• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
राजन मुकारुङ
२०७६ मङ्सिर २८ शनिबार ०७:५३:००
साहित्य

नेपाली साहित्यमा दलगत चेत हाबी भयो : वैरागी काइँला

२०७६ मङ्सिर २८ शनिबार ०७:५३:००
राजन मुकारुङ

सधैँ समानान्तर !

तिलविक्रम नेम्वाङ (जन्म वि.सं. १९९६, साउन २५ गते)को बाल्यकाल अरूको जस्तो चहलपहलयुक्त थिएन । ‘एड्भेन्चरस’ थिएन । गाउँको सामान्य बचाइ हो । उः वेलाको गाउँको बचाइ भनेको लगभग ७५–८० वर्ष अगाडिको कुरा हो, बडो स्थिर हो । एकदम स्थिर रूपमा चल्ने । खेतीपातीमा आधारित जीवनशैली । बस्तुभाउ, बाख्रा, कुखुरा, सुँगुर । बारी, खेत । त्यस्तै त हो नि । केटाकेटीमा ठूलो काम गरेको भनेको तीन–चार वर्षको भएपछि यसो बारीमा गाईबस्तु हेरिदिनेहरूको पछि लागेर कुद्ने, दौडने । आफूभन्दा ठूलोसँग पछि लागेर घाँस काट्न जाने । हँसिया लिएर घाँस काट्ने, हात काट्ने । यस्तै हो । त्यस्तो घटनाप्रधान थिएन, अहिलेको शब्दमा ।

 सावाँ–अक्षर त गाउँमा, घरमै सिके । इलाममा अहिलेको जुन पद्मोदय हाईस्कुल छ, त्यो स्कुलमा उः वेला उनका दाजुहरू पढ्दा रहेछन् । निकै लाठे भएपछि मात्रै त्यहाँ पुगे उनी । वि.सं. २००५ सालको दसैँपछाडि । एकैचोटि दुई कक्षामा भर्ना भए । त्यहाँ उनले कक्षा ७ सम्म सिध्याए । त्यसपछि दार्जिलिङ गए, २०११ सालको सेसनदेखि । त्यहाँको सरकारी हाइस्कुलमा नेपाली मिडियममा पढाइ हुन्थ्यो । त्यही स्कुलमा पढे । कलेजको जीवन पनि दार्जिलिङमै भयो । एसएलसी सकाएपछि दार्जिलिङकै सरकारी कलेज ‘सेन्टजोसेफ’मा भर्ना भएर पढे । 

स्कुले जीवनको अन्तिम समयमा ईश्वर वल्लभ दार्जिलिङ आइपुगे । झल्याँस्स देखेको मात्रै हो । सन् १९९६ को अन्त्यतिर दसैँको छेकछाक । चिनजान भने एक–डेढ वर्षपछाडि मात्रै भयो । इन्द्रबहादुर राईसँग त निकै पछाडि मात्रै । तर, इलाममा देखेका थिएछन् । इलाममा पढ्दै गर्दा ००९ सालतिर कर्फोकमा विद्या मन्दिर भनेर महानन्द सापकोटाहरूले स्कुल खोलेका थिए । त्यहाँ इन्द्रबहादुर राईलाई हेड मास्टर बनाएर ल्याएका रहेछन् । एक वर्ष–डेढ वर्ष कति काम गरे होलान् । अनि इलाम बजार आउँदा पद्मोदय स्कुल डुल्न आइपुगेका थिए, राई । 

दार्जिलिङको स्कुल पढ्दा होस्टेलमा बस्थे । दार्जिलिङमा निकै वर्षदेखि संघसंस्थाले, स्कुलले हस्तलिखित रूपमा पत्र–पत्रिका निकाल्ने चलन रहेछ । र, वर्षमा एकचोटि प्रदर्शनी गर्दो रहेछ । सबभन्दा राम्रो पत्रिकालाई एक–दुई–तीन गरेर पुरस्कार दिने काम पनि गर्दो रहेछ । आफू बसेको होस्टेलमा पनि ‘आँसु’ भन्ने पत्रिका निकाले । त्यो पत्रिका निकाल्नेमा ‘कन्ट्रिब्युट’ गर्नैपर्‍यो । लेख्नैपर्‍यो । त्यहीँबाट सुरु भयो साहित्यिक यात्रा । स्कुलको पनि एउटा मुखपत्र निस्किन्थ्यो । त्यस्तैमा लेख्न थाले । यसरी सुरु भयो– लेखन–यात्रा । 

१९६२ तिर । ‘तेस्रो आयाम’ थालनी नै भएको थिएन । उःवेला विचित्रको ‘नाम’ राख्ने फेसन नै चल्यो । कोही ‘आँसु’ अरे, कोही ‘पागल’ अरे, कोही ‘ऋषि’ अरे, कोही ‘व्यथित’ अरे, कोही ‘भिक्षु’ अरे, कोही ‘गोठाले’ अरे । कति काम गर्दा नचिनिने, नजानिने, तर विचित्रको नाम राखेर एक प्रकारले पाठकको ध्यान आकर्षित गर्ने कुरा होला । त्यसैमा सुरु भयो ‘वैरागी’ नाम । अनि भए– वैरागी काइँला ।

तेस्रो आयाम 
सन् १९६१ को हिउँद लागेपछि चिसो महिनामा काइँलाको बिमार बल्झियो । पुरानै बिमार क्षयरोगको । उनी डाक्टरकहाँ बसे । अलिकति जाती भयो । यता कुद्ने, उता कुद्ने हुन्थ्यो । फेरि ६२ को हिउँदमा बिमारले च्याप्यो । त्यसपछि भने डाक्टरले आफ्नै क्लिनिकमा एउटा बेड दिएर ‘अब्जर्भेसन’का लागि राखे । त्यहाँ बस्दा नै इन्द्रबहादुर राई र ईश्वर बल्लभ भेट्न आउँथे ।

