• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
लक्ष्मीराज पण्डित काठमाडाैं
२०७६ मङ्सिर २१ शनिबार १४:१०:००
समाज

वटुक र बूढाबूढी 

लोककथा

२०७६ मङ्सिर २१ शनिबार १४:१०:००
लक्ष्मीराज पण्डित काठमाडाैं

बझाङतिर प्रचलित लोककथा हो यो । 

एउटा गाउँमा बूढाबूढी मात्रै बस्थे । उनीहरूका छोराछोरी थिएनन् । माघी पर्व नजिकै आइरहेको थियो । माघी पर्व भव्य मनाउने बूढाबूढीबीच सल्लाह भयो । त्यसका लागि चामल, चुक र मास खोज्न बूढा अउल (बेसी) तिर लागे । 

बूढी ओखर, भाङो र तिर्कुलो (सिलाम) खोज्न गाउँतिर लागिन् । बूढाले बेसीबाट चुक, चामल र मास किनेर ल्याए  । बूढीले ओखर, भाङो र तिर्कुलो लिएर आइन् । दोस्रो दिन बूढाबूढीले ओखर फुटाएर गुदी निकाले । भाङो र तिर्कुलो जितारो (जाँतो) मा दलेर खोस्टा फ्याँके । बूढाले ओखलमा आगो बालेर तेल पेल्न ओखल तताउन थाले । बूढी तेल पेल्न चाहिने सबै सामान लिएर ओखल भएको ठाउँमा गइन् र भनिन्, ‘ए बूढा ओखल तात्यो कि नाइँ ?’ बूढाले भने, ‘ओखल तताई पानी पनि तताइ सक्याँ ।’ बूढीले ओखलबाट आगो निकालेर अलग राखिन् । ओखलमा ओखरको गुँदी, भाङो र तिर्कुलो हालेर कुट्न थालिन् र तेल पेलिन् । बूढीले तेल चोको (भूतले तेल नचोरोस् भनी पिनालाई आगोमा पोल्ने र धुँवा निकाल्ने काम) बनाइन् । तेल चोको दुवै बूढाबूढीले बाँडेर खाए । त्यसपछि बूढीले तेल बनाएर भाँडोमा राखिन् । अनि दुवै बूढाबूढीले चोत्या पिना (पिना र मुला एउटैमा कुटेको) बनाएर खाए । 

बेलुकी मसान्तको दिन बूढाबूढीले तरुल पकाएर खाए । बिहान माघी संक्रान्तिको दिन उठेर दुवै बूढाबूढी पनेरा गएर नुहाइधुवाइ गरे । मुढा तापे अनि घर गएर पूजा गरे । 

अब दुवै बूढाबूढी माघी मनाउन लागे । बूढीले सिलामा मास पिसिन् । बूढाले भात पकाए । चुकानी बनाए । दुवैजनाले गहतको तिउन बनाए । बटुक (मासको बारा) पकाए । तर, बटुक भने तिनटा मात्र भएछन् । बूढाले थालीमा भात पस्के । तिउन चुकानी कचौरामा राखे । बूढीले पनि कचौरामा दही राखिन् । अब दुवै खाना खान बसे । बटुक कसले बढी खाने र कसले बाँड्ने भन्नेमा समस्या प¥यो । ‘जो भान्से उही भोको’ भने जस्तै बूढाले चलाखी गरेर बूढीलाई बटुक बाँड्न लगाए । आफूले बढी पाउँछु भनेर बूढीलाई बाँड्न लगाए । बूढाले भने, ‘ए बुढी ! तुँ बटुक बाँड् ।’ बूढीले पनि बूढाको चलाखी बुझेर बाँड्ने प्रयासै गरिनन् । बूढीले भनिन्, ‘भात पकाउन्या तमे, बटुक पकाउन्या तमे, मु बटुक किन बाँडू ?’ यति भन्दाभन्दा दुवैले भात खाए । बटुक खाएन । रात प¥यो । दुवैले एक–अर्काको चलाखी बुझेपछि बटुक बाँडिएन । बूढाले एउटा उपाय निकाले । बूढी बिहानै उठ्छे, म पछि उठ्छु भन्ने सोचेर बूढाले बूढीसँग भने, ‘ए बूढी अहिले हामी सुतौँ । भोलि बिहान जो ढिला उठ्छ उसले दुई बटुक खान्छ ।’ बूढी पनि बूढाको चलाखी बुझेर राजी भइन् । त्यसपछि दुवै सुते । 

अब भोलिपल्ट निद्रा खुले पनि त्यसै आँखा बन्द गरिरहिन्, बूढीले । बूढाको निन्द्रा खुल्यो । बूढी सुतिरहेको देखे । बूढा पनि के कम । उनी पनि सुतेको बहाना गरिरहे । यसो गर्दा गर्दै दिन चढिसकेको थियो । तर, बूढाबूढीको ढोका बन्द भइरह्यो । ढोका नखुलेपछि गाउँलेहरूलाई शंका लाग्यो । ढोका खोलेर हेर्दा बूढाबूढी मरणासन्न अवस्थामा भेटे । बोलाउँदा ओल्टाउँदा पल्टाउँदा न कोही बोल्दछन् न हल्लिन्छन् । गाउँलेहरूले पनि यिनीहरू मरिसके भनेर बाँस मगाए । बाँसको सुताखाट बनाएर त्यसैमा दुवैलाई राखेर मसानघाटमा अन्त्येष्टिका लागि लगे । 

मसानघाट पुग्दा पनि बूढाबूढी बोलेनन् । यदि कसैले बोलिहालेछ भने पनि एउटा बटुक मात्र खान पाइने । त्यसैले कोही पनि बोल्दै बोलेनन् । मलामीले चिता बनाए । बूढाबूढीलाई त्यसै चितामा राखेर आगो लगाउन थाले । त्यतिसम्म पनि बूढी बोलिनन् । अन्त्यमा बूढाले नै बोलेर भने, ‘ए बूढी तु दुई खाल्लि, मु एकै खाउँला ।’ यसो भनेपछि दुवै उठे । मलामीहरू मडाजाग (मुर्दा भूत भएर जाग्नु) भए अब हामीलाई खान्छन् भनेर भाग्दै गुहारगुहार भन्दै घरतिर लागे । बूढाबूढी यिनीहरू हाम्रो बटुक खान गएका हुन् भन्दै मलामीका पछिपछि दौडे । मलामीहरूले सोचे– हामीलाई नै भूत बनेर खान आएका हुन् । गाउँमा पुग्दा बूढाबूढीलाई सबै गाउँलेले ढुंगाले हिर्काउन थाले ।