• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २१ शनिबार १३:३४:००
समाज

सपनामाथि धोका भएको कथा लेख्दै छु

२०७६ मङ्सिर २१ शनिबार १३:३४:००
नयाँ पत्रिका काठमाडाैं

‘तमस’ कथासंग्रहमा खास के छ ? 
केही पुराना कथालाई पुनर्लेखन गरेको छु । केही नयाँ पनि थपेको छु । संग्रहमा समयको प्रतिध्वनिको हिसाबले पञ्चायतदेखि यताका कथा पनि छन् । कथामा इतिहास र भूगोलको प्रतिध्वनि ल्याउने कोसिस गरेको छु । 

पछिल्ला राजनीतिक परिघटना र सामाजिक अवस्थालाई ‘तमस’ले कसरी सम्बोधन गर्छ ?
कलामा सोझै राजनीतिलाई प्रतिबिम्बित गराउन रुचाउँदिनँ । तर, राजनीतिले जस्तो मान्छे बनाएको छ, त्यसलाई देखाउन भने सकिन्छ नै । पछिल्लो समय मैले विश्वास गरेको राज्यरूपी पानीजहाज दुर्घटनातिर गइरहेको छ । हिमचट्टानमा ठोकिन लागेको आशंका मेरा कथामा छन् । केही कथा अमेरिकी परिवेशमा पनि लेखेको छु । अमेरिका गएर केही महिना बस्ने क्रममा अमेरिकाको पिपुल्स हिस्ट्री पढेँ । मानवशास्त्री डा. मेरी डेसनले मलाई केही किताब दिएर धेरै गुन लगाउनुभयो । ती किताबमा सभ्यताको संकटको अवस्था चित्रण गरिएको छ । 

पछिल्लो समय कतिपयले नेतृत्वले धोका दिए भनिरहेका छन् । कतिपयचाहिँ ‘नेपालमा समृद्धि आइसक्यो, महसुस गर्नुपर्छ’ भनिरहेका छन् । यी दुई पक्षको प्रतिबिम्ब तपाईंको नयाँ कथासंग्रहमा कति छ ?
‘जनयुद्ध’ भइरहेको बेलै मैले प्रश्न गरेको थिएँ, ‘जनयुद्धको ठूलो जहाज त उडाइयो । तर, अवतरण गर्ने एयरपोर्ट छैन । ठूलो दलदल छ वरिपरि ।’ मैले बारम्बार भनेको थिएँ, ‘यो युद्ध कि ठगीतिर गएर टुंगिन्छ, कि आत्महत्यामा गएर टुंगिन्छ ।’ युद्धपछिको परिदृश्य हामीले देखिरहेका छौँ अहिले । ‘हजार माइलको बाटो’मा अलिकति त्यो पक्ष उठाएको छु । म सपनामाथि धोका भएको कथा लेख्दै आएको छु । ‘इन्द्रजाल’ कथा पनि त्यही हो । ‘जगन्नाथ मास्टरसाबको पर्खाल’ मेरैविरुद्ध नारा लागेपछि लेखिएको कथा हो । 

साहित्यका विभिन्न विधामार्फत समाजसँग निरन्तर संवाद गरिरहनुभएको छ । यो संवाद–यात्रा कहिलेसम्म जारी रहन्छ ? 
यो यात्रा कहिल्यै टुंगिँदैन । किनभने समाज रहुन्जेल समाजसँग बोल्ने कुरा रहन्छ । समाजसँग संवाद गर्ने कुरा समयको क्रमसँगै नयाँ ढंगले आइरहन्छन् । हिजो अर्को समाज थियो । आज अर्को समाजसँग हामी बोल्दै छौँ । किनकि समाजमा हिजोभन्दा आज धेरै ठूलो उथलपुथल भयो । म आफैँ धेरै ठूलो परिवर्तनबाट गुज्रिएँ । लेखनमा पनि गुज्रिएँ । हिजो जुन कुरालाई मैले देशभक्ति भन्थेँ, आज देशभक्तिको परिभाषा अर्कै भयो । त्यसैले समाजसँग संवाद गर्ने क्रम कहिल्यै टुंगिँदैन ।

समाजसँग पटक–पटक संवाद गरिरहन मन लाग्ने कारण के हो ?
मैले जे सिकेँ, त्यो मेरै अन्तस्करणको शक्तिले सिकेको होइन । म बन्नमा समाजको भूमिका छ । मैले समाजबाटै पाइरहेको हुन्छु । यो समाजसँग मेरो पनि सरोकार र ऐक्यबद्धता रहन्छ । त्यसैले समाजबारे केही लेख्नुपर्छ भन्ने लागिरन्छ । 

तपाईंले नलेख्दा समाजले के छुटाउँछ ? 
समाजले केही पनि छुटाउँदैन । किनकि म समाजको एउटा सानो बिन्दु पनि होइन । तर, मैले नै छुटाउँछु । मैले केही लेखेको कारणले समाजका विभिन्न व्यक्तिसँग संवाद गर्न पाइरहेको छु । यदि मैले नलेखेको भए संवादबाट मै वञ्चित हुने थिएँ । 

‘जनयुद्ध’ भइरहेको वेलै मैले प्रश्न गरेको थिएँ, ‘जनयुद्धको जहाज त उडाइयो । तर, अवतरण गर्ने एयरपोर्ट छैन । ठूलो दलदल छ वरिपरि ।’

