• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
घम्बर नेपाली काठमाडाैं
२०७६ मङ्सिर १४ शनिबार १४:२३:००
समाज

छुवाछुतले बनायो छापामार

२०७६ मङ्सिर १४ शनिबार १४:२३:००
घम्बर नेपाली काठमाडाैं

यो मेरै कथा हो । पुरानो कथा । त्यसवेला म ९ कक्षामा पढ्दै थिएँ । कक्षामा सँगै पढ्ने एकजना साथीको दाजुको बिहे हुने भयो । हामी सहपाठी सबैलाई बिहेमा निम्तो थियो । गैरदलितको बिहेमा जान अक्सर इन्कार गर्थें । दलितहरूलाई बिहेमा छुट्टै राखेर टपरीमा खाना खुवाइन्थ्यो । थालमा खाना खाए माझेर ओभाएपछि मात्रै सुनपानी छर्केर चोखो बनाउने चलन थियो । सहपाठी साथीहरूले धेरै कर गरेपछि म उक्त बिहेमा सामेल भएँ । 

बिहे छिमेकी गाउँमा भएकाले मेरो गाउँका मान्छेहरू पनि फाट्टफुट्ट देखिन्थे । जिमुवालको छोरा इज्जतअनुसार बिहे गर्नुपर्छ भनेर विवाह उत्सवलाई रबाफिलो तुल्याइएको थियो । मेरा गाउँका मान्छे र अरू बिहेका पाहुनाहरू नौमती बाजाको धुनमा नाच्दै थिए । घरबाहिर आँगनमा टेबल–कुर्सी मिलाएर पाहुनालाई सत्कार गरिएको थियो । भोक लागेकाले भोज खाऊँ भनेर साथीहरूले त्यही टेबलमा बस्न आग्रह गरे । मलाई विभेदको सम्भावित त्रासदीले नबिथोलेको होइन । खाना सर्भिस गर्ने पनि सँगै पढ्ने केटी साथी थिइन् । मनमा कताकता अब समाज त परिवर्तन भएछ क्यार जस्तो अनुभूति हुँदै थियो ।

अफसोच ! त्यो अनुभूति धेरै बेर टिक्न पाएन । भर्खर एक गाँस रोटी निल्न भ्याइसकेको थिइनँ । आफ्नो गाउँकै कुनै मान्छेले दुलाहाको बाउको कान फुकिहालेछ– सार्कीको छोराले सराबरी गराइदियो तपाईंको बिहे पार्टी । ऊ रन्थनिएको बाघजसरी ममाथि आएर झम्टिन थाल्यो । ‘...तल्लो जात भएर यहाँ बस्न खोज्छस् ? मेरो यत्रो पार्टीमा आएर बिटुलो गर्ने तैंले ?’ आदि तथानाम असह्य गालीगलोजको वर्षा भयो । हातपात हुन मात्र बाँकी थियो । ती तिखा तिरष्कारयुक्त वाणले म पूरै घायल भइसकेको थिएँ । वरिपरि रमिते बनिरहेको भिडलाई आँखा उठाएर हेर्न सकिनँ । आफू निकै कमजोर र अपहेलित भएको निन्याउरो अनुहार लिएर म लुरुलुरु बाहिरिएँ ।

त्यो घटनापछि म धेरै दिन विद्यालय जान सकिनँ । कैयौँ रात अनिद्रामा बिते । मनभरि बदला र प्रतिशोधका भावना आइरहे । तर परिवार, आफ्नो समुदायको अवस्थालाई हेरेर पछि हच्किन बाध्य भएँ । बुबा तिनै गाउँका जिमुवालकहाँ हली हुनुहुन्थ्यो । 

जातव्यवस्थाको अग्लो पर्खालभित्र कुन सामाजिक न्यायको अनुभूति गर्न सकिन्छ ? एकाध मान्छेले मात्र सत्ताको स्वाद लिने परिपाटीलाई कसरी संरचनागत विभेदबाट मुक्त भएको मान्न सकिन्छ र ?