आठ–दश चोटि आए होलान् । पछिल्लो चोटि आउँदाचाहिँ ‘हैन भाइ, केके गर्नुपर्छ अब हामीले । नयाँ नयाँ किसिमको काम गर्नुपर्छ है,’ भने राईले । काइँलाले ‘एउटा नयाँ खालको पत्रिका निकालौँ’ भने । ‘लु कस्तो निकालौँ ? सोचूँ सोचूँ’ भन्दै राई उत्साहित भए । 

त्यतिवेला भारतमा नयाँ लेखनको हुल चलिरहेको थियो । फेसन नै । कथा–अकथा, कविता–अकविता अनेक–अनेक थुप्रै भइरहेको थियो । ‘डाइमेन्सनल’ लहर चल्दै थियो । ‘थर्ड डाइमेन्सन’ भनेर काइँलाले पत्रिकाको नाम प्रस्ताव गरे । काइँला भन्छन्, ‘मन पर्‍यो बूढालाई ।’

पत्रिका दर्ता गर्ने जिम्मा ईश्वर वल्लभले पाए । राईले सम्पादकीय लेख्ने भए । लेखे । काइँला भन्छन्, ‘राईले सम्पादकीय नलेखेको भए, मैले नै लेख्नुपरेको भए ‘तेस्रो आयाम’को ‘मुभमेन्ट’ अहिले जो, जुन स्थानमा छ, हुन्थ्यो कि हुँदैनथ्यो ? कहिले–कहिले सोच्छु क्या ! त्यो सात कि आठ लाइनको सम्पादकीयले ‘होल’ दृष्टिकोण नै ‘चेन्ज’ गरिदियो । अनि त्यही दृष्टिकोणलाई नै कसरी लेख्ता, के गरेर लेख्ताचाहिँ हाम्रो साहित्यले प्रतिबिम्बन गर्छ वा प्रतिनिधित्व गर्छ भन्ने कुरामा जाँदा नै ‘तेस्रो आयाम’ भयो । खासमा त ‘ए यिनीहरूको आयामिक लेखन’ भनेर त अरूहरूले पो नाम राखिदिएको । गिल्ला गरेको त्योवेला । व्यङ्ग्य गर्दाखेरि अरूले पो नाम राखिदिए । यसरी पो जन्मियो तेस्रो आयाम ।’

समानान्तरको सवाल 
नेपाली साहित्यको बिरासतमा वैरागी काइँला अग्ला व्यक्तित्व हुन् । ‘आयामेली कवि’, ‘तेस्रो आयाम’का एक व्यक्तित्व, उनको कवितामा पूर्वीय ज्ञान–मीमांसा, विश्व–चिन्तन सँगसँगै मुन्धुम/मुन्दुम्को जीवन–दर्शनसमेत सापेक्ष प्रयोग पाउँदा नतमस्तक हुन परिहाल्छ । संख्यात्मकताको सन्दर्भ जोडेर एउटा समूहले काइँलालाई ‘थोरै कविता लेख्ने कवि’का रूपमा रोइलो गरिरह्यो । गुणात्मकताको कुरामा त कसैको पानीमरुवा तर्क आएनन् नै ।

सुरुदेखि नै ‘समसामयिकता (पपुलारिटी)’ होइन, ‘समकालीन–चेत (ज्ञान, दर्शन, मीमांसाको बोध र जोडसहित)’ले कवितामा सम्पूर्णता लेख्ने कवि हुन् काइँला । ‘साबातको बैला उत्सव’, ‘चेक्ता’, ‘लेप्मुहाङ’ वा ‘मालीगाउँको चितुवा’जस्ता बिम्बहरूको प्रयोगमा काइँलाको मौलिक र पहिचानको सचेतता भेटिन्छ । काइँलाको यही ‘सचेतता’को डोहो पछ्याई आउने चौथो पुस्ताका प्रतिनिधि हुन् – गनेस हाङ्सेम । निम्बल पब्लिकेसनले प्रकाशन गरेको ‘पहिचान’ पुस्तकका सम्पादक पनि हुन्– हाङ्सेम । उक्त पुस्तकमा उनले दर्जनभन्दा बढी नेपाली विद्वान्हरूलाई ‘पहिचानको आन्दोलन’को विषयमा प्राज्ञिक बहस गराएका छन् । साथै, पुस्तकले ‘विश्व साहित्यमा अफ्रिकन कविता’हरूको आयामलाई समेत समेटेको छ । जसले पहिचानको आन्दोलनलाई आयामिक बुझ्नमा अरू शक्ति दिन्छ ।  

नेपाली साहित्यको बिरासतमा वैरागी काइँला अग्ला व्यक्तित्व हुन् । ‘आयामेली कवि’, ‘तेस्रो आयाम’का एक व्यक्तित्व, उनको कवितामा पूर्वीय ज्ञान–मीमांसा, विश्व–चिन्तन सँगसँगै मुन्धुम/मुन्दुम्को जीवन–दर्शनसमेत सापेक्ष प्रयोग पाउँदा नतमस्तक हुन परिहाल्छ 

डेढ महिनाअघि उनै हाङ्सेमले आफ्नो ‘फेसबुक स्टाटस’मा यस्तो लेखे, ‘नेपाली साहित्यमा एकातिर सिन्डिकेट छ, जसले आफ्नै विचार मात्रै लादिरहेका छन् । अर्कोतिर राष्ट्रिय मिडियाहरूले अप्रत्यक्ष रूपले सेन्सर लगाइरहेका छन् । युनिभर्सिटी भनाउँदाहरूले मूलधारको ठेकेदार नै आफूलाई सम्झन्छन् । भुइँमान्छेको आवाज र पहिचानको मुद्दा जसले उठाउँछ, उसलाई कि त बागी विचारको ट्याग भिराउँछन् कि त साम्प्रदायिकताको आरोप लगाउँछन् । झोँक चलिरहेको छ । अब हामीले समानान्तर साहित्यको बहस किन नगर्ने ?’ 

