• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दिवाकर शर्मा  काठमाडाैं
२०७६ मङ्सिर २१ शनिबार ११:३८:००
समाज

संकटमा परिवार

२०७६ मङ्सिर २१ शनिबार ११:३८:००
दिवाकर शर्मा  काठमाडाैं

परिवार पितृसत्तात्मक समाजको ब्याड हो

दार्शनिक प्लेटोले आफ्नो परिकल्पनाको आदर्श राज्यका लागि परिवारलाई प्रत्युत्पादक ठान्थे । परिवारले मानिसलाई स्वार्थको साँघुरो घेरामा सीमित गर्ने हुनाले नै उनी यस विरुद्ध गएका होलान् । तर, उनकै शिष्य एरिस्टोटलले भने परिवारलाई एउटा सार्वभौम संस्था भएको ठहर गर्दै, बरु राज्य नरहला परिवार चिरकालपर्यन्त रहिररहने ठोकुवा गरेका थिए । समाज र परिवारबीचको अक्षुण्ण तादात्म्यका कारण उनले यस्तो ठोकुवा गरे होलान् । 

दिवाकर शर्मा 

अर्कातिर कार्ल मार्क्सले परिवार समाजमा रहेको वर्गीय शोषण, दमन, उत्पीडनको आधारभूत संस्था भएको हुनाले यो समाजवादी र साम्यवादी समाजको प्रतिकूल रहेको विश्लेषण अगाडि सारे । यसरी परिवारको पक्ष र विपक्षका धारणाहरू निरन्तर अगाडि बढिरहेका छन् । यसै सन्दर्भमा एकथरीलाई परिवारमा आएको परिवर्तन/विचलनले आकाशै खस्ने हो कि भन्ने लागेको छ भने अर्काथरीलाई यो परिवर्तन वा विचलनले हौस्याएको पनि छ । 

परिवार वास्तवमा के हो, यसले के गर्छ, यसमा परिवर्तन वा विचलन आएकै हो वा होइन र यदि त्यस्तो परिवर्तन वा विचलन आएकै भए त्यसले समाज र व्यक्तिलाई के असर गर्छ आदि प्रश्न नै मान्छेका दिमागमा नाचिरहेका छन् । त्यसैगरी समाजवादी–साम्यवादी समाज निर्माणको आन्दोलनमा लाग्नेहरूका लागि समेत पारिवारिक मूल्यमान्यता र आफ्नो ध्येयको साम्यवादी मूल्यमान्यताबीच तादात्म्य कायम गर्न धौ–धौ परेकै छ । 

परिवार त्यस्तो संस्था हो जसले हामीलाई नाम दिन्छ, पहिचान दिन्छ, इतिहास र वर्तमान दिन्छ, साथै भविष्यको आलोक पनि दिन्छ । व्यक्ति परिवारको यति निकट छ कि ऊ नै परिवार बन्छ र परिवार नै ऊ बन्छ । त्यसकारण यसलाई हामीले आफ्नो यस्तो अपरिहार्य अंग ठानेका छौँ जसबारे विचार–मन्थन गर्नु आवश्यकै छैन । अर्थात् ‘यो त यही नै हो नि, किन विचार अध्ययन गर्नुपर्‍यो र ?’ 

परिवारसँगको व्यक्तिको भावनात्मक सम्बन्ध यति गहिरो रहेको हुन्छ कि यसबारे आलोचक बन्नु वा आलोचनात्मक दृष्टि राख्नु अनैतिक पनि हुन पुग्छ । त्यसकारण पनि यसको सटीक र वैज्ञानिक अध्ययनका लागि विशेषज्ञको नै आवश्यकता पर्ने पो हो कि ? 

