• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दीपमाला महर्जन
२०७६ पौष १२ शनिबार १०:२७:००
इतिहास

इतिहासमा गुमनाम महिला कलाकार

ग्यालरी 

२०७६ पौष १२ शनिबार १०:२७:००
दीपमाला महर्जन

सन् २००२ मा काठमाडौंको भोटाहिटीस्थित ललितकला क्याम्पसमा भर्ना हुन जाँदा म १५ वर्षकी मात्रै थिएँ । क्याम्पसमा आँखाभरि सपना बोकेर गएकी थिएँ । त्यसवेला मलाई कलाबारे केही पनि ज्ञान थिएन । कलेजमा पढ्न थालेपछि कलाबारे बुझ्दै गएँ । पाषाणकालीन गुफा कलादेखि उत्तरआधुनिक कलासम्म, पाश्चात्य कला इतिहासदेखि चिनियाँ, जापानी, भारतीय र नेपाली कला इतिहाससम्मको अध्ययन गरियो । तर, स्नातक पढुन्जेल म पढाइबाट प्रेरित हुनै सकिनँ । 

जब महिला कलाकारहरूका जीवन तथा कलाकारिताबारे लेख्न सुरु गरेँ, तब निकै उत्साहित र प्रेरित महसुस गरेँ । सन् २०१३ मा मैले चित्रकला विषयमा स्नातकोत्तर सकाउँदा महिला कलाकारकै सेरोफेरोमा दुईवटा मिनी–थेसिस गरेँ । त्यसवेला मलाई महसुस भयो कि यतिन्जेल मैले पढेको पाठ्यक्रममा महिला कलाकारहरूको उपस्थिति लगभग शून्य थियो । त्यसपछि अझै धेरै महिला कलाकारबारे खोजी गर्न थालेँ । महिलाकै विषयमा निरन्तर लेख्न थालेँ । सन् २०१७ मा ‘विश्व कला इतिहासमा महिला’ शीर्षकको पहिलो पुस्तक प्रकाशित गरेँ । त्यसपछि मैले थाहा पाएँ, स्नातकोत्तरसम्मको पाठ्यक्रममा मलाई पश्चिमको पुनर्जागरणकाल रेनेसा तथा बरोक कला पढाइँदा सोफोनिस्बा आन्गुसोला, एलिजाबेथ सिरानी, जुडिथ लेस्टर, आट्र्मिसिया जेन्टिलेस्की, लभिनिया फोनटेना आदि जस्ता उत्कृष्ट महिला कलाकारबारे पढाइएन । १८औँ शताब्दीको नवशास्त्रीय कला पढाइँदा एन्जिलिका कफमन, एलिजाबेथ भिजी, एडमोनिया लेविसजस्ता कलाकारहरू पढाइएनन् । ‘इम्प्रेसनिजम’ पढाइँदा मारी कासाट, बर्थ मरिसट, इभा गोन्जालेज, हरित बेकरजस्ता कलाकारहरू पढाइएनन् । त्यसैगरी २०औँ शताब्दीको कला इतिहास पढाइँदा हिल्मा एफ क्लिन्ट, क्याथ कलविज, सुजान भालाडन, पाउला मोडरसन बेकर, ग्वेन जोन, मारी लवरेन्सिन, सोनिया डिलने, जर्जिया ओ किफ, ह्याना हक, माल्भिना हफमन, एलिस निल, लुइस बुर्जुवा, एलिजाबेथ क्याटलेट, फ्रिडा काह्लो आदि थुप्रै प्रतिभावान् कलाकारबारे पढाइएन ।