तपाईंले अधिकांश रचना वामपन्थी विचारको नजिक रहेर लेख्नुभयो ।तर, समाजचाहिँ सधैँ दक्षिणपन्थीबाटोमा गइरहेको भन्ने सुनिन्छ । यस्तो किन हुन्छ ?
संसारभरिकै समाज दक्षिणपन्थतिर गइरहेको छ । यो सत्य हो । यसको एउटा कारण पुँजीवादको विकासको प्रक्रिया नसकिएर पनि होला । अर्को कारण, पुँजीवादविरुद्धको आन्दोलन भुइँतहबाट सुरु नभएर पनि होला । भुइँतह बदलिन समय लाग्छ । माथि बदलिन सजिलो छ, तर त्यो बदलाव लामो समय टिक्दैन । लामो समय टिक्न भुइँतह बदलिनुपर्छ । हामीले भुइँतह नै बनाउन सकेनौँ । तल व्यक्तिवाद रोप्ने अनि माथि समाजवाद भनेर हुँदैन । तर, समाज जति नै दक्षिणपन्थमा हिँडे पनि न्यायमा नफर्की सुखै छैन । समाज दक्षिणपन्थतिर गयो भन्दैमा हामीले बोल्न छाड्नुहुन्न । एक दिन यो कोर्स करेक्सन हुन्छ । 

तपाईं कुनै समय हिप्पीहरूसँग पनि हिँड्नुभयो । पछि कसरी माक्र्सवादलाई अनुसरण गर्न थाल्नुभयो ?
हो, म हिप्पी मुभमेन्टमा पनि लागेँ । हिप्पीहरूसँग गाँजा मात्रै होइन, आफूसँग जे छ, त्यो बाँडेर खाइन्थ्यो । एकले अर्कालाई सहयोग गर्थे । महिलाका लागि स्पेस थियो त्यहाँ । समाजवाद र पुँजीवादका अवशेष देखेँ । त्यहीभित्र विद्रोह पनि देखेँ । त्यसपछि एलेन गिन्सवर्गको कविता पढ्न थालँे । म जुन वेला गाँजा खाइरहेको थिएँ, त्यसवेला कार्लमाक्र्स पढेको थिइनँ । पछि माक्र्स पढेँ । लाग्यो, माक्र्स आफ्नो समयका ठूला ‘जिनिएस’ हुन् । न्यायका लागि उनको ज्ञानले जति अद्भूत योगदान अरूले दिन सकेनन् । सौन्दर्यशास्त्रको सही प्रस्थान बिन्दु पनि उनैले दिए । ‘म समाजमा कसरी आएँ’ भन्नेबारे उनैले भनिदिए । म बसिरहेको मेच कसैले बनायो भन्नेबारे उनैले भनिदिए । त्यसपछि मलाई लाग्यो, वामपन्थी विचार अँगाल्नुपर्छ । वामपन्थतिर लाग्दालाग्दै कठमुल्लावादी वामपन्थीको पनि विकास भएको देखियो । 

एकदमै संकट परेका वेला कुनै साहित्यिक पुस्तक पढेर ऊर्जा लिने कृति हामीकहाँ खडेरी छ भनिन्छ नि ! के यो सत्य हो ? 
यो एकदमै सत्य हो । हो हामीकहाँ राम्रो साहित्यिक कृतिको खडेरी छ । लेख्नै सकेका छैनौँ, हामीले । तर, प्रयासचाहिँ गरेका छौँ । अघिल्लो पुस्ताका रमेश विकल र शंकर लामिछानेका कथाहरू छन्, तर ती कथाहरूमा सरलता आएन । पछिल्लो पुस्ताका श्याम साहहरूले पनि कथा लेखिरहेका छन् । 

नेपालमा एकदमै छिटोछिटो राजनीतिक घटनाहरू भए । युरोपतिर पनि यति छिटो–छिटो घटनाक्रमहरू नभएको कतिपयको विश्लेषण छ । राजनीतिक परिवर्तनको रफ्तारअनुसार त्यही समयलाई सम्बोधन गर्ने साहित्य जन्मिएका छन् त ? 
नेपाली इतिहासको विशेषता नै होला, क्रान्ति दश–दशमा हुने, समाज परिवर्तन भएजस्तो देखिने तर पश्चगमनचाहिँ झनै बलियो हुँदै जाने । अहिले राज्य मात्रै अगाडि गएजस्तो देखिन्छ । जनता र नेता आन्दोलनको वेला मात्रै सँगसँगै हुन्छन् । अरू वेला नेता र जनताबीच दूरी टाढाको हुन्छ । हाम्रो साहित्यले पनि बृहत् मानिससँग संवाद गर्न सकिरहेको छैन । हामीभन्दा पछाडि ब्युँझिएका कतिपय देश हामीभन्दा धेरै अगाडि गइसके । ती देशमा एकसेएक लेखक छन् । 

नयाँ पुस्ताबाट कति आशावादी हुनुहुन्छ ?
नयाँ पुस्ताबाट म आशावादी छु । मैले अत्यधिक संवाद गर्ने पनि नयाँ पुस्तासँगै हो । सरिता तिवारी, विनोदविक्रम केसी, स्वप्निल स्मृतिहरूले राम्रो लेखिरहेका छन् । नयाँ पुस्ताले केही गर्छ भन्ने आशा छ । यति हो कि उनीहरूले शिखरमा पुगिसकेको भ्रम हटाए पुग्छ ।