• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर २८ शनिबार ०८:२७:००
पर्यावरण

पर्यावरणबारे खै साहित्य ?

मार्क्सवाद र पर्यावरणीय चेतनाबीच कनेक्सन हुन सक्छ

२०७६ मङ्सिर २८ शनिबार ०८:२७:००

नेपाली साहित्यकारले प्रकृति पर्यावरणबारे गम्भीर भएर सोच्ने वेला आएको हो ?
प्रकृतिबारे नेपालले मात्र होइन, विश्वले नै सोच्नुपर्ने वेला आएको छ । अहिले हामी ग्लोबल क्राइसिसतिर बढ्दै छौँ । यो शताब्दीको अन्त्यसम्ममा हिमालको एकतिहाइ हिउँ हराउन सक्छ भन्ने पनि भनाइ छ । यो प्रक्रिया अघि बढिरहने हो भने आगामी पुस्ताले ‘त्यो कालो पहाडमा कुनै बेला हिँउ पथ्र्यो रे’ भन्दै पढ्ने दिन नआउला भन्न सकिन्न । त्यसैले सबैजना गम्भीर हुनैपर्छ । संकट गहिरिँदै छ । पर्यावरणबारे साहित्य लेखिनुपर्छ ।
विश्वसाहित्यमा चाहिँ पर्यावरणबारे साहित्य लेखिन कहिलेदेखि सुरु भयो ?
वातावरणीय चेतनामा धेरै अघि नै साहित्य लेखिन थालिएको हो । सन् ६० को दशकपछि वातावरणीय चेतनामा साहित्य लेखिने क्रम बढ्यो । व्यासको रचना र पूर्वीय दर्शनका ऋचाहरूमा पनि यो विषय छ । जुन समुदाय प्रकृतिसँग बढी नजिक छ, त्यो समुदायमा यो चेतना बढी देखिन्छ । नेपालको मुन्धुम परम्परा र न्युजिल्यान्डको माओरीदेखि न्याटिभ अमेरिकनहरूसँग यो चेतना बढी देखिन्छ । विभिन्न बिम्बहरूले प्रकृतिसँग जोडेको हुन्छ । यो सचेतना पहिल्यैबाट थियो । तर, जब समाज आधुनिकतातर्फ अघि बढ्यो, संसार सहरीकरणको प्रक्रियामा बढ्यो, त्यसपछि मानिस प्रकृतिबाट टाढा हुँदै गयो । 
नेपालजस्तो देशमा रोजीरोटीको समस्या नै समाधान भएको छैन । त्यस्तो वेलामा पहिलो विश्वले प्रकृति दोहन गरी निम्त्याएको पर्यावरणीय संकटबारे हामीले किन चिन्ता गर्ने भन्ने पनि धारणा सुनिन्छ नि ।
प्रकृतिलाई जसले दोहन गरेको भए पनि त्यसको असर हामी सबैलाई पर्छ । ग्लोबल वार्मिङको प्रभाव देशको सीमाले छेक्दैन । जसरी चराहरू उडेर आउँछन् त्यसरी नै प्रदूषण पनि उडेर आउँछ । यो विषयलाई पृथक बनाएर हेर्न सकिन्न । ठीक छ, पहिले रोजीरोटीको समस्या सकौँ, त्यसपछि चरा, जनावर, प्रकृतिबारे सोचौँला भन्ने एककिसिमको विचार होला । तर, त्यो समस्या समाधान भएको बिन्दु कुन हो ? कसले त्यसलाई निश्चित गर्न सक्छ कि यो दिनबाट रोजीरोटीको समस्या सकियो, अब चराबाट सोचौँ ।

आधारभूत समस्या समाधान नभएसम्म के हामी प्रकृतिबारे नसोची बस्ने त ? मलाई लाग्छ, अहिलेदेखि नै हामीले प्रकृतिबारे सोच्दै गयौँ भने हामीले सोचेको त्यो आदर्श समाजमा पुग्न पनि यसले मद्दत गर्छ । चरा, जनावर, रूखबिरुवालाई जब प्रेम गर्न थालिन्छ, तब मनमा एउटा ट्रान्सफर्मेसन आउँछ । प्रकृतिलाई प्रेम गर्ने मान्छेले मानव समाजमा हुने थिचोमिचोबारे समेत बोल्न पर्छ भन्ने भावना आफैँ आउन सक्छ । आफैँ जस्तो अर्को मानवले दुःख पाएको, जीवनमा संरचनात्मक लाभांश धेरै कम भएर बाँच्न गाह्रो भइरहेको देखेपछि त्यस व्यक्तिप्रति आफैँ समवेदना जागृत हुन्छ । त्यो प्रकृतिप्रेमी मानिसलाई मानव समाजमा भएको थिचोमिचोबारे मैले पनि विरोध गर्नुपर्छ भन्ने लाग्न थाल्छ ।