अप्ठ्यारो पर्दा दुई–चार हजारको गर्जो टार्न उनकै दैलोमा जानुपथ्र्यो । सिंगो गाउँमा तीन–चार घरले गैरदलितसँग जोरी खोज्नु पहरोमा कुहिनो ठोक्काउनुसरह थियो । निकै लामो समयको मानसिक अन्तर–संघर्षपछि अन्ततः आफ्नो पढाइलाई निरन्तरता दिने अठोट गरेँ । 

पढाइमै ध्यान केन्द्रित गर्न थालेँ । विद्यालयले गर्ने हरेक अतिरिक्त क्रियाकलापमा आफूलाई अब्बल बनाउन तल्लीन भएँ । बिस्तारै शिक्षक र विद्यार्थीको मप्रति आशा र हौसला बढ्न थाल्यो । मैले स्कुलमा राम्रो नतिजा ल्याउन थालेँ । एसएलसी पनि राम्रै श्रेणीमा उत्तीर्ण गरेँ । गाउँकै विद्यालयमा पढाउँदै आफ्नो उच्च शिक्षा अध्ययन गर्ने चाहनालाई अगाडि बढाएँ । ममाथि भएको विभेदविरुद्ध लड्ने एउटा धारिलो हतियार शिक्षा हो भन्ने मैले त्यतिवेला नै ठम्याएको थिएँ । 

०५४ सालतिर यो विभेदको घटना घट्दै गर्दा देशमा द्वन्द्व सुरु भइसकेको थियो । गाउँमा माओवादीको हल्ला चल्न थाल्यो । कोही भन्थे, माओवादीहरू गरिब र दलितका मुक्तिदाता हुन् रे  ! कोही भन्थे, माओवादी गुरिल्ला त पातभित्र लुकेर पनि आक्रमण गर्छन् रे ! साथीहरूबीच यस्ता रोमाञ्चकारी कथा सुनिरहँदा कताकता उनीहरूलाई भेट्ने उत्सुकता जाग्थ्यो । तर, उनीहरू कहाँ छन् ? के गर्दै छन् ? हामीलाई केही पत्तो थिएन । 

त्यही वर्ष एक दिन साँझ विद्यालयबाट फर्किंदै गर्दा साथीले माओवादी छापामार हाम्रो गाउँमा छिरेको बतायो । नभन्दै त्यही राति दुई छापामार हाम्रो घरमा आइपुगे । माओवादी छापामारसँगको त्यो पहिलो भेट मलाई निकै अचम्म र अप्रत्यासित लाग्यो । खासमा मैले सुनेजस्तो सुपर मानव थिएनन् उनीहरू । हामीजस्तै सामान्य र सरल मानिस थिए उनीहरू । तर, उनीहरू हामीले भन्दा फरक सोच्थे । 

हाम्रो घर पहराको टाकुरामाथि जंगलको छेउमा अलि एक्लो थियो । त्यहीँ उनीहरूले आफ्नो सेल्टर बनाए । त्यसपछि घरमा कमरेडहरूको आवतजावत बढ्न थाल्यो । उनीहरूसँगको उठबस र अन्तरंगमा म पनि कमरेड बनिसकेको पत्तै भएन । म विद्यार्थी भएकाले उनीहरूले क्रान्तिकारी विद्यार्थी संगठनमा आबद्ध हुन अनुरोध गरे । म जिल्लाको विद्यार्थी नेता हुन धेरै समय लागेन । कहिले अनुरोधमा, कहिले दबाबमा परेर म माओवादी आन्दोलनमा होमिँदै गएको थिएँ । पढाइमा भन्दा बैठक, सम्मेलन, आन्दोलन, अभियानमा संलग्न हुन थाले । म पढाइसँगसँगै राजनीतिलाई पनि अगाडि बढाउने कुरा गर्थें । तर, उनीहरू बुर्जुवा शिक्षा तुरुन्तै छाडेर पूर्णकालीन राजनीतिमा लागिहाल्न दबाब दिइरहन्थे । 