पहिलेका समाजशास्त्रीहरूले परिवारको सु–स्पष्ट परिभाषा दिएका थिए । साथै, त्यही परिभाषाबाट संसारका सबै परिवारलाई हेर्थे । अर्थात् आफ्नो परिभाषाको फ्रेमभित्र सबै परिवारलाई नमिले पनि ठोकठाक गरेर मिलाएर अटाउँथे, तर आज आएर के भन्ने गरिएको छ भने परिवारबारे गरिएका धेरैजसो अध्ययन दृष्टिविहीन मानिसले हात्तीको वर्णन गरेजस्तै भएको छ । 

परिवारको समग्र अध्ययन गरेर यसका साझा विशेषता पहिचान गरी संसारभरकै परिवारलाई समेट्ने गरी यसलाई परिभाषित गर्न संसार धेरै नै ठूलो रहेछ । संसारमा धेरैथरी परिवार छन्– स्वरूपका हिसाबले, तिनले गर्ने कार्यका हिसाबले, आकारका हिसाबले र एकथरीका व्यक्तिको समूहलाई समेटेर राख्ने मूल तत्वका हिसाबले । परिवारका सदस्यलाई– उनीहरूका स्वार्थदेखि सम्पूर्ण कुरालाई– प्रतिनिधित्व गर्दै वृत्तको वरिपरि राख्ने यसको केन्द्र के होला ? के त्यो आमा–बच्चाको सम्बन्ध हो ? पति–पत्नीको सम्बन्ध हो ? परिवारको इतिहास वा सम्पत्ति हो ? वा आर्थिक आवश्यकताको परिपूर्ति ? यस्ता प्रश्न आजसम्म अनुत्तरित रहेका छन् । यद्यपि, विभिन्न मानिसले आफूअनुकूल केन्द्रीय तत्व यही हो भनेर मौलो गाड्ने काम पनि गरेकै छन् । आजसम्म जे जति रौँचिरा अध्ययन गर्न सम्भव भएको छ, त्यसका आधारमा यसको सर्वसम्मत र सार्वभौम परिभाषा सम्भव भएको छैन । 

परिवारको सर्वसम्मत परिभाषा दिन सम्भव नभए पनि यो संस्था त हामीसँगै छ, जहाँ हामी जन्म लिन्छौँ/दिन्छौँ, हुर्कन्छौँ र समाजअनुकूल प्राणी बन्छौँ । परिभाषाको लफडामा नपरेर हाम्रो ध्यान त्यस समूहको अध्ययनतिर लगाउँदा, हामीले परिवार भनेर चिन्ने त्यस समूहको सबैभन्दा महत्वपूर्ण कुरा व्यक्तिलाई व्यक्ति–व्यक्तिका रूपमा छिरलिनबाट बचाएर निजी स्वार्थलाई आफूभित्र दबाएर सामूहिक व्यवहार सिकाउनु र व्यापक समाजसँग व्यक्तिलाई जोड्नु हो । यही नै यसको महत्वपूर्ण विशेषता वा कार्य रहँदै आएको छ । 

रौँचिरा अध्ययनले जेसुकै भने पनि समग्रतामा र मान्छेको सहज बुझाइका आधारमा भन्नुपर्दा परिवार एउटा त्यस्तो पितृसत्तात्मक संस्था हो, जुन पतिपत्नीको विवाहबाट सुरु भई बच्चाबच्चीसँगै पूर्णता प्राप्त गर्छ । गहिरिएर बुझ्दा यो महिलालाई पुरुषका अधीनमा राख्ने एउटा त्यस्तो संस्था हो, जुन सम्पूर्ण समाज र संस्कृतिका सबै अंगहरूमा व्याप्त हुन्छ, तर नदेखिने गरी–दूधमा घिउ व्याप्त भएजस्तै । त्यसकारण महिला विभेदीकरण परिवारको अपरिहार्य तत्व नै रहँदै आएको छ । 

परिवारले विवाहलाई धेरै महत्व दिन्छ । आफ्नो सांस्कृतिक मूल्यमान्यतालाई अँगाल्दै समुचित प्रकारले सम्पन्न गरिएको विवाह बन्धन परिवारका लागि महत्वपूर्ण हुन्छ । त्यसैगरी पतिपत्नीबीचको अधीनताको सम्बन्ध, सम्पत्ति, खानदान, कुलपरम्परा, बाउआमा र छोराछोरीबीचको सम्बन्ध, छोराछोरीबीचको सम्बन्ध, पितृसत्तात्मक व्यवस्थाअनुसार परिभाषित हुन्छन् र हुनैपर्ने मान्यता परिवारले राख्छ । अर्को शब्दमा परिवारमा पितृसत्ताको मियोको वरिपरि व्यक्ति नारिनुपर्छ । समाजमा धेरै उच्च आसन प्राप्त गरेको यस संस्थाले सम्पूर्ण परिवारको भलाइ र प्रतिनिधित्व गरेको हुन्छ भन्ने यसको मूलभूत मान्यता छ । पितृसत्तात्मक मान्यता अँगालेको परिवारको मान्यता बाहिर गई स्वतन्त्रताको आनन्द लिने छुट व्यक्तिलाई छैन । परिवारले प्रबन्ध गरी गरिदिएको विवाह नै परिवारका लागि उत्तम विवाह हो । 