आजभन्दा १८ वर्षअघि नै वैरागी काइँलाले ‘समानान्तर नेपाली साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । त्यो कार्यपत्रले त्यसताका निकै ठूलो तरंग ल्यायो । कार्यपत्रमा ‘सिर्जनशील अराजकता’को अभियानलाई नलेखिएकोप्रति डा. हर्क गुरुङ, डा. कृष्ण भट्टचनहरूले उँचो बहस गरेका थिए । समयले अर्कै फन्को मार्‍यो । पहिचानको राजनीति पेचिलो भयो । सांस्कृतिक अभियान या आन्दोलनहरू त्यतै केन्द्रित भए । ‘समानान्तर साहित्य’को बहस कतै छायाँमा पर्‍यो । ठीक यतिवेलाचाहि“ पहिचानको राजनीति ‘बिरामी’जस्तो छ । दुईतिहाइ बढीको ‘समृद्धि’वाला सरकारी नाराको ललिपपले त ‘कोमा’मै पुर्‍याउला कि भन्ने आभास गराउँछ । तब किन नगर्ने बहस ? गम्भीर बनाइहाल्यो । वैरागी काइँलातिर मेरो ध्यान मोडियो । केही कुराकानी गर्न कवि गनेशकुमार राईसित हामी काइँलाको निवास पुग्यौँ । चियापानसँगै कुराकानी थाल्यौँ, हामीले । 

०००

र असन्तोक !
मेरो माया मफलर भए
बाँधिहिँड्थेँ गलामा
कैल्ये काहीँ त मन नहुँदा
टाँगिहिँड्थेँ किलामा ।

    
वैरागी काइँलाको यो कविता धेरैलाई याद छ । धेरैले मुक्तक वा रुवाई÷रुवाइयात ठानेर यसैअनुरूप सम्झिरहेका हुन्छन् । तर, यही कविता ‘मन्दाक्रान्ता’ छन्दमा लेखिएको छ भन्नेचाहिँ कमैलाई ज्ञान हुन्छ । काइँलाको सम्पूर्ण कविताहरूको कृति ‘वैरागी काइँलाका संकलित कविता’, जुन कृतिलाई फिनिक्स बुक्सले प्रकाशन गरेको छ, यो कृतिको सम्पादनका क्रममा उनले बताएका थिए– ‘यस्तो छन्दमा कम्तीमा सयवटा लेख्छु भन्ने सोचेको थिएँ । पछि सकिनँ ।’

काइँलाको व्यक्तिगत जीवनमा भने खासै असन्तोक छैन । प्राप्तिहरू मनग्य नै छन् । सबैबाट सम्मानित छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिसमेत भइसकेका काइँलाले यसै वर्ष पनि ‘बिपी कोइराला साहित्य सम्मान’ र ‘जगदम्बा सम्मान’ पाए । सामुदायिक मुद्दाको खोसिँदै गरेका अधिकारहरू नै हुन् असन्तोकको कुरा । जीवनका परिभाषाबारे पनि कहिल्यै सोचेनन् ।

बौद्धिक गुरु हुन् इन्द्रबहादुर राई । उनकै भनाइ मात्रै काइँलालाई मन पर्छ– ‘ए त्यसो गर्नुपर्ने, त्यसो पो भएनछ । उसो गर्नुपर्ने त्यो भएनछ । त्यसो नगर्नुपर्ने यो भएछ । त्यो, त्यसो भएछ, यस्तै–यस्तै नमिल्ने कुराहरूको योगफल जीवन हो भन्थ्यो, बूढाले । त्यही रहेछ जीवन ।’ ‘मातेको मान्छेको भाषण : मध्यरातपछिको सडकसित’लाई ‘बंगाली कविता’को ‘कार्बनकपी’ वा ‘चोरी’को समेत आरोप लाग्यो काइँलालाई ।

यो प्रसंगले वेलावेला उरालिने अवसर पाइरह्यो । अझै पनि कतिले यसैमा देब्रेखेदो गरिरहेकै छन् । यसबारे काइँलाले पहिल्यैदेखि खासै चासो दिएनन् । ‘काइँलाका संकलित कविता’हरूको काम गर्ने सन्दर्भका वेला एक पत्रिकामा यही कुरालाई उछालेर एउटा लेख आयो । योवेला भने काइँला अलि झोंक्किएका थिए– ‘खै, कुन कविताबाट चोरेको भन्छ । त्यो कविता मैले देखेको छैन । यसो देखिजान्नेले अनुवाद गरे हुन्थ्यो । त्यो छापिएको कहिले हो ? सितिमिति नै अब त इन्टरनेटतिर पनि पाउँछ होला । कसैले ल्याइदिए हुन्थ्यो । मलाई त सन्तोक नै मिल्थ्यो ।’ ‘सन्तोक मिल्थ्यो’ भन्ने आशयमा एउटा असन्तोक यही छ अब काइँलामा । कसैले यो असन्तोक मेटिदिऊन् ! वैरागी काइँला सधै ‘समानान्तर विचार’का केन्द्र हुन् नै । केन्द्रीय भनिने नेपाली साहित्यका सदाबहार । कुरा यति ।

