• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नरेश काङमाङ राई काठमाडाैं
२०७६ मङ्सिर २१ शनिबार १०:४६:००
इतिहास

‘गल्लाले तीन रुपैयाँमा बैना मार्‍यो’

२०७६ मङ्सिर २१ शनिबार १०:४६:००
नरेश काङमाङ राई काठमाडाैं

लाहुरको कथा

सन् १८१४ देखि सुरु भएको यो सिलसिला दुई शताब्दी बितिसक्दा पनि अझै रोकिएको छैन

नरेश काङमाङ राई

सन् १८१४, अक्टोबर २० मा नेपालविरुद्व इस्ट इन्डिया कम्पनीले युद्व घोषणा गर्‍यो । पश्चिमी मोर्चामा युद्ध सुरु भएको करिब एक महिनापछि अमरसिंह थापाले आत्मसमर्पण गरे । त्यसपछि दुवै देशका सेनाध्यक्षले सहमतिपत्रमा हस्ताक्षर गर्‍यो । उक्त पत्रमा लेखियो, ‘काजी रणजोर सिंह थापा र काजी अमरसिंह थापाको रक्षार्थ खटिएका सिपाहीबाहेक अन्य सिपाहीलाई इच्छाअनुसार अंग्रेज सेनामा भर्ती हुने अनुमति दिइन्छ ।’ 

सन् १८१५ अप्रिल २४ का दिन जनरल अक्टोलोनीले मलाउँ किल्ला प्रथम, द्वितीय नर्सरी र सिरमोर बटालियन खडा गरी ४६५० जना भगौडा नेपाली सेनालाई भर्ती गरे । २ डिसेम्बर १८१५ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच सुगौली सन्धि भयो । ४ मार्च १८१६ मा इस्ट इन्डिया कम्पनी र नेपालबाट हस्ताक्षर गरी उक्त सन्धिपत्रलाई अनुमोदन गरियो ।

सन् १८५४ को क्रिमियन युद्धताका ब्रिटिस–इन्डिया कम्पनीले गोर्खा भर्ती बढाउने क्रियाकलाप गर्दा जंगबहादुरले आदेश नै जारी गरेका थिए । ‘ब्रिटिस–इन्डियन सेनामा काम गरिरहेका नेपाली सेनाहरूले जागिर छाडेका खण्डमा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् । र दरबारबाट अनुमति नलिई कोही पनि नुवाकोट र त्रिशुलीभन्दा पर जान पाउनेछैनन् ।’

उनले सन् १८५८ मा फेरि अर्को निर्देशन जारी गरे, ‘जवानहरू खोज्न आउने एजेन्टलाई पहाडभित्र पस्न नदिनु, आवश्यक परेको खण्डमा बल पनि प्रयोग गर्नु । हाम्रो देशमा बस्ने कसैले पनि पूर्वस्वीकृतिविना भर्तीका लागि भारत जानु हुँदैन । यदि कुनै पनि नेपालीले त्यसो गर्छ भने उसको घर र जग्गा–जमिन जफत गरिनेछ ।’

सन् १८७७ मा जंगबहादुरको मृत्युपछि रणोद्दीप सिंहले पनि जंगबहादुरले झैँ गोर्खाभर्तीमा कडाइ गरे । तर, ब्रिटिस साम्राज्यबाट ठूलो दबाब परेपछि स्वेच्छाले भर्ती हुन जान चाहनेलाई सरकारले नरोक्ने निर्णय गर्‍यो र सबै जिल्लाका बडाहाकिमलाई उक्त निर्देशन जारी गरियो । त्यसपछि राणाहरूले गाउँमा हुकुमी उर्दी लगाउँदै तालुकदार, मुखिया, पगरी र सुब्बाहरूमार्फत कटुवाल घोकाउँदै गल्लावालको साथमा भर्ती पठाउन थाले ।

विश्वयुद्धको कहानी
पहिलो विश्वयुद्ध लडेका पुर्खा कोही पनि जीवित छैनन् यो धर्तीमा । दोस्रो विश्वयुद्धमा ओखलढुंगाका इन्द्रबहादुर राईलाई घुँडामा गोली लाग्यो । उनलाई विनाक्षतिपूर्ति र विनापेन्सन नेपाल फर्काइयो । घुँडाको घाउ सुम्सुम्याउँदै उनको लीला समाप्त भयो । लडाईंबाट नफर्किएको आफ्नो श्रीमान् बाबुराजा लिम्बूलाई जीवनको उत्तरार्धसम्म पर्खिरहिन्, पाँचथर आङ्नाकी शान्तिमाया लिम्बूले । श्रीमान् बितेको या बाँचेको कुनै खबर आएन । सिकुवामा बसेर प्रत्येक साँझ श्रीमान् आउँदै छ कि भनी बाटो हेर्दा–हेर्दै केही वर्षअघि उनी पनि यो संसारबाट बिदा भइन् । यस्ता अलिखित कथाहरू अझै पनि गाउँघरतिर भेटिन्छन् । 