विद्यार्थी जीवनमा प्रेरणाको निकै ठूलो भूमिका हुन्छ । पुराना पुस्ताको उपलब्धि तथा सफलताका कथाले नै नयाँ पुस्तालाई ऊर्जा दिने हो । पुरानो पुस्ताका महिला कलाकारहरूबाट प्रेरणा लिन म वञ्चित भएँ । पुरुष कलाकारको कामले केही हदसम्म प्रभावित बनाए पनि उनीहरूको व्यक्तित्वसँग आफूलाई प्रतिविम्बित गर्न नसक्दा प्रेरित हुनै सकिनँ । जब महिला कलाकारहरूको अध्ययन गर्न थालेँ तब उनीहरूको जीवन भोगाइबाट प्रभावित र प्रेरित भएँ । अझ स्वदेशी महिला कलाकारहरूको जीवन र कामसँग साक्षात्कार हुन पाएको भए धेरै राम्रो हुन्थ्यो । 

पितृसत्ताबाट ग्रसित इतिहासकारले महिलाको कलालाई स्विकार्न नसक्दा थुपै्र महान् महिला कलाकार गुमनाम भए

 

हाल त्रिभुवन विश्वविद्यालयमा स्नाकोत्तरको शोधपत्र तयार गर्न थालेपछि भने यसमा केही सुधारको संकेत देखेँ । यो मात्रै पर्याप्त छैन । 
इतिहासबाट मात्रै होइन, आफ्नै समयमा भइरहने कला प्रदर्शनीहरूबाट समेत प्रेरित हुन सकिन्छ । यस्ता प्रदर्शनीहरूबाट नयाँ कलाकारलाई थप ऊर्जा मिल्छ, बुझाइ फराकिलो गर्न मद्दत मिल्छ र त्यसले परिपक्वतामा टेवा पु¥याउँछ । हालै ललितपुरको चाकुपाटस्थित ‘क्लासिक ग्यालरी’मा भइरहेको एउटा सामूहिक कला प्रदर्शनी हेर्ने मौका पाएँ । जहाँ ‘पेटल्स’ नामक महिला कलाकारको समूहका तीन कलाकारहरू आर्या राजभण्डारी, चाँदनी बज्राचार्य र रेनुका महर्जनका मनमोहक कलाकृति हेरेँ । 
विद्यार्थी जीवनमा मलाई निकै प्रभावित पारेको एउटा नाम हो– आर्या राजभण्डारी । उनको च्याउ सिरिजको चित्रकलाले मलाई निकै प्रभावित पारेको थियो । त्यसपछि उनको काम हेर्ने मौका पाइनँ । मेरो मानसपटलबाट उनको नाम बिलाउँदै गयो । अहिले धेरै वर्षपछि उनको कला हेर्ने अवसर फेरि पाएँ । तर, मनमा थुप्रै प्रश्नहरू तेर्सिए । सँगै पढेका थुप्रै महिला साथीहरू सम्झिएँ । उनीहरूमध्ये एकदमै थोरैजनाले मात्रै कला क्षेत्रलाई निरन्तरता दिइरहेका छन् । 

विगतभन्दा अहिले महिला कलाकारको उपस्थिति संख्यात्मक र गुणात्मक रूपमा बढेको छ । तर, भविष्यमा कतिजनाले निरन्तरता दिनेछन् भन्ने प्रश्न उस्तै छ । आखिर नेपाली महिलाहरूले कलाकारितालाई निरन्तरता दिन किन सकिरहेका छैनन् ? यसको उत्तर सजिलो छैन । यसबारे बहस हुन जरुरी छ । तीन कलाकारसँग कुराकानी गर्न ‘क्लासिक 
ग्यालरी’ पुगेँ । 