नेपाली साहित्यमा  दलगत चेत हाबी भयो
आजभन्दा अठार वर्षअघि तपाईंले ‘समानान्तर नेपाली साहित्य’ भनेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाली साहित्यमा समानान्तर साहित्य अथवा समानान्तर विचारको त्यतिवेला किन बोध भयो तपाईंलाई ? 
०४६ सालको आन्दोलन सफल भएपछि जुन पहिचानको राजनीति आयो, त्यसले सबैलाई के भन्यो भने हामी त थिचोमिचोमा प¥यौँ र हाम्रो पहिचान हराएछ । हाम्रो धर्म हराएछ । संस्कृति, भाषा–लिपि हराएको रहेछ । अबको परिप्रेक्ष्यमा पनि हाम्रो पहिचान कायम गर्ने अवसर आएन भने कहिले आउँछ त भनेर आन्दोलन चल्यो । साहित्यमा भन्दा धर्ममा बढ्ता चल्यो । पूर्वका राई–लिम्बूहरू बैसाखे पूर्णिमामा सडकमा जुलुस लाएर हिँड्न थाले । दसैँ हाम्रो होइन, नयाँ चाड चाहियो भनेर कराउन थाले । यो एउटा विकल्प खोज्ने हुटहुटी थियो । यसै हुँदा नेपालीमा लेखेको साहित्य मात्रै नेपाली साहित्य हो त ? अरू भाषामा लेखिएको चाहिँ साहित्य होइन त भन्ने प्रश्न मेरो मनमा उठ्यो । 

४६ सालको जनआन्दोलनले तत्कालीन प्रज्ञापरिषद्लाई राजीनामा गर्न लगायो । उब्रेको समय झन्डै साढे तीन वर्षका लागि सदस्यका रूपमा म पनि नोमिनेटेड भएँ । त्यहाँ हेर्छु त हगि ? काठमाडौंमा बहुभाषिक कविता गोष्ठी गर्छ । नेपाली भाषा, हिन्दी भाषा, नेवारी भाषा, मैथली भाषा चारवटाको मात्रै । अरू त होइन पो भन्छ ! ए, अरू भाषा छैन त ? अरू भाषामा पनि प्याटपुट लेखिएकै छ त, लेख्न थालेकै छन् त, लेखिराखेकै छन् त । के गरूँ ? कसो गरूँ ? भयो । एकजना भाइ भेटेँ । यलुङ किरात । नेपाली पत्रिका निकालिहिँड्थे । हिमाल कि हिमालय हो । ‘होइन लु निकालौँ र कवि गोष्ठी हामी पनि गरौँ’ भने“ । अब पैसा कहाँबाट निकाल्ने त ? जल्ले सभाको खर्च दिन्छ, उसैलाई ‘चिफ गेस्ट’ राख्ने, कार्यक्रम गर्ने उपाय निकाल्यौँ । 

हामीले किरातको मात्रै भनेको । सबै पो आउँछु भन्छ । ‘लु आऊ’ भन्यौँ । पछि–पछि त नेपाली पनि मिसियो । किरात कवि गोष्ठी तीन÷चार वर्षसम्म ग¥यौँ । त्यतिवेलाको ‘एकेडेमिक प्वाइन्ट अफ भ्यु’ नै यो नेपालमा त नेपाली भाषा छ कि त काठमाडौंको नेवारी भाषा छ । कि त तराईको भोजपुरी र मैथिली छ । अरू त छैन भन्ने रहेछ । मान्छेहरू किन अबुझ भएका थिए होलान् ? जातीय पहिचानको आन्दोलन, भाषिक आन्दोलन, धार्मिक र सांस्कृतिक आन्दोलन र त्यससँग सम्बन्धित ‘रेफरेन्स मटेरियल्स’ले त हामी धेरै नै सु–सूचित भइसकेका थियौँ ।

 ०५० सालको जेठमा नेपाल सरकारले ‘नेपाल भाषा नीति सुझाब समिति’ गठन ग-यो र मलाई संयोजक बनायो । आयोग त भन्यो, तर आयोगको स्टाटस दिएन, बजेट पनि दिएन । र, पनि हामीले झन्डै आठ–नौ महिना लगाएर रिपोर्ट बनायौँ । अहिलेसम्म भाषिक नीतिमा त्यो मात्रै रिपोर्टले सबैलाई ‘कोट’ गर्छ । त्यही सालदेखि हाम्रै रिपोर्टको आधारमा रेडियो नेपालमा पाँच मिनेटको भाषिक समाचार सुरु भयो । हामीले जेठ १४ गतेचाहिँ त्यो ‘भाषा नीति आयोग सुझाब समिति’ भन्ने गठन गरेको हुनाले त्यही दिनमा गोष्ठी गर्न थाल्यौँ । त्यसपछि ‘राष्ट्रिय भाषा कवि गोष्ठी’ हुन थाल्यो । तर, राष्ट्रिय कवि गोष्ठीमा त नेपाली भाषा पनि पस्छ फेरि ।

आउँछ पो । हिन्दी पनि आउन थाल्यो । के कुरा थाहा भयो भने नेपालको मान्छेलाई नेपाली साहित्य भनेपछि खस–नेपाली बोलेको साहित्य मात्रै रहेछ त । नेवारमा लेखेको साहित्यलाई त नगन्दो रहेछ । मैथिली, भोजपुरी, अवधिलाई नगन्दो रहेछ । लिम्बू, राईहरूले लेखेकोलाई नगन्दो रहेछ । भनेपछि तिनलाई नेपाली साहित्यको समान हिसाबले ‘प्यारालल’ साहित्यको रूपमा हेर्नुपर्ने हो कि होइन ? भन्ने भयो । त्यतिवेला ‘प्यारालल’का ठाउँमा संसारभर चलेको र ‘अल्टरनेटिभ आर्ट÷पेन्टिङ’ भनेजस्तै ‘अल्टरनेटिभ लिटेरेचर’को कुराहरू आए । यसरी समानान्तर रूपमा, एउटा विकल्पको रूपमा खस–नेपालीबाहेकका नेपालमा बोलिने अन्य भाषाहरू, तिनमा लेखिएका साहित्यहरूलाई विकसित गर्ने अवसर प्रदान गर्ने र अभियान चलाउने काममा त्यो ‘समानान्तर साहित्य’को अभियान सुरु भएको थियो ।

