• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
वसन्त महर्जन
२०७६ मङ्सिर २८ शनिबार १०:५१:००
इतिहास

महेन्द्रको सत्तामा अनुुदारवादको घुसपैठ

महेन्द्रको राष्ट्रवाद आफैँमा नराम्रो थिएन

२०७६ मङ्सिर २८ शनिबार १०:५१:००
वसन्त महर्जन

सन्दर्भ : पुस १
सांस्कृतिक आकार वा अवधिलाई ऐतिहासिक दृष्टिबाट हेर्दा यो राजनीतिक परिदृश्यबाट प्रायः अलग रहेको पाउँछौँ । राजनीतिक सत्ता वा व्यवस्थाको परिवर्तनले देश र समाजका धेरै पक्ष प्रभावित रहे पनि सांस्कृतिक कुरा यथावत् रहेको पाइनु यसको उदाहरण हो । गोरखाका राजा पृथ्वीनारायण शाहले एकपछि अर्को स–साना राज्य जित्दै अर्थात् राज्य विस्तारका क्रममा एउटा बृहत् राज्यको आकार दिई वर्तमान नेपालको निर्माण गर्दा धेरै कुराले कोल्टे फेरे पनि सांस्कृतिक पक्षले निरन्तरता नै पाइरहेको देखिन्छ । 

कान्तिपुर राज्यमा सर्वसाधारणसहित मल्ल राजाहरूले जीवित देवीका रूपमा पुजिने कुमारीसँग झुक्ने र टीका थाप्ने परम्परालाई पृथ्वीनारायण शाहले निरन्तरता नै दिए । पचली भैरवसँग राजाले खड्ग साट्नु यहाँको निकै पुरानो परम्परा हो जसको तात्पर्य राज्य सञ्चालन गर्न शक्ति प्राप्त गर्नु वा पुनर्ताजगीकरणका रूपमा लिन सकिन्छ ।

यो परम्परालाई पृथ्वीनारायण शाहले मात्रै नभएर उनका पूरै वंशले निरन्तरता दिएको पाइन्छ । गतिशील समाजमा सांस्कृतिक कुरा स्वभावतः परिवर्तन भइरहने कुरा यो लेखको विषयवस्तु होइन । तर, राजनीतिक परिवर्तनसँगै सांस्कृतिक क्षेत्रमा परिवर्तन शाहकै वंशज राजा महेन्द्रबाट भयो । राजा महेन्द्रबाट भएको राजनीतिक परिवर्तन यो लेखको विषयवस्तु होइन । तर, त्यस परिवर्तनको पृष्ठभूमि तथा प्रभावलाई भने सांस्कृतिक इतिहासको अध्ययनमा महŒवपूर्ण कडीका रूपमा रहेको पाउँछौँ । 

०१७ सालको राजनीतिक परिवर्तनको घटना प्रवृत्तिलाई राजनीतिक दृष्टिले मात्रै हेर्ने र गाली वा प्रशंसा गरेर समाजलाई बुझ्न सकिन्न । अबको नेपाली सांस्कृतिक जीवन वा प्रवाहलाई अध्ययन गर्न यो विषयवस्तुको अध्ययन गर्नु नितान्त आवश्यक देखिन्छ । राजा महेन्द्रले जननिर्वाचित सरकारका प्रमुखलाई हठात् अपदस्त गरेर सत्ता हातमा लिनु राजनीतिक परिवर्तन हो । यो राजनीतिक परिवर्तनपछि सांस्कृतिक क्षेत्रमा पनि परिवर्तन वैधानिक रूपमा नै देखाप-यो । तर, यसको पृष्ठभूमि राजनीतिक परिवर्तनभन्दा निकै अघि नै तयार भइसकेको थियो ।

राज्यसत्तामा रमाउनेहरू प्रायः राजनीतिमा ध्यान दिन्छन् र अन्य कुरालाई सहायकका रूपमा लिन्छन् । आक्रमणकारीका रूपमा प्रवेश गरेर राज्यसत्ता हातमा लिई अन्ततः सोही समाज वा देशमा घुलमिल भई ‘एसिमिलेटेड’ हुने घटनाहरू इतिहासमा देख्न पाइन्छ । भारतको इतिहास यसरी नै बनेको छ । इतिहासकार बाबुराम आचार्यले गोरखाले काठमाडौं उपत्यकामाथि राजनीतिक रूपले विजय गरे पनि सांस्कृतिक रूपमा पराजय भएको भन्नुको तात्पर्य पनि यही हो ।

पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीले काठमाडौंको नेवार समाजमा मात्रै नभएर अन्यत्रको सांस्कृतिक जीवनमा पनि खासै हात हालेको पाइँदैन । बीचमा देखा परेर पुनः पतन भएको राणाकालमा पनि सांस्कृतिक जीवनले निरन्तरता नै पाएको देखिन्छ । यस्तो हुनुको खास कारण उनीहरूको अभीष्ट राजनीति र शक्ति मात्रै थियो र सांस्कृतिक विविधतामा कुनै आपत्ति थिएन । अझ भनौँ, अन्य पक्षहरूलाई राज्य सञ्चालनका लागि सहायकका रूपमा लिएका थिए । आ–आफ्नो ठाउँमा आ–आफ्नै भाषालगायत संस्कृतिको प्रवाह प्रवाहित नै भइरहेको थियो । 

तर, केहीलाई यो सांस्कृतिक नीति चित्त बुुझ्दो थिएन । नेवार समुदायमा प्रचलित नेपालभाषालाई वैधानिक रूपमा प्रतिबन्ध लगाइनु राजनीतिकभन्दा सांस्कृतिक पूर्वाग्रह थियो । बौद्ध धर्ममाथि भएको दमनलाई पनि यही कोटीमा राखेर हेर्न सकिन्छ । र, राणा शासनविरुद्धको जनक्रान्तिमा भाषा र धर्मका अभियन्ताको महत्वपूर्ण सहभागिता रहनपुुग्यो । देशको नाम ‘नेपाल’ दुुई हजार वर्षअघिदेखिको निरन्तरता हो । नेपाललाई गोरखाले विजय गरेको हुनाले यो देशको नाम ‘नेपाल’ नभएर ‘गोरखा’ रहनुपर्छ भन्ने मान्यता राख्ने पनि थियो, जुन इतिहाससम्मत कुरा थिएन ।

लिच्छविकालमा गोरखा केन्द्र शासित नेपालकै एउटा भूभाग थियो । गैर नेवारले नेपालभाषा (नेवार)मा र नेवारले नेपाली भाषामा बोल्ने र लेख्ने परम्परा स्वभावतः अगाडि बढिरहेको थियो । शाह राजाहरू नेपालभाषामा गीत लेख्दथे । राजा राजेन्द्रविक्रम शाहले त ‘महासत्वोपाख्यान’ नामक बौद्ध आख्यानमा आधारित नाटक नै लेखेका थिए । अन्य भाषामा लेख्न नसक्नेहरूसँग पनि सामाजिक हार्दिकता प्रशस्त मात्रामा हुन्थ्यो ।

मोतीराम भट्टलगायत कतिपय लेखक नेपालभाषामा लेख्थे भने नेपाली भाषाको वाङ्मयको श्रीवृद्धिमा नेवार समुदायको सहभागितालाई कुनै पनि हालतमा कम्ती आँक्न मिल्दैन । तथ्यांक बनाएरै कुरा गर्ने हो भने पनि यो आँकडा वर्तमानमा पनि कायम नै छ । तर, त्यो हार्दिकता राजा महेन्द्रद्वारा भएको राजनीतिक परिवर्तनपछि सोही रूपमा कायम रहेन । अझ, खुलेरै भन्ने हो भने उक्त राजनीतिक परिवर्तनभन्दा अघि नै भेदभावपूर्व व्यवहार हुन थालिसकेको अनुुभव नेपालभाषाका महाकवि चित्तधर ‘हृदय’ले आफ्नो आत्मकथामा उल्लेख गरेका छन् । यसको अर्थ हो, राजा महेन्द्रको राज्यसत्तामा सांस्कृतिक अनुुदारवादीको घुसपैठ हुनपुुग्यो । 

भाषिक दमन
राणा शासनकालमा अब उप्रान्त स्थानीय नेपालभाषामा लेखिएका कागजातले दसी प्रमाणका रूपमा वैधानिकता नपाउने भनी इस्तिहार जारी गरे पनि एक भाषाको नीति लिइएको थिएन । नेपालभाषामा विशुद्ध साहित्य सिर्जना गर्ने साहित्यकारहरूलाई वि.सं. १९९७ सालमा जेल सजाय दिइए पनि त्यो राजनीतिक दमनका क्रममा एकै घानमा पारिएको मात्रै थियो ।

कतिपयले यसलाई भाषिक दमन भन्ने गरे पनि भाषिक दमनको प्रकृति त्यसमा पाइँदैन । र, त्यो जेल सजाय एक भाषा नीतिअन्तर्गत पनि थिएन । राणा शासनविरुद्ध प्रचार–प्रसारका लागि विराटनगरमा स्थापित रेडियो स्टेसनमा नेपालीका अनिरिक्त हिन्दी र नेपालभाषामा सामग्री पनि नियमित प्रसारण हुन्थे । राणा शासनको पतनपछि उक्त रेडियो स्टेसन काठमाडौंमा स्थानान्तरणपछि पनि हिन्दी र नेपालभाषाको स्थान कायम नै थियो । 

राजतन्त्रमा रहेको सांस्कृतिक विभेद गणतान्त्रिक व्यवस्थामा पनि यथावत् रहनुको पछाडि महेन्द्रमाला पढेर हुर्केकाले महेन्द्रीय राष्ट्रवादलाई भुल्न नसक्नु प्रमुख कारण हो

कुनै पनि शासकले राष्ट्र र राष्ट्रितामा ध्यान दिनु स्वाभाविक हो । भारतका राष्ट्रवादीहरूले अंग्रेजी भाषाको प्रभावलाई न्यूूनीकरण गर्न हिन्दी भाषाको प्रचार–प्रसार तथा स्थापनाका लागि अभियान थालिरहेको थियो । यो प्रभाव नेपालको तराईमा पनि पुुग्यो । हिन्दीको प्रभावले नेपाली भाषा प्रभावित हुने हिसाब–किताबसहित एक तप्का नेपाली बौद्धिक वर्ग चिन्तित तथा आन्दोलित भइरहेको थियो ।

नेपाली र हिन्दी दुुई भाषाबीचको यो द्वन्द्वले लिएको आकार बढ्दो र चर्को नै थियो । यो भाषिक द्वन्द्व अध्ययनको एउटा छुट्टै विषय हुन सक्छ । सम्भवतः यही कारणले रेडियो नेपालबाट नियमित प्रसारण हुने हिन्दी भाषाको समाचार बुलेटिन पूर्वसूचनासहित ०२२ साल वैशाख १ गतेबाट बन्द भयो । हिन्दीसँगै नेपालभाषाको समाचार बुलेटिन पनि बन्द गरिएको थियो ।

यसलाई नेवार समुदायले नेपालभाषामाथि सरकारी दमनका रूपमा लिएको पाइन्छ भने यथार्थमा हिन्दी भाषालाई मात्र निकाल्दा नराम्रो सन्देश जाने भएका कारण कोपभाजनमा नेपालभाषा पनि पर्न गएको देख्न सकिन्छ । यस घटनाविरुद्ध नेवार समाजको एउटा वर्गले विभिन्न ठाउँमा साप्ताहिक रूपमा साहित्य सम्मेलन गर्दै थालेको अभियान ‘२२ सालया आन्दोलन’ नामबाट जानिन्छ । राज्यले यही साहित्यिक आन्दोलनलाई पनि दमन गर्न बाँकी राखेन । 

‘२२ या आन्दोलन’ कुनै व्यवस्थित तथा शक्ति केन्द्रद्वारा सञ्चालित नभएर जनताको स्वतःस्फूर्त अभियान थियो । यसक्रममा उत्साही युवाहरूले आ–आफ्नो टोलमा साहित्यिक संगठनको गठनमा ध्यान दिएको पाइन्छ । साप्ताहिक कार्यक्रम भने पनि हप्तामा एउटा मात्रै नभएर काठमाडौं, पाटन र भक्तपुरमा गरी एकै दिन तीनवटा कार्यक्रम पनि हुन्थे । पञ्चायत व्यवस्थाविरुद्ध संगठित राजनीतिक पार्टीका कतिपय कार्यकर्ताको पृष्ठभूमि यही भाषिक आन्दोलन हुने गरेको पनि पाइन्छ ।

