यहाँनेर तिम्रो मायाले सताउँछ मलाई
घना सल्लाहरूमाझ हावा फुकाउँछिन् आफैँलाई
जून फिरन्ते पानीमाथि फस्फोरस्झैँ टल्किन्छिन्
दिनहरू, उस्तै–उस्तै, एक अर्कालाई छुन्छन्, लखेट्छन्
हिउँ झट्कालिन्छ नाच्दै गरेका आकृतिहरूबाट
वेग मार्छ पश्चिमबाट चाँदी रंगको बकुल्लो
आक्कल–झुक्कल एउटा पोत, माथिमाथि ताराहरू
ओहो ! पानीजहाजमाथिको कालो क्रस्
एक्लै
कहिलेकाहीँ सखारै ब्युँझदा
म पाउँछु आफूलाई आत्मसम्मै लफ्रक्क भिजेको
नेपथ्यमा समुद्र गर्जन्छ, घन्कन्छ
यो एउटा बन्दरगाह हो
यहाँनिर मलाई तिम्रो मायाले सताउँछ
यहाँनिर तिम्रो मायाले सताउँछ मलाई
र क्षितिज विनासित्ति लुकाउँछ तिमीलाई मबाट
यी मक्किएका चिजबिजबीच पनि तिम्रो औधी माया लाग्छ मलाई
कहिलेकाहीँ मेरा चुम्बनहरू भारी जहाज चढेर बिदा हुन्छन्
समुद्रपारको गन्तव्यविहीन यात्रामा
म आफूलाई बिर्सिएको पाउँछु, पुराना लंगरझैँ
घाट मलिन हुन्छ घामले लट्ठा गाडेको वेला
जीवन लखतरान हुन्छ र कुनै उद्देश्यबेगर भोकाउँछ
मलाई आफूसँग नभएको कुराको माया लाग्छ,
यतिबिघ्न टाढा छौ तिमी
लोसे साँझसँग पौँठेजोरी खेल्छ मेरो खिन्नता
तर, रात आउँछ र मलाई गीत सुनाउन थाल्छ
जून टिकटिक सपना देख्न थाल्छिन्
सबैभन्दा चम्किलो तारा मलाई तिम्रो आँखाले हेर्छ
तिम्रो मायाले सताएको बेला, सल्लाहरू
हावामा तारका पातले रेटेर तिम्रो नाम गाउन खोज्छ
अनुवाद : मल्लिका शाक्य