• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
खगेन्द्र संग्रौला
२०७६ मङ्सिर २८ शनिबार ०९:१७:००
समाज

प्रातः लमक्मा कारुणिक दृश्य

२०७६ मङ्सिर २८ शनिबार ०९:१७:००
खगेन्द्र संग्रौला

आज लमक्को यो कथा लेख्न मलाई उति जाँगर छैन । कारण विषय कारुणिक र बेचैनकारी छ । सुन्दैमा रुँ–रुँ लाग्ने, त्यसैत्यसै झोँक चल्ने र दन्कँदो आगो भएर जीवनको कुरूप यथार्थलाई खरानी बनाउन अहिल्यै जाइलागूँजस्तो लाग्ने । नदेखियोस् भन्दाभन्दै देखिने र अस्तित्वबाटै विलुप्त होओस् भन्दाभन्दै समाजको आङमा किर्नो भएर टाँसिइरहने कथा हो यो । कनेर बिर्सूँ भन्दाभन्दै घरिघरि सम्झिइने कथा । भूतले झैँ पछ्याइरहने, सर्पलेझैँ  लखेटिरहने । विपनामा पनि, सपनामा पनि र सपनाको सपनामा पनि ।

लोकतन्त्रको रङ्गीन, छलकारी एवं ढोँगी आवरणभित्र नरनारीहरूको नारकीय अवस्थाको दारुण कथा हो यो । प्रायः कवि मित्र गोविन्द वर्तमान र मेरो प्रातः लमक्को समय अघिपछि हुन्थ्यो । कहिले त लमक्पथ नै बेग्लै । पथ उही हुँदा पनि म अलि अघि हुन्थेँ, उनी अलि पछि । म अलि छिटो लम्किन्थेँ, उनी अलि ढिलो । उनको र मेरो लमक् सिद्धान्त मिल्थ्यो । अर्थात् प्रातः लमक् मतो गरेर, एकअर्कालाई कुरेर, हाँसको चालमा ढल्किँदै र गफिँदै हिँड्ने सुकुलगुण्डे अभ्यास होइन । यो सदैव एकल चलोको अभ्यास हो । नित्य आफ्नै समयमा, आफ्नै चालमा, आफ्नै धुनमा, आफ्नै गन्तव्य एवं फिर्ती गन्तव्यतिर । बस् । 

संयोग पनि कस्तो ! त्यो बिहान म अलि ढिलो भएँ, र नै गोविन्द र मेरो भेट भयो । विनासल्लाह मैले आफ्नो साबिक चाल किञ्चित् घटाएँ, उनले बढाए । यसरी हाम्रो चालको चट्ट तालमेल भयो । र, हामी सँगसँगै हिँड्यौँ । सुमुसुमु, चुपचाप । हाम्रो बासी गन्तव्य बासी गौरीघाट र बासी गुह्येश्वरी हुँदै उही गोठाटारको बासी टुप्पो थियो । उकालोको फेदमा एयरपोर्ट मुन्तिर हामी पुग्नु के थियो, त्यहाँ केही उदेक भयो । गतिमान् गोविन्द हठात् रोकिए ।

बाया“तिर खोलामाथि बन्दै गरेको छोटो पुल थियो । हामी दायाँतिरको डाइभर्सनमा थियौँ । जन र वाहनका लागि पुल चालू भएको थिएन । पुलमुनि अपलक हेरिरहेका गोविन्दको बक् फुट्यो— ‘धइत् !’ पछि गम्दा मलाई लाग्यो, त्यो ‘धइत्’मा क्षोभ र धिक्कारको सम्मिश्रित भाव थियो । पुलमुनि जे देखियो, त्यो मनै भरङ्ग हुने दृश्य थियो । चरम अन्याय र क्रुरत्रताबाट पैदा भएको हदै कारुणिक दृश्य ! ढलान गरिएको भुइँमा गुन्द्रीमाथि तन्नाजस्तो केही ओछ्याइएको थियो । त्यो ओछ्यानमा नाङ्गो बालक भुँडी घिसार्दै सकी नसकी बामे सर्न खोज्दै थियो । नजिकै भित्तामा अडेस लागेर एक वृद्धा बसेकी थिइन् । तिनका धूमिल नजर मानौँ बालकमा स्थिर भएका थिए । तिनी जीवित र स्पन्दनशील मानव होइन, जीवनशून्य र निश्चल मूर्तिजस्ती लाग्थिन् । 

