• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
आन्विका गिरी काठमाडाैं
२०७६ मङ्सिर २१ शनिबार १३:१५:००
यात्रा

प्रश्नको यात्रामा हिँडेका पत्रकार

२०७६ मङ्सिर २१ शनिबार १३:१५:००
आन्विका गिरी काठमाडाैं

जवाहारलाल नेहरू विश्वविद्यालयको विद्यार्थी संगठनका तत्कालीन नेता कन्हैया कुमार पक्राउ नपरेका भए मैले रवीश कुमारको पत्रकारितालाई चिन्ने अवसर पाउँदिनथेँ । भारतीय टिभी पत्रकारितालाई मैले कहिल्यै रुचिपूर्वक हेरिनँ । जोडजोडले मथिंगल हल्लिने गरी चिच्याउने, तथ्यलाई लात हानेर अतिरञ्जित समाचार बजाउने र सधैँ पाकिस्तानको हौवा देखाएर त्रास उत्पादन गर्ने कारखानाका रूपमा म तिनका उत्पादन ग्रहण गर्दिनथेँ । अचानक कन्हैया कुमारको गिरफ्तारी र त्यसपछि उत्पन्न परिस्थितिले मलाई सूचनाका थप स्रोत चाहियो । आफूले कुनै दिन पढ्न जाने चाहना राखेको विश्वविद्यालयबारे अनेक थरी चर्चा हुन थालेपछि म पत्रिका र तिनैका अनलाइनमा मात्र सीमित हुन सकिनँ । टेलिभिजन नहेर्ने भएकाले म यूट्युबमा कन्हैया र जेएनयूबारे खोज्न थालँे । 

एउटा २६ वर्षको विद्यार्थीलाई सीधै ‘तँ देशद्रोही होस्’ भनेर गाली गरिरहेको ‘देशभक्त’ पत्रकारलगायतका टेलिभिजन सो हुँदै म रवीश कुमारको ‘प्राइम टाइम’ हेर्न पुगेँ । शालीन, बिल्कुलै नचिच्याईकन आफ्ना प्रश्न गर्ने, तथ्य प्रस्तुत गर्ने र धाराप्रवाह विषयवस्तुलाई बुझाउन सक्ने रवीश कुमारमा पुगेर म रोकिएँ । बोलिरहेका वेला घरीघरी सर्टको बाउला र कलर मिलाउने, घडी चलाइरहने, सर्टको बाउलाको टाँक खोल्ने र फेरि लगाउने यी तिल चामले कपाल भएका पत्रकारको बानी छ । प्रश्न नै उनको पत्रकारिताको केन्द्र हो । आमजनताको सवाल र सरोकार उनको पत्रकारिताको सार हो । 

टेलिभिजनमा आएका चिठी पढेर सम्बन्धित कार्यक्रम उत्पादक तथा प्रस्तोताका लागि रिपोर्ट बनाएर दिने कामबाट टेलिभिजनको संसारमा आएका रवीश रिपोर्टर हुँदै अहिले एनडिटिभीका कार्यकारी सम्पादक हुन् । तर, आज पनि उनी बुम बोकेर गाउँमा पुगिरहेका हुन्छन् । एउटा प्राथमिक विद्यालयको शिक्षकले कसरी त्यहाँको पढाइमा सुधार ल्यायो भनेर रिपोर्टिङ गरिरहेका हुन्छन् । हामीकहाँ टेलिभिजनका सम्पादक भन्नु भनेको एउटा टक सो सञ्चालन गर्नु जसमा तथ्यगत प्रश्नभन्दा आफ्नो ‘विद्वत्ता’को अहं प्रदर्शन गर्नु मात्रै हुन्छ । बिहार मोतिहारीको सामान्य परिवारबाट आएका रवीशको पत्रकारिताको मूलमन्त्र नै सत्तालाई आमजनताको सरोकारको विषयलाई लिएर गर्ने प्रश्न हो । तिनै प्रश्नले उनलाई पत्रकारितामा यसरी स्थापित गरेको छ कि मान्छेहरू भन्ने गर्छन्, ‘के मोदी रवीश कुमारको प्रश्नको सामना गर्न सक्छन् ?’ यसबाट नै उनले गर्ने प्रश्नको ओज कति छ अनुमान लाउन सकिन्छ । प्रश्नले नै हो, आमजनताले उनलाई आफ्नो पत्रकार मानेका छन् । उनका दर्शक के कुरामा ढुक्क छन् भने आममान्छेका मुद्दाका लागि उनी कसैलाई पनि प्रश्न गर्न डराउनेछैनन् । उनलाई पटक्कै डर नलाग्ने भने होइन । उनले आफू असुरक्षित रहेको कुरा प्रधानमन्त्री मोदीलाई बताउन खुला चिठी नै लेखे, तर डराएको पत्रकारले मरेको नागरिक उत्पादन गर्ने भन्दै उनी प्रश्नको सिलसिला कायम राख्छन् । मोदीको राजमा कि मोदीको पक्षमा बोल या घृणा, अपमान, कारबाहीको सिकार बन भन्ने विकल्प रहेको समयमा रेमन म्याग्सेसे अवार्ड समारोहमा रवीश भन्छन्, ‘सबै युद्ध जित्नकै लागि लडिँदैनन्, केही युद्ध संसारलाई कोही त युद्ध मैदानमा छ भनेर देखाउन पनि लडिन्छ ।’

