• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
खगेन्द्र संग्रौला
२०७६ मङ्सिर १४ शनिबार ०८:४४:००
समाज

प्रातः लमक्मा चरमपन्थीहरू

हा, हा, हा, हा ! भिटेनले हाम्रो यस्तै झल्लापनलाई त गिज्याएका होलान्— हामी यस्तै त हो नि ब्रो !

२०७६ मङ्सिर १४ शनिबार ०८:४४:००
खगेन्द्र संग्रौला

मर्निङ वाकमाला 

वृत्त साँघुरो छ, तर यो साँघुरो वृत्तभित्र प्रवृत्तिको भने बिछट्टको विविधता छ । र, नै त मेरो प्रातः लमक्को लघु संसार हुनसम्म रोचक छ । आज मेरो सम्झनामा प्रातः जगत्का चरमपन्थीहरू आए । उः– एक, दुई, तीन, चार । विषय प्रसंगले अर्को अर्थ नलागेमा यहाँ चरमको अर्थ अति हो । अति अर्थात् अस्वाभाविक, असन्तुलित, उग्र, उत्ताउलो, अर्घेलो आदि । जीवनमा यो चरम हरपल सर्वत्र उपस्थित छ । आखिर यो चरम छ र नै त जीवनमा सन्तुलित, मर्यादित एवं सौम्य स्वभाव र सोमतको यत्रो महत्ता छ !

कुरा गरौँ अब चरमपन्थी नम्बर एकको । भाले बास्ने याम थियो । वनकाली वन चकमन्न र शान्त थियो । वनका समस्त कीट–पतंग, पन्छी एवं पशु बिहानीपखको शेष निन्द्रामा निमग्न थिए । बुद्धिमान् लाटोकोसेरो सदाझैँ गुरुगम्भीर मुद्रामा चिन्तनमग्न थियो । जीबेचरी मसिनो माधुर्ययुक्त स्वरमा, दीर्घ लयमा, नित्य जागरण गीत गाइरहेको थियो । यत्तिकैमा वनको छेउमा हठात् अट्टहासको विस्फोट भयो ।

अट्टहास अर्थात् तोरीलाहुरे टाइपको लहरे हाँसो । अट्टहास कर्णकटु थियो, उत्ताउलो थियो । त्यो पट्यार र उद्विग्नतावद्र्धक थियो । र, थियो त्यो भयानक ध्वनि प्रदूषणकारी पनि । प्रातः लमक्को शैशवकालमा थिएँ म । लमक् जगत्का थुप्रै कुरामा म अभ्यस्त हुन बाँकी नै थियो । जब त्यो अट्टहासले मेरा कानका कोमल जालीमा अतिक्रमण ग-यो, म झस्किएँ । र, म आश्चर्यचकित हुँदै गम खाएँ– के तालको जीव हो यो ? यो सद्दे हो कि खुस्केट हो ? वनकालीका जीवहरूको एकान्त वासस्थलमा ध्वनिआतंकको सिर्जना गर्ने को हो यो चरमपन्थी ? को हो यो रैथाने आदिवासी पीडक अघोरी ?

चरमपन्थी जीवात्हरूको अट्टहास सिरियल जारी रह्यो । ऊ, एउटा उत्ताउलो यता हाास्यो, अर्को उत्ताउलो उता हाँस्यो । झन् अर्को उत्ताउलो झन् उता हाँस्यो । को चर्को हाँस्ने– तँ कि म ? को बढ्ता उत्ताउलो सुनिने– तँ कि म ? वनवासीहरूको ध्यान कसले ज्यास्ती आकृष्ट गर्ने– तैँले कि मैले ? एवं रीतले यी चरमपन्थीमाझ चरम होडबाजी चल्यो । बमनकारी अट्टहास समस्त गगनमा व्याप्त भयो । र, मैले आत्तिँदै सोचेँ– मेरो प्रातः लमक् धेरै दिन चल्लाजस्तो छैन । नानाओली चरमपन्थीको आखेटमा परेर सायद म आजभोलि नै सदाका लागि लमक्लाई बिसाउन विवश हुनेछु । लामो सुस्केरा हालेँ, र कत्ति मनै नलागी त्यो कुरूप र संवेदनाघाती अट्टहास सुन्दै म अगाडि लम्किएँ ।

