• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
उदय प्रकाश, लेखक
२०७६ मङ्सिर २१ शनिबार ०९:४९:००
अनुवाद

पुँजीवाद र साम्यवाद जुम्ल्याहा सन्तान हुन्

२०७६ मङ्सिर २१ शनिबार ०९:४९:००

उदयजी, साहित्यको एउटा कर्तव्य भविष्यको जन्मकुण्डली लेख्ने पनि हुन्छ । के हिन्दी साहित्यले वर्तमानको सामाजिक–राजनीतिक परिदृश्यको पूर्वानुमान गर्न सक्यो, जहाँ हामी आज उभिएका छौं ?
‘जन्मकुण्डली’ बनाउने विद्या अथवा भविष्यवाणी गर्ने काम समाजको एउटा निर्धारित वर्णको अधीन हुँदै गइरहेको छ । त्यसैले म बारम्बार भन्ने गर्छु, एउटा हिन्दी छैन, हिन्दी समाजमा निकै धेरै हिन्दी छन् । यस प्रकारका वर्ण, वर्ग, क्षेत्रीय अस्मिता यसै एउटा बहुवचन संज्ञा ‘हिन्दी’ भित्र सक्रिय छन् । ‘हिन्दी’ बहुवचन हो । हिन्दीलाई एउटा बनाउने प्रयास, एउटा त्यस्तो प्रयास हो, जहाँ तपाईंले कुनै शब्दको बहुल अर्थलाई एउटै अर्थमा खुम्च्याउन खोज्दै हुनुहुन्छ । आज यो प्रयास भाषामा मात्रै होइन, हरेक क्षेत्र र तप्कामा भइरहेको छ । बजारका लागि बनेका भाषाको प्रयास के हुन्छ भने त्यो एउटा सम्पर्क भाषा बनोस् । भिन्न–भिन्न भाषिक राज्य, जनपद, बोली र विकसित भाषाबाट भिन्न परिवारको भाषासँग सम्पर्क बनाउन सकियोस् । जति धेरै भाषिक परिवार आज भारतमा छन्, सायद त्यति धेरै कहीँ छैन । त्यो हिन्दीमा धेरै उदारता थियो । उसको शब्द भण्डार, उसका लोकोक्ति निकै विविध थिए, ऊ तमाम शब्दावलीमा, शैलीमा, पदले निर्मित हिन्दी थियो । त्यो यस उपमहाद्वीपको निकै ठूलो बजारको हिन्दी हो । यदि जीव विज्ञानको कोणबाट भन्ने हो भने डायनासोर विलुप्त हुन्छन् । तर, कमिला बाँचिरहन्छन् । महानगरको आँतमा पानी अन्यत्र कहीँबाट आउँछ र पोषण अन्यत्र कहीँबाट । तिनको आँत, नसा, फोक्सो, आन्द्राभुँडीले गाउँबाट आफ्नो पोषण लिन्छन् । भन्नुको अर्थ महानगरको आफ्नो केही पनि हुँदैन । त्यसैले आधुनिक हुने बाटो सहज हुँदैन । कृषिको आधुनिकीकरणमा ट्र्याक्टर आयो । त्यसैले पशुधनको अन्त्यमा भूमिका खेल्यो । त्यही पशुधन, जुन आजको भारतको सबैभन्दा ठूलो राजनीतिक नारा हो । देशमा कैयौँ प्रकारको माटो हुने गर्छ । तर, आज रासायनिक मल हाल्नुस्, सबै माटो बराबर हुन्छ । के यसको ज्ञान र प्रतिरोध हाम्रो भाषामा कतै भेटिन्छ ? के यो चेतना हाम्रो भाषा र यसको साहित्यमा भेटिन्छ ? यो भाषाले कसको प्रतिनिधित्व गरिरहेको छ ? मलाई लाग्छ, हिन्दी बन्दै गरेको बदलिँदो भाषा हो । यो आफ्नो शैशवकालमा छ । 