त्यो उखुम जेठ महिना थियो । पुलमुनिको दृश्य देख्दा मेरा कानमा गोविन्दको उही ‘धइत्’को प्रतिध्वनि गुञ्जियो । ‘धइत्’ यो एकलासमा, विषालु सर्प र बिच्छीको यो वासस्थलमा, हिंस्रक चितुवा विचरण गर्ने वननजिकै पुलमुनि निसासलाग्दो सुरुङमा बालक र वृद्धा यसरी फालिएका छन् ! बालककी आमा सायद कतै कसैका भाँडा माझ्न वा कतै भीख माग्न वा प्राण धान्नका लागि कतै केही काम गर्न गएकी होलिन् । अनि बालकको बाबु ? के थाहा, त्यो कुनै मैमत्त डाँगो यो बालककी आमालाई बलात् ऋतुदान दिएर चरम् उत्पीडनकारी पितृसत्ताको सिंहासनमा सानले विराजमान भइरहेको पो होला कि !

गोविन्द र म लमक्पथमा अग्रसर भयौँ । अघिको दृृश्य अमिटझैँ  भएर मेरो मनको भित्तोमा टाँसिएको थियो । नराम्ररी बिथोलिएको मेरो मनमा अनेकओली कुरा खेल्न थाले । पुलमुनि जे देखियो, त्यो राणाकालको दृश्य थिएन । न त त्यो शाहीकालकै दृश्य थियो । उसो त त्यो शिरमा राजालाई बोकेर हिँडेको अधकल्चो बहुदलकालको दृश्य पनि थिएन । समानता र सामाजिक न्यायका अनेक वाचापछि, अनेक गर्जनपछि र अनेक बलिदानपछिको लोकतन्त्र एवं गणतन्त्रको दृश्य थियो त्यो । नाथे तन्त्रहरू अनेक फेरिए ।

हेरफेरको यो हलचलमाझ वञ्चित र सीमान्तकृत लोकका मन–मानस अनेक रङ्गीन र सुन्दर सपनाहरूले टनाटन भरिए । तर, आखिरमा नापियो के ? वञ्चितहरूका लागि उही आकाशको फल, आँखा तरी मर् ! सीमान्तकृतहरूका लागि उही वीरबलको खिचडी ! राणाकालमा भिखारी थिए, शाहकालमा ती रहिरहे । र, हुँदाहुँदा अहिले लोकतन्त्र एवं गणतन्त्रकालमा पनि ती यथावत् छन् । यत्रायत्रा ‘ऐतिहासिक’ र ‘युगान्तकारी’ परिवर्तनपछि जीवनका यी दारुण दृश्यहरू किन अतीतको कथा भएनन् ? के लोकतन्त्र केवल छलकारी ढोँङ हो ? के गणतन्त्र फगत कागजी फूल हो ? के पुलमुनिको त्यो कन्तबिजोक भावीले छैटीमा लेखिदिएको अकाट्य एवं शाश्वत लेखान्तर हो ?  

हामी मौन वेदनाको लयमा खुट्टा घिसार्दै गोठाटारको टुप्पोमा पुग्यौँ । गोविन्द हुनुसम्म उदास र निराश थिए । लाग्थ्यो, त्यो सघन उदासी र निराशाको पत्रमुनि मानौँ केही विस्फोट हुन खोजिरहेछ । लमक्को क्रम भङ्ग गर्दै गोविन्द चिया पसलबाहिर पेटीमा बसे । र, लामो सुस्केरा हाल्दै उनी दूर क्षितिजतिर टोलाइरहे । ‘हिँड्न खुट्टा लागेनन्, दाइ,’ अलिबेरमा उनले भने । ‘कहिल्यै नटुङ्गिने अत्याचारको यो पराकाष्टा ! यो मत्स्यन्याय ! यो जङ्गली राज !’ बेसुरमा झैँ  उनी एकोहोरो बोलिरहे । ‘यस्तो देख्दा मलाई कहिलेकाही“ ड्याङ्ग विस्फोटित भएर साला यी ढोँगी विधि र काइते नीतिसँगै यी सारा ठग शासकहरूलाई खरानी बनाइदिऊँ जस्तो लाग्छ ।’ यसो भनिरहँदा गोविन्दका आँखामा आँसु रसाइरहेका थिए । त्यसअघि उनका आँखामा मैले कहिल्यै आँसु देखेको थिइनँ । 

हामीले साहुनीलाई लाल चिया पकाइदिन बिन्ती बिसायौँ । हाम्रोमाझ सुन्न र सुनाउन अब केही बाँकी थिएन । हाम्रो चिन्तनका सबै क्षिद्रहरू टालिएका थिए । हामी एकदमै हतप्रभ र संज्ञाशून्य भएका थियौँ । चियाको बाटो हेरिरहँदा पुलमुनिको बालकको भविष्य मेरा आँखासामु नाचिरह्यो । अन्तर्दृष्टिले यसो हेर्छु, बालकको भविष्य भयावह छ । उसको देश छैन ।

उसको देश हुनलाई नागरिकता चाहिन्छ । उसको नागरिकता हुनलाई धनीपुर्जा चाहिन्छ । उसको धनीपुर्जा हुनलाई भूमिमाथि उसको स्वामित्व चाहिन्छ । ऊसँग त्यो केही छैन । यत्रो विशाल धर्तीको एकएक इन्च माटोमा लुब्ध मनुष्यहरूका नङ्ग्रा गाडिएका छन् । प्रकृतिले सिर्जना गरेको माटो हडपेर यी नङ्ग्राधारीहरू भूपति, भूस्वामी, मालिक, प्रभु बनेका छन् । अनि त्यो र त्यस्ता बालकहरू ? ती जीवनका सबै अवसर, सुख र सुविधाहरूबाट वञ्चित छन् । देश तिनका भागमा परेको छैन । नागरिकता तिनका भागमा परेको छैन ।

शिक्षा र स्वास्थ्यका सुविधा तिनका भागमा परेका छैनन् । मानवीय अस्मिता र प्रतिष्ठा तिनका भागमा परेका छैनन् । आखिर तिनका भागमा परेको छ के ? केवल अनिश्चित अन्धकार । फगत भोक र रोग । सिर्प  कुपोषण र सुकेनास । मात्र असुरक्षा र अपमान । र, पलपल उत्पीडन, नित्य कन्तबिजोक एवं ‘कम्निस्ट’ मालिकका हबेलीको पेटीमा कुकुरसँगै सुत्ने भिखारीको झैँ  अकाल मरण । बस् ।

हाम्रो ‘पवित्र’ संविधानमा भन्छ— कानुनका नजरमा सबै नागरिक समान छन् । को को सबै ? कानुनको दृष्टिमा अकूत धनाढ्यहरू र पुलमुनिको त्यो तन्नम बालक समान छन् । व्यवहारमा नि ? व्यवहारमा धनाढ्यहरू समस्त जल, जमिन, जङ्गलका मालिक हुन् । अनि त्यो बालक ? त्यो यिनका सामु हात पसार्न अभिशप्त एक असहाय भिखारी हो । त्यो दुई पैसाको भिख दिएर उदारमना मानव कहलिन यिनलाई मौका दिने उपेक्षित र पददलित मानव हो । 

सम्झनामा हठात् कार्ल माक्र्स र फ्रेडरिख एङ्गेल्स आए । र, आए निजी सम्पत्ति एवम् विवाह र परिवार नामक संस्थाबारे तिनका विचारहरू । र, सँगसँगै अस्तिताक फकिर स्वनाम साथीले भनेर मित्र प्रदीप गिरिले सहमति जनाएको एउटा कथनको मलाई याद आयो । विवाह नामक संस्था र निजी सम्पत्तिको अस्तित्व नमासी लोकमा मानिस र मानिस कदापि समान र स्वतन्त्र हुन सक्दैनन् ।

न त नारीहरू नै पितृसत्ता र सम्पत्तिको दासत्वबाट मुक्त हुन सक्छन् । कारण ? सम्पत्तिको उत्तराधिकार प्रदान गर्न वैभवपतिलाई छोरो चाहिन्छ । छोरो हुनलाई एकनिष्ट विवाहको व्यवस्था चाहिन्छ । सम्पत्ति थुपार्न मान्छेले मान्छेलाई चुस्ने र ठग्ने थिति चाहिन्छ । यस्तो थितिलाई जोगाइराख्न ‘निजी सम्पत्तिको पवित्रता’को रट चाहिन्छ । बस्, जुँगा चले, कुरा बुझे । विवाह नामक संस्था र निजी सम्पत्तिको अस्तित्व रहुन्जेल कोही भाग्यमानी देशकै सबैभन्दा धनाढ्य हुनेछ, कोही पुलमुनिको अभागी बालक हुनेछ । 

दोस्रो कारुणिक दृश्य अतिशय दुर्भिक्ष पीडित बराबिचरा मृगहरूको हो । मेरो प्रातः लमक् गर्ने वनको नाम कसले र किन वनकाली राख्यो म जान्दिनँ । यसको मौलिक नाम वास्तवमा मृगस्थली हो । नामैले भन्छ— यस स्थलका आदिवासी जीव मृगहरू हुन् । आदिकालीन भोगचलनका दृष्टिले यो तिनको अग्राधिकारयुक्त क्षेत्र हो । तिनको र केवल तिनको । तर, केहीले नपुग्ने र केहीले सन्तुष्ट नहुने मान्छे मुलाले यो वनमा अतिक्रमण ग-यो । उसले एकएक गरी वृक्षहरूको जीवन हरण ग¥यो, भूतलका जडीबुटीहरू नाश ग-यो । वृक्षहरू पातलिए, भुइँ उजाडियो । मृगस्थलीको पर्यावरणीय शोभा र सौम्यता सखाप भयो । र, यस भेगको शान्ति नराम्ररी बिथोलियो । मृगस्थलीको मौलिक, सुन्दर एवम् शोभायमान स्वरूप यसरी क्षतविक्षत भयो ।

मनुष्य मुलाको लोभका कारण मृगहरूको आहार, वास र सुरक्षा सङ्कटमा प-यो । र, आप्mनो पुख्र्यौली वासबाट बलात् उठीवास भई वैराग्गिएर ती यताउता, लाखापाखा लागे । मनुष्यले पहिले तुच्छ स्वार्थवश मृगहरूलाई अत्याएर लखेट्यो, पछि उसलाई तिनको सुन्दरताको न्यास्रो लागेर आयो । अनि उसले रित्तो मृगस्थलीमा बाहिर कतैबाट मृगहरू भित्र्यायो । ती भाग्लान् भनेर वरिपरि उसले अग्लो बार लगायो । यत्रतत्र फुक्काफाल विचरण गर्ने मृगहरू साँगुरो वृत्तका निरीह कैदी भए । सुरुमा मनुष्यले खान्कीको प्रबन्ध राम्रै गरेको थियो ।

दिनदिनै दानापानी र घाँस, यदाकदा नुन आदि । बिस्तारै पाजी ठेकदार मृगहरूको भाग आफै  सुटुक्क खान थाल्यो । खाँदैजाँदा उसको भुँडी फुल्दै गयो, मृगहरूको भाग झनझन् घट्न थाल्यो । उता मृगहरूलाई आफ्नो मजाका लागि थुन्ने विलासी शासक सत्ताको भोग र सौखमा मस्त भयो । उसले तिनलाई भुसुक्कै बिस्र्यो । खानका दुःखले मृगहरूका देह सुक्दै गए । भोकको झोँकमा तिनले भुइँबाट भेटिनेजति रूखका बोक्रा खाइभ्याए । भुइँमा हरियो–परियो एक पित्को बाँकी रहेन । बालुवाटारका अगस्ती शासकहरूले खाँदै जाँदा माटोधरी खाएका थिए । तर, यी मृगहरूले जतिसुकै भोकग्रस्त भए पनि माटो खाइहालेका छैनन् । खाइहाले भने माटो खानु यिनको बाध्यता हुनेछ । तर, माटो खानु बालुवाटारे खानका कालहरूको रहर हो । 

चरम अन्याय र क्रुरताबाट पैदा भएको हदै कारुणिक दृश्य ! ढलान गरिएको भुइँमा गुन्द्रीमाथि तन्नाजस्तो केही ओछ्याइएको थियो । त्यो ओछ्यानमा नाङ्गो बालक भुँडी घिसार्दै सकी–नसकी बामे सर्न खोज्दै थियो । नजिकै भित्तामा अडेस लागेर एक वृद्धा बसेकी थिइन् ।

म जब बार बाहिरबाट यसो भित्र हेर्छु, मृगहरू केही देला कि भनी आशालु नजरले मलाई हेर्छन् । भोक, प्यास र रोगव्याधीले ती हुनुसम्म गलित भएका छन् । अब तिनमा हाड र छाला मात्र बाँकी छन् । यता गहभरि आँसु भएका यी निर्दोष र असहाय कैदीहरूको यो हबिगत छ, यिनलाई कैद गर्ने बालुवाटारका शासकहरू उता दौलतको पर्वतमाथि उभिएर ङिच्च हाँस्दै छन् । म सोच्छु— गोविन्द वर्तमान जीवित भए यो कुरूप यथार्थबारे के भन्दा हुन् ? कुन्नि, क्रोधाग्निले जल्दै र ‘धइत्’ भन्दै बालुवाटार फर्किएर तिनले पिच्च थुक्दा पो हुन् कि !

अन्तिम कारुणिक दृश्यको पीडित पात्र म आफैँ हुँ । तर, सुखद् संयोगवश, यो कथा सुखान्तमा तुरियो । त्यो बिहान भयो यसो । म प्रातः लमक्का फन्काहरू पूरा गरी गुह्येश्वरीमाथिको ढुङ्गे सिँढीबाट फुत्रुक–फुत्रुक ओरालो झर्दै थिएँ । मिरमिर उज्यालो भएको थियो । मेरो नाकेडाँडीमा टिके बाइफोकल सानले सजिएको थियो । यो टिके बाइफोकल कत्ति भरपत्यार गर्न नसकिने जिनिस हो । जहाँ गहिरो छ, त्यहाँ यसले कम गहिरो देखाउँछ । जहाँ कम गहिरो छ, त्यहाँ यसले बढी गहिरो देखाउँछ । गहिरो छ भनेर त्यसै हिसाबले खुट्टो राख्यो, खुट्टोमाथि नै घ्याच्च हुन्छ । कम गहिरो छ भनेर त्यसै अनुमानले खुट्टो राख्यो, खुट्टो तल ख्याँस्स खाँदिन्छ । अनि माथि घ्याच्च हुँदा तल्तिर मुन्टिने डर, तल ख्याँस्स खाँदिदा झन् तल उभिन्डिने डर ।