हिजो, आज, भोलि र पर्सि । अट्टहास अविराम चलिरह्यो । अट्टहास बिहानैपिच्छे सुन्दै जाँदा मेरो संवेदना शनैःशनैः थेत्तरो हुँदै गयो । र, मलाई लाग्यो– यो यस्तै हो । यस ध्वनि–मण्डलेकोे मुख थुन्न केही गर्न सकिन्न । अब कि छाड्नुप-यो मैदान कि पचाउनुप-यो यो जहर ! विवशता जीवनको अप्रिय सहयात्री हो, जसले कहिल्यै साथ छाड्दैन । तसर्थ, जसरी हुन्छ अब यसलाई झेल्ने हो । सुन्दै जाँदा मेरो सोचाइ अर्को कोणतिर मोडियो । अचम्म ! अब म त यो विद्रूप अट्टहासका फाइदाबारे पो सोच्न थालेँ । यो अँध्यारो एकलासे वन खतरामुक्त छैन । कतै झ्यासझाडीमा भोको चितुवा पो लुकी बसेको होला कि ! कतै दिग्भ्रमित ट्यापे ब्रोहरू केही धुत्ने दाउमा पो होलान् कि ! अथवा गाँसको प्रबन्ध र वासको ठेगाना नभएका पेटीवासी परित्यक्त र तिरष्कृत भिखारीहरू......?

पहिले एसएलसीमा ‘जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ’ भन्ने बडो आशावादी सूत्र पढेको थिएँ । अहिले यो कर्कश अट्टहासमा त्यो घेरो गोचर भयो । निरूपाय भएर झेल्दै, अभ्यस्त हुँदै र पचाउँदै जाँदा यो खैलाबैला त सुरक्षाकारी तत्वजस्तो पो लाग्नथाल्यो मलाई । यो अन्धकारमा, यो एकलासमा, भयव्याप्त यो चकमन्नतामा एक्लै हिँड्दा यो चरमपन्थी कुतत्व मेरो एक साथी बन्यो, एक सहारा बन्यो । अनि थेत्तरो मुद्रामा तह–तहको स्वरलाई हल्लाउँदै म पनि प्रत्युत्तर अट्टहास दिन थालेँ— हा, हा, हा, हा ! भिटेनले हाम्रो यस्तै झल्लापनलाई त गिज्याएका होलान्— हामी यस्तै त हो नि ब्रो !

चरमपन्थी नम्बर दुई मेरा दृष्टिमा एक हदै दुखिया जीव हुन् । मेरो लमक्पथमा यी बडो कारुणिक दृश्यमा उदाए र अल्पकालमै दृश्यबाट अलप भए । झलक्क हेर्दा यी राजदलको भीमेजस्ता लाग्थे, अजंगको ज्यान भएका मनुवा । मिस्टर भीमे ज्यान अन्सारको खान्की नपुगेर होला सायद, विशाल कंकाल मात्र बाँकी थिए । यी दुखियाको देहजन्य हबिगत पनि त्यस्तै थियो । यी प्रायः गुह्येश्वरी र गोठाटारको बीचमा भेटिन्थे । सधैँ उही ठाउँमा, सधैँ उही तालमा । म लमक्बाट फर्कँदै हुन्थेँ, यिनी मेरै दिशातर्पm उन्मुख हुन्थे । यी अगाडि होइन, बाटाको दायाँ–बायाँ हिँड्थे ।