एकदिन हगि ? त्रिभुवन विश्वविद्यालयका एक प्रोफेसर, उनको नाम अहिले बिर्सें, ती निकै ‘चोथाले’ थिए, उनले नेपाली भनेपछि सक्किगो नि, किन अरू भन्नु ? भने । अनि मैले जवाफमा ‘मैले भनेको पनि त्यही हो । तर, नेपालीभन्दा किन तिमीले बोलेको भाषा मात्रैको साहित्यको कुरा आउँछ ? लिम्बूको, राईको, तामाङको किन आउँदैन ? मैथिलीको पनि आउँदैन, नेवारीको पनि आउँदैन । किन आउँदैन ? तिम्रो त सबैले पढिरहेका छन्, मैले पढेको लिम्बूको कहिल्यै कुरा भएको छ ?’ भनेर सोधेँ । उनले के लेखेको छ ? भनेर भने । मैले ‘यो लेखेको छु, त्यो लेखेको छु’ भनेर बताएँ । 

मैले धेरै पटक ‘या त नेपाली भाषाको नाम फेर, या त नेपाली इतर भाषाका लागि नयाँ नाम जुराइदेऊ ! होइन भने खस ब्राकेटमा नेपाली लेख, लिम्बू ब्राकेटमा नेपाली लेख, राई ब्राकेटमा नेपाली लेख, मैथिली ब्राकेटमा नेपाली लेख, होइन भने त्यो नेपाली भनेर मखुन्डो लगाइदिएको भक्तपुरको नाचमा मकुन्डो लगाइदिएजस्तो अनुहार नदेखिने किसिमको तिमीहरूलाई चाहिएको हो ?’ भनेँ । अहँ, हाम्रा विद्वान्हरू मन्जुर नै हुँदैनन् । हाम्रो सामाजिक संरचनाको विविधतालाई ध्यान नदिईकन अब नेपालको राजनीति त के हरेक विकासको काम चल्न सम्भव हुँदैन, भनेर ‘समानान्तर साहित्य’को सोचको कुरा जो संसारका अन्य देशहरूतिर पनि चलेकै हो, गरेको थिएँ भनूँ न त्यतिवेला । 

हाम्रो देशमा थुप्रै राजनीतिक परिवर्तनहरू भए । तपाईंकै कालमा पञ्चायत लागू भयो र ढल्यो । बहुदलीय व्यवस्था आयो । जनयुद्ध भयो, गणतन्त्र पनि आयो । यति लामो समयमा ‘समानान्तर साहित्य’का लागि राजनीतिले कति प्रभाव पार्ने काम ग-यो भन्ने लाग्छ तपाईंलाई ? 
यो मुलुकको राजनीति, आफूवरिपरिको घटनाले सिर्जनात्मक काम गर्नेलाई प्रभावित गर्छ नै, आफ्नो समाजमा घटेको घटना वा दैनिक कुराहरूले । त्यसैले प्रेरित भएर या उत्साहित भएर या क्रोधित भएर लेखिने कुरा हुन् । त्यो नै साहित्यमा हुन्छ । भाषा त हामीले बढी प्रयोग गरेको खस–नेपाली भाषा नै हो । सबैलाई बढ्ता पाठक, बढ्ता दर्शकमा पुग्न मन पर्दो रहेछ । जान्ने भए त म अंग्रेजीमै लेख्ने थिएँ, भन्छु कहिलेकाहीँ । तर, के हो भने नेपालको मौजुदा राजनीतिले एकल भाषिक नीति, एकल जातीय नीति, एकल शासनसत्ता र सामाजिक संरचना कायम गरेको कारण नै मान्छेहरूले आफ्नो अस्तित्वलाई बचाउनकै लागि पनि आफ्नो भाषा, संस्कृति र साहित्यका कुराहरू गर्न थाले ।

जानेर नजानेर आफ्नो मातृभाषामा लेख्ने कोसिस गरे । जुन गतिमा ४६ सालपछि आएको थियो, त्यही गतिमा चालू भएको भए हाम्रा मान्छेहरू धेरै अगाडि बढ्थे होला । बीचमा जोसिलो तरिकाले भएन । यसमा मुलुकको राजनीतिक प्रवाहले साथ दिएन । यी हाम्रै भाषा हुन्, यो विकसित भयो भने नेपालको विकासमा सघाउ पुग्छ भन्ने राजनीतिक दृष्टिकोणको विकास नै भएन । राजनीतिक दृष्टिकोणमा आएको भए त्यसको प्रतिविम्ब मुलुकका योजनाहरू बनाउँदा देखा पथ्र्यो । त्यो देखा परेन । दुःखलाग्दो कुरा यही भयो । 

पछिल्लो समय त झन् दुईतिहाइकै शक्ति निर्माण भएको छ । यसो हुँदा थोरबहुत उठेका चेतनाहरू पनि त्यो शक्तितिरै डाइभर्ट भइरहेको देखिन्छ । यसले त हाम्रो भाषा, साहित्य, संस्कृति, पहिचानको आन्दोलनलाई झनै कमजोर गराइरहेको छ । यसलाई हामी कसरी उत्प्रेरित गर्न सकौँला ? 
शक्ति एकत्र हुँदै गएपछि त्यो शक्तिलाई परिचालन गर्ने क्रममा केन्द्रको ध्यानमा नगएका कुराहरू पृष्ठभूमिमा पर्दै जान्छन् । केन्द्र अथवा शक्ति वितरित भएको अवस्थामा अरूले भनेको पनि सुन्ने गर्छन् । ४७ सालपछिका मन्त्रिमण्डलहरूले धेरै सुने, उनीहरू नयाँ थिए । शक्ति आर्जन गरिसकेका थिएनन् । पछिल्लो समयमा भएका चुनावहरूमा पनि निकै कुराहरू सुन्दै थिए । दोस्रो जनआन्दोलनपछाडि यी कुराहरूले धेरै नै ‘प्लेटफर्म’ पायो । संविधानमा पायो । राजनीतिक मञ्चहरूमा पायो । ‘पार्लियामेन्ट’भित्र यसको प्रत्यक्ष उदाहरण देखाप-यो । समानुपातिक समावेशिता राम्रो प्रयोग भयो एकपटक ।