तपाईं ‘मानिसले प्रकृतिको दृष्टिबिन्दुबाट पनि हेर्नुपर्छ’ भन्नुहुन्छ । प्रकृतिको दृष्टिबिन्दुबाट समाजलाई कसरी हेर्ने ?
प्रकृतिको दृष्टिकोणबाट हामी कल्पना मात्रै गर्न सक्छौँ । किनकि, हामी पक्षी हुन सक्दैनौँ । चराको भाषा बुझ्न सक्दैनौँ । चराचुरुंगीको दृष्टिकोण यस्तो होला भनेर अनुमान मात्रै गर्न सक्छौँ । प्रकृतिलाई हामीले साहित्यमा मानविकीकरण गरिरहेकै छौँ । प्रकृतिलाई मानवीकरण गरिएन भने कथा भन्न गाह्रो हुन्छ । ‘हंस’ पनि त्यही दोसाँधमा बसेर लेख्ने कोसिस गरेको छु ।

मानवकेन्द्रित दृष्टिकोणबाट समसामयिक विश्वलाइ हेर्दा राष्ट्रको सीमा देखिन्छ, राज्यको व्यवस्थासहितको ‘ग्लोबल अर्डर’ तथा एक प्रकारको आर्थिक तथा सामाजिक संरचना देखिन्छ । त्यस ‘ग्लोबल अर्डर’भित्र हामीलाई देशको सीमाबाहिर जान पासपोर्ट चाहिन्छ । हामी त्यही वैचारिक क्षितिजभित्र बाँचिरहेका छौँ । तर, चराको दृष्टिकोणबाट हे-यौँ भने फरक देखिन्छ । चराहरूको कुनै राष्ट्र हुँदैन । उनीहरूको कुनै सिमाना हुँदैन । जहाँसुकै उडेर जान सक्छन् । उदाहरणका निम्ीि नेपालमा धेरै चराहरू आउँछन् ।

जाडो महिनामा चीन, मंगोलिया, श्रीलंका, थाइल्यान्ड, बर्माबाट चराहरू नेपाल आउँछन् । युरोपतिरबाट पनि चराहरू नेपाल आउँछन् । कहिलेकाहीँ नर्थ अफ्रिकाबाट समेत चराहरू नेपाल आउँछन् । न उनीहरूलाई कुनै भिसा वा पासपोर्ट चाहिन्छ, न उनीहरू कुनै किताब नै लेख्छन्, न उनीहरूको कुनै विमोचन नै हुन्छ । उनीहरू आ–आफ्ना धुनमा कराउँछन्, त्यही नै उनीहरूको संगीत हो । तर, त्यो धुनबारे उनीहरूबीच कुनै प्रतियोगिता हुँदैन । न चराचुरुंगी र जनावरहरूले पुरस्कार प्राप्ति निम्ति आवेदन नै दिन्छन् । 

चरा, जनावर, रूख बिरुवालाई जब प्रेम गर्न थालिन्छ, तब मनमा एउटा ट्रान्सफरमेसन आउँछ । प्रकृतिलाई प्रेम गर्ने मान्छेले मानवसमाजमा हुने थिचोमिचोबारे समेत बोल्न पर्छ भन्ने भावना आउन सक्छ ।

हाम्रोमा नदीकिनार, तालतलैया, डाँडापाखामा पुगेर कवितावाचन गर्ने चलन पनि छ । यस्ता गतिविधि र पर्यावरणीय साहित्यबीचमा के सम्बन्ध छ ? 
प्रकृतिसँग नजिक हुने प्रक्रिया राम्रो हो । सधैेँ बन्द कोठाभित्रै कविता भन्नुपर्छ भन्ने छैन । एउटा कविले पर्यावरणबारे कुनै कविता नलेखे पनि यदि ऊ कोसीको तिरमा पुगेर कविता वाचन गर्छ भने त्यो राम्रो हो । 