कुराकानीको क्रममा थाहा पाएँ, उनीहरूको यो चौँथो संस्करणको प्रदर्शनी रहेछ । यसअघि सन् २००२, २००४ र २००६ मा उनीहरूले ‘द कम्बिनेसन’ शीर्षकमा सामूहिक कला प्रदर्शनी गरिसकेका रहेछन् । लगभग १३ वर्षपछि ‘द कम्बिनेसन ०४’ लिएर उनीहरू फेरि ग्यालरी पुगे । यस प्रदर्शनीमा विगतभन्दा फरक विषय लिएर उनीहरू पुगे । चाँदनीले योगा र रेनुले प्रकृति विषयका उत्कृष्ट कलाकृतिहरू प्रस्तुत गरिन् । एकजना कलाकार उनीहरूसँगै सहभागी हुन सकिनन् । मैले एकजना साथी छुट्नुको कारण सोधेँ । साथै, लामो समय ग्याप हुनुको कारण पनि सोधेँ । उनीहरूले भने, ‘विवाह भयो, बच्चाबच्ची भयो, घरपरिवारमै व्यस्त भइयो । अहिले बच्चाहरू हुर्किए, त्यसैले फेरि काम, प्रदर्शनी गर्न आयौँ ।’ एकजना सदस्यको बच्चा अझै सानै भएकाले यसपटक उनी सहभागी हुन नसकेको उनीहरूले सुनाए । 

यी तीनजना कलाकार प्रतिनिधि पात्र मात्र हुन् । खोज्दै जाने हो भने उनीहरूको पुस्ताका कैयन् कलाकार विवाहपछि हराएका छन् । उनीहरू जसरी वर्षौं हराएर फेरि कलाकर्म सुरु गर्ने कति होलान् ? यो अर्को प्रश्न छ । उनीहरूको यो कदम नयाँ पुस्ताका लागि प्रेरणादायी छ । 

कलाकार सरिता डंगोलको अनुभव भने फरक छ । उनले प्रवीणता प्रमाणपत्र तहको अध्ययनपछि विवाह गरिन् । विवाहपछि स्नातक तथा स्नातकोत्तर तहको अध्ययन पनि पूरा गरिन् । विवाह गरिसकेपछि पनि आफ्नो कलायात्रालाई निरन्तरता दिइरहेकी छिन् । परिवारको सहयोग र आफ्नो इच्छाशक्तिले कला क्षेत्रमा निरन्तरता दिइरहेको उनले सुनाइन् । उनले सन् २००० मा पहिलो एकल कला प्रदर्शनी गरिन् । उनी अहिलेसम्म १३ पटक विभिन्न देश–विदेशमा एकल कला प्रदर्शनी र सामूहिक कला प्रदर्शनीमा सहभागी भइसकिन् । उनले एकदशक अघि नै ‘कम्युनिटी चिल्ड्रेन आर्ट स्कुल’ नामक कला पाठशाला पनि सुरु गरेकी छिन् । एक दशकदेखि नै हिमालयन कलेज अफ इन्जिनियरिङ ललितपुरमा लेक्चरर छिन् । त्यसैगरी सन् २०१० देखि ‘नेवा छेँ आर्ट ग्यालरी’बाट ग्यालरी क्युरेटरका रूपमा सक्रिय छिन् । हाल क्लासिक ग्यालरीका संस्थापक तथा क्युरेटर पनि हुन् । 

