• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष ५ शनिबार ०९:२५:००
खेल

चार स्वर्णको कथा

गौरिका भन्छिन्, ‘मेरो अर्को लक्ष्य टोकियो ओलम्पिक हो’

२०७६ पौष ५ शनिबार ०९:२५:००

सातदोबाटोको नवनिर्मित हिटिङ स्विमिङ पुलमा दुई सय मिटर फ्रिस्टायलमा स्विमिङमा नेपाललाई ऐतिहासिक पहिलो स्वर्णपदक दिलाएकी गौरिका सिंह सञ्चारकर्मीबाट घेरिएकी थिइन् । ३५ वर्ष इतिहास बोकेको दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा पहिलो नेपाली खेलाडीका रूपमा गौरिकाले स्विमिङ स्पर्धामा स्वर्ण दिलाउँदा उनको कमेन्ट लिन चाहेका थिए, सञ्चारकर्मीले । इभेन्ट सकिएको आधा घन्टापछि झुल्किएकी गौरिका अचानक मिडियाबाट घेरिँदा केही बोल्न सकिरहेकी थिइनन् ।

सानो कुरा गरौँँ न भनी प्रश्न राख्दा उनले सटिक उत्तर फर्काइन्, ‘यो पहिलोे स्वर्ण हो, नेपाललाई थप स्वर्ण दिलाउन चाहन्छु त्यसपछि म कमेन्ट गर्छु नि हुुन्न ?’ त्यसपछि उनी सरासर भोलियन्टरका साथ डोपिड कक्षमा गइन् । गौरिकासँग टिप्पणी लिन पुगेका सञ्चारकर्मीहरू नाजवाफ भए । सम्भवतः धेरैले गौरिका घमन्डी खेलाडी भनी सम्बोधन गर्न पनि भ्याए होला । तर, गौरिका १३औँ सागमा एक मिसनका साथ बेलायतबाट आएकी थिइन् । धेरैले बिर्सिएका पनि हुन सक्छन्, नेपालगन्जमा गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सबै इभेन्टमा स्वर्ण जितेपछि उनले नेपाललाई यसपटक सागमा स्वर्ण दिलाउने वाचा 
गरेकी थिइन् । 

पहिलो स्वर्ण जित्दा गौरिकाको नेपालगन्जमा गरेको वाचा पूरा भएको थियो । तर, उनी यतिले रोकिनेवाला थिइनन् । नेपाललाई थप स्वर्ण दिलाउन चाहन्थिन् उनी । यस कारण पनि हुन सक्छ, पहिलो स्वर्ण जित्दा उनले मिडियासामु प्रतिक्रिया दिन चाहिनन् । चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक घाँटीमा झुन्ड्याएकी गौरिका त्यसपछि मिडियासामु खुलस्त भइन् । एकै सागमा चार स्वर्णको कीर्तिमान राखेपछि गौरिका एकाएक नेपालकै स्टार खेलाडीको शिखरमा पुगिन् ।

गौरिकालाई भारतीय खेलाडीले त स्वर्ण जित्ने होइन भन्ने शंका थियो । सो इभेन्टमा भारतीय खेलाडी स्वर्णको प्रमुख दाबेदार खेलाडीकी रूपमा थिइन् । गौरिका पनि बलियो प्रतिद्वन्द्वीप्रति जानकार थिइन् । अन्तिम पाँच मिटर बाँकी रहँदासम्म पनि भारतीय खेलाडीले उनलाई निकै चुनौती दिइरहेकी थिइन् । सुरुदेखि फिनिसिङ लाइनसम्म दुवैबीच एक वा दुई सेकेन्डको मात्र अन्तर थियो ।

पौडीमा यो दूरी भनेको १९/२० जस्तो मानिन्छ । यो अवस्थामा जो कोही पनि पहिलो हुन सक्छन् । यसै रोमाञ्चक वातावरणबीच दुवै खेलाडीले फिनिसिङ टर्च गर्दा उपस्थित दर्शक, अफिसियल तथा अन्य खेलाडीसमेत अन्योलमा देखिए । आखिर दुई चार सय मिटरको फ्रिस्टायलमा गौरिका र भारतीय खेलाडीमध्ये कसले स्वर्णमाथि कब्जा जमायो भन्ने प्रश्न उठ्यो । त्यसवेला दुवै खेलाडीले दाबी गर्न सकिरहेका थिएनन् । सम्भवतः दुवै खेलाडी एक–अर्काले पहिलो टर्च गरेको भनी जितको खुसी मनाएको हुन सक्छ । जब स्कोर बोर्डमा केवल ०.२ सेकेन्ड अन्तरका साथ गौरिका शीर्ष स्थानमा रहेको डिस्प्ले भयो अनि मात्र गौरिकाले जितको खुसियाली मनाइन् । ‘सुरुमा मलाई स्कोर बोर्ड नै हेर्न डर लागेको थियो ।’ त्यो क्षण सम्झँदै भनिन्, ‘डिस्प्लेमा केवल ०.२ सेकेन्डले पहिलो भएको देख्दा धेरै खुसी लाग्यो ।’ 