हाम्रो भाषामा चेतनाको अभावलाई कसरी हेर्नुहुन्छ ? भाषा र अनुभवका बीच यस विभक्तिको जरा कहाँ जोडिन्छ ?
यो निकै गम्भीर प्रश्न हो । भाषाको प्रश्नलाई पर्यावरण र अर्थतन्त्रबाट छुट्याएर हेर्न मिल्दैन । यसका लागि हामीले भाषाको राजनीतिलाई हेर्नुपर्ने हुन्छ । राजनीतिमा दुईवटा पद हुन्छन्– राज र नीति । नीति भनेको नैतिकता हो । कुनै पनि सत्ताको शासन गर्ने एउटा नैतिक आधार अथवा प्रणाली हुने गर्छ । भलै अर्थतन्त्र होस् अथवा राजतन्त्र, नीति अर्थात् एथिक्स अनिवार्य हो । तर, आज नैतिकता कतै पनि छैन । जसरी धेरै मान्छेले भन्छन् नि ‘डेमोक्रेसी’ कतै पनि छैन । मैले मोहनदासमा लेखेको थिएँ– डेमोक्रेसी अब क्लेप्टोक्रेसी अर्थात् पुरानो लोकतन्त्र अब लुटतन्त्रमा फेरिइसकेको छ । यसैगरी नीतिशास्त्रको ठाउँ पोलिसीले ओगटिसकेको छ । नीति होइन पोलिसी । पोलिसी टु रुल, पोलिसी टु गवर्न, पोलिसी शब्दमा पुलिसको ध्वनि आउँछ । यस राजनीतिमा नीतिको अर्थ नैतिकता होइन, यो पोलिसी मात्रै हो । लोकतन्त्रको अवसानको आभास त त्यतिवेला नै भइसकेको थियो, जब शीतयुद्धका वेला दुई खेमामा समग्र संसारलाई विभक्त गरियो, पुँजीवाद र साम्यवादमा । तर, वास्तवमा ती दुवै एउटै गर्भबाट निस्किएका दुई जुम्ल्याहा सन्तान थिए । दुवैमा धेरै अन्तर थिएन । एउटा चाहन्थ्यो, राज्यका अधीनमा सबै कुरा आओस् । अर्को चाहन्थ्यो, व्यक्तिका अधीनमा सबै कुरा आओस् । अन्य विषय, जस्तै– समग्र पर्यावरणको कसैलाई पनि चिन्ता थिएन । एउटा दुःखद कुरा के हो भने माक्र्सवाद भारतमा जसरी भित्रियो, उसले वर्ग र अर्थव्यवस्थामा धेरै जोड दियो । जतिवेला तपाईं धर्म भन्नुहुन्छ, त्यतिवेला त्यसको ज्वालामा प्रकाश मात्रै हुँदैन, उसको आभा मिथकमा पनि हुन्छ । तपाईंले ती सबै कुरा छाडिदिने कुरा गर्नु, जुन एउटा दियोबाट निस्कन्छ भने ठीक होइन । त्यसैले रोल्यान्ड बार्थजस्ता उत्तर–संरचनावादी चिन्तक मलाई प्रिय लाग्छन्, किनभने तिनीहरूले दुवैका बीचमा समन्वय गर्छन् । 

हिन्दीका अधिकांश कथाकार आज पनि राजनीतिक र पश्चिमी फर्मुलामा टेकेर कथा लेख्छन्, जुन पश्चिमा दुनियाँले उहिल्यै छाडिसक्यो