सभ्यताको उषाकालदेखि नै समाज पितृसत्तात्मक रहँदै आएको छ । मार्क्स–एंगेल्सले प्राक्–ऐतिहासिक कालमा लामो समयसम्म मातृसत्तात्मक परिवार र समाज रहेको कुरा औँल्याए पनि सिकारी–कन्दमूल समाजमा समेत पुरुषको केही बढी प्रमुखता रहेको कुरा मानवशास्त्री बताउँछन् । त्यतिवेला महिलाले जम्मा गरेको कन्दमूलबाट छाक टर्ने भए पनि पुरुषले कहिलेकाहीँ ल्याएको सिकारको बढी प्रतिष्ठा थियो रे ! ‘म्यान द हन्टर’ भनेर पुरुषले छाती फुलाउँदो हो भने ‘वुमन द ग्यादरर’ भनेर महिलालाई अवश्य होच्याउँदो हो । यति लामो पृष्ठभूमि छ पितृसत्ताको । र यसको केन्द्रमा परिवार रहिआएको छ । परिवार पितृसत्तात्मक समाजको ब्याड हो भन्न पनि सकिन्छ । यो व्यवस्था धेरै बलियो हुँदाहुँदै पनि यसमा लचकता पनि छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि यसले आफूलाई अनुकूलन गर्दै आएको छ । समाजका सबै पक्षहरू जस्तै ः धर्म, राजनीति, अर्थनीति, साहित्य, दर्शन आदिमा यो व्याप्त भएको देख्न सकिन्छ । जसरी भगवान्लाई ‘सर्वगतः’ अर्थात् जहाँ पनि पुग्ने भनिन्छ, पितृसत्ता पनि त्यस्तै छ । कतिसम्म भने कम्युनिस्ट पार्टीको पोलिटब्युरोमा पनि यो पुगेकै छ र पुँजीवादको बजारमा पनि यसले आफ्नो रजगज जमाएकै छ । रूपरंगमा मात्रै परिवर्तन गरेर आफ्नो मूल तत्व बचाइराख्न यो माहिर छ । यसैकारण नै पुँजीवादमा समेत यसले ‘पुँजीवादी पितृसत्ता’का रूपमा आफूलाई स्थापित गरेकै छ । छोटकरीमा परिवारलाई पितृसत्तात्मक समाजको आधारभूत एकाइका रूपमा बुझ्न सकिन्छ । 

प्रेमविवाहले ठाउँ लिनु, समलिंगी यौनिकताको विकास हुनु, यौनिकता ‘माल’ बनेर बजारमा बेचिनु, सेक्स उद्योगले संसारको अर्थतन्त्रलाई गाँज्नु, व्यक्ति परिवारमा सीमित नहुनु आदि कारणले आज परिवार संकटमा छ

खासगरी औद्योगिक क्रान्तिपछि संसारमा विकसित भएको परिस्थितिले परिवारलाई अप्ठ्यारोमा ल्याएको देखिन्छ । विवाहका रूपमा आएको परिवर्तन, यौनिकतामा आएको परिवर्तन, बजारको उत्पादनले परिवारलाई उत्पादन एकाइका रूपमा रहन नदिएको अवस्था, नारीवादी आन्दोलन, रेनसापछि धर्म र ईश्वरको स्थान मानिसले लिएको अवस्था, लैंगिक समानताका आन्दोलन, व्यक्तिगत स्वतन्त्रता आदिको विराट् स्वर गुन्जिरहेको परिस्थिति परिवारका लागि संकटपूर्ण छ । विपरीत यौनिकता भएका व्यक्तिका बीचमा निश्चित सामाजिक, सांस्कृतिक मान्यतामा रही विवाह हुनुपर्ने परिवारको पहिलो सर्त हो । आज बाउआमाले गरिदिने विवाहको ठाउँ प्रेमविवाहले लिनु, यौनिकताका रूपमा परिवर्तन भई परिवारले किमार्थ स्विकार्न नसक्ने समलिंगी यौनिकताको विकास हुनु, केटा–केटा, केटी–केटीका बीच विवाह हुनु, यौनिकता माल बनेर बजारमा बेचिनु, सेक्स उद्योगले संसारको अर्थतन्त्रलाई गाँज्नु, व्यक्ति परिवारमा सीमित नहुनु, विवाह नगरी एक्लो व्यक्ति घरजम गरेर बस्नु, कहाँ, कहिले, कसरी विवाह हुन्छ वा विवाह नै हुन्छ कि हुँदैन थाहा नहुनु, विवाह गरेपछि विवाह बन्धन स्थायी हुन्छ कि हुन्न स्पष्ट नहुनु, परिवारले गर्ने काम बजारमा जानु आदिले सिर्जना गरेको अवस्थालाई हेर्दा आज परिवार संकटमै छ । समाजको केन्द्रीय इकाइका रूपमा रहेको परिवारमा संकट आउँदा वा परिवर्तन हुँदा अवश्य नै सिंगो समाज हल्लिन पुग्छ । 

भनिन्छ, पुँजीवादलाई पितृसत्ताले जग प्रदान गरेको छ । आजको विश्व पुँजीवाद जेजस्तो रूपमा देखिए पनि पितृसत्तासँगको यसको साइनो बलियो छ । यो पितृसत्तासँग पूरै विरोधमा जान सक्दैन । परिवारमा आएको संकटले यथास्थितिमा रमाउन चाहनेलाई अवश्य टाउको दुखाएको छ । तर, परिवर्तित समयअनुसार आफूलाई अनुकूलन गर्न सक्ने हुनाले र पितृसत्ता–पुँजीवादबीच गहिरो सम्बन्ध भएको हुनाले यसले संकटको समाधान गर्ने नै छ । 

अन्ततः कुरा शक्तिको आउँछ । आफूलाई शक्तिमा विराजमान गराउन विश्व पुँजीवाददेखि विश्व कम्युनिस्ट आन्दोलनले समेत पितृसत्तात्मक मूल्यमान्यतालाई अँगालेकै छन् । प्रजातन्त्रवादी वा कम्युनिस्ट पार्टीका केन्द्रीय निकायसमेत पितृसत्तात्मक हुनुको कारण त्यही नै होला । 

प्लेटो र मार्क्सले भनेझैँ साँच्चिकै स्वतन्त्रतापूर्ण, समानतापूर्ण र मानवतावादी समाजको निर्माण गर्ने हो भने व्यक्तिगत स्वार्थको साँघुरो घेरामा व्यक्तिलाई कैद गरिराख्ने परिवारको समग्र मान्यता र स्वरूपमा समेत विघटन भई समानता, स्वतन्त्रता र मानवीयताको जगमा आधारित परिवारजस्तै एउटा घरेलु समूहको निर्माण हुन आवश्यक छ । तर, सम्पूर्ण समाज व्यवस्था नै पितृसत्तात्मक रहेको अवस्थामा पितृसत्ताले समयानुकूल आफूलाई परिवर्तन गर्दै परिवारमा आफ्नै पकड कायम राखिरहनेछ । तर, व्यक्ति र समाजमा आमूल परिवर्तन चाहनेका लागि परिवारको यो स्वरूप गलत छ र यसमा जेजस्ता पुँजीवादी–पितृसत्तावादी परिवर्तन वा विकृति आएका छन्, ती पनि गलत छन् । त्यसैले होला– मोक्ष प्राप्तिका लागि हिन्दू धर्मले समेत सन्न्यास आश्रमको व्यवस्था गरेको छ । त्यसरी नै पूर्ण मुक्तिका लागि परिवारको वर्तमान संरचना बाधक रहेको हुनाले प्लेटो र माक्र्सले समेत यसको विरोध गरेका होलान् ।