भारतको टेलिभिजन सररर एकछिन हेर्ने हो भने धेरैजसो च्यानलहरू प्रतिपक्षलाई प्रश्न सोधेर सत्ताको जयगान गाइरहेका छन् । स्थिति यस्तो छ कि सरकारलाई प्रश्न सोध्ने सञ्चारकर्मी पनि यिनीहरूको घानमा पर्छन् । रवीशले हालै एक कार्यक्रममा भने, ‘अरू वेला पनि मिडियाले सत्ताको जयगान गाउँथ्यो, तर यतिवेला मिडिया लोकतन्त्र नै धरापमा पार्न लागिपरेको छ ।’ सन् २०१४ पछि स्थिति यतिसम्म छ कि पत्रकारहरू एक–अर्कालाई देशद्रोही र देशभक्त करार गर्न उद्यत छन् । रवीश कुमार यो भिडमा सत्तालाई प्रश्न गर्दै निरन्तर आममान्छेको मुद्दामा केन्द्रित करिब–करिब एक्ला मान्छे हुन् ।

अन्य आमभारतीयझैँ मोदीको उदय र अझ जेएनयूको घटनाले रवीश कुमारको जिन्दगीमा पनि उथलपुथल आएको छ । आफैँ टिभीमा काम गरेर ‘सक्नुहुन्छ भने टिभी नहेर्नुहोला’ भन्ने अनुरोध उनले गर्नुपरेको छ । यो अनुरोध उनी बितेको वर्षदेखि लगातार दोहो¥याइरहेका छन् । सत्तालाई तथ्यसहितको प्रश्न रुच्दैन । सत्ताको चरित्र नै भक्तिगान सुन्ने हुन्छ । सत्तालाई लाग्छ, सबै ऊप्रति नतमस्तक हुनुपर्छ । रवीशका प्रश्न पनि सत्ताले पचाउन सकेको छैन । उनको प्रश्न राम मन्दिर कहिले बन्छ भन्ने हुँदैन । बिहारमा कहिले सरासर परीक्षा हुन्छ र स्नातकको पढाइ तीन वर्षमा सकिन्छ भन्ने हुन्छ । उनको प्रश्न मोदीले आफ्नी आमासँग बसेर के खाए भन्ने हुँदैन । नोटबन्दीले मान्छेको सास्ती बढाउँदा सरकार किन केही गर्दैन भन्ने हुन्छ । उनको प्रश्न मोदीले दिनको कति समय योग गर्छन् भन्ने हुँदैन । उनको प्रश्न कहिलेसम्म भारतमा सामान्य खोप नपाएर बच्चाहरू मरिरहने भन्ने हुन्छ । उनको प्रश्न मोदी आफँैले कुचो समाएर कहाँको सडक बढारे भन्ने हुँदैन । सफाइ कर्मचारी ढलमा पुरेर कहिलेसम्म मरिरहने भनेर हुन्छ । सत्तारूढ बिजेपीले त उनको कार्यक्रममा आफ्ना प्रवक्तालाई पठाउनै छाडिदियो । कार्यक्रममा सत्तारूढ दल नै नआउने भएपछि कार्यक्रमको सन्तुलनलाई ध्यानमा राख्दै उनले आफ्नो प्राइम टाइमको स्वरूप नै बदले । लगातार ६ महिनासम्म उनले रोजगारीको शृंखला नै चलाए । बैंकमा महिलाहरूको शौचालयको अवस्थादेखि रेलवेको दुर्दशा उनले देखाए । न्युजरुमको वातानुकूलित कक्ष छोडेर माइक समाएर उनी गाउँगाउँ पुगे । उनले शिक्षक, विद्यार्थी, बेरोजगार युवा, सफाइ कर्मचारीलाई प्राइम टाइममा ठाउँ दिए । उनले यी कार्यक्रमहरू चलाउँदै गर्दा अन्य टेलिभिजन च्यानल ‘हिन्दू–मुसलमान’को झगडाको निहुँ देखाएर आफैँ–आफैँमा चर्काचर्की गरिरहेका थिए, छन् । 

