• वि.सं २०७६ मङ्सिर ३० सोमबार
  • Monday, 16 December, 2019

उस्तै धीर उस्तै विनयी

२०७६ मङ्सिर १४ शनिबार १२:०६:००

उदास बग्दै छ बागमती र बागमतीभन्दा फराकिलो सडकमा बाक्लो आवतजावत छ, बेचैनीको । विनय सर चीर निद्रामा पल्टिरहनुभएको छ, स्थिर र लमतन्न । आङभरि चढाइएका छन्, श्रद्धाका फूल र प्रेमका माला । चाँदीमय केश र मुस्कानपूर्ण अधरमा विश्वासको अबिर लतपतिएको छ । उदासै छन्, वरिपरिका सहस्र आँखाहरू । दुई अढाइ घन्टासम्म आइरहे, गइरहे चिनारुहरू । लेखकहरू, सञ्चारकर्मीहरू र बुद्धिजीवीहरू । अनि लगियो विद्युतीय शवदाह गृहभित्र । पहिलो कक्षमा फेरि एकैछिन विश्राम गराइयो । अनि लगियो, सिसाभित्रको भित्री कोठामा । त्यहाँ त थपिएन फूल, माला र अबिर । बरु सबै–सबै माला र फूलका गुच्छा निकालियो र थुपारियो कुनै कुनामा । 

उस्तै धीर र उस्तै विनयी मुखमण्डलमा अभिनवले चढाए जल र गरे तीन फन्को परिक्रमा । अभिनवलाई साथ दिए आफन्तले । जसै साष्टांग दण्डवत् गरे अभिनवले, अनि खुल्यो ढोका । भित्र लपलपाउँदो रातो न रातो आगोको ज्वाला दन्कँदो थियो । त्यहीँ छिर्नुभयो विनय सर एक्लै र पलभरमै त्यो रातो ज्वालामा दन्कन थाल्नुभयो । उत्निखेरै बन्द भयो, विद्युतीय शवदाह यन्त्रको द्वार । बाहिरिए सम्पूर्ण उपस्थित कलमजीवी जलमय आँखा लिएर । अनि लागे अनेकानेक गन्तव्यतिर मृत्युले भयाक्रान्त गह्रुंगो छाती लिएर ।

हो, आर्यघाटबाट फर्किएको छु यतिखेर । र, सोच्दै छु, कहाँ पुग्नुभयो होला विनय सर ? के के भेट्नुभयो होला कथाको प्लट र कसरी बनाउँदै हुनुहोला स्टोरी लाइन, कनफ्ल्क्टि र क्लाइमेक्स ? अफशोच ! अब कहिल्यै सुनाउनुहुनेछैन उहाँले आफूले भेटेका पृथक् पात्र, परिवेश, प्लट, द्वन्द्व र उत्कर्षहरू । अब सेयर गर्नुहुनेछैन कथाको कसैले नसोचेको अलग इन्डिङ । किनभने एउटा सुन्दर कथाको अन्त्य भइसकेको छ अब । र, म थुपार्ने कोसिस गर्दै छु अबिच्युरीका जीवनविहीन शब्दहरू । कहाँबाट सुरु गरूँ, कहाँबाट टुंग्याऊँको सकसले गिजोल्दै छ मथिंगल ।

‘भेन्टिलेटरबाट निकालियो’, ‘बोल्न थाल्नुभयो’ ‘सुधार भइरहेको छ’ जस्ता सुखद् खबर सुन्दासुन्दै झ्याप्पै निभिदियो एउटा दियो र पछिल्लोपटक भेट्न नपाएकोमा सिलिङबिलिङ सिलिङबिलिङ गर्दै छन् अफशोच र स्मृतिका धर्साहरू । अन्तिम भेट सम्झिएँ, गएको भदौ २५ मा भएको रहेछ । उहाँकै विषयमा प्रमोद प्रधानले लेख्नुभएको पुस्तक विमोचनको दिन । पुस्तक: बालसाहित्यमा विनय कसजू, योगदान र मूल्याङ्कन । प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी । लाग्दै छ, ठीक समयमा निस्किएछ यो किताब । विनय सरको मनसुवामा हो वा प्रमोद दाइकै पहलमा, जेसुकै होस् । यो अत्यन्तै मनासिब र दूरदर्शी कार्य भएछ ।