महिलाहरूले ३३ प्रतिशतभन्दा बढी पाउनुपर्ने, उनीहरूले पाए । जनजातिले ३७ प्रतिशत पाउनुपर्ने पाए । तर, राजनीतिक शक्ति केन्द्रीकृत हुन थालेपछि अर्थात् पार्टीहरूको एकमना सरकार बन्न थालेपछि यी चिजहरूमा ध्यान नदिँदा पनि उनीहरूको सरकार नढल्ने भयो । अहिलेको समस्या त्यही हो । माओवादीले छोड्यो भने पनि एमाले ग्वाम्मै लड्दैन । एकाउन्न प्रतिशत छँदै छ । अब माओवादीलाई समावेश गर्नु र मधेसको एउटा दललाई समावेश गर्नु भनेको दुईतिहाइ बसेर शक्तिलाई मनपरी प्रयोग गर्न सक्षम हुनु हो । त्यो लोभ हो । तर, जुन नियतले भनेर सुरुमा भन्यो, संविधानमा आवश्यक संशोधन गर्नका लागि दुईतिहाइ आवश्यक छ भनेर त्यो दुईतिहाइ शक्ति त संकलन गरे, तर कुनै चिजमा गरेनन् । किनभने जुन प्रमुख शक्ति हो, त्यो शक्तिले यी कुराहरूमा रुचि नराखेका विषयहरू परे ।

सबैभन्दा डर लाग्दो कुरा त के हुँदै छ भने अहिलेको दुईतिहाइको सरकार एउटा दलविशेषको सरकार हो । दुईवटा दल मिले पनि यो सरकार त एउटै सिद्धान्तविशेषको सरकार हो । यो सिद्धान्तविशेषमा पर्ने साहित्यकारहरू, काखी च्याप्ने, कार्यक्रम गर्दा ५० लाख/८० लाख/करोडसम्म सहयोग गर्ने, उनीहरूको लेखक बिरामी भयो भने २० लाख/३० लाख अनुदान दिने दबाई गर्न । अरूलाई सुनेको पनि नसुनेको जस्तो गर्ने भएर आयो । यसो गर्जो, गाल टार्नका लागि राजनीतिक भिन्न पार्टीका केहीलाई उपचार खर्च दिइटोपलेको गरिरहेको देख्छु । यो गर्दै, झारो टार्दै सरकार चल्यो । यसो गर्दा नेपाली साहित्यमा जातीय चेत त हरायो नै, दलगत चेतनाको विकास भयो अब । त्यो दलको सिद्धान्त अनुसरण गर्ने लेखकहरू नै राम्रा हुने भए । पुरस्कृत पनि हुन थाले । अल्पसंख्यक भाषाका साहित्य र त्यो साहित्य लेख्ने साहित्यकारहरू त टिक्नै नसक्ने भए । आफ्नै समुदायका अधिकांश पनि त्यही ठूलो दलको कार्यकर्ता भएर हिँडिरहेका छन् । आफ्नो भाषा साहित्यको कुरा भोट बटुल्न मात्रै गरिरहेको छ । व्यवहारमा केही गर्दैन । अनि जातीय कुरा ग-यो कि त्यो आफ्नै मान्छे आएर पो ‘यसो गर्नु हुँदैन’ भनिरहेको छ त । 

यसरी डर के भयो भने शक्ति केन्द्रीकृत भएपछि एकात्मक प्रकारको प्रथा सुरु हुन्छ । म त विपक्षी दलहरूले भनेजस्तो अहिले नै एकतन्त्रीय भयो त अहिल्यै भन्दिनँ । तर, त्यो हुने डर बढ्यो । त्यो भएपछि के हुन्छ भने उसले उसको विचार अनुरूपकोलाई मात्रै बढावा दिने भयो । विचारअनुरूपको नहुनेलाई नदिने भयो । सत्ता त जातिगत रूपले कुन जातिको हातमा छ भन्ने कुरा घामजस्तै छर्लंगै भएको हुनाले भन्नै परेन । हामीले सामुदायिक हिसाबले मद्दत गर, सामूहिक हिसाबले गर भनेको हो । एउटा राईलाई मन्त्री बनाउने, एउटा लिम्बूलाई अध्यक्ष बनाउने होइन कि लिम्बू समुदाय, राई समुदाय, तामाङ समुदायलाई उचाल्ने दिशातिर सरकार र यसको घोषित नीति किन जाँदैन ? जाओस् न भन्ने हाम्रो आग्रह हो । तर, हाम्रो आग्रह मौजुदा स्थितिमा पूरा हुन्छजस्तो लाग्दैन मलाई । 

खस–नेपाली भाषा र साहित्यको प्रभुत्व र त्यो भाषा साहित्यमा पनि धार्मिक खास गरेर हिन्दू धर्म संस्कृति अथवा मान्यता, परम्पराहरूकै प्रभावका कारण नेपाली साहित्य फक्रिन सकेन अथवा समावेशी र बृहत्तर हुन सकेन भन्ने पनि छ । यसप्रति तपाईं के भन्नुहुन्छ ? 
नेपाली भाषा भन्नासाथ लेखकहरू त्यही खस मातृभाषीहरू नै बढी हुन्छ । अन्य मातृभाषी लेखक त जोडेर जाँदा कति नै पो छौँ र ? अहिले पनि बीस–पचासजना देखिन्छ । यो ठूलो संख्या हुँदै होइन । संख्या भनेको पनि बहुत ठूलो कुरा हो । उनीहरू नै बढी लेख्छन्, किनभने उनीहरूलाई सजिलो छ ।