‘शाहरूख खान ३० सेकेन्डमा लक्स साबुन बेच्न सक्छन् भने म समाचार किन भन्न सक्दिनँ’ भन्ने रवीशले पत्रकारिताको सुरुवातमा २०–३० सेकेन्डमा समाचार भन्ने प्रयोग गरे । टेलिभिजन बदनाम भइरहेको समयलाई लिएर कालो पर्दा मात्र देखाएर ‘टिभीको अँध्यारो दुनियाँ’ भनेर टेलिभिजनको अँध्यारो स्क्रिन देखाए । कसरी प्रस्तोताले झगडालु अतिथि बोलाएर आफ्नो टिआरपी बढाउँछन् भनेर मिम पनि देखाए । अक्षर कुमारले चुनावको मुखमा मोदीको गैरराजनीतिक अन्तर्वार्ता गरेपछि रवीशलाई पनि थोरै नौटंकी देखाउन मन लाग्यो । उनले आँपको महिमा गाए र मृदुभाषी बनेर आफ्ना श्रोतालाई राजनीतिक र गैरराजनीतिक अन्तर्वार्ताको फरक सम्झाए । एंकरबाट भक्तिगान नपुगेर एक्टर बोलाउनुपरेको भनेर उनले मोदीको ‘गैरराजनीतिक’ अन्तर्वार्तालाई व्यंग्य गरे । 

प्रश्न र पत्रकार सँगै हिँडे मात्र पत्रकारिता रहन्छ । प्रश्नको मृत्युसँगै पत्रकार कार्यकर्तामा परिणत हुन्छ र ऊबाट आशा गर्नु बेकार हुन्छ ।

उनका विरोधीहरू उनलाई बिजेपी र मोदीको खरो आलोचक मान्छन् । उनी भने तिनै विजेपीका नेता कांग्रेस सरकारमा हुँदा आफ्नो कार्यक्रमको प्रशंसक भएको बताउँछन् । त्यतिखेर ‘वाह ! रवीश !’ भन्नेहरू अहिले आफ्नो प्रश्नले तिलमिलाएको उनको ठहर छ । त्यो समयमा उनलाई हालका गृहमन्त्री अमित शाहको घरभित्रै स्वागत गरिन्थ्यो । अहिले अमित शाह त के, बिजेपीले कसैलाई पनि उनको कार्यक्रममा जान रोक लगाएको छ । रेमन म्याग्सेसे पुरस्कार पाएपछि एक पत्रकारले उनलाई सोधेका थिए, ‘मोदीसँग किन यति 
चिढिनुभएको ?’ प्रत्युत्तरमा रवीशले भने, ‘म कहाँ मोदीसँग चिढिनु ! समस्या त उहाँलाई छ । देशको एउटा नागरिकले यति महत्वपूर्ण पुरस्कार पाउँदा उहाँले बधाईसमेत भन्नुभएन ।’ 

ट्विटरमा परिवारका सदस्यलाई समेत जोडेर ट्रोल हुन थालेपछि अकाउन्ट यथावत् राखेर चलाउन भने छाडिदिएका छन् । तर, त्यही सोसल मिडिया चलाउनेलाई भने उनले खबरका श्रोतका रूपमा प्रयोग गरे । सन् २०१४ पछि विज्ञापनलगायत अन्य आर्थिक समस्याबाट एनडिटिभी गुज्रियो । स्रोतसाधनको प्रयोगमा सीमितता भएपछि उनले आममान्छेलाई समाचार र फुटेज पठाउन आह्वान गरे । दैनिक आउने हजारौँ म्यासेज पढेर तीमध्ये कैयन् समाचारका लागि उनी फिल्डमै गए । 