नेपालको खेल इतिहासमा एकै सागमा चार स्वर्ण जितेको रेकर्ड अहिलेसम्म कसैले बनाएको थिएन । केवल तेक्वान्दोका दीपक विष्टले चारपटकको साग यात्रामा अपराजित रही चारै स्वर्ण जितेको इतिहास रेकर्ड बनाएका थिए । सागमा आफ्नो नाममा रेकर्ड बनिसकेको गौरिकालाई थाहा नै थिएन । बधाई दिन आउने क्रममा मात्र चार स्वर्ण एकै सागमा जितेको थाहा पाएको उनी बताउँछिन् । ‘एउटै सागमा चार÷चारवटा स्वर्ण जितेको रेकर्ड बनेको थाहा नै थिएन, बधाई दिनेहरूले भन्दा मात्र थाहा पाएँ,’ १७ वर्षीया गौरिकाले बिस्तारै नेपाली भाषामा भनिन् ।

नेपालको खेल इतिहासमा एकै सागमा चार स्वर्ण जितेको रेकर्ड अहिलेसम्म कसैले बनाएको थिएन । गौरिकालाई त्यो रेकर्ड आफूले तोडेको थाहै थिएन । भन्छिन्, ‘बधाई दिनेहरूले भन्दा मात्रै थाहा पाएँ ।’ 

गौरिकाको सफलतामा उनका आमाबुबाको साथ अपार मान्नुपर्छ । छोरीको सफलतामा दुवै दंग छन् । हरेक अप्ठ्यारो अवस्थामा आमाबाबुबाट उनले मार्गदर्शन पाउँदै आएकी छिन् । तर, यसबाहेक गौरिका एक भगवान्को नाम सधैँ लिने गर्छिन् । नेपालमै जन्मे पनि बेलायतमै हुर्किरहेकी गौरिका जीवित देवता कुमारीको नाम लिन बिर्सन सक्दिनन् । यसपालिको साग प्रतिस्पर्धामा गौरिकाले प्रत्येक पल कुमारी देवतालाई सम्झिरहिन् । ‘म कुमारी भगवान्लाई नै मान्छु । ‘हरेक गेममा मैले कुमारीलाई प्रे गरेँ ।’ 

गौरिका भन्छिन्, ‘मलाई धेरैले तिमी नेपाली होइनभन्दा मन नै दुख्छ । तर, म नेपाली नै हुँ, यो सबै पदक मैले नेपाल राष्ट्रलाई दिलाएकी हुँ ।’ नेपालमा आउँदा र बाहिरी मुलुकमा पौडीमा सहभागिता जनाउँदा आफूले नेपाली नागरिकता र पासपोर्ट नै प्रयोग गरिरहेको उनले सुनाइन् ।सागमा कीर्तिमान बनाए पनि आफू कहिले रेकर्डको पछि नलाग्ने उनले सुनाइन् । प्रतियोगितामा सधैँ आफ्नो रेकर्ड राम्रो बनाउन मात्रै प्रतिस्पर्धा गरेको उनको भनाइ छ । ‘मैले कहिले पनि रेकर्ड बनाउन भनी प्रतिस्पर्धा गरिनँ, केवल पहिलोभन्दा राम्रो गर्ने प्रयास गर्छु ।’ 

सरकारले घोषणा गरेको रकमले ठूलो राहत प्रदान गरेको उनको भनाइ छ । यो रकम अब उनी प्रशिक्षणमा खर्च गर्न चाहन्छिन् । ‘अब मैले पाउने सबै रकम अभ्यास र यसको सामग्री किन्नमै खर्च गर्छु ।’ अब गौरिकाको लक्ष्य टोकियो ओलम्पिक हो । भन्छिन्, ‘मेरो अर्को लक्ष्य टोकियो ओलम्पिक हो ।’