‘घिउको डल्ला छेली हान्नु छ, खसीको टाउको चुल्ढुंगो आच्छा लेकिन भर्ती हुन जाऊँ,’ यसरी फुर्किँदै गल्लाको लहैलहैमा भर्ती हुन गएको दिन सम्झिन्थे ‘फस्र्ट टेन जी आरका स्वर्गीय जसमान राई । त्यतिवेला गल्लाले युवाहरूलाई फकाउने तरिका त्यस्तो रहेछ । जापानसँग चार वर्षसम्म बर्माको जंगलमा दोस्रो विश्वयुद्ध लडेका राईले ती दिन सम्झिँदै भनेका थिए, ‘तालिममा बिहान अलि–अलि भात दिन्थ्यो । बेलुका दुई पात रोटी दिन्थ्यो । घरमा दही, महीसँग अघौँजी भात खाने बानी, रोटीले कहाँ पेट भरिन्थो र ?’ उनी तीनपटक घाइते भएका थिए । युद्ध सकियो । उनलाई नेपाल फर्काइयो । 

विसं. ००७ मंसिर २४ गते शनिबार १० बजे । भोजपुर कब्जा गरे नारदमुनि थुलुङको नेतृत्वमा । कब्जा गर्ने टोलीमा जसराज पनि थिए । त्यसपछि ओखलढुंगा पुगी राणालाई हराए । दुई वर्षअघि १०० वर्षको उमेरमा उनको जीवन सकियो । जीवनभर उनले मेडिकल पेन्सन र सर्भिस पेन्सन दुवै पाएनन् । ००७ को योद्धा भनी नेपाल सरकारले पनि उनको पहिचान गर्न सकेन ।

याभ्जाकोट कास्कीका स्वर्गीय भगतबहादुर गुरुङको कथा पनि अनौठो छ । बेलायती सेनामा दुईपटक भर्ती भएका गुरुङलाई थाहै नदिई पल्टनले आठ वर्ष उमेर घटाइदियो । ‘मेरो पक्का उमेर त ९४ वर्ष पुगिसक्यो । लेफ्टिनेन्ट बनाउँदा डकुमेन्टमा आठ वर्ष उमेर घटाइदिएको रहेछ । अहिले ८६ वर्ष मात्र पुग्दो रहेछु । अस्पतालमा उपचार गर्दा अप्ठ्यारो हुन्छ नि । यसको अभिभारा कसले लिने ? मेरो उमेर घटाएर बर्बाद बनायो । एक सय वर्ष पुगेपछि एक सय प्रतिशत पेन्सन दिन्छ भन्ने कुरा सुन्छु । अब घटाएको उमेरले त एक सय वर्ष पुग्न अझै १४ वर्ष बाँकी छ ।’ केही वर्षअघि ९७ वर्षको उमेरमा उनको पनि बेलायतमा चोला उड्यो । 

मलेसिया र ब्रोनियोको कथा 
एक मात्र जीवित भिसी हुन् रामबहादुर लिम्बू । २१ नोभेम्बर १९६२ को दिन उनले भिसी पाउँदाको कथाले भावविभोर बनाउँछ । उनले युद्ध लडेको ठाउँ हो, मलेसियाको गुलुभ टिप्पाई । मलेसियन भाषामा गुलुभ भनेको डाँडा र टिप्पाई भनेको टुप्पा हो । उनले भने, ‘दुस्मनसँग दोहोरो गोली हानाहान गर्दागर्दै गन वान खड्कबहादुर लिम्बूको पेटमा गोली लाग्यो । गन टु बिजुलीप्रसाद लिम्बू फायर गर्दै थिए । उसको गन जाम भयो । जाम क्लियर गर्दै थिए उनी । त्यही वेला उनको टाउकोमा गोली लाग्यो । थरररर कामेर ऊ त्यहीँ मरिगो । गन वानको घाउमा फिल्ड ड्रेसिङ बाँधिदिनुपर्‍यो भनेर छाम्दा त आन्द्रा–भुँडी निस्किएको रहेछ ।’ रामबहादुरले सम्झिए, ‘खड्कबहादुरले पानी माग्यो । टुम्लेटबाट पानी निकालेर दिन आँटेका वेला मेरो ज्ञान आयो, गोली लागेकोलाई पानी दिनु हुँदैन । मैले पानी दिइनँ । गुरुजी मलाई गोली हानेर मारिदेऊ म बाँच्दिनँ भन्दै थिए खड्कबहादुर । केही भन्न सकिनँ । गन टुलाई तान्दै–तान्दै अलिक तल झारेँ । अनि गन वान भएको ठाउँमा पुग्दा त बिचरा मरिगएछ ।’ भिसी विजेता रामबहादुरले आँखाभरि आँसु बनाएर भने, ‘के गर्नु र मन नमीठो माथि झन् नमीठो भयो नि हाउ । बिचराले पानी पिउने इच्छा हुँदाहुँदै मरिगयो ।’

