• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपेन्द्र गुरुङ
२०७६ पौष १२ शनिबार १०:५३:००
खेल

मागेको पोसाक, खिया लागेको साइकल

खेल

२०७६ पौष १२ शनिबार १०:५३:००
दीपेन्द्र गुरुङ

कथा स्वर्णपदकको हो । स्वर्ण जित्ने खेलाडीको हो । यो कथा नेपाली खेलकुदको बिम्ब हो । कथाकी पात्र हुन्, सोनी गुरुङ ।
सोनी खेलकी ती पात्र हुन्, जसले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा ट्रायथलनतर्फ नेपाललाई ऐतिहासिक स्वर्ण दिलाइन् । त्यो पनि खिया लागेको साइकल र मागेको पोसाक पहिरिएर । यो कथा यही खिया लागेको साइकल र अरूसँग मागेर लगाएको पोसाकको पनि हो ।  

स्विमिङ, साइक्लिङ र रनिङ तीन खेल मिश्रित प्रतिस्पर्धा ट्रायथलन खेल्न विशेष खालको खेल सामग्री र पोसाक चाहिन्छ । ट्रायथलन खेल्न रोड रेसमा प्रयोग गरिने साइकल चाहिन्छ । स्विमिङ, साइक्लिङ र रनिङ तिनै खेलका लागि मिल्ने ट्राइसुट पोसाक चाहिन्छ । नेपालमा रोड रेस साइकल र ट्राइसुट किन्नसमेत पाइँदैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ट्रायथलन संघका पदाधिकारीले प्रतिस्पर्धाको अघिल्लो दिनसम्म पनि खेलाडीले साइकल र ट्राइसुट पाउने आश्वासन भने दिइरहे । तर, उनीहरूको आश्वासन यथार्थमा परिणत भएन । खेलाडी समस्यामा परे । 

नेपाली खेलाडीसँग साइकल त थिए, तर पुराना । एउटा पनि साइकल प्रतिस्पर्धा गर्न लायक थिएन । ‘साइकलको टायर छियाछिया भइसकेको थियो । चेनमा खिया लागेर जति प्याडल मारे पनि चलाउनै मुस्किल हुने अवस्थाको थियो,’ सोनीले प्रतिस्पर्धाको क्षण स्मरण गरिन्, ‘अघिल्लो दिनसम्म पनि साइकल आउँछ भनियो । हामीले पुराना साइकल मर्मतसम्म गर्न पाएनौँ । अन्तिममा आएन ।’ 

त्यही साइकल लिएर प्रतिष्पर्धामा उत्रिनुको विकल्प उनीसँग थिएन । प्रतिस्पर्धामा पनि साइकलकको चेन चुँडिएला भन्ने भयले बल गरेर प्याडल मार्न सकिनन् । साइक्लिङमा उनी विपक्षी खेलाडीभन्दा पछि नै परिन् । भन्छिन्, ‘रनिङमा राम्रो गरेपछि मात्रै स्वर्ण जितेँ ।’

उस्तै कथा पोसाकको
पोसाकको कथा पनि उस्तै छ । सोनीसँग अभ्यासका वेला लगाउन त अन्य देशको नाम लेखिएको ट्राइसुट थियो, तर त्यो पोसाक प्रतियोगितामा प्रयोग गर्न पाइँदैनथ्यो । उनीसँग आफ्नै स्विमिङ कस्टुमसम्म थिएन । 

सोनीले सहकर्मी खेलाडीसँग स्विमिङ कस्टुम मागेर लगाइन्, जसमा न खेलाडीको नाम थियो न देशकै नाम लेखिएको थियो । त्यसैले नेपाली दर्शकले सोनीलाई नेपाली खेलाडी भनेर 
पनि चिनेनन् । 

‘हाम्रो खेल हेर्न आएका नेपालीले नै कुन देशकी खेलाडी हौ भनेर सोधे । मैले स्वर्ण जितिसक्दासमेत दर्शकलाई कुन देशको खेलