‘निर्वेद’ लेखक शैलेन्द्र अधिकारीको औपन्यासिक पुस्तक हो । पद्य विधामा दशकदेखि सक्रिय अधिकारीको यो पुस्तक पहिलो गद्याख्यान हो । ‘निर्वेद’ भनेको वैराग्य हो । ज्ञानविरक्ति, विचारविरक्ति, भावविरक्ति, सुखविरक्ति, दुःखविरक्ति, परिवारविरक्ति, मानापमानविरक्ति, लाभालाभविरक्ति नै वैराग्य हो र निर्वेद हो । निर्वेद शान्तिसम्म पुग्ने त्यो खुट्किलो हो, त्यसपछि शान्तिमा नै टेकिन्छ र शान्ति नै निर्वाण, मोक्ष र मुक्ति हो ।
स्नातकोत्तर तहमा अध्यनरत मसान र ज्ञान सन्न्यासको पृथक्ता खोज्न निस्कन्छन् । आर्यघाट र पशुपति क्षेत्रका साधु, सन्न्यासी र वैरागीहरूको संगतमा पुग्छन् । ‘वैरागी मरा न्वा न्वा के सन्न्यासी मरा खा खा के’ भनेअनुसारको त्यहाँको व्यावहारिकताबाट जिज्ञासा शान्त नभएको अनुसन्धाता अझ गहिरो संगति र सूचनाका लागि आश्रममा नै पुगेर धोती फेर्छन् ।
खासमा मसान (क्षणिक) वैराग्य भनेको पानीका फोकाजस्तो हुन्छ, जसलाई रससिद्धान्तको भाषामा व्यभिचारी भाव भनिन्छ । नामै व्यभिचारी छ भने त्यसको स्वभाव र प्रभाव कस्तो होला, स्वतः अनुमेय छ । कसैको मृत्यु, दुरवस्था, असफलता, अभावका कारण हुने भंगुरताको क्षणिक झट्का मसान वैराग्य हो । यसको गति तलमाथि दुवैतिर जान्छ, अर्थात् सम्पत्तिमा मात्तिने र विपत्तिमा आत्तिने स्वभावको अर्काे रूप मसान वैराग्य हो, यसलाई मसान आसक्ति पनि भन्न सकिन्छ ।
विपरीत हो ज्ञानवैराग्य । ज्ञान, अध्ययन, चिन्तनमननका कारण व्यक्तिले गर्ने जीवन र जगत्प्रतिको गहिरो बोध र त्यसबाट मनमा उब्जिने नैराश्य, निर्माया र विकुण्ठा नै ज्ञानवैराग्य हो । त्यस्ता व्यक्ति नामशून्य, कामशून्य, स्थानशून्य र कालशून्यको अवस्था वा निस्त्रैगुण्य समाधिमार्फत परंपदपथिक बन्न पुग्छन् । मसानवैरागी त जोसुकै बन्न सक्छन् तर ज्ञानवैरागी जन्मिन युगै कुर्नुपर्छ । यही सामान्य पृथक्ताबोधका लागि प्रेमिकासित बिदा मागेर आश्रम छिरेको व्यक्ति सन्न्यासीहरूकै मायामा फस्नु उपन्यासको पूर्वांग हो । कसरी फस्यो, त्यो उपन्यास हो ।
उपन्यासमा यौटा पात्र छ, जो मसानवैराग्यको नमुना हो । उसको नाम त निर्वाण हो, तर ऊ दशै दिशाबाट बाँधिएको छ । उपन्यास नै उसैको कथा हो । सजिलोका लागि मुला भनिए तापनि ऊ मुल्याहा हो । त्यो पनि बाबुको मूल परेको माहिलो छोरो न रहरको न कहरको । बस् उसले घरमा खान पायो, मर्न पाएन । घरमा अपहेलित भयो बाबुबाट । उसलाई प्राथमिकता दिएर कुनै सकारात्मक व्यवहार बाबुले गरेन् । गरे त केवल गाली, घृणा, उपहास र बेइज्जती ।
जसका कारण ऊ बन्यो, विसंगत, क्रूर, अनुदार, निराश, अनुत्तरदायी । तर, मुल्याहा भएका कारण मान्छे यस्तो बन्यो भनेर जस्तो घटनापूर्ण तर्क दिन खोजिएको छ, त्यसमा सहमत हुन अलि जटिल लाग्न सक्छ । घर छाडेर भाग्ने, खोलामा पौडी खेल्ने, झगडा गर्ने, कन्डम फुक्ने, चुरोट तान्ने, दारु खाने, दैहिक गन्धमा लठ्ठिनेजस्ता क्रियाकलाप मुल्याहा नभएकाले पनि गर्छन् । तर, मूल नक्षत्र परेको सन्तानप्रतिको परम्परागत सोचाइ र त्यसले मानिसको लामो जीवनमा पार्ने नकारात्मक प्रभावलाई सुन्दर आख्यानीकरण गर्नुलाई उपन्यासकारको वैशिष्ठ्य मान्न सकिन्छ ।