खस नेपाली नै मातृभाषी हुनेहरू धार्मिक र सांस्कृतिक हिसाबले हिन्दू नै छन् । यो त भएकै कुरा हो । हरेक लेखकको लेखनलाई उसको सांस्कृतिक पृष्ठभूमिले प्रभाव पारेकै हुन्छ । किनभने उसको टेक्ने आधार त्यही हो । त्यसो हुनाले उनीहरूको वर्चस्व हुनु अस्वाभाविक होइन, नेपाली साहित्यमा । अन्य जातका, भनूँ न एक छिनका लागि राई, लिम्बू, तामाङ, सुनुवार, गुरुङ, मगरहरू नेपाली भाषामा लेख्ने कति पो छन् र हगि ? तर, ज–जसले राम्रो लेख्यो, राष्ट्रिय मूलधारमा स्पेसको कुरा हो । साहित्य सँगसँगै अन्य पाउनुपर्ने सामाजिक अवसर, सांस्कृतिक लाभको कुरा हो, त्यो पाउन सकिएको छैन । जसले तिहुन पकाउँछ, उसैले डाडु चाट्छ भनेजस्तो भइरहेको छ । यस्ता कुराहरू खास गरेर पुरस्कार वितरणहरूमा देखिन्छ । 

आफ्नो भाषा साहित्यको कुरा 
भोट बटुल्न मात्रै गरिरहेको छ ।
लेखकको लेखनलाई उसको 
सांस्कृतिक पृष्ठभूमिले प्रभाव पार्छ । 
हामीले पाएको अधिकार सबै 
‘ब्याक टु मंगलमान’ भयो ।
लिम्बुवान र किराँतले मात्रै खुकुरी उफारेर केही नहुने रहेछ । 

यो पुरस्कार वितरणलाई पनि निजीस्तरमा दिइनेलाई दोष दिनु हुन्न । उनीहरूलाई जो मन पर्छ, त्यसैलाई दिने हो । तर, नेपाल सरकारले दिने पुरस्कारचाहिँ जुन हुन्छ, जस्तो संस्कृति मन्त्रालयले दिन थालेको छ । दिनु त बीसजनामा एक–दुई जनजातिलाई पनि दिन्छ । यसपालि दुईजना राईले पाए क्यार ! तर, कस्ता–कस्ता राईले पाए ? उनीहरूकै पार्टी सिद्धान्तअन्तर्गतकाले पाए कि केले पाए ? वा उनीहरूकै पार्टीको क्याडर्सले सिफारिस गरेकाले पाए कि ? कुरा यसो हो । आफ्नै विचारधारा अनुरूपकालाई मात्रै छानेर दियो कि ? सरकार त विचारबाट निष्पक्ष हुनुपर्छ । किनभने, सरकार भनेको सबैको हो । होइन, खगेन्द्र संग्रौलाको भाषामा डब्बल नेकपाको मात्रै सरकार हो भने उनीहरूको मान्छेलाई मात्रै दिऊन् ! तर, नेपाल सरकार हो नि । सरकार चलाउनेहरूको विचार अनुकूलले मात्रै अवसर पाउन थाले भने त्योचाहिँ साहित्यका लागि मात्रै होइन, अन्य क्षेत्रका लागि पनि खतराको स्थिति हो । समावेशी बनाउनुप-यो । 

समावेशिता वा आरक्षण भनेको पनि उही शक्तिको आडसँग नजिक हुनेहरूले नै पाउने हो, उनीहरूले नै उपभोग गर्ने हो भनेर एक तहबाट विरोध पनि त भइरहेको छ । यसलाई हामी कसरी प्रतिवाद गर्न सक्छौँ ? 
आरक्षणलाई त हामीले अर्कै ढंगले ‘इन्टरप्रेट’ गरेका थियौँ । यो आवधिक हो र यसलाई सकारात्मक विभेदका रूपमा लिनुपर्छ । समानुपातिक समावेशिताको कुुरामा थियो, यसमा जोड दिनुपथ्र्यो । जनगणनाअनुसार पाउने प्रतिनिधित्व सबै जातिले पाउने, आदिवासी जनजातिले एउटा सिद्धान्तै बनाएको थियो, जजसको संख्या पुग्दैन, त्यसलाई एक जाति एक प्रतिनिधि दिने भनेर गभर्मेन्टलाई सुझाब पनि दिएको थियो । त्यहीबीचमा हामीले नै त दुःख पाएको छ नि ।

 सुदूरपश्चिमको बाहुनले दुःख पाएको छ । कसले गर्दा पायो ? एक दिन एउटा गोष्ठीमा कुरा आयो । कसले गर्दा पायो ? सरकारमा त लिम्बू थिएन, राई थिएन । तामाङहरू त थिएन, पिपा मात्रै थिए । लिम्बू सुदूरपूर्वमा थियो । कसले गर्दा सुदूरपश्चिमले दुःख पायो ? राज्य चलाउने राजा त हो, मन्त्रिमण्डल र सुझाब दिने गुरु–पुरेत को थिए ? किन पश्चिममा योजना चलेन, बाटो दिएन ? कसले ? अनि त्यसको दोष हामीलाई दिने ? खस आर्यको सरकारले दर्ता पायो नयाँ जातिगत रूपमा । कोटा कसले पायो त ? सुदूरपश्चिमका डोटेली, बैतडेलीले भन्दा यही“का सुविधायुक्त नेताहरूको भाइभतिजा, कार्यकर्ताले पाए । योचाहिँ दुःखलाग्दो कुरा भयो । 
एउटा हिन्दी सिनेमा हेरेको थिएँ । एउटा भिलेनले एउटा गाउँको मान्छेलाई ठग्नु थियो र भन्यो– ‘हेर, आइज । चित भयो भने म जित्छु । पोट भयो भने तँ हार्छस् ।’