धुलिखेल, टौदह, थानकोट, बल्थली, जर्सिङपौवा, नगरकोट, चित्लाङ, पोखरा र जुम्ला तथा मुगुसम्म अनेक लेखनयात्रा र लेखनशालामा सहकार्य ग-यौँ हामीले । एकापसमा कथा सुनाउँथ्यौँ र सुन्थ्यौँ । अनि कमेन्ट, फिडब्याकको लेनादेना हुन्थ्यो । वातावरण, विषादि, बिमा, वैदेशिक रोजगार, पर्यटन, संस्कारसुधार जस्ता अनेकानेक रुखासुखा विषयमा बाँधिएर पनि हामीले कथा लेख्यौँ । लेखनशाला आयोजना ग-यौँ । गर्दै गराउँदै धेरै सिक्यौँ । सिक्दै सिकाउँदै धेरै ग-यौँ । विदेश भ्रमण, अध्ययन या खोजबिनमा भेटेका नयाँ कुरा, नयाँ विषय सेयर गरिहाल्ने र नेपालमा पनि हामीले यस्तो गर्न सक्छौँ भनी झकझक्याउने एक अब्बल अग्रज गुमाएको छु मैले ।

यी धेरै यात्रा, सहयात्रामा पनि जुम्ला हुँदै मुगु, रारातालसम्म विनय सरसँगको यात्रा विशेष लाग्छ मलाई । ६ वर्षअघि जुम्लामा कार्यरत एक संस्थाले भाडा आफैँ हाली आएमा खान, बस्नको व्यवस्था गर्नुका साथै स्थानीय विद्यार्थीका लागि कथालेखन कार्यशाला पनि आयोजना गर्ने प्रस्ताव राखेपछि हामी त्यता लागेका थियौँ । टोलीमा विनय सरसँगै, विजयराज आचार्य, अभय श्रेष्ठ, ललिता दोषी, राजेन्द्र महर्जन, भवानी पाण्डे, पलपल दाहाल, छायादत्त न्यौपानेलगायत लेखक थियौँ ।

गाडीबाट नेपालगन्ज र विमानबाट जुम्ला पुग्यौँ । कथा कार्याशाला पनि चलायौँ । महाशंकर देवकोटा, रमानन्द आचार्यलगायतका स्थानीय संस्कृतिविद्, विद्वान्हरूसँग पनि रमाइलो भेटघाट भयो । खलंगाको तिला नदीपारि महाशंकरबाको घरमै पुगेर कोदोको रोटी, मह र तरुल खाएका थियौँ । बोटबाटै टिपेर गुलियो आरू र स्याउको स्वाद पनि लिएका थियौँ । 

जुम्ला त पुगियो । त्यहाँबाट जिल्लाकै सबैभन्दा अग्लो डाँफेलेक छिचोलेर मुगु जानुचाहिँ दुर्लभ र दुरुह कुरा थियो । हामी युवा हिँड्न कस्सियौँ । विनय सरलाई खलंगामै आराम गरी बस्न अनुरोध ग-यौँ । तर, उहाँ मान्नुभएन, घोडा चढेर भए पनि राराताल पुगिछाड्ने इच्छा गर्नुभयो । त्यसपछि उहाँ घोडामा र हामी पैदल डाँफेको उकालो लाग्यौँ । पहिलो दिन डाँफे छिचोलेर चौथा भन्ने ठाउँमा वास बस्न पुग्यौँ । भातको डेक्चीभरि राति पनि झिँगा बसेर कालाम्मे थियो । त्यही दालभात खाएर होचो न होचो उभिनै नमिल्ने कोठामा पल्टियौँ । सबै थकानले लस्त थिए । घोडामा उकालो आरोलो थैथै र चचहैले पक्कै पनि विनय सरको ज्यान पनि कम्ता थङथिलो भएको थिएन । उहाँ त एक बजेतिर म ब्युँझदाँ ट्याबमा के के लेखेर, पढेर पो बसिरहनुभएको रहेछ । यसखाले उहाँको अध्ययनशील बानीले मलाई असाध्यै छोएथ्यो । 

आर्यघाटबाट फर्किएको छु यतिखेर । सोच्दै छु– कहाँ पुग्नुभयो होला विनय सर ? के–के भेट्नुभयो होला कथाको प्लट र कसरी बनाउँदै हुनुहोला स्टोरी लाइन, कनफ्ल्क्टि र क्लाइमेक्स ! तर, अब कहिल्यै सुनाउनुहुनेछैन उहाँले आफूले भेटेका पृथक् पात्र, परिवेश, प्लट, द्वन्द्व र उत्कर्षहरू ।

