवादी छन्, दोस्रो चरण (२००४ देखि २०१०) सम्म पुँजीवादी प्रजातान्त्रिक मन्जिलमा उक्लेका छन् र तेस्रो र आखिरी चरण (२०१० पछि) मा समाजवादतिर उन्मुख हुँदै गएका छन् ।’

सामन्ती पुनरुत्थानवादी देवकोटा आलेखमा प्रश्रित लेखेका छन्, ‘आर्यवादको नारा स्पष्टतः अन्ध जातिवादी, नस्लवादी, प्रतिक्रियावादी नारा हो । तर, त्यसप्रति देवकोटाको कति धेरै निष्ठा देखिन्छ भने उनी नेपालका पहाड र रुखलाई समेत आर्य बनेको हेर्न चाहन्छन् ।’देवकोटामाथि विभिन्न समयमा विभिन्न लेखक, समीक्षकले समीक्षा गरेका छन् । युग पाठक तिनीहरूमध्येका पछिल्ला पुस्ता हुन् । प्रश्रितका यी अभिव्यक्तिजस्तै देवकोटामाथि समीक्षा गर्दै आफ्नो पुस्तक ‘माङ्गेना’मा युग लेख्छन्, ‘देवकोटाको ‘के होइन’ कोणबाट हेर्दा नेपाल गैरआर्य भावना उत्पादन गर्न सक्ने देश होइन, गैरदैवसंस्कार अर्थात् गैरहिन्दु हृदयस्पन्दन निकाल्न सक्ने होइन र गैरपहाड होइन । यी हो÷होइनहरूबाट नेपाल कुन परिकल्पना सामुन्ने आउँछ त ?’ (माङ्गेना, पृष्ठ ६४)

प्रा. चूडानाथ भट्टराई, डा. ईश्वर बराल, गोविन्द भट्टलगायतका समीक्षकले विभिन्न समयमा विभिन्न पत्रपत्रिका र समीक्षामार्फत देवकोटाका कृति र विचारमाथि समीक्षा गरेका छन् । आलोचना गरेका छन् । प्रश्रितले देवकोटामाथि समीक्षा गर्नु, आलोचना गर्नु र ती अभिव्यक्ति पुस्तकाकृत गरी प्रकाशन गर्नुलाई राज्यले किन सहेन त त्यसो भए ? पाठकका अनुसार– ‘दरबार प्रतिनरम र राजनीतिक दलहरूप्रति गरम देवकोटा त्यसबखत विकसित भइरहेको ‘राष्ट्रको समृद्धिका लागि राष्ट्रभाषाको आरोप, समरूप जनताको निर्माण र राजाको नायकत्व’ अवधारणाको मुख्य अभियन्ता देखिन्छन् (माङ्गेना, पृष्ठ ७०)।’

पुस्तक पढिसक्दा राज्यविरुद्ध केही पनि कुरा सम्प्रेषित भएको भेटिँदैन । भेटिन्छन् त केवल देवकोटामाथि केही कडा आलोचना र उनको वैचारिक विकासको समीक्षा । त्यसो भए पुस्तक जफत हुनुको मूलकारण के थियो ? यसको सटिक जवाफ त तत्कालीन सरकारका चाकरहरूलाई बढी थाहा होला । तर, पाठकको विश्लेषणमा ‘देवकोटाले हिन्दुत्व, आर्य सभ्यता र राष्ट्रभाषाको उही भाष्य बोकी हिँडेका थिए जुन पञ्चायतको मन्त्र थियो ।’ सायद, त्यसैले पुस्तक पाठकसम्म पुग्नबाट रोकियो ।

पञ्चायतकाल त्यसै पनि पुस्तक प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतामा निरंकुश थियो । पुस्तक, पत्रिका प्रकाशन र बिक्री–वितरण गरेकै आधारमा राज्यद्रोह लागेका, हिरासतमा यातना भोगेका थुप्रै उदाहरण छन् । पुस्तक बोकेको, घरमा राखेको भन्दै जेलजीवन भोग्न बाध्य पारिएका देशैभरि थुप्रै भेटिन्छन् अहिले पनि । अभिव्यक्तिमाथिको तत्कालीन अंकुशका साक्षी हुन् तिनीहरू । प्रश्रितका मात्रै होइनन्, अन्य थुप्रै लेखकका पुस्तक, रचना पनि प्रतिबन्धित थिए त्यस समय, यो वा त्यो बाहनामा । 

वर्तमान गणतान्त्रिक नेपालमा अभिव्यक्तिमाथि फेरि पनि अंकुश लगाउने प्रयास भइरहेको छ । नेता आफूले भोगेको कष्ट किन बिर्सिँदैछन् ? पुस्तक प्रकाशित हुन, पाठकमाझ पुग्नबाट रोकिएका, अड्चन तेस्र्याइएका थुप्रै घटना वृत्तान्त छन् । यो पुस्तकचर्चा एउटा प्रतिनिधि घटना मात्रै हो ।