• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
महेश पौड्याल
२०७६ पौष १२ शनिबार १०:३५:००
साहित्य

अराजकहरूको बिरासत

२०७६ पौष १२ शनिबार १०:३५:००
महेश पौड्याल

साहित्य वृत्तमा प्रायः सबै लेखक आफूलाई अराजक मान्छन् । यसको मूल कारण के हो भने केही ‘स्वान्त सुखाय’कै लागि लेख्ने थोरैलाई छाडेर धेरैजसो सचेत लेखक सत्ता र व्यवस्थासँग कुनै न कुनै असहमतिका कारण लेखनमा उत्रिएका हुन्छन् । फलस्वरूप, उनीहरूको लेखन एकप्रकारको विद्रोह बन्न जान्छ, र अराजक देखिन्छ । तर, यो एउटा समान्यीकृत तर्क हो । अराजकताकै मूल अर्थमा अराजक देखिएका र स्वरूप, व्यवहार र लेखनमै कर्ममाण्डी धारको व्यतिरेकमा आफूलाई प्रस्तुत गरेर विश्व साहित्यको पटलमा स्थापित भएका केही समूह छन्, जसको प्रभाव उनीहरूकै युगमा मात्रै होइन, पछिसम्म पनि रह्यो, र विश्वभरि नै फैलियो । तर, त्यसभन्दा पहिले अराजकताको मनोविज्ञानमाथि एउटा छोटो विमर्श ।

सामान्य अर्थमा र गैरसाहित्यिक सन्दर्भमा नकारात्मक अर्थमा बुझिने ‘अराजकता’ साहित्यको वृत्तमा एउटा सकारात्मक कुरा हो । सिर्जनशील अराजकताले समाज र सत्तामा व्याप्त कलुषित मान्यता र पद्धतिलाई भत्काउँछ, र प्रयोगशील आविष्कारहरू गर्छ । राजनीतिक उपकरणहरूले भेदन गर्न नसकेका मानसिक पर्खाललाई यसले भत्काउँछ, तथा प्रभावविहीन र अमानक बनिसकेका सूत्रलाई प्रतिस्थापित गर्छ । केही नयाँ निर्माण गरेर भने पनि यसले पुराना ऐंजेरु फाल्छ, र नयाँ अविष्कारका लागि मार्ग प्रशस्त गर्छ । 

साहित्यमा अराजकताको उपस्थिति आजको कुरा होइन । ईसापूर्व ४११ तिर ग्रिसेली नाटककार एरिस्टोफिनिसले एउटा नाटक लेखे, जसको शीर्षक थियो ‘लाइसिस्ट्राटा’ । यस नाटकभित्र विभिन्न राजनीतिक बहानामा सधैँ युद्धमा मात्रै हिँडिरहने पुरुषसत्ताको विरोध गरिएको छ । लाइसिस्ट्राटाको नेतृत्वमा घरका नारीहरू संगठित हुन्छन् र आफ्ना युद्धोन्मत्त लोग्नेहरू घर फर्केर आउँदा यौनसम्पर्क गर्न नदिने निर्णय गर्छन् । यस यौन–हडतालका कारण पुरुषहरू क्रमशः युद्ध छाडेर घरमा ध्यान दिन थाल्छन् । पुरुषसत्ताको दबदबा र राज्यको कडा प्रभाव रहेको त्यो समयमा आएको यस्तो साहित्य आफैँमा अराजक थियो, र एक विशाल विद्रोह पनि । सत्ताको निगरानी जति नै कडा किन नहोस्, एक कोणबाट त्यसको विरोध भइरहेको हुन्छ, र त्यसमा लेखक, कवि र कलाकार अग्रणी हुन्छन् । पहिले फ्रान्स र पछि बेलायतमा राजतन्त्रको दबदबासँगै क्याथोलिक मूल्य जल्दोबल्दो भएकै वेला बोहेमियन भनिने एउटा सिर्जनशील समूह सडकमा उत्रियो । चलनचल्तीको मान्यताविपरीत, र धर्मद्वारा निर्देशित मर्यादाविपरीत यस समूहले सत्ताविरोधी र हैकमविरोधी उत्कृष्ट संगीत रचना र गायन पस्किनुका साथै खुलमखुल्ला मदिरा र लागुपदार्थ सेवन गर्ने, रातरातभर गाउँदै, नाच्दै हिँड्ने, नग्नता प्रदर्शन गर्ने, खुला यौनजन्य क्रियाकलापमा सम्मिलित हुने आदि गतिविधि लन्डनका सडकमा प्रस्तुत गरे । यसको सांकेतिक अर्थ थियो, मान्छेको नैसर्गिक स्वतन्त्रतामाथि बन्देज लगाएर स्थापित गरिएका कुनै पनि मान्यता खुला यौन र नशाभन्दा धेरै नै नग्न र कुरूप हुन्छन् । यस अराजकताले लैंगिक समानता र महिला अधिकारका आन्दोलनलाई बलियोसँग पृष्ठपोषण ग-यो । 