तनहुँ फिरफिरे, लामा गाउँका दिलबहादुर गुरुङलाई गल्लाले तीन रुपैयाँमा बैना गरेको थियो । परिवार र गाउँलेले भर्ती जान दिँदैनथ्यो उसवेला । गल्लाहरूले लुकेर छाती नाप्थ्यो । ६ जिआरका दिलबहादुर पुनको घत लाग्दो कथा छ । उनलाई ट्रेनिङमा तरुनीको यादले साहै्र सताउँथ्यो । उनले सुनाए, ‘सिरी नामकी मगरनी केटी हदै राम्री थिइन्, हिरोनी जस्ती । ट्रेनिङमा उनको याद धेरै आउने । अहिले नै उनलाई भेट्न जाऊँजस्तो लाग्ने । तर, भेट्ने कसरी ? म सात समुद्रपारि । सम्झियो, बस्यो ।’

हवाईकाण्ड
खोटाङका शिवधन राईले हवाईकाण्डबारे बेलीविस्तार लगाए । फक्ल्यान्डको लडाइँ सकेपछि बेलायतबाट उनी कार्यरत रेजिमेन्टलाई हङकङ लगियो । त्यहाँ गोर्खालीमाथि अपमान भएपछि झगडा भयो । अन्तिममा सबै पल्टनलाई रित्तै नेपाल फर्काइयो । शिवधनले भने, ‘ गोराले आफूलाई मालिक र गोर्खालीलाई नोकरजस्तो व्यवहार गर्‍यो । नेपाली जंगलमा बस्छन्, राम्रो खान पाउँदैनन् भनेपछि हामीले सहन सकेनौँ ।’ फक्ल्यान्डको टापुबाट बाँचेर आएका उनी सहित १११ जना गोर्खालीलाई खाली हात नेपाल फर्काइयो । 

कथा नयाँ पुस्ताको 
कुशल लिम्बू अफगानिस्तानमा घाइते भए । उनले भने, ‘कलरसार्जन्ट कृष्ण दुरा, विशाल राई, एकजना ब्रिटिस स्नाइपर र म टैंकको पछाडि थियौँ । एक्कासी ठूलो आवाज आयो । कृष्ण दुरा ठाउँको ठाउँ ढले । टैंक कमान्डरले एउटा खुट्टा गुमाइन् । विशाल राई सामान्य घाइते भए । मेरा दुवै खुट्टामा गम्भीर चोट लाग्यो । त्यसवेलाको पीडा म कसरी भन्न सकुँ ।’ उनले दुवै खुट्टा अफगानिस्तानमै गुमाए । 

‘मान्छेको जीवन एक सेकेन्ड मात्रैको हो ।’ अफगानिस्तानको युद्धमा घाइते भएका हरिबहादुर बुढा मगरको भनाइ हो यो । अक्टोबर १७ तारिखका दिन । दिउँसोको समय थियो । हरिबहादुरसहित उनको फौजी दस्ता मरुभूमिको बाटो पार गर्दै गस्तीमा जाँदै थिए । उनी सम्झिन्छन्, ‘स–साना रूख थिए । पप्पी फूल ढकमक्क फुलिरहेको थिए । हामी हिँडिरहेका थियौँ । मेरो नजिकै एक्कासी ठूलो आवाजले विस्फोट भयो । बालुवा उछिट्टिएर आकाश ढाक्यो । मेरो कान टिनिन्न भयो । म भुइँमा लडेछु । खुट्टा चलाउन खोजेँ तर सकिनँ । देब्रे खुट्टा छियाछिया भएछ । एकछिनपछि थाहा पाएँ, मेरो दाहिने खुट्टा पनि मेरो शरीरबाट छुट्टिसकेछ ।’ हरिबहादुरका साथीले रगत रोक्न दुईवटै तिघ्रामा टर्निकुइटले बाँधिदिए । उनी भन्छन्, त्यो घटना म शब्दमा व्याख्या गर्न सक्दिनँ । मैले दुवै खुट्टा गुमाएँ । त्यो घटनाले मेरो जीवन सधैँका लागि बदलिदियो ।’ सन् १८१४ देखि सुरु भएको यो सिलसिला दुई शताब्दी बितिसक्दा पनि अझै रोकिएको छैन ।