दुवै अवस्थामा उसको जित भयो । त्यस्तै भयो । संविधानसभाको पहिलो निर्वाचनले गर्दा पाएको जुन सुविधा थियो, यो दोस्रो निर्वाचनपछि छैन । अनि पार्टीभित्र पनि सबै जनजाति नेताहरूले पार्टी त्याग गरेर हिँडिदिए । पार्टीभित्र कराउने पनि छैन । संसद्मा कराउने पनि छैन । जागिरमा सबैलाई दलितलाई, पछाडिएको वर्ग, अल्पसंख्यक भनेर दिइराखेको थियो । त्यो सबै पोट भयो । जनजाति हारिहाल्यो । अब अहिले खस आर्य भन्ने दर्ता भएपछि चित भयो । खस आर्यले जितिहाल्यो ।

यो चित अहिले भयो । ०४७ देखि लिएर २०६७/६८ सम्म जनजाति आन्दोलनले लिएको हक–अधिकार अहिले फिर्ता हुन थाल्यो । हुँदाहुँदा जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानलाई पनि विघटन गर्ने कुरा आयो । अहिले संसद्मा हाम्रो कुरा गरिदिने छैन । एमालेले त टिकट दिनुभन्दा अगाडि नै ‘जातीय कुरा उठाउँदिनँ’ भनेर कागज गराउँछ भन्ने हल्ला चलेकै थियो । कांग्रेसले त कागज नगराए पनि बोल्दै बोल्दैन ।

अरबिक लोककथाहरूमा जिन्नाको कुरा आउँछ नि, त्यसको आत्मा बोतलमा हालिदिएर गुडियाजस्ता बोकिहिँड्छ नि ? क्याँक्क पार्छ । अलिक खोल्दियो भने गुडिया बोल्छ, होइन भने घाँटीमा अठ्याइदिन्छ । त्यस्तै छ, हाम्रो । जिन्नाले गलामा हात राखिदिएको । हाम्रो जातीय प्रतिनिधिहरू भिन्न–भिन्न पार्टीबाट गए । यिनीहरू बोल्नै सक्तैनन् । हामीले पाएको हक र अधिकारका कुराहरू ती सबै ‘ब्याक टु मंगलमान’ भयो । हाम्रो अधिकांश मान्छेहरूचाहिँ राष्ट्रिय दलमै जाँदा नै हाम्रो उत्थान हुन्छ, भविष्य ठूलो हुन्छ भनेर गइरहेका छन् । तिनै छन् नेकपामा, तिनै छन् कांग्रेसमा । राष्ट्रिय दल त यिनै हुन् । यिनैले हाम्रो कुरा बोलिदिँदैनन् । अनि कसले बोल्ने त ? लिम्बुवानमा कुमार लिङ्देनको पार्टीले र किरातको एउटा कुनै पार्टीले प्यारप्यार गरेर, खुकुरी उफारेर त केही हुँदैन रहेछ नि त । त्यही खुकुरी पनि आफ्नै गाउँमा मात्रै उफार्ने त हो । 

यस्तो हुनाको जिम्मेवार को त ?
यसका लागि जिम्मेवार हाम्रा अगुवाहरू नै भए कि ? हाम्रो बौद्धिक समुदाय नै भयो कि ? हाम्रो प्राज्ञिक वर्ग नै भयो कि ? आमजनजातिलाई त के दोष दिनु ? उनीहरूले त नेतृत्वहरू अगाडि आए, राम्रो आए, साथ दिएकै हो । हामी साहित्यकारले त साहित्यिक हिसाबले सांस्कृतिक क्रान्ति गर्ने भन्ने हो । तर, गैैँडाको छाला साह्रै बाक्लो हुन्छ । यो नेकपाको सरकारमा त गाह्रो छ । कि अर्को क्रान्ति खोज्या हो ? या के हो ? यो अर्को कुरा हो । 

संकेत त अर्को क्रान्तिकै देखिन्छ । नेतृत्व कसले लिने भन्ने कुरा मात्रै होला ? 
यसको पनि संकेतचाहिँ छ । सफलता र सम्भावना अलि न्यून छ । म फेसबुकमा हेर्छु । क–कसले कोट गर्छ क्या ! एउटाले राम र रावणको ‘कोट’ गरिराथ्यो । रामले ‘तपाईं त विद्वान् मान्छे’ भनेर रावणलाई प्रशंसा गरेछ । अनि रावणले ‘विद्वत्ता भएर के गर्नु ? मेरो भाइ तपाईंसँग छ, म हारेँ’ भनेर जवाफ दिएछ । हो त्यस्तै हकि त ? डबल नेकपासँग हाम्रा दाजुभाइ सबै छन् । सिंगल (कांग्रेस)सँग पनि थोरबहुत छन् । हामीसँगै पो छैनन् । उल्टै हामीलाई नै सम्झाउन आउँछन् भोलि ।

जान्नेजति सबै उनीहरूसँग छन् । नजान्ने निमुखाहरू छोडिएका छौँ । हरेस नै खाने कुरा त छैन, सडकमा नभए साहित्यमा, संस्कृतिमा काम गर्ने । आन्दोलन लेखेर, विचार व्यक्त गरेर गर्ने । कामचाहिँ अलि प्रखर रूपमा लगे राम्रो हुन्छ । मान्छेले त अनेक थोक भनिबस्छ । मुलुकको मौजुदा परिस्थितिमा असन्तुष्ट भएपछि नै लेखिने हो । अहिले जातीय चेतनाको कुरा आएको त्यही हो । तर, यो चेतना प्रखर रूपमा आएको पूर्वमा मात्रै हो । उपत्यकामा अलिअलि छ । पश्चिममा म देख्दिनँ त्यति । तराईको त कुरो अर्कै हो । अलिकति जातीय चेतका कुराहरू मगरमा एकाधले लेखे, पर्याप्त छैन । गुरmङमा त झनै कमी । बरु तामाङहरू आउँदै गरेको देख्छु । मध्य र पश्चिम क्षेत्रबाट मगर–गुरुङ मुखर भइदिएको भए धेरै बल पुग्थ्यो ।