बोेहेमियनहरूको उदयपश्चात १८९० को दशकमा लेखकको अर्को अराजक समूह देखाप¥यो, जसलाई ‘नटी नाइन्टिज’ अर्थात्, ९० को दशकका बदमासहरू भनेर नामकरण गरियो । यस समूहले बोहिमिनहरूको स्वतन्त्र दिनचर्याबाट धेरै कुरा टिप्यो, तर यसले मूलतः पाश्चात्य धार्मिक परम्पराले निर्देशित गरेको अनिवार्य विपरीत–लिंगी यौन–व्यवहारको विरोध ग¥यो । सम्भवतः पहिलोपल्ट समलैंगिक सम्बन्धमाथि खुलेर साहित्य लेखियो । ओस्कार वाइल्ड तथा वाल्टर पेटरजस्ता लेखक सम्मिलित यस समूहका कतिपय सदस्य पछि समलैंगिक सम्बन्ध राखेको आरोपमा जेल पनि गए । तर, यस अराजक समूहले एउटा बलियो सन्देश भने विश्वलाई दिएरै गयो, जुन आजको युगमा आएर स्थापित भएको छ । सो के भने यौन आकर्षण विपरीत–लिंगीहरूमा मात्रै हुँदैन । समलैंगिकता पनि एउटा प्राकृतिक यथार्थ हो, भलै त्यसको सामाजिक वा धार्मिक अनुमोदन सजिलो छैन ।

सन् १८९० को दशक भनेको प्रथम विश्वयुद्धको पूर्वतयारीको दशक हो । यसपछि विश्व साहित्यमा एक प्रकारको रिक्तता देखियो । युद्धको समय सिर्जनाको समय रहेन । युद्ध सकिनासाथ पुनः साहित्यक गतिविधि सुरु भए, जसमा एउटा बलियो खेमा अराजकहरूको रह्यो । बेलायतमा समलैंगिक र विवाहेत्तर यौनसम्बन्धमा डिएच लरेन्सले एकपछि अर्को उपन्यास लेखे । उनका उपन्यास सुरुमा बेलायतबाट प्रकाशनका लागि अनुमति नपाएकाले पेरिसबाट छापिए । फ्रान्सले ठूलो क्रान्ति गरेर एउटा खुला, स्वतन्त्र र आधुनिक मुलुकको रूपमा आफैँलाई विकसित गरेकाले यसको राजधानी पेरिस युरोपका अन्य सहरभन्दा बढी स्वतन्त्र थियो । त्यसैले आफ्नै देशमा अनुमति नपाएका लेखक पेरिसमा जम्मा हुन्थे । यसरी, विभिन्न कारणले निर्वासित भएका र विद्यमान मूल्य–व्यवस्थाप्रति मोहभंग भएका लेखकले ‘लोस्ट जेनेरेसन’ अर्थात् मोहभंग भएको पुस्ता नाम गरेको समूह नै बनाएका थिए । यो अराजकहरूको एउटा प्रभावशाली समूह थियो, जसमा गटुुड स्ेटन, अनेष्ट हेमिङवे, एज्रा पाण्ड र टिएस इलियटजस्ता प्रभावशाली लेखक सामेल थिए । 

प्रथम र दोस्रो विश्वयुद्धबीचको करिब तीन दशक अराजकहरूको स्वर्णयुगको समय थियो । यसलाई तीन मूल कारणले प्रभावित पा-यो । पहिलो, डार्बिनको विकासवादी सिद्धान्त, जसले मान्छेको विकासमा भगवान्को भूमिका नरहेको घोषणा ग-यो । यस कुराले मान्छेलाई अनीश्वरवादी बन्न प्रेरित ग-यो र उनीहरू भगवान्को अवतार मानिने शासक तथा भगवान्को प्रतिनिधि मानिने चर्चको प्रभावबाट मुक्त भए । दोस्रो, दर्शनको पटलमा नित्सेले गरेको ‘ईश्वरको मृत्यु’को घोषणा, जसले धर्मको शासनलाई संकटापन्न तुल्यायो । तेस्रो, प्रथम युद्धको त्रासदीपूर्ण पटाक्षेप, जसले विज्ञान र राज्यसत्ता दुवैमाथिबाट मान्छेको विश्वासलाई जलाइदियो, र सबै दिशाबाट मान्छेले आफूलाई एक्लो र असहाय पायो । फलस्वरूप, सम्पूर्ण मूल्य, दर्शन, धर्म र मान्यतामाथि प्रश्न उठाउनु र तिनीहरूको निर्देशनको विपक्षमा मतदान गर्नु त्यसवेलाको बौद्धिक जगत्को स्वभाव बन्न पुग्यो । 