४४ वर्षीय यी पत्रकार राति नौबजे (भारतीय समय) आउने प्राइम टाइमका लागि कम्तीमा पनि ६–७ घन्टा पढ्ने गरेको सुनाउँछन् । ब्लग, समाचार, यताउता के–के लेख्दा दैनिक न्यूनतम २००० शब्ददेखि ५००० शब्दसम्म लेख्छन् । तथ्य आफैँ क्रिएट गरेको दाबी गर्दैनन् । टेलिभिजनमा सीधै भन्दिन्छन्, ‘यो मलाई थाहा भएर भनेको होइन । फलाना, फलाना पत्रिका वा किताबले यसो भनेका छन् ।’ 

रवीश आफ्नो संघर्षलाई कुनै विशेष महत्व दिँदैनन् । उनी भन्छन्, ‘मलाई आफूलाई बेच्नु छैन । हाम्रो देशको सिस्टम नै यस्तै छ कि हरेक गरिब र मध्यमवर्गको मान्छे संघर्ष नगरी रहनै सक्दैन ।’ मोदीको चिया बेचेको इतिहासको ज्यादै नै चर्चा भएपछि दिक्क भएर उनले यसो भनेका हुन् । 

दैनिक कति धम्की र खप्की भरिएका फोन, इमेल, ह्वाट्स याप मेसेज आउँछन्, तिनको गणना राख्न मुस्किल छ । धम्की र खप्कीको फोन उठाउँदा अभ्यस्त परेका उनले रेमन म्याग्सेसे पुरस्कारका लागि फोन आउँदा पनि आफ्नी सहकर्मीलाई ‘ल अब फिलिपिन्सबाट कस्तो गाली आउँछ सुन’ भन्दै फोन ह्यान्ड्स फ्री गरेका थिए । मिहिनेत गर्ने, नयाँ–नयाँ प्रयोग गर्ने, सरल साधारण थुप्रै पत्रकारहरूको ‘भिड’मा रवीश कुमारलाई पृथक् बनाएको नै जनताको प्रश्न गर्ने अधिकारका लागि उनले उठाएको निरन्तर आवाज हो । उनले थुप्रै अन्तर्वार्तामा भनेका छन् कि डर उनलाई पनि लाग्छ, तर डराउँदै डराउँदै भए पनि प्रश्न गर्नु उनको काम हो । प्रश्न र पत्रकार सँगै हिँडे मात्र पत्रकारिता रहन्छ । प्रश्नको मृत्युसँगै पत्रकार कार्यकर्तामा परिणत हुन्छ र ऊबाट आशा गर्नु बेकार हुन्छ । नोटबन्दी, आर्थिक वृद्धिदरको ओरालो, भयानक बेरोजगारी, मब लिन्चिङ, लेखक तथा पत्रकारको हत्या भइरहेका वेला जब तपार्इं देशका प्रधानमन्त्रीलाई ‘तपार्इं के खानुहुन्छ ? कतिखेर उठ्नुहुन्छ’ भनेर सोध्नुहुन्छ भने त्यो पत्रकारितालाई भजनकारिता किन नभन्ने ? उनी आक्रोश व्यक्त गर्छन् । 

प्रश्नको यात्रामा हिँडेका यी पत्रकार कविता पनि लेख्छन् । अंग्रेजी आउँदैन भन्न नहिचकिचाई उनी आफूले जानेको अंग्रेजीका लागि पत्नी नयनालाई श्रेय दिन भुल्दैनन् । सरकारको आँखी भएका रवीश कुमार यतिखेर भारतीय मिडियाको सबैभन्दा विद्रूप रूप देखेर चिन्तित छन् । सत्ताले त प्रश्नलाई बेवास्ता गर्ने नै भयो, यहाँ त स्थिति यस्तो छ कि प्रश्न गर्नेहरू स्वयं प्रश्नसँग चिढिएका छन् । प्रश्नविनाको पत्रकार आत्मसमर्पणको स्थितिमा छ । यस्तोमा रवीशलाई आफ्नोभन्दा पनि प्रश्नको सुरक्षाको चिन्ता छ । यही चिन्ता उनले आफ्नो पुस्तक ‘द फ्री भ्वाइस : अन डेमोक्रेसी, कल्चर एन्ड द नेसन’मा लेखेका छन् ।