परिवारको जेठो सन्तान, दुःखजिलो गरेर पढाइरहेका थिए बा–आमाले । एउटा मनले परिवारका लागि त केही गरेरै देखाउनुपर्छ भन्ने लाग्थ्यो । पाइलैपिच्छे विभेद छ, जति काम गरे पनि खानालाउनै धौधौ छ । ‘तपाईंले नगरे कसले गर्छ विद्रोह ?’ कमरेडहरू सधैँ यही भन्थे । 

धेरै साथीहरू भारतीय सेनामा भर्ती भइसकेका थिए । कोही वैदेशिक रोजगारीमा निस्किए । मलगायत केही साथीहरू भने दुनियाँ बदल्ने सपना बोकेर अत्यासलाग्दो बाटोमा लामबद्ध भएका थियौँ । 

परिवर्तनको यात्रामा हिँडेका साथीहरू निकैले आफ्नो अमूल्य जीवन बलिदान दिए । कैयौँ घाइते, बेपत्ता, बेसहारा, विस्थापित भए । योसँगै माओवादी विद्रोहमा लाग्ने जनताको संख्या पनि बढ्दै थियो । कति दिन भोकभोकै हिँडियो । कति रातहरू हिँड्दाहिँड्दै उज्यालो भए । चिउरा, बिस्कुट, सातु खाएरै पनि समाज रूपान्तरण गर्ने सपना अटल थियो । कठीनभन्दा कठीन संघर्षपूर्ण यात्रा पार गर्दै गर्दा वेला–वेलामा विचलनका बादल नमडारिने होइनन् । समाजले दिने विभेदका क्रूर यातनालाई स्मरण गर्दा लाग्थ्यो, बाटो संघर्षकै सही । अनि परिवर्तनको त्यो सुन्दर बिहानीलाई भेट्टाउन संकल्पित हुन्थ्यौँ हामी ।

राम्रै उभार आएको थियो जनतामा । गाउँघरमा जाँडरक्सी, जुवातास प्रतिबन्धित थिए । जातपात र छुवाछुत धेरै हदसम्म घटेको थियो । अन्तरजातीय विवाह बढ्दै थिए । सोझासाझा जनतामाथि अत्याचार गर्नेहरू सदरमुकामलगायत सुरक्षित ठाउँतिर कुलेलम ठोकिसकेका थिए । ग्रामीण क्षेत्र बिस्तारै मुक्तिको श्वास फेर्न खोजिरहेको थियो । युद्ध चर्किँदै थियो । दुवै पक्षबीच युद्ध घमासान बढ्दै थियो । सरकारले संकटकाल घोषणा गर्‍यो । सारा देश रणभूमिमा बदलियो । 

हाम्रो घरनजिक सेनाको ब्यारेक बस्यो । को, कहाँ, कतिवेला सिद्धिने हो कुनै टुंगो थिएन । माओवादी समर्थकमा भागाभाग चल्यो । मैले पढाइलाई निरन्तरता दिँदै गाउँकै स्कुलमा पढाउँथेँ । अब सेनाको निसानामा म परेँ । पढाइ र जागिर दुवै धरापमा छाडेर म फुपूको घरतिर लागेँ । एक महिना पुग्दा–नपुग्दै सेनाले त्यहाँ पनि ब्यारेक निर्माण गर्‍यो । बा–आमा र परिवार निकै डराइसकेका थिए । 