शीतयुद्धको सन्दिग्ध समय विश्व पुँजीवादी र साम्यवादी खेमामा बाँडिएपछि यी दुवै व्यवस्थालाई खारेज गर्नेहरू अराजकताको बाटो अँगाल्न पुगे । यस अवधिमा बब मार्ली र जन लेननको संगीत लोकप्रियताको चुलीमा पुग्यो ।

 

यो वेलामा साहित्यमा मात्रै होइन, संगीतमा, चित्रकारितामा, वास्तुकलामा, मूर्तिकलामा अराजकहरू हाबी भए । पिकासोका नग्न र आकारविहीन चित्र, डाडावादीहरूको विसंगत कलाकारिता, विलियम ब्याकेटजस्ता विसंगतिवादीहरूका नाटक, काफ्काजस्ता अस्तित्ववादीहरूका अनीश्वरवादी र निराशापूर्ण लेखन, रोबर्ट स्टोनरजस्ता शून्यवादीहरूको सिर्जना— सबै सबैले पाश्चात्य आधुनिकतावादको यस स्वर्णिम समयमा अराजकताको स्वर्णजलप लगाइदियो । अराजकताको यो हदको सुन्दरता कलासाहित्यको इतिहासमा न यसअघि कहिल्यै देखिएको थियो, न पछि देखियो ।

१९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यपछि संयुक्त राष्ट्रसंघको गठन भयो, जसले विश्वमा आशाको एउटा किरण छ-यो । विश्वयुद्धको विभीषिका कहालीलाग्दो भए पनि मानिसले एउटा आशाको त्यान्द्रो पाए । तर, राष्ट्रसंघको गठन भएको एक दशक बित्दानबित्दै विश्व नाटो र वार्षा गुटमा बाँडियो, जसको नेतृत्व अमेरिका र सोभियत संघले गरे । फलतः विश्व शीतयुद्धमा धकेलियो । 

शीतयुद्धको सन्दिग्ध समय, र विश्व पुँजीवादी र साम्यवादी खेमामा बाँडिएपछि यी दुवै व्यवस्थालाई खारेज गर्नेहरू अराजकताको बाटो अँगाल्न पुगे । यस अवधिमा बब मार्ली र जन लेननको संगीत लोकप्रियताको चुलीमा पुग्यो । पछि, सन् १९५० को मध्यतिर अमेरिकाको कोलुम्बिया विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको एउटा समूह अराजक लेखन, विमर्श र व्यवहारमा उत्रियो । ‘बिट्स’ भनिने यस समूहमा एलेन गिन्सबर्ग र जेक केरोएकजस्ता लेखक थिए, जसका लाखौँ अनुयायी आज पनि छन् । उनीहरूकै समूहमा विलियम बोरो पनि थिए, र समूहका गुरु कवि गेरी स्निडर थिए । यिनीहरूमध्ये कतिपय समलिंगी थिए, र मुद्दामामिला पनि खेप्न पुगे । मदिरा, गाँजा र अन्य लागुपदार्थ खाने, अप्राकृतिक यौन क्रीडामा संलग्न हुने, सरकार र व्यवस्थाका विरुद्ध खुलेआम र झर्रो, अमानक भाषामा लेख्ने, र मूलधारभन्दा बाहिरको ज्याजजस्तो संगीतमा डुब्ने उनीहरूको दिनचर्या थियो । भन्थे, ‘लागुपदार्थको सेवनले स्वतस्फूर्त लेखनमा सहयोग गर्छ ।’ यस्तै अभ्यासबाट कोलाज तथा कटअप भनिने लेखनपद्धतिको विकास भयो, जुन उत्तराधुनिक लेखनको एउटा स्वरूप हो । उनीहरू पाश्चात्य भनिएका अधिकांश मान्यताको विपक्षमा उभिए, जसमा इसाई धर्म, पाश्चात्य राजनीतिक व्यवस्था, पुँजीवाद, बजारतन्त्र र अनिवार्य विपरीत–लिंगी यौनसम्बन्ध समेल थिए । उनीहरू अनीश्वरवाद, वामपन्थ, जैन र बुद्ध दर्शन तथा समलिंगी सम्बन्धहरूको पक्षमा उभिए । त्यसैले, उनीहरू अराजक हुन पुगे । आफ्ना लेखनभित्रै पनि उनीहरूले परम्परालाई भत्काउने काम गरे । कवितामा संरचना भत्काउने, लोक र आदिवासी गीतका बान्की घुसाउने, अमानक भाषाको प्रयोग गर्ने आदि काम उनीहरूले गरे । आख्यानमा तृतीय पुरुष दृष्टिविन्दु भत्काउने, रैखिक कथानकको परम्परा तोड्ने, समय, भूगोल र यथार्थको ठोस भाषालाई भत्काउने र त्यी मान्यतालाई तरल र अस्थिर तुल्याने आदि काम गरे । यो आफँैमा एक विशाल आन्दोलन थियो, जसले उत्तरआधुनिक साहित्यको एउटा मूल भँगालोको नेतृत्व ग-यो । 

