• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर २८ शनिबार १०:४६:००
समाज

विज्ञान देशको सारथि बनेन

२०७६ मङ्सिर २८ शनिबार १०:४६:००

राजनीतिक रूपमा विभिन्न वादका बारेमा छलफल भए तापनि नेपालमा विज्ञानवादका बारेमा कमै छलफल भएको पाइन्छ । समाज जुन परिवेशमा गुज्रिइरहेको छ, त्यसैबमोजिमका शब्दहरूले व्यापकता पाउनु स्वाभाविकै हो । नेपाली राजनीति र बौद्धिक जगत्मा यतिवेला पुँजीवाद, माक्र्सवाद, समाजवादजस्ता शब्दहरू अत्यधिक प्रयोग भएका छन् । तर, विज्ञानवादको बारेमा कतै पनि चर्चा सुनिन्न ।

महापुराणमा एक करोड खर्च गरिन्छ । तर, नयाँ खोज तथा आविष्कारमा खर्च गरिँदैन । त्यसैले पनि हाम्रोजस्तो कमजोर मुलुकमा विज्ञान सत्ताको सारथी बन्न सकेको छैन । केही महिनाअघि डा. बाबुराम भट्टराईले अबको नेपालको राजनीतिक बाटो वैज्ञानिक मानववाद हो भनेर लेखेका थिए । यस लेखमा उनले विज्ञानवादका आधारभुत बिषय उठान गरेका छन् । प्रविधि र आविष्कारका क्षेत्रमा लागेका महावीर पुनले नेपाल सरकार मन्दिर बनाउन अर्बौं खर्च गर्दछ, तर आविष्कारमा एक कौडी पनि खर्च गर्दैन भनेको कुरा सामाजिक सञ्जालमा सनसनी भएको थियो । यी दुवै व्यक्तिका लेख र भनाइले राजनीति र समाजमा विज्ञानको महत्वलाई दर्शाउन खोजेका छन् । 

सामान्यतयाः विज्ञान भन्नाले मानिसले प्रविधि वा आविष्कार बुझ्दछ । तर, आविष्कार वा प्रविधि त विज्ञानले ल्याएका परिणाम मात्रै हुन् । विज्ञान एक बौद्धिक र व्यावहारिक शास्त्र हो जसले जीवन र जगत्को संरचना र व्यवहारका बारेमा प्रणालीबद्ध अध्ययन गर्दछ । यसरी आर्जन गरेको ज्ञान आफैँमा पनि विज्ञान हो । ज्ञान सही छ कि छैन, कत्तिको उपयोगी वा अनुपयोगी छ भन्ने पनि विज्ञानले नै पत्ता लगाउँदछ । अर्को शब्दमा सत्यको खोजी गर्ने प्रणालीबद्ध अभ्यास नै विज्ञान हो । 

अन्य धर्म सम्प्रदायका तुलानामा बौद्ध धर्मको महायान मार्गीहरूले विज्ञानवाद शब्दलाई बढी प्रयोग गरेका छन् । हुन त बुद्ध आफैँ पनि विज्ञानवादी मानिस थिए । महायानवादीहरूले संसारका हरेक कुरा सत्य छन् भन्ने तर्कलाई विज्ञानवाद मान्दछन् । ‘ब्रह्म सत्य जगत् मिथ्या’ भन्ने भनाइलाई महायानीहरूको विज्ञानवादले चुनौती दिएको छ ।

बौद्ध धर्मावलम्बीहरूले विज्ञानवादलाई प्रयोग गरेको भए तापनि आधुनिक समाजमा विज्ञानवादलाई एक राजनीतिक, वैचारिक, सामाजिक दृष्टिकोणका रूपमा लिन सकिन्छ । तथापि विज्ञानवादका बारेमा पूर्वीय र पश्चिमा समाजमा केही बहस भएका छन् । जीवन र जगत्को व्यवहार र सम्बन्धको यथार्थपरक अध्ययनपछि प्राप्त ज्ञानलाई मात्र वास्तविक ज्ञान मान्न सकिने कतिपय वैज्ञानिकको भनाइ छ । यो प्रक्रियाबाट ज्ञान आर्जन गर्ने पद्धतिलाई उनीहरूले विज्ञानवाद भनेका छन् । पश्चिमा समाजको ज्ञानप्राप्तिको काल र पुनर्जागरणकाल विज्ञानवादबाट अत्याधिक प्रभावित समय हो । 

नेपाल र दक्षिण एसियाका समग्र मुलुकहरूको राजनीतिक, शैक्षिक र बौद्धिक आन्दोलन र परिवर्तनहरू कम विज्ञानवादी, तर बढी भावनामा आधारित छन् । हाम्रा परिवर्तनहरू कुनै पनि वैज्ञानिक खोज र तथ्यपरक विषयमा आधारित थिएनन् । त्यसैले हाम्रा राजनीतिक परिवर्तनहरू स्थायी हुन सकिरहेका छैनन् । राजनीतिको एउटा पक्षले पाँच हजार वर्षअगाडि लेखिएका धार्मिक पुस्तकले जीवन र जगत्का सबै समस्याको समाधान गर्दछ भन्यो, अर्को पक्षले बेलायतको पुस्तकालयमा कार्ल माक्र्सले लेखेको पुस्तकले सबै सामाजिक समस्याको अन्त्य गर्दछ भनी युद्ध थाल्यो ।

यी दुवै अतिवाद समग्रमा अन्धविश्वास मात्रै थिए । तर, समाज निरन्तर परिवर्तनशील छ र सामाजिक समस्याका लक्षणहरू समय परिस्थितिमा फेरिँदै जान्छन् र त्यसको निदान विज्ञानवादमा आधारित छ भन्ने कुरा कुनै पनि राजनीतिक शक्तिले अंगीकार गरेको पाइन्न । हाम्रो समाजका कतिपय धार्मिक कट्टरवादीहरू सन् १९२० मा देखिएको एचआइभी एड्सको औषधि अथर्ववेदमा पाइन्छ भनी खोज्दै थिए भने धर्मलाई अफिम मान्ने कोही कट्टर मार्क्सवादीहरू यस्तो रोगका बारेमा माक्र्सले केही बोलेका थिए होला भनी खोज्दै थिए होलान् । तर, विज्ञानले आफ्नो बाटो लियो र सदाझैँ यो रोगको पनि निदान पत्ता लगायो । यसैगरी समाजका विभिन्न समस्याहरू जस्तै गरिबी, हिंसा इत्यादिलाई पनि विज्ञानले समाधान गर्न सक्दछ । यसका लागि राज्यले विज्ञानको महत्वलाई बुझ्न सक्नुपर्छ । वास्तवमा अबको राजनीतिक मार्गसमेत विज्ञानवादमा आधारित हुन जरुरी छ । अन्यथा सामाजिक समस्याको यथार्थपरक समाधान कहिल्यै निस्कन्न । 

विज्ञानवादले सबैभन्दा पहिला समस्याको पहिचान गर्दछ । अनि मात्र उक्त समस्याको निदानको उपाय दिन्छ । हाम्रा राजनीतिक दलका नेताहरूले आफू सत्तामा आएको ५ वर्षमा नेपाललाई स्विजरल्यान्ड बनाउँछु भनेर कबोल गरेका थिए । सत्तामा आएको २० वर्ष हुन लाग्यो नेपाल उही भ्रष्टाचार, गरिबी, कुशासन, अशिक्षा, रोगव्याधीमा रुमल्लिइरहेको छ ।

एउटा पक्षले भन्छ, पाँच हजार वर्षअघिका धार्मिक पुस्तकले जगत्का सबै समस्याको समाधान गर्छ । अर्को पक्षले भन्छ, कार्लमाक्र्सको पुस्तकले सबै सामाजिक समस्याको अन्त्य गर्छ । यी दुवै अतिवाद समग्रमा अन्धविश्वास मात्रै थिए ।

नेपाललाई स्विजरल्यान्ड वा सिंगापुर बनाउने राजनीतिक दलका नेताको चाहनालाई नराम्रो भन्न मिल्दैन, तर उनीहरूले नेपाल स्विजरल्यान्ड वा सिंगापुर बनाउन नदिने तत्वका बारेमा विज्ञानपरक अनुसन्धान गर्न चुके । वा नेपालको समस्या के हो भन्ने नै पो नेतृत्वलाई थाहा छैन होला । स्विजरल्यान्ड र सिंगापुर बनाउनेहरू न त बाइबलका किरा थिए न त मार्क्सवादका बादशाह । उनीहरूको मार्ग केवल विज्ञानवाद थियो । अथवा, समस्या पहिचान गर्ने र निदान गर्ने । हरेक समस्याको निदान गर्ने औषधि फरक–फरक हुन सक्दछन् । 

समाजवादको नारा लगाएर युद्धमा होमिएका प्रचण्ड आफू सत्तावरिपरि बसेको २० वर्षपछि गत हप्ता मात्रै कर्मचारी प्रशासनका कारण केही गर्न सकिएन भनी आरोप लगाउँदै थिए । कर्मचारी प्रशासन देश विकासको बाधक हो कि होइन, खोजी हुन बाँकी छ । राजा महेन्द्रका पालामा पनि कर्मचारी प्रशासन नै थियो । तर, भौतिक विकासका लागि उक्त समय कोषेढुंगा साबित भएको थियो । तर, यत्रो जन र युगको क्षतिपश्चात् आजसम्म पनि देशको समस्या के हो भनेर पत्ता लगाउन नसक्नु हाम्रो नेतृत्वको सबैभन्दा ठूलो पिछडापन हो । उनीहरूमा विज्ञानवादी सोचको कमी पक्कै छ । 

वेद, बाइबल र माक्र्सवाद छाडेर देशको वास्तविक समस्या पत्ता लगाउन फेरि पनि विज्ञानकै सहयोग लिन जरुरी छ । यसका लागि हजारौँ शिक्षित युवालाई खोज अनुसन्धानमा लगाउन जरुरी छ । उनीहरूले आर्जन गरेको ज्ञान राज्यको मार्गदर्शन बन्ने निश्चित छ । उक्त खोजले समस्याको पहिचान र निदानका उपाय प्रस्तुत गर्नेछ, जसका आधारमा नेतृत्वले नेपाललाई स्विजरल्यान्ड वा सिंगापुर बनाउने डिजाइन गर्न सक्दछन् अन्यथा सदाझैँ विकास यथार्थ नभएर इच्छामा मात्र सीमित रहने निश्चित छ । अबको समयमा वेद, बाइबल र माक्र्सवाद केवल सन्दर्भ पुस्तक हुन्, मार्गदर्शन होइनन् । विज्ञानवादले समयसापेक्ष रूपमा विषयको अध्ययन गरी समस्या समाधानको उपाय निकाल्दछ ।