बाल्यकालमा बाउले उनलाई मुला बनायो, युवावस्थामा आफैँले आफैँलाई मुला बनायो । मतलब मुल्याहा भएका कारण आफूले सहेको प्रताडनाका विरुद्ध बालिग भएपछि पनि उसले केही गरेन । कुनै प्रतिशोध, प्रतिक्रिया वा विरोध गर्न नसकी लाचारी मात्र प्रकट गरिरह्यो । न बाबुका विरुद्ध एक शब्द बोल्यो, न धर्मका विरुद्ध बोल्यो, न परम्परा, रुढि र संस्कृतिका विरुद्ध बोल्यो । बरु आफूसमेत त्यसैमा जाकियो । ‘मुल्याहा भएकै कारण अभिशप्त भएँ, अकिञ्चन भएँ, नारकीय जीवन भयो’ भन्ने विषाक्त भावनाले उसको अवचेतनलाई उचेरिरह्यो ।
फलस्वरूप जीवन अनिश्चय, अनिर्णय र उल्लासहीनताको भुमरीमा भासिइरह्यो । न सुराले शान्ति दियो, न सुन्दरीले । किताब त उसले पनि पढ्यो, तर ज्ञान पाएन । प्रेममा पागल हुन खोज्यो तर भएन । किनकि उसले प्रेम गरेकै थिएन । मोहित भएको थियो रूपमा, कपालमा, लिपिस्टिकमय ओठमा, गाजलु आँखामा, खिरिला औँलामा । पार्वतीलाई फसाउन गएको जालन्धर पार्वतीको सौन्दर्यबाट यति मोहित भयो कि ठाउँको ठाउँ भुक्लुक्कै ढल्यो । तर, महादेव ढलेको सुनिएन । प्रेम गर्नु र शरीरमा लिप्सिनु पृथक् हो । बाबुको घृणाले उसलाई आपराधिक मनोवृत्तिको बनाइदिएको हो, आपराधिक मानसिकताबाट भएको प्रेम सिर्जनात्मक हुने कुरै भएन ध्वंसात्मक भयो अर्थात् भ्रूणहत्या भयो । प्रेमकोे दुःखान्त । त्यसपछि प्रेम मेरो कर्ममा छैन रहेछ भन्नेतिर लाग्नुको सट्टा जतिवटी भेट्यो, त्यतिसित वेश्यागमन गर्नुले ऊसित अन्तहीन यौनपिपासा छ भन्ने बुझिन्छ ।
सबै कुकर्मको करामत सकिएपछि सन्न्यासी बन्छु भनेर हुन्छ ? सच्चा योगी (शिवपुरीको बाबा)ले ढोँगीलाई चिने र दीक्षा दिन इन्कार गरिदिए । धर्मले पापीलाई सुध्रिन उपाय देखाएको छ तर सजिलो छैन । भक्ति, दया, पूजा, श्रद्धा, दान, अस्तेय, अपरिग्रह, सत्संगजस्ता घुम्ती पार गरेर मुमुक्षु ब्रह्मज्ञानको पात्र बन्न सक्छ । तर, उपन्यासको नमे नानीको जवानीको पछि लाग्न छाडेको तीन महिनामा बनेर निस्किन्छ स्वामी निर्वाणानन्द । त्यसमाथि अर्काले बनाइदिएको आश्रमको हर्ताकर्ता, आश्रमको स्वामित्व त बाँदरलाई लिस्नो । धर्म–सम्प्रदाय फरक होला, तर लामा, स्वामी, पिर, फादरका रूपमा धार्मिक परिवेश धमिल्याउनेहरू छन् भन्ने समसामयिक सत्यको उद्घाटन उपन्यासमा भएको छ ।
‘बुरे कामका बुरे नतिजा’ भनेझैँ निर्वाणानन्दको अवसान त हुने कुरै भएन, तर तुलनात्मक रूपमा उसको मृत्यु असहज भएन । मसानवैरागीका लागि उभ्याइएको निर्वाणानन्द वा नमे चरित्र सफल देखिन्छ । अभिशप्त छ, असफल छ, कुचेष्टाले भरिएको छ, कुकृत्यमा प्रथम श्रेणी छ, क्रूर छ, डरपोक छ, पलायनवादी छ, उत्साह, उमंग र उत्तरदायित्वसित भेटघाट छैन । यति भए के चाहियो ?
अर्काे चाहियो ज्ञानवैरागी, जसमा निराशा नहोस्, राग नहोस् र सच्चित् होस् । जसको विश्वास परंपद प्राप्तिका लागि सन्न्यासमार्गमा होस् । उपन्यासमा कथन छ– जीवनप्रति मोह नभएको मानिस सन्न्यासी बन्ने हो ? म अझ उत्कृष्ट जीवन बाँच्न चाहन्छु । काम गर्नाको गाह्रोले जोगी भयो भन्ने हाम्रो सामाजिक धारणाको विरुद्ध सन्न्यासीलाई जीवनदर्शनको साँचामा हेर्ने काम गरिएको छ, यो नयाँ निष्कर्ष हो । सन्न्यासीको भेद छुट्याउन गएको मान्छे आफैँ सन्न्यास मार्गतिर आकर्षित हुन पुग्नु नै उपन्यासको विस्मयावस्था हो । कुनै व्यक्तिको जीवनले अर्काे व्यक्तिलाई निर्वैदिक बनाउँछ कि बनाउँदैन ? बनाउँनेमा पाठक सहमत हुन सक्यो भने लेखकको प्रयास सफल भयो । सहमत गराउने किसिमको प्रस्तुति नै लेखकत्व हो भन्ने मेरो स्पष्ट विचार छ ।
उपन्यासको अन्तिम बिसाउनी अहम् ब्रह्मास्मि हो । यो अध्याय पढेर ब्रह्मबोध हुनेवाला छैन किनभने यो उद्देश्यको उद्घोष वा घोषणापत्र मात्र हो । साधनाका लागि एक जन्म पर्याप्त छैन किनकि अनेक जन्म संशुद्धिस्ततो याति परां गतिम् ।खप्तड बाबा (सच्चिदानन्द सरस्वती)ले साहित्यकार बदरीनाथ भट्टराईलाई गृहस्थ सन्न्यासी भन्दा रहेछन् । महर्षि वशिष्ठ ब्रह्मज्ञानी थिए गृहस्थ पनि थिए यस्ता सयौँ उदाहरण छन् गृहस्थी हुँदाहुँदै ब्रह्मज्ञानी थिए, उनीहरू मुक्त भए ।
यसबाट ब्रह्मज्ञान वा वेदान्त दर्शन गेरुधारीहरूको मात्र हैन, सबैको हो भन्ने थाहा हुन्छ । तर, उपन्यासकारले वर्तमानका योगी र ढोँगीहरूबाट मात्र प्रभावित भई वेदान्त दर्शनलाई बुझ्न र मोक्ष हुन गेरुधारी नै हुनुपर्छ, गृहस्थीहरू लोभानि पापानिमा परेर वितरागी बन्न सक्दैनन् त्यसकारण उनीहरूको वशमा ब्रह्मज्ञान र तत्प्राप्तिस्वरूप सच्चिदानन्द छैन भन्ने एकांकीपूर्ण धारणा स्थापित गर्न खोजेको हो कि जस्तो लाग्छ । नभए के त ? भन्ने प्रश्नको खुलासा उपन्यासमा पाइन्न । यस सन्दर्भमा विविधता दिन सकेको भए उपन्यासमा नवीनता अझ झल्किने थियो ।
उपन्यासको सामाजिकता र वैचारिकतामा जटिलता प्रतीत भए तापनि औपन्यासिकताको सरलता नै निर्वेद उपन्यासको कलात्मकता हो । सरल कथा, कपटरहित वर्णनशैली, हास्ययुक्त पाल्छी संवाद र भावुक वृत्तान्तले पाठकलाई उपन्यास सँगै लिएर हिँडिरहन्छ । उपन्यास कथाका कारण समसामयिक र दर्शनका कारण सार्वकालिक भएकाले पठनीय र संग्रहणीय पनि छ ।