बिट्स समूहको प्रभाव अमेरिका र युरोपबाहिर पनि रह्यो । सन् १९८० को दशकमा एलेन गिन्सबर्ग कलकत्तामा आए, जहाँ हङ्ग्री जेनेरेसन भनिने एउटा समूह सक्रिय थियो, मलय राय चौधरीको नेतृत्वमा । सन् १९६२ मा गिन्सबर्ग कलकत्ता आउँदा उनी दुईको भेट भयो, जसबाट उनीहरू एकअर्काको प्रभावमा परे । यस समूहले कतिपय नेपाली लेखकलाई पनि प्रभावित पारेको पाइन्छ । 

अराजकताको राजमार्गमा हिप्पीहरूको उदय आफैँमा एउटा महŒवपूर्ण घटनाक्रम थियो । हिप्पीहरूले गीतसंगीत मात्रै भत्काएनन्, उनीहरूले परम्परागत पोसाक, खानपान र दिनचर्यामा समेत नयाँ मानक बनाए । १९६० को दशकमा मूलधारको अमेरिकी जीवन पद्धतिको व्यतिरेकमा विकसित यस समूहले अफैँलाई एउटा प्रतिसंस्कृतिको रूपमा स्थापित ग¥यो, जसको प्रभाव वैश्विक हुन पुग्यो । सन् १९५५ पछि लामो समयसम्म अमेरिका–भियतनामविरुद्धको युद्ध चल्यो, जसको विरोध हिप्पीहरूको विकासको केन्द्रमा थियो । लामो कपाल पाल्ने, अपरम्परित पोसाक लाउने, समूहमा बस्ने, शाकाहारी भोजन खाने, सर्वाङ्गीण चिकित्सा पद्धति अवलम्बन गर्ने, गाँजा र चरेसजस्ता लागुपदार्थको सेवन गर्ने, र खुला यौनसम्बन्ध राख्ने उनीहरूको जीवन शैली थियो । पाश्चात्य धार्मिक परम्परा र पद्धतिको विरोध, बौद्ध र पूर्वीय दर्शनको अनुशरण, लोक तथा रक संगीतको अवलम्बन, युद्धविरोधी प्रदर्शनहरूको आयोजना आदि गतिविधिमा पनि उनीहरू संलग्न रहे । यस समूहले विश्वको कलासाहित्यमा दिएको उत्कृष्ट निधिमा बब डिलनका कविता र गीत, बिटल्सजस्ता प्रख्यात समूहको संगीत तथा केन केसेका उपन्यासलाई कहिल्यै बिर्सन सकिन्नँ । मूलधारका र परम्परावादी अमेरिकी बौद्धिकहरूले सधैँ पादलेखमै सीमित पारेको यसै समूहको प्रभावमा रहेका गायक तथा कवि बब डिलेन नोबेल पुरस्कार पाएपछि हिप्पी आन्दोलन आफैँमा एक अर्थपूर्ण घटनाक्रम थियो भन्ने कुराको वैश्विक अनुमोदन भएको थियो ।

नेपाली कलासाहित्य क्षेत्रमा पनि अराजकता एउटा विशेषता हो । राज्यसत्तालाई खुलमखुल्ला चुनौती दिएरै लेख्ने परम्पाराको एउटा ज्वलन्त उदाहरण त मकैपर्व हो । त्यसपछि पनि, समूहगत रूपमा यो कार्य जारी रह्यो । तर, राज्य मात्रै होइन, पुरातनवादी र विभेदकारी सामाजिक र सांस्कृतिक व्यवस्थाकै विरोधमा पनि थुप्रै अराजक समूह नेपालमा आए । ‘राल्फा’, ‘बुटपालिस आन्दोलन’, ‘अस्वीकृत जमात’, ‘भोक कविता आन्दोलन’, ‘सिर्जनशील अराजकता’, र ‘उन्मुक्त पुस्ता’का साहित्यिक अभियान नेपाली साहित्यको रजतपटमा स्मरणयोग्य अराजक तर जिम्मेवार र सिर्जनशील अभियानहरू हुन्, जसले समतामूलक र न्यायिक समाजको विकासका लागि साहित्यबाट निरन्तर आन्दोलन गरे र गरि नै रहेका छन् । दार्जिलिङमा पछिल्लो दशकमा विकसित ‘सडक कविता तथा हस्तक्षेप कविता आन्दोलन’ यसै प्रकृतिका स्मरणीय आन्दोलन हुन् ।