• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश खनाल
२०७६ मङ्सिर २८ शनिबार १०:३६:००
समाज

महिला खेलाडीको जितको कथा

सागमा महिला खेलाडीले पुरुषको तुलनामा धेरै स्वर्ण जित्नुको मुख्यतः आठ कारण छन्

२०७६ मङ्सिर २८ शनिबार १०:३६:००
रमेश खनाल

खेल
आज धेरैको मनमा प्रश्न छ– कसरी नेपाली चेलीहरूले सागमा यति धेरै पदक जित्न सके ? के नेपाली खेल जगतमा महिला खेलाडीहरूको प्रभुत्व कायम भएकै हो ? १३औँ दक्षिण एसियाली खेलकुदको नतिजालाई अध्ययन गर्दा नेपाली खेल जगतमा महिला खेलाडीहरू हाबी भएकै हो । नेपालले जति पनि स्वर्णपदक जितेको छ, त्यसमा झन्डै साठी प्रतिशत स्वर्णपदक महिला खेलाडीले जितेका छन् । रजत र कांस्यको त लेखाजेखा अहिले गर्न सकिन्न । राखेप (राष्ट्रिय खेलकुद परिषद्)ले केही दिनपछि प्रकाशित गर्ने तथ्याङ्कले नै बताउने छ । रजत र कांस्य पदकमा पनि महिला खेलाडीहरूको उल्लेखनीय प्रगति भएकै छ ।

अब प्रश्न उठ्छ कसरी यति धेरै प्रगति भयो ? यसका पनि केही कारण हुन सक्छन् । पहिलो कारण, नेपालमा १३औँ  साग आयोजना हुनु । जसमा धेरैभन्दा धेरै पदक जितेर राष्ट्रको नाम उच्च राख्ने चाहना हुनु । दोस्रो कारण, व्यवस्थित प्रशिक्षण । यस पटक खेलाडीले लामै प्रशिक्षण लिएर आफूलाई सक्षम बनाए । तेस्रो कारण अन्तर्र्राष्ट्रिय खेल अनुभव बटुल्न विदेशमा प्रशिक्षणका लागि पठाइनु । चौथो कारण हो, अल्टिच्युडको फाइदा । 

झन्डै चार हजार पाँचसय फिटको उचाइमा छौँ हामी । हामीसँग प्रतिस्पर्धा गर्ने बंगलादेश, माल्दिभ्स, भारत, पाकिस्तान, श्रीलंका समुद्री सतहकै हाराहारीमा छन् । यस्तो अवस्थामा यी राष्ट्रहरूभन्दा हाम्रो पफर्मेन्स उत्साहजनक हुन्छ । हामीलाई अल्टिच्युडको फाइदा हुन्छ ।

कतिपय खेलहरूमा अल्टिच्युडको फाइदा पाएका छौँ । यो कुरा झट्ट हेर्दा थाहा हुँदैन । तर, फाइदाचाहिँ भइरहेको हुन्छ । यस क्रममा भुटान र नेपालको अल्टिच्युड मिल्ने भएका कारण भुटानका खेलाडीहरूले राम्रै गरेका छन् । राम्रो प्रशिक्षण र अल्टिच्युडको सम्मिश्रणबाट नतिजा राम्रो देखिएको छ । अल्टिच्युड अर्थात् समुद्री सतहभन्दा २५०० देखि ३००० को उचाइमा जब प्रतियोगिता हुन्छ भने सहभागी राष्ट्रले अल्टिच्युड तालिम गराउन ३००० भन्दा माथि वा सोसरहका स्थानमा स्थान्तरण गर्नु पर्दछ । १३औँ सागले अब अल्टिच्युडको अवधारणालाई गम्भीर रूपमा लिनुपर्दछ । 

पाँचौँ कारण दर्शकको अपार समर्थन पनि हो । दर्शकको सकारात्मक समर्थनले खेलाडीहरूलाई झन्–झन् प्रेरित गर्दछ । हाम्रो यस विजयमा दर्शकको साथलाई पनि समावेश गर्नुपर्दछ । छैठौँ कारण उचित व्यवस्थापन, सहज प्रतियोगिता, निष्पक्ष निर्णयले पनि हामीलाई साथ दिएको छ । र सातौँ कारण हो, खेलाडीहरूको सकरात्मक इच्छा शक्ति, अटुट प्रेरणा, उच्च एकाग्रता, दिवा स्वप्न, सन्तुलित संवेगजस्ता मनोवैज्ञानिक समीक्षात्मकमा अन्तर्निहित भएर खेलाडीहरूले खेलेका छन् । त्यसैेगरी अर्को महत्वपूर्ण कुरा सामाजिक स्विकारोक्ति पनि हो ।

हिजोको दिनमा चेलीहरूलाई नानाभाँती भनेर विरोध, अनुरोध गरिन्थ्यो । तर, आज त्यस्तो छैन । घरपरिवार, समाज सबैले छोरीलाई समर्थन गरेका छन् । यस क्रममा मेडल -यालीमा दोस्रो हुने महिला खेलाडीहरूले गरेको योगदानलाई पनि राष्ट्रले गम्भीरतापूर्वक लिनुपर्दछ । साग सफलतालाई नै आधार बनाएर केही खेलाडीले सुखद भविष्यको सपना पनि देखेका छन् ।

खेलाडीहरूले पदकसँगै आफ्नो सुखद् भविष्यको सपना देखिरहेका छन् । यस्तो अवस्थामा राज्यबाट सुरक्षित भविष्यका व्यावहारिक योजनाहरू अगाडि सार्नुपर्दछ ।

खेलकुदमा लागेर साग, एसियन गेममा पदक जित्ने चाहना सबै खेलाडीको हुन्छ । तर, केहीलाई मात्र सफलता मिल्छ । उनीहरू त्यस सफलताभित्र आफ्नो भविष्य सुखद् हुने सपना देखिरहेका छन् । यस्तो अवस्थामा राज्यबाट सुरक्षित भविष्यका व्यावहारिक योजनाहरू अगाडि सार्नुपर्दछ । र, ती भविष्यका व्यावहारिक योजनाहरू कार्यान्वयन पनि गर्नुपर्छ । राज्यले अघि सारेका योजनाहरू कार्यान्वयन भएन भने सम्पूर्ण खेल जगतमा दुरगामी नकारात्मक असर पर्दछ । तसर्थ राज्यले हुन सक्ने र गर्न सकिने योजनाहरू पस्किनु पर्दछ ।

यसपटक १३औँ सागका अवसरमा गौरिका सिंहको चार स्वर्ण, एक रजत र चार कांस्यले सनसनी मच्चाएको छ । उनी एक १६ वर्षीय प्रतिभाशाली किशोरी खेलाडी हुन् । उनलाई धैरैले गोल्डेन गर्ल पनि भनिरहेका छन्, भने अर्कोतर्फ कुस्तीमा स्वर्ण जित्ने संगीता धामीले सुनाएको दुःखदायी कथा पनि सोचनीय छ । उनका बाबुले गरेको व्यवहार देखेर नै उनले आफूले जितेको स्वर्ण पदक आमा र राष्ट्रलाई समर्पण गर्न चाहिन्, तर बाबुलाई होइन । खेल क्षेत्रमा आउने खेलाडीको आर्थिक स्थिति, जीवनयापन, पठनपाठनमाथि अध्ययन अनुसन्धान हुनुपर्ने देखिएको छ । त्यस, अध्ययनले पक्कै पनि ती वर्गका प्रतिभाशाली खेलाडीको सुनिश्चित भविष्य कोर्न सकिन्छ ।

यहाँनेर प्रेस जगतको उत्साहपूर्वक सकारात्मक सहयोगलाई बिर्सनु हुन्न । खेल पत्रकारहरूले खेलाडीहरूलाई उठाउन, जिताउन ठूलो योगदान गरेका छन् । र, सम्पूर्ण साग सफल बनाउन महत्वपूर्ण सुझाब, प्रेरणादायक लेख, रिपोर्टिङहरू गरेर सहयोग पु-याएका छन् ।पदक -यालीमा दोस्रो भएर इतिहास रचेका छौँ हामीले, र आगामी १४औँ साग दुई वर्षपछि पाकिस्तानमा आयोजना हुँदै छ । त्यस सागमा अहिलेको भन्दा राम्रो गर्नुपर्ने चुनौती हाम्रो अगाडि छ । त्यसका लागि यथा समयमा नै हाम्रो तयारी सुरु गर्नुपर्दछ ।