भित्तातिर कुइँक्क, छेउतिर कुइँक्क । धर्मराउँदै एकदम छिटोछिटो । अरे, यिनले भित्तामा नाक पो ठोक्काउलान् कि ! अथवा अरे, यी छेउको डिलबाट उँधो पो मुन्टिएलान् कि ! हिँड्ने अघोरीलाई किञ्चित मतलब थिएन, देख्नेलाई लाग्नुविधि डर लाग्थ्यो । यिनी बिलकुल एक सुरमा हुन्थे । आफू र आफ्नो सुर सिवाय यिनलाई केहीको वा कसैको बाल मतलब थिएन । के हिउँद के बर्खा, के बतास के झरी, यी हर्दम उही ठाउँमा, उसैगरी हाजिर हुन्थे । हेर्दाहेर्दै यिनको अघोरी हिँडाइले दोस्रो रूप धारण ग-यो । अब यी दायाँ–बायाँ हिँड्न होइन, खुट्टा घिसार्दै घस्रिन थाले । त्यो दृश्य मलाई बडो कष्टपूर्ण लाग्यो, हेर्नै नसकिने । यी दुखियाको यो मरिहत्तेको प्रयोजन के होला ? मैले आफैँलाई सोधेँ । शारीरिक तन्दुरुस्ती कि स्वर्गको द्वार खोल्ने मनचिन्ते कामना ?

अलि पछि यिनको हिँडाइले अझ अर्को रूप लियो । अब यी उल्टो हिँड्न थाले । यस्सो मुन्टो घुमाएर पछाडि हेर्छन् अनि उल्टो लमक् दिन्छन् । बाटो उबडखाबड छ । बाटामा कतै ढुंगा छन्, कतै खोबिल्टा छन् । वर्षायाम छ, यत्र–तत्र खोबिल्टामा पानी जमेको छ । चप्ल्याङचुप्लुङ । धरमराहट । गल्र्याम्म ! यी सद्दे हुन् भनुँ, सद्देजस्ता लाग्दैनन् । यी खुस्केट हुन् भनूँ, लमक्को सुर कत्ति छाडेका छैनन् । यिनको यो कत्रो प्रतिबद्धता ! यो कत्रो साधना ! यो कत्रो समर्पणभाव ! यी कतै पाहाझैँ हिले भुइँमा चिलिम् भा’छन् । कतै हिलैमा नाक जोतेका छन् । तर, यिनलाई यो सब गडबडीको कुनै फिक्री छैन । चिप्लियो, मुन्टियो । लड्यो, उठ्यो । पछाडि हे-यो, लमक् दियो । फेरि लड्यो, फेरि उठ्यो । मान्छे यी अघोरी हुन्, अघोरी र ज्याद्रा ।

यी चरमपन्थी दिनदिनै झन्–झन् दुब्लाउँदै गए । तर, हठधर्मी साधनाबाट एक इन्च पनि विचलित भएनन् । छुटे बरु सास छुटोस्, गोज्यांग्रे लमक् नछुटोस् । एक दिन त बरा यी लमक्मै ढलेछन् । यी ढले र बिचरा उठ्न सकेनन् । दुर्भिक्षपीडित देहमा दम भए न उठून् ! म उनको समीपमा पुग्दा सहयात्री वाकेहरू सहारा दिएर उनलाई अगाडि डो-याउँदै रहेछन् । हेरेँ— नाकबाट रगत बगिरहेको छ ।

निधारमा टुटुल्को उठेको छ । देह सन्तुलनमा छैन । आँखाभरि टलपल–टलपल आँसु छन् । उनको बहुलट्ठीयुक्त साधना शारीरिक सुगठन र सुस्वास्थ्यका लागि भए त्यो इच्छा यत्तिकै खरानी भयो । वैकुण्ठवासी भगवान्का कृपादृष्टिको आस भए त्यो आस पनि यत्तिकै शेष भयो । र, यसरी एक कोकल्याँटे चरमपन्थीको जिद्दीको दुःखद अवसान भयो । र, फेरि ती कंकालको कहिल्यै नाकमुख देख्न पाइएन । विडम्बनावश, यी चरमपन्थीको त्यतिबिघ्न कष्टसाध्य साधना यिनका भगवान्ले देखेनन् । तैपनि धर्मराउँदै यी कारुणिक स्वरमा आफ्ना पाषाणहृदयी प्रभुको पुकारा गर्दै थिए– हे भगवान् !

तेस्रो चरमपन्थीको कथा छोटो छ । छोटो, तर हदै चरमपन्थी । एक बिहान म वनकाली वनमा तीन फेरो मारेर मन्दिरअगाडि सिँढीपथमा निस्के । र, त्यहाँ मैले जे देखेँ, सपनाको सपनामा पनि नचिताएको दृश्य देखेँ । एउटा २५–३० वर्षको पट्ठो व्यायाको चरमपन्थमा लीन थियो । सिँढीपथमाथि करिब ६ फुटको पर्खाल उठेको छ । पर्खालको पाँचौँ फुटतिर दुईवटा प्वाल छन् । पट्ठो ती प्वालमा दुई खुट्टा छिराएर जीउ दोबारेर उँधो मुन्टो भई झुन्डिएको छ ।

चकित हुँदै म गम खान्छु– यो चरमपन्थीले प्वालमा खुट्टा छिरायो कसरी ? जीउ दोबारेर मुन्टो झुन्ड्यायो कसरी ? अनि यो यतिकाबेर झुन्डिरहेको हो कसरी ? अगाडि रमिते झुम्मिएका छन् । सबैका अनुहारमा भयको छाया छ । यो पट्ठो अब प्वालबाट निस्कन्छ कसरी ? यसले लत्रिएको जीउ उठाउँछ कसरी ? पर्खालमाथि माथि केमा समातेर खुट्टा झिक्छ ? रमितेको सहारा माग्न यसकोढ्याके अहं नमान्ला । मलाई लाग्यो– लो, आज यो हरिप ढुंगामा टाउको बजारेर मर्छ । पक्का मर्छ यो ! त्यो मृत्युन्मुख दृश्य हेर्ने धैर्य निख्रिएर म त्यहाँबाट भागेँ । दिनभरि र रातभरि पनि मलाई बेचैन भइरह्यो । त्यो कसरी ढुंगामा बज्य्रो होला ! त्यसको टाउको फुट्दा रगतका सिर्का कति परसम्म उछिट्टिए होला ! एकबारको जुनीमा के हात पार्ने अन्धबुद्धिले उसले त्यसरी हत्ते हालेको होला !

भोलिपल्ट बिहान तीतो चिया बेच्ने बहिनीलाई सोधे– ‘बहिनी त्यो के भो ?’ ‘को ? त्यो उँधोमुन्टे ?’ ‘हो, त्यो ।’ ‘त्यो जीउ उठाएर खुट्टा झिकेर गयो ।’ ‘त्यो मरेन ?’ मेरो अप्रिय प्रश्न सुनेर चियावाली बहिनी मुसुमुसु हाँसी । मलाई कसोकसो लाज लागेर आयो ।चरमपन्थको अन्तिम कथाले सानो पृष्ठभूमि व्याख्याको माग गर्छ । यो सत्ताको गोप्य खोपीको कथा हो ।

म आश्चर्यचकित हुँदै गम खाएँ– के तालको जीव हो यो ? यो सद्दे हो कि खुस्केट ? वनकालीका जीवहरूको एकान्त वासस्थलमा ध्वनिआतंकको सिर्जना गर्ने को हो यो चरमपन्थी ? को हो यो रैथाने आदिवासी पीडक अघोरी ?