२००४ भदौ २५ गते गुल्मीको रिडीबजारमा जन्मनुभएका विनय कसजूको प्रारम्भिक पढाइ गुल्मीमै भएथ्यो भने काठमाडौंको फर्पिङस्थित त्रिभुवन आदर्श विद्यालयबाट एसएलसी गर्नुभएथ्यो । त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएका उहाँको अनुकरणीय पक्ष भनेको निरन्तर स्वाध्यायन, खोज र नयाँ–नयाँ प्रविधिमा अपडेट भइरहनु हो । लेटेस्ट मोडेलका ग्याजेट, ल्यापटपलगायत सामान उहाँले जुटाइहाल्नु हुन्थ्यो र प्रविधिलाई सिर्जनात्मक कार्यमा अधिकतम प्रयोग गर्नुहुन्थ्यो । सिर्जना, संस्थागत सामग्री र सन्दर्भ सामग्री पनि उहाँले बडो व्यवस्थितसँग भन्नासाथ पाउने गरी राख्नहुन्थ्यो ।

किशोर तथा युवा वयमा हरेक मानिसको रुचि रमाइलो, मनोरञ्जन, विपरीत लिंगीसँगको आकर्षणजस्ता कुरामा रहन्छ । कसजू भने धार्मिक महत्वको कालीगण्डकी तथा रिडीको संगममा आइपुगेका साधुसन्तको संगत गर्नुहुन्थ्यो । तर, पछि साधुसन्तभित्र पनि विसंगति देखेपछि यसलाई छाडिदिनुभयो । फर्पिङ स्कुलमा कवि धरणीधर कोइराला प्रिन्सिपल थिए । अध्ययन अध्यापनको राम्रो वातावरण थियो । त्यही स्कुलमा उहाँले रवीन्द्रनाथ टैगोरको उपन्यास ‘गोरा’ पढ्नुभयो । ‘गोरा’ उपन्यासमा रहेको विनय नामको पात्र औधी मन परेपछि बद्रीकुमार नाम बदलेर उहाँले विनयकुमार राख्नुभयो । आखिरमा यही नामबाट उहाँले ख्याति र प्रसिद्धि पनि प्राप्त गर्नुभयो । ०३२ सालमा बाग्लुङकी गंगादेवी राजभण्डारीसँग उहाँको विवाह भएको थियो । कसजू दम्पतीका तीन छोरा, तीन बुहारी र तीन नाति छन् । 

०२० सालमा गोरखापत्रमा ‘रिडीको परिचय’ शीर्षकलेख छपाएर लेखन यात्रा आरम्भ गर्नुभएका कसजूले स्कुले पढाइपछि साहित्य, पत्रकारिता र राजनीतिलाई एकसाथ अघि बढाउनुभएथ्यो । फर्पिङमा पढ्दा नेपाली शिक्षक रहनुभएका फणिन्द्र खेतालाले पनि उहाँलाई सिर्जनात्मक लेखनमा प्रेरित गर्नुभयो । उहाँ हरेक दिन केही न केही लेखेर फणिन्द्र सरलाई देखाउनुहुन्थ्यो भने फणिन्द्र सर पनि राम्ररी हेरिदिएर उहाँलाई अभैm राम्रो लेख्नका लगि निरन्तर हौस्याउनुहुन्थ्यो । त्यही वेलाको बानीलाई उहाँले जीवनको आखिरीसम्म पनि निरन्तरता दिनुभयो । नित्य केही न केही नयाँ गरिरहने, लेखिरहने उहाँको बानी थियो । यही निरन्तर साधनाले गर्दा नै जीवनका पछिल्ला सत्र वर्ष बालसाहित्यमा केन्द्रित रहनुभएका उहाँले यस अवधिमै करिब दुई सयजति बालकथा लेखेर नेपाली बालसाहित्यमा अमूल्य योगदान पु-याउनुभएको छ । बालसाहित्य लेखनमा लाग्दाको उहाँको एउटा विशेष प्रसंग पनि छ । 

सन् २००३ अक्टोबर १२ को कुरा हो । विनय सर विश्वका बालबालिकाका प्रिय कथाकार (हान्स क्रिस्चियन एन्डरसन) को देश डेनमार्क यात्राको मेसोमा हुनुहुन्थ्यो । जर्मनीको हेम्बर्गबाट कोपेनहेगनको रेलयात्रामा आफ्नो डायरीमा उहाँले लेख्नुभयो, ‘पुर्खाको पौरख नेपाल, बुढाहरूले बिगारे । तन्नेरीहरू तर्सेर भाग्दै छन् । किशोरहरू कता लाग्ने हुन् थाहा छैन । अब केवल बालबालिकाको भर छ । यसैले बालबालिकाका लागि उनीहरूलाई सकारात्मक चिन्तनमा लाग्न सघाउने उद्देश्यले कथा लेख्ने निधो गरेँ ।’

हो, यही निधोअनुसार नै त्यसयताको सम्पूर्ण समय बालबालिकाका लागि साहित्य लेखनमा नै समर्पित गर्नुभयो । उहाँका बालसाहित्यमा ३० भन्दा बढी पुस्तक प्रकाशित छन् । ‘मुसालाई दोसल्ला’, ‘कान्छाको मोटर’, ‘वनको दमकल’, ‘टिउरोको सपना’, ‘बोकाको आत्मकथा’, ‘साइबर बालकथा’ आदि उहाँका सर्वाधिक रुचाइएका बालकृति हुन् । ‘विनय कसजूका सय बालकथा’ पुस्तकमा उहाँका अधिकांश बालसिर्जना समेटिएका छन् । उहाँले हान्स क्रिस्चियन एन्डरसन, एस्ट्रिड लिनग्रिन र इसपका कथाको अनुवाद पनि गर्नुभएको छ । ‘बालबालिकामा पढ्ने बानीको विकास’, ‘बालकथा लेखन’, ‘शान्तदास भन्नुहुन्छ’ जस्ता बालशिक्षा र साहित्यमा आधारित गैरआख्यान पुस्तक पनि उहाँले लेख्नुभएको छ । 

विनय कसजूले जीवनको अझ धेरै समय लगानी गरेको क्षेत्र भनेको पत्रकारिता हो । पाल्पामा बसेर उहाँले ‘श्रीनगर’ र ‘पाहुर’ जस्ता साहित्यिक पत्रिकाका साथै ‘सत्य’ र ‘देउराली’ जस्ता ग्रामीण पत्रिका सम्पादन र प्रकाशनमा लामो समय खर्चनुभयो । गाउँघरका खबर प्रवाह गर्ने ‘देउराली’लाई नेपालकै ग्रामीण पत्रकारिताको जग तथा विकासमूलक पत्रकारिताको उत्कृष्ट नमुनाका रूपमा पनि लिने गरिन्छ । साथै पहिलो सामुदायिक रेडियो ‘रेडियो मदनपोखरा’को स्थापनामा पनि उहाँको महत्वपूर्ण योगदान रहेको छ । 

यो पंक्तिकारले बनेपास्थित जनमत प्रकाशनमा ‘सत्य’ साप्ताहिक पत्रिकाका धेरै अंकहरू पढ्ने मौका पनि पाएको थियो । त्यसमा विनय कसजूले लेखेका लेख र सम्पादकीय अति सरल विषयवस्तुलाई सहजै बुझिने गरी लेखेको पाइन्थ्यो । जनमत प्रकाशनका मोहन दुवाल भन्नुहुन्थ्यो, ‘मलाई धेरैले विनय कसजू ठानेर झुक्किने गर्छन् ।’ मोहन दुवालजस्तै देखिने विनयलाई नाम सुनेको धेरैपछि मैले एक अन्तरवार्ताका लागि पहिलोपल्ट २०६० सालतिर भेटेको थिएँ । त्यसयता सरल र सहयोगी मिजासका यी व्यक्तित्वसँग लामो समय सँगसँगै बालसाहित्यको काम गरियो ।

कुनै पनि विषयमा गहिरो खोजबिन, लामो समयसम्म एउटै विषयको अध्ययन र खोजमा लागिरहने चौबीसै घन्टाजस्तो इन्टरनेट र न्यु मिडियामा नवीन अध्ययन गरिरहने र त्यही विषयमा तीन–चार दिन लामो तालिम कार्यशाला एक्लै हाँक्न सक्ने यस्ता व्यक्तित्व दुर्लभ नै हुन्छन् । उहाँको अभाव पूर्ति गर्न बालसाहित्य र सूचना सञ्चार क्षेत्रलाई एउटा चुनौती नै रहनेछ । उहाँले सञ्चार र पत्रकारितासम्बन्धी विभिन्न पुस्तक, पुस्तिका, म्यानुअलहरूको पनि विकास गर्नुभएको छ  । ०६६ सालमा नेपाल बालसाहित्य समाजले बालसाहित्य किन आवश्यक छ भन्ने विषयमा एक गहन विषय उठानका साथ घान्द्रुक घोषणा–पत्र जारी गरेको थियो । उक्त घोषणा–पत्र तयार गर्ने समितिमा रहेर पनि हामीले सँगै काम गरेका थियौँ । 