गुह्वेश्वरीमाथि बाहिरपट्टिका ढोकाको ठीक माथि छब्बीस खुड्किले सिँढी छ । टिकेले धोका देला भनेर चनाखो हुँदै र खुड्किला गन्दै म तल झर्छु । त्यो बिहान पनि म त्यही चालमा थिएँ । भित्तो च्यापेर तल झर्दै थिएँ म । टिकेले बितायो । मेरो देब्रे खुट्टो घ्याच्च भयो र म हुत्तिँदै तल्तिर मुन्टिएँ । अत्ताल्लिएको त्यो क्षणमा मेरो हात भित्ताको आड लिन पुगेछ । मेरो टाउको भित्तामा ड्याङ्ग ठोक्कियो । नाक भित्तामा जोतियो । र, ठोक्काइको तोडमा म तल्तिर हुत्तिएँ । संयोग पनि कस्तो ! दुइटी ठिटी तलबाट भित्तैभित्ता माथि उक्लिँदै थिए । भित्तापट्टिकी ठिटीले मलाई घ्याप्पै समाति । र, अर्कीले उसलाई आड दिई । यसरी तिनले मलाई सिँढीमा घोप्टिनबाट बचाए । ती नहुँदा हुन् त म गल्र्याम्मै ढल्थेँ । र, खुट्किला–खुट्किला गन्ड्याङ–गुन्डुङ हुँदै तल पुछारमा पुगेर म सायद थलैमा चिलिम् हुन्थेँ । धन्न तिनले मेरो ज्यान बचाए । चल्तीको भाषामा भनुँ भने तिनले मलाई बडो उदारतासाथ जीवन दान गरे । 

म सिँढीको खुट्किलोमा थ्याच्च बसेँ । मेरो जिउ थर्थर् कामिरहेको थियो । अलिकता भित्ताको धक्काले, अलिकता कसो मरिनँ भन्ने डरले । निधार छामेँ, देब्रे कुनामा मट्याङ्ग्रो जत्रो टुटुल्को उठेछ । नाकका टुप्पामा रगत रसाएछ । देब्रे हातको कुइनो दर्फरिएछ । मन सम्हालेर किञ्चित् शान्त मनोदशामा फर्केपछि कृतज्ञता भावले मैले भनेँ— ‘धन्यवाद, नानी हो । तिमीहरूले मेरो नाक जोगाइदियौ ।’

ठिटीद्वय कित्कित् हाँस्दै उकालो लागे । केही माथि पुगेर अड्दै एउटीले भनी– ‘बाजे, नाक गोजाऊ !’ ‘धन्यवाद’ भन्दै जोगिएको नाक अघि लगाएर म सुस्त चालले बाटो लागेँ । त्यसपछि प्रातः लमक्मा कतै भेट हुँदा तिनले ठट्याइलो पाराले उही वचन दोहो-याए– ‘होस गर है, बाजे । नाक जाला !’ एकाध हप्तापछि प्रातः लमक्बाट ती अलप भए । मैले टिके बाइफोकललाई त्यागेर फ्लोरटिङ नामक चस्मा फेरेँ । चिज यो महँगो छ । तर, यसको गुन बयान गरिनसक्नु छ । यसले जे जति अग्लो वा गहिरो हो, त्यसलाई त्यति नै अग्लो वा गहिरो देखाउँछ । तसर्थ मेरो नाक जोगाउन यो समर्थ छ । मेरा कतिपय लमक्कर्मी यात्रीहरूले टिके चस्मा लगाइरहेका होलान् । कल्याणी ठिटीहरू लमक्बाट गायब भए । आप्mनो त्यो दुर्दशा सम्झिँदै म गम खान्छु– यी टिकेहरू गुल्टिँदा कसले समातेर यिनका नाक जोगाइदेलान् !