हाम्रोमा प्रकृति पर्यावरणबारे एउटै साहित्य नलेख्ने, तर तालमा बोटिङ गर्दै साहित्यिक कार्यक्रम गर्ने चलन पनि त छ नि ।
ऊ कम्तीमा कोसीको तिरमा त पुग्यो नि । प्रकृतिको नजिक त पुग्यो नि । ऊ कोठैमा बसेर कविता लेख्न र वाचन गर्न सक्थ्यो । त्यसरी कोसीको तिरमा पुग्ने क्रममा प्रकृतिबाट प्रेरित भएर पर्यावरणबारे एक दिन कविता लेख्न पनि त सक्छ । लेख्दै लेखेन भने पनि कम्तीमा ऊ त्यहाँसम्म त पुग्यो । उसको मन केही शान्त त भयो होला नि ।
त्यसो भए प्रकृति के उपभोगको वस्तु मात्रै हो र ? प्रकृतिप्रति सचेत नहुने, तालको छेउमा जाने अनि कविता वाचन गरेर फर्किने । यो त प्रकृतिको उपभोग मात्रै भएन र ? 
‘ट्रान्सफर्मेसन’को सम्भावना हरेक मान्छेमा हुन्छ । मानिस एउटै विचारमा बसिरहन्छ भन्ने छैन । मानिस परिवर्तनशील प्राणी हो । प्रकृतिको आनन्द लिँदै गर्दा ऊभित्र परिवर्तन पनि आउन सक्छ । तर, एउटा साहित्यकार पर्यावरणबारे जानकार भए पनि उसले पर्यावरणबारे एउटै सिर्जना गर्दैन, पटक–पटक प्रकृतिको नजिक जाँदा पनि आत्मरूपान्तरित नभएर जस्ताको तस्तै फर्किन्छ भने त्यो पाखण्ड हो । 
पर्यावरणीय साहित्य लेख्न कुन वैचारिक धरातल आवश्यक पर्छ ?
पर्यावरणीय चेतना सैद्धान्तिक अस्त्रका रूपमा ६० को दशक हुँदै ८० सम्म आइपुग्दा झन् समृद्ध भयो । त्यसैवेला पर्यावरणीय क्रिटिसिजम भन्ने आइसकेको थियो । पछि त्योसँगै जोडिएर ‘इकोलोजिकल फेमिनिजम’ जस्ता मुभमेन्ट पनि आए । जेन्डर प्रस्पेक्टिभबाट हेर्दा बढीजसो पुरुषहरूले नै प्रकृति ध्वस्त पारेको देखिन्छ । कृषि र औद्योगिकीकरणको वेलामा पुरुषले नै धेरै रूख काटे । घर रूखबाट नै बनाइए । ठूलो संख्यामा व्यापारिक प्रयोजनका लागि रूखहरू ध्वस्त बनाइयो ।

यस किसिमका काम बढीजसो पुरुषले नै गरे । यो विषय ‘जेन्डर स्टडिज’ र ‘मैस्कुलिनिटी’सँग पनि जोडिएको छ । पर्यावरणबारे कुरा गर्न माक्र्ससिज्म अर्को सशक्त ‘टुल’ हुन सक्छ । पछिल्लो पुँजीवाद तथा त्यसभित्रै मौलाएको उपभोक्ता संस्कृतिले प्रकृतिको विनाश गर्न अहं रोल खेलेको छ । विश्व पुँजीवादकै चपेटामा छ सिंगो प्रकृति । प्रकृतिको दोहन भएको छ ।

माक्र्सवादले पुँजीवादको आलोचना गर्ने भएकाले माक्र्सवाद र पर्यावरणीय चेतनाबीच कनेक्सन हुने सम्भावना देख्छु । आजसम्म पुँजीवादले जे जति सिस्टम विकास गरे ती सबैले प्रकृति र मानवबीच दूरी बढायो । जुन समुदाय प्रकृतिसँगै बस्थे, उनीहरू टाढिनु प¥यो । झापाका राजवंशीलाई आधुनिक प्रविधिको विकारले जति गाह्रो बनायो त्यति नै गाह्रो कुनै वेला न्याटिभ अमेरिकनहरूलाई परेको थियो ।