तत्कालीन जिल्ला सभापति जनमोर्चाबाट थिए । उनीसँग सम्पर्क गरेर पार्टी परिवर्तन गर्ने निधो गरेँ । उनी जिल्लामा हक्की सभापति नै मानिन्थे । मलाई पढ्न जाँदै गर्दा स्कुलछेउबाट सेनाले गिरफ्तार गर्‍यो । तेह्र दिनसम्म ब्यारेकमा यातना दिएर राख्यो । नांगो बनाएर सिस्नुपानी लगाउनेदेखि भाटा र छडीले पिट्दा शरीर पूरै छियाछिया भएको थियो । अन्तमा विद्यालयमा मेरो हाजिरी चेक गरी क्याम्पस प्रमुख सरले यो विद्यार्थी भूमिगत नै भएको होइन भनेपछि म रिहा भएँ । मेरो जाँच नजिकै आइसकेको थियो । सेनाले तारिखमा बोलाएर झन् मानसिक यातना दिइरहन्थ्यो । जेनतेन प्लस टु पास गरेर म काठमाडौं हानिएँं । 

राजधानी गाउँभन्दा निकै सभ्य र विकसित होला भन्ने लाग्थ्यो । तर, काठमाडौंमा आएर कोठाभाडादेखि धेरै कुरामा जातले अवरोध खडा गरिदियो । बस्दै जाँदा संयोगले दलित विद्यार्थीलाई लक्षित गरेर बनाइएको छात्रावासमा पुगेंँ । त्यहाँ केही माओवादी पृष्ठभूमिका साथीलाई भेटेँ । युद्ध उत्कर्षतिर जाँदै थियो । म सबै व्यक्तिगत करिअरलाई चटक्कै छाडेर पूर्णकालीन भएँ । 

माओवादी सैन्य दलमा आबद्ध भएँ । राजधानीआसपासका जिल्लामा खटिएँ । उन्नाइस दिने आन्दोलनले विजय हासिल गर्‍यो । देश राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण भयो । 
राजनीतिक गतिविधिमा क्रियाशील भएँ । काठमाडाैंका सुकुम्बासी, दलित, जनजाति र विपन्न बस्ती–बस्तीमा अनेकौँ अभियान, छलफल, भेटघाट गरेँ । 

उपल्लास्तरका कमान्डर र नेताले गाडी, बस्ने घर, खर्चपानी आफ्नै सुरमा लिन्थे । तर, मध्यम र जुनियरस्तरका कार्यकर्तालाई यी सुविधा थिएन । प्रश्न उठाउँदा क्रान्तिको आवश्यकताले जे पनि गर्नुपर्छ भनिन्थ्यो । यही आवश्यकताको दुहाइ दिँदै थुप्रै माओवादी नेताहरूलाई बिलासिताको लत बसेको पत्तै भएन । कमान्डर र नेताहरूको वर्गउत्थान भयो । उनीहरूले वर्गीय आधार गुमाउँदै गए । निजीकरण र उदारीकरणको चर्को विरोध गर्नेहरू आफैँ त्यसको पक्षपोषण गर्न लागे । धनी र गरिबबीचको खाडल अरू गहिरिँदो छ । समाजमा भेदभाव, छुवाछुत, अन्धविश्वास व्याप्त छ । अनि सरकार गरिब जनतासँग समृद्धिको सपना साटिरहेको छ । 

हाम्रो पुस्ता पूरै संक्रमणकालमै सकिने निश्चित छ । के हाम्रा सन्ततिले पनि यस्तै संक्रमणमै जीवन बिताउनुपर्ने हो ? दुई छाक खानका लागि विदेशी भूमिमा धाउनुपर्ने हामी कस्तो सार्वभौम र स्वाधीन नागरिक हौँ ? विभेद र अपमानलाई सहजै स्वीकार गर्नुपर्ने हाम्रो कस्तो मानवअधिकार र नागरिक स्वतन्त्रता हो ? जातव्यवस्थाको अग्लो पर्खालभित्र कुन सामाजिक न्यायको अनुभूति गर्न सकिन्छ ? एकाध मान्छेले मात्र सत्ताको स्वाद लिने परिपाटीलाई कसरी संरचनागत विभेदबाट मुक्त भएको मान्न सकिन्छ र ?