जसको तपाईंसँग कुनै परिचय नै छैन, सम्भवतः ऊ पनि तपाईंको लेखनमा बाल्यकालको गहिरो छाया देख्न सक्छ । यो लेखक आफ्नो बाल्यकालको छाया र मिथकमा बाँच्छ । तपाईंको लेखनको जरा कहाँ छ ?
बुबाको निकै समृद्ध पुस्तकालय थियो । उहाँले ब्रजमा कविता लेख्ने प्रयास पनि गर्नुभयो । उहाँ समाजवादी–गान्धीवादी पनि हुनुहुन्थ्यो । त्यसैले आधुनिक विषयमा त्यहाँ निकै धेरै पुस्तक थिए । घरमा ग्रामोफोन र क्यामेरा थियो । ग्रामोफोन र क्यामेरा बिग्रिँदा म र मेरो भाइ मिलेर बनाउँथ्यौँ । धेरै कुराले अन्तिम सास फेर्दै थिए, तर हामी तिनलाई संगालेर कुनै विधिबाट ती सबैलाई अर्को समयमा लैजान चाहन्थ्यौँ । म केटाकेटीदेखि नै अलिक एक्लो बस्न रुचाउँथेँ । मलाई भिड राम्रो लाग्दैनथ्यो, अहिले पनि लाग्दैन । आमा भोजपुरी क्षेत्र मिर्जापुर जिल्लाको विजयपुरबाट विवाह गरेर आउनुभएको थियो । बुबा बघेली बोल्नुहुन्थ्यो भने आमा भोजपुरी बोल्नुहुन्थ्यो । म छत्तिसगढ निवासी हुन पुगेँ । भनेपछि तपाईं के बुझ्न सक्नुहुन्छ भने हामी सुरुदेखि नै त्रिभाषी थियौँ । आमा १३ वर्षको उमेरमा विवाह गरेर आउँदा आफूसँगै एउटा नोटबुक लिएर आउनुभएको थियो । उहाँ नोटबुकमा भोजपुरी गीत लेख्नुहुन्थ्यो । उहाँको लेखाइ निकै राम्रो थियो र प्रत्येक गीतसँगै केही न केही चित्र कोर्नुहुन्थ्यो । सन् १९६४ मा क्यान्सरका कारण आमाको मृत्यु भयो । त्यति वेला म जम्मा ११–१२ वर्षको थिएँ । त्यसै वर्ष नेहरूको पनि मृत्यु भएको थियो । मेरो परिवारमा नेहरूको ठूलो छाप छ । मेरा कथा र कविता अतीतका स्वप्न हुन्, भविष्यको होइन । कथामा मेरो रुचि थिएन र अहिले पनि छैन । त्यसैले म कवि नै हुँ । 

कवि हुन खोज्ने युवा कथा लेख्न थाल्यो, यो आफैँमा एउटा कथा हो ? 
हो, यो निकै अचम्मलाग्दो छ, तर वास्तविकता यही हो । केटाकेटीमा लगातार कविता मात्रै लेख्थेँ । ती कविता सानातिना पत्र–पत्रिकामा पनि छापिन्थे । तर, कसरी–कसरी कथामा डोरिएँ, सायद कलेजमा छापिएको एउटा कथाबाट । हिन्दीका समालोचक मेरा कथाको लोकप्रियताबाट अताल्लिएर मलाई जादुई यथार्थवादी लेखक भनेर घोषणा गर्न पुगे । हो, मेरो लेखनमा मार्खेजलगायत लेखकको प्रभाव छ । किनभने मेरा कथा त्यस प्रकारका यथार्थवादी होइनन्, जस्तो हिन्दीका अन्य कथाकार लेख्छन् । तपाईं आफैं भन्नुस् न सन् १९७६–७७मा जब मैले ‘टेपचु’ भन्ने कथा, जसलाई हिन्दीको पहिलो ‘जादुई यथार्थवादी’ कथा भनियो, के त्यतिवेला कतै म्याजिकल रियलिज्म अस्तित्वमा थियो ? वास्तविकता के हो भने हिन्दीका अधिकांश समालोचक, जसलाई म मठाधीश भन्छु । उनीहरू न त आफ्नो देशसँग परिचित छन्, न त अर्को देशको आलोचनात्मक–पारिभाषिक पदावली–आदर्शसँग । हिन्दीका अधिकांश कथाकार आज पनि राजनीतिक र पश्चिमी फर्मुलामा टेकेर कथा लेख्छन्, जुन पश्चिमा दुनियाँले उहिल्यै छाडिसक्यो । कला साहित्य, ज्ञान–विज्ञान र प्रविधिमा देशी–विदेशी भन्ने हुँदैन यो त सार्वभौमिक हुन्छ । 

‘इन्डिया टुडे’को ‘साहित्य वार्षिकी अंक २०१९’ बाट 
अनुवाद : नरेश ज्ञवाली