ग्यालरी संस्थापकका रूपमा सरिताले निरन्तर महिला कलाकारका प्रदर्शनीलाई प्राथमिकता दिँदै आएकी छिन् । उनी ‘अरनिको युवा पुरस्कार’, ‘हेम गंगा युवा प्रतिभा पुरस्कार’ लगायत थुप्रै पुरस्कारबाट सम्मानित भइसकेकी छिन् । यति धेरै जिम्मेवारीबीच उनले दुई सन्तानलाई हुर्काइन् । उनको संघर्ष र सफलताको कथा पनि उत्तिकै महत्वपूर्ण र प्रेरणादायी छ । 
०००
विश्वभरि नै पितृसत्ताले लेखेको कला–इतिहासमा उत्कृष्ट कलाकारहरू जो महिला थिए, उनीहरूका संघर्ष र सफलताका कथा समेटिएनन् । महिला भएकै कारण उनीहरूको कलाकृतिलाई कमसल मानियो । त्यसैले कला–इतिहास पढ्दा महिला कलाकारका विषयमा पर्याप्त पढ्न पाइँदैन । पाश्चात्य जगत्मा बिसौँ शताब्दीको मध्यतिरबाट महिला मुक्तिको संघर्ष सघन हुँदै गर्दा कला क्षेत्रमा पनि यसको प्रभाव देखियो । सन् १९७१ मा अमेरिकन कला इतिहासकार लिन्डा नकलिनको ‘किन महान् महिला कलाकारहरू थिएनन् ?’ शीर्षकको लेख प्रकाशित भयो । उनले लेखमा इतिहासमा महिला कलाकारहरूले किन ‘महान्’ सफलता पाउन सकेनन् भन्ने प्रश्नको उत्तर मात्रै दिएनन्, कथित ‘महान्ता’माथि नै प्रश्न गरिन् । पितृसत्ताबाट ग्रसित इतिहासकारले महिलाको कलालाई स्वीकार गर्न नसक्दा थुपै्र महान् महिला कलाकार गुमनाम भएको उनको निष्कर्ष छ । यसलगत्तै पाश्चात्य कला इतिहासमा महिला कलाकारको खोजीले तीव्रता लियो । त्यसपछि थुप्रै गुमनाम, तर उत्कृष्ट महिला कलाकार विश्वसामु अगाडि आए । तर, हाम्रो पाठ्यक्रममा भने अझै पनि उत्कृष्ट महिला कलाकार अटाउन सकेका छैनन् । 

त्यसैगरी नकलिनले समाजमा व्याप्त पितृसत्ताले कसरी महिलालाई व्यावसायिक कलाकारितामा अघि बढ्न बाधा गरेको छ भन्ने पनि केलाएकी छिन् । जुन नेपाली कला क्षेत्रमा पनि सान्दर्भिक छ । गुणस्तरीय शिक्षामा पहुँच नै नभएका महिलाहरूको जीवनस्तरको विषयमा बहसको आवश्यकता आफ्नो ठाउँमा छँदै छ, शिक्षामा पहुँच भएका महिलाहरूको पनि विवाहपछि घरपरिवार मात्र ‘सम्हालेर’ बस्ने वा बाहिर काम गर्ने भए पनि घरायसी कामको जिम्मेवारी पनि एक्लै वहन गर्नुपर्नेजस्ता पितृसत्तात्मक सोचले ग्रसित अवस्थाको अन्त्य गर्नु आजको पुस्ताको जिम्मेवारी हो । 

नयाँ पुस्तालाई पुराना पुस्ताको संघर्ष र सफलताका कथाले अगाडिको बाटो तय गर्न प्रेरणा दिन्छ । कला क्षेत्रमा चाहे ‘पेटल्स’ समूहजस्ता ‘कम ब्याक’ गरेका कलाकारहरू हुन्, चाहे सरिता डंगोलजस्ता परिवार र करिअरलाई ‘ब्यालेन्स’ गर्ने कलाकार हुन् या सामाजिक बन्धनलाई अस्वीकार गर्ने विद्रोही स्वभावकी अस्मिना रञ्जितजस्ता कलाकार हुन्, उनीहरूका संघर्ष र सफलताका कथाले पक्कै पनि नयाँ पुस्तालाई प्रेरणा मिल्नेछ । 

यसका लागि सबैभन्दा पहिला महिलाका भोगाइहरू सामान्य नभई विशिष्ट हुन् भन्ने सबै तप्काका व्यक्तिहरूले स्विकार्नु जरुरी छ । साथै, उनीहरूका कथाहरूलाई दस्ताबेजीकरण गर्ने, पाठ्यक्रममा समावेश गर्ने, फराकिलो मञ्चमा बहस गर्नेजस्ता कार्यलाई पनि अगाडि बढाउनु उत्तिकै जरुरी छ ।