कामकै क्रममा गंगा मेडम तथा उहाँका छोराहरूसहित सम्पूर्ण परिवारसँग पारिवारिक सम्बन्ध विकास हुन पुग्यो । जहिले जाँदा पनि उस्तै धीर धैर्यसाथ शालीन मुद्रामा बालसाहित्यमा केही न केही नयाँ खोजबिन, अध्ययन र लेखनमा उहाँलाई व्यस्त भेटिन्थ्यो । खासगरी बाल वाङ्मय तथा अनुसन्धान केन्द्र स्थापनापछि एउटै टिममा रहेर हाम्रो सहकार्य अगाडि बढेको थियो । उहाँको पछिल्लो कृतिको रूपमा ट्विट कथासंग्रह प्रकाशित छ । यसमा एकपटकको ट्विटमा लेख्न सकिने शब्द सीमाभित्र रहेर अत्यन्त छोटा र चस्स छुने खालका सय कथा छन् । यसरी नवीन विधा भिœयाउन पनि उहाँले काम गर्नुभएको छ । चर्चामा मात्र सीमित किशोर साहित्यलाई पनि उहाँले धेरै हदसम्म व्यवहार र बहसमा ल्याउन योगदान पु¥याउनुभएको छ । किशोर पुस्ताका लागि धेरै कथा र पुस्तक पनि लेख्नु, लेखाउनुभएको छ । 

जस्तोसुकै खुसीको या दुःखको क्षणमा पनि उस्तै गम्भीर देखिने, सुखमा नमात्तिने र दुःखमा नआत्तिने उहाँको स्वभाव मलाई औधी मन पथ्र्यो । एकपल्ट उहाँको पहलमा केही स्विडिस लेखक यहाँ आएका थिए । उहाँले आप्mनै घरमा स्वागत गर्नुभयो । काठमाडौं घुमाउने, बालसाहित्य सर्जकहरूसँग भेटाउने, कार्यक्रम आयोजना गर्नेलगायत काम गर्नुभयो । नेपाली लेखकलाई स्विडेन लैजाने कार्यक्रम पनि बनेको थियो ।

यसैबीच उहाँ छोराबुहारी भेट्न अमेरिका जानुभयो र अलि लामो समय बस्नुभयो । यता संस्थाबाहिरका एक लेखकले विनय अमेरिका बस्न थालेको र यताको काम सम्पूर्ण जिम्मा आपूmलाई दिएको भन्दै ती स्विडिस लेखकहरूसँग सम्पर्क गरी आप्mनै टोली बनाएर स्विडेन गएछन् । यो थाहा पाएपछि उहाँको टिमका सबैजना र गंगा मेडमसमेत दुःखी र आक्रोसित भए । तर, विनय सर भने उहाँकै शब्दमा आप्mनो पहलको त्यत्रो काम ‘हाइज्याक’ हुँदा पनि न दुःखी हुनुभयो, न त आक्रोशित । यस्ता अवसर अरू पनि आउँछन्, ती स्विडिसको विवेक रहेनछ भन्दै सामान्य रूपमा छाडिदिनुभयो । 

दुई वर्षअघि हामीले उहाँको जन्मदिन मनाउन सरप्राइजको रूपमा एउटा कार्यक्रम बनायौँ । केक काटियो । खाजा र टीका पनि भयो । त्यसवेला उहाँले भन्नुभएथ्यो, ‘चालीस वर्षपछि मेरो निधारमा टीका प-यो ।’ यसरी उहाँ पुरातन संस्कृति र अध्यात्मप्रति विश्वास गर्नुहुन्नथ्यो र हरेक विषयमा वैज्ञानिक दृष्टि र विज्ञानसम्मत व्यवहारको कुरा गर्नुहुन्थ्यो । नेपाल अविकसित हुनु र नेपाली गरिब हुनुमा धर्म र भाग्यवादको ठूलो भूमिका रहेको उहाँको निष्कर्ष थियो । त्यसैले उहाँ यस्तै विषयका सिनेमा हेर्न र समाजशास्त्रीय पुस्तक पढ्न पनि सुझाउनुहुन्थ्यो । विनय सरको विदाईले म र युवा पुस्ताका धेरैलाई बालसाहित्य तथा लेखन दुनियाँको एकजना कुशल अभिभावक गुमाएको महसुस भएको छ । अलबिदा विनय सर !

प्रतिकृया दिनुहोस