 संस्कृति
सांस्कृतिक क्षेत्रमा राजा महेन्द्रको सबैभन्दा ठूलो अविवेकी कार्यभूमि सुुधारका नाममा ऐन ल्याउनु तथा गुुठी संस्थानको व्यवस्था थियो । राज्य व्यवस्थाका लागि यसको औचित्य साबित गर्न नसकिने होइन, तर सांस्कृतिक पक्षलाई उपेक्षा गर्दा यसले ठूलै नकारात्मक असर पा-यो । काठमाडौं उपत्यकामा मात्रै नभएर समग्र नेवार समुुदायको सामाजिक, सांस्कृतिक तथा धार्मिक व्यवस्था गुुठीको भावनाबाट प्रेरित तथा निर्देशित हुने गर्दछ ।

कुनै सामूहिक कार्यका लागि स्वयंसेवाको भावनाबाट गठन गरिएको संस्था नै ‘गुठी’ हो र गुुठी सञ्चालनका लागि आयस्ता आउने गरी दाताले अक्षय कोषका रूपमा खेत राखिदिएको हुन्छ । भूूमि सुधार ऐनले ती अन्य जग्गा–जमिन र गुठीको जग्गा–जमिनमा भेद गरेन । यसरी नै गुुठी संस्थानले परम्परागत गुठीका जग्गा–जमिनलाई भित्र्याउने र त्यसबापत जात्रापर्व तथा अन्य धार्मिक तथा सांस्कृतिक कार्यका लागि केही निश्चित खर्च दिने कार्य भयो । भूमि सुुधार ऐनले गुठीको जग्गा मास्नमा सघाउ पुु-यायो भने गुुठी संस्थानले लिएको जग्गा पनि भ्रष्ट कर्मचारीको अकर्मण्यताले मासिँदै गयो । संस्थानले बडो मुस्किलले दिने खर्च बजारभाउ अनुकूल नहुने हुँदा गुुठी सञ्चालन प्रभावित हुन पुग्यो । यसप्रकार कतिपय सांस्कृतिक गतिविधि बन्द भइसकेका छन् भने अधिकांश गतिविधि धार्मिक तथा सांस्कृतिक भावनाबाट प्रेरित भएर गुठीयारहरू आफ्नै खर्चमा ज्यूँत्यूँ चलाएर बसेका छन् ।

नेपालको इतिहासमा यस देशलाई ‘हिन्दू राष्ट्र’ भनी घोषणा गर्ने पहिलो राजा महेन्द्र नै हुन् । तर, हिन्दूधर्मसँग सम्बन्धित चाडपर्व नै भए पनि नेवार समुदायसँग सम्बन्धित संस्कृतिले प्रश्रय पाएन । तर, कतिपय नेवार कला, वास्तुकला तथा सांस्कृतिक चाडपर्वहरूलाई नेपाली संस्कृति भन्दै नेवारबाट पृथक गरी सबै नेपालीमा लाद्ने काम हुनु ताज्जुुबको कुुरा हो । 

महेन्द्रमालाको राष्ट्रवाद
वर्तमान नेपालमा विभिन्न भौगोलिक क्षेत्रमा छरिएका, जातीय तथा धार्मिक समुदायमा आबद्ध तथा अन्य नेपालीहरू आफ्नो समुदायको हितविरुद्ध राज्यले लिएको नीति तथा प्रवृत्तिसँग सन्तुुष्ट छैनन् । राजतन्त्रलाई विस्थापन गरी गणतान्त्रिक शासन व्यवस्था स्थापना भइसक्दा पनि सन्तुुष्ट हुन सकेको छैन र आन्दोलित छन् । मधेसका नेपाली भनौँ वा जनजातीय समुदाय, राज्यको नीतिसँग निरन्तर असहमति राख्दै आउनु र त्यसको प्रतिवादमा अघि सारिने अनेकौँ तर्क वा औचित्य पुुष्टि गर्न अवलम्बन गरिने हर्कत् नयाँ सिसिमा पुरानो रक्सी भनेजस्तो कुनै नौलो कुरा नभएर महेन्द्रीय राष्ट्रवाद प्रतिध्वनि मात्रै हो । यो महेन्द्रीय राष्ट्रवाद विद्यालयस्तरमा पढाइने ‘महेन्द्रमाला’ पढेर हुुर्केको पुुस्तामा जीवित नै रहेको मान्नुपर्दछ । 