संविधान लेखन चल्दै थियो । माथि उच्चासनमा सनातनी शासक प्रमुख गजधम्म विराजमान भएका थिए । तल भुइ“मा तीनजना वकिल दासवत् मुद्रामा बसेका थिए । ती तीनैजनाका हातमा कैँची थिए । ‘आज्ञा पाऊँ प्रभु !’ पहिलो कैँचीधारीले याचना ग-यो । ‘संविधान फटाफट लेख, र सही लेख,’ माथिबाट आज्ञा भयो । दोस्रो कैँचीधारीले पुकारा ग-यो, ‘ख्वामित्, जगत्का होचा–पुड्का हजुर–हामीसरह अग्ला बन्ने जिद्दीमा छन् ।’ ‘को हुन् ती?,’ प्रभुबाट कठोर स्वरमा सोधनी भयो । ‘ती आइमाई हुन् महोदय । ती दलित हुन् । ती समतलवासी कृष्णवर्णी जीवात् हुन् । ती मतवाली थेप्चे हुन् ।’ ‘तिनको जिद्दीलाई लतार !’ प्रभु गज्र्यो । ‘यो दुनियाँमा मालिक र नोकर, दिने र माग्ने उत्तिकै अग्ला कहाँ हुन्छन् ?’ तेस्रो वकिलले आज्ञा माग्यो, ‘प्रभु ! यो धर्मनिरपेक्षतालाई के गर्ने ?’ प्रभुबाट हत्तपत्त आज्ञा बक्स भयो, ‘निरपेक्षताको नाक काट !’ कैँचीधारी रकमीले काट्यो । पहिलो वकिलले निवेदन ग-यो, ‘अन्तरिम संविधानमा राष्ट्रिय जनावर छुटेछ प्रभु, यसमा के गरूँ ?’

मुस्कानमय प्रभुवाणीमा आदेश भयो, ‘गौमाता राख ।’ दोस्रो वकिलले आत्महीन लवजमा ख्वामित्छेउ बिन्ती चढायो, ‘ख्वामित्, यी पहिचान, समानता, प्रतिष्ठा, यी के–के र के–केलाई के गरूँ ?’ ‘मिलाएर कैँची कटान गर,’ यहाँनेर विजयी प्रभु खित्का छाडेर हाँसिबक्स्यो । बस्, कुटिल कैँचीले क्रुरतासाथ यत्रतत्र काटिँदा अन्तरिम संविधान रगतपच्छे भयो । र, त्यही रगतले संविधान लेखियो ।

संविधान लेखनकाल भीषण द्वन्द्वकाल थियो । द्वन्द्वको अग्निज्वालाबाट आदिवासी र पछिवासीका कुरा उठे । केन्द्रवासी र सीमान्तवासीका कुरा उठे । वञ्चनाकारी र वञ्चितका कुरा उठे । र, इतिहासमा ठगिएका आदिवासीले केही क्षतिपूर्तिको इच्छा गरे । केही राहतको दाबी गरे । उच्चासनधारी प्रभु र कैँचीधारी सेवक झस्किए । र, तिनले जे गरे, उल्का गरे । तिनले अनर्थ गरे । तिनले हास्यास्पद ज्यादती गरे । 

एक बिहानको कुरा हो । म गोठाटारको टुप्पोबाट ओरालो झर्दै थिएँ, तलबाट मित्र चैतन्य मिश्र उकालो लागे । भेटमा हामीले सदाझैँ ‘गुड मर्निङ’को अभिवादन आदान–प्रदान ग-यौँ । हठात् मलाई नितान्त नवीन एवं चमत्कारपूर्ण आविष्कारको सम्झना भयो । आविष्कारक थिए, उनै उच्चासनधारी प्रभु र उनै निम्नासनधारी कैँचीवाल । अघिल्लो साँझ उक्त दिव्य आविष्कारको घोषणा भएको थियो— अबलाई खस–आर्य पनि आदिवासी भए । ल जा ! सुनेर म त्यसै–त्यसै चकित एवं विस्मित भएँ । मेरो दिमागभरि कुरिकुरीकारी हाँसो टनाटन भरियो । अरे, दिमाग ड्यांग विस्फोट पो होला कि ! पलपल मलाई डर थियो । मैले चैतन्य ब्रोका कान थर्किने गरी भनेँ, ‘जय आदिवासी !’ हम्मेसी नहाँस्ने चैतन्यजीका मुखबाट भयानक हाँसो विस्फोट भयो । त्यो विरेचनकारी विस्फोटको प्रत्युत्तरमा मेरो मुखबाट झनै चर्को विस्फोट भयो । त्यो ऐतिहासिक विस्फोट सुनेर मानौँ आकाश–बतासधरी चकित–चकित भए !