राजनीतिक रूपमा बुुझ्दा राजा महेन्द्रलाई छिमेकी राष्ट्र भारतका शासकहरू चुनौतीका रूपमा रहेको कुरा स्वयं भारतीय पक्षहरूबाट नै पुष्टि हुँदै आइरहेको छ । ती शासकबाट नेपाललाई जोगाउने पात्रहरू राष्ट्र र राष्ट्रियताका दृष्टिले प्रशंसायोग्य हुन् र राजा महेन्द्रलाई यस सन्दर्भमा भुल्न सकिन्न । तर, भारतीय प्रभावबाट पृथक् रहन राजा महेन्द्रले अवलम्बन गरेको राष्ट्रवाद निकै मात्रामा संकीर्ण रह्यो । आलोचकहरूले त यसलाई पहाडीय राष्ट्रवाद पनि भन्ने गरेको पाइन्छ, तर यस्तो खालको राष्ट्रवादले पहाडी क्षेत्रको पनि हित गरेको पाइएन । 

यो लेखमा भाषा र संस्कृतिको उदाहरण दिँदा जानीबुुझीकन नै नेवार समुदायसँग सम्बन्धित कुरा राखिएको हो । तत्कालीन समयमा अन्य समुुदाय त्यसरी अघि बढेकै थिएन वा शासकको आँखामा परेन । र, दमनको मार नेवार समुदायले नै भोग्नुप-यो । गुुठी व्यवस्था पनि नेवार समुदायसँग नै सम्बन्धित हो र प्रभावित हुनपुुग्यो । प्रवृत्तिगत रूपमा हेर्ने हो भने, अन्य समुुदाय पनि यसबाट पृथक् छैनन् ।

समग्र रूपमा भन्दा महेन्द्रीय राष्ट्रवाद एक भाषा, एक जाति, एक संस्कृति, एक भेष, एक धर्मको नीतिबाट निकै मात्रामा आक्रान्त छ । यो एकांकी राष्ट्रवादले देशको एउटा निश्चित समुदायलाई मात्र फल्नेफुल्ने अवसर दियो । राज्यस्रोत ती माथि नै केन्द्रित रह्यो । देश तथा समाजको विकासमा हामी हातेमालो गर्नुपर्ने ठूलो जनसमुुदायलाई त्यसबाट वञ्चित गरियो र अगाडि बढ्न दिइएन । फलतः पछि प¥यो । मूल प्रवाहीकरणमा ल्याउन हाल तिनीहरूलाई आरक्षणको नीति लिनुपर्ने अवस्था छ । यस्तो अवस्थामा देशको विकासले गति लिन नसक्नु स्वाभाविक हो र यसलाई ऐतिहासिक भुलभन्न सकिन्छ । 

०००
राजा महेन्द्रको राष्ट्रवाद आफैँमा नराम्रो थिएन, तर त्यसमा सांस्कृतिक अनुुदारवादीहरूको वर्चस्व हुनपुुग्दा अन्ततः नेपालकै अहितमा प्रयोग हुनपुुुुुुग्यो । गणतान्त्रिक राज्य व्यवस्था स्थापना भइसक्दा पनि अनुुदार महेन्द्रीय राष्ट्रवादको धङ्धङी कायमै रहनु भविष्यका लागि चुुनौतीको विषय हो । उहिलेको महेन्द्रमाला र अहिलेको पाठ्यपुस्तकमा तात्विक भिन्नता पाइँदैन । 

राजनीतिक र सांस्कृतिक दुुई फरक कुरा हुन् र राजनीतिक परिवर्तनसँगै सांस्कृतिक परिवर्तन हुनैपर्छ भन्ने अनिवार्य नभएको कुरा लेखको थालनीमा नै उल्लेख गरिएको छ । राजतन्त्रमा रहेको सांस्कृतिक विभेदले गणतान्त्रिक व्यवस्थामा पनि यथावत् रहनुको पछाडि महेन्द्र माला पढेर हुर्केकाले महेन्द्रीय राष्ट्रवादलाई भुल्न नसक्नु प्रमुख कारण हो । राजनीति परिवर्तन भए पनि सांस्कृतिक कुरा पनि परिवर्तन हुन्छ नै भनेर ग्यारेन्टी गर्न नसक्नुको अर्को उदाहरण महेन्द्रीय राष्ट्रवाद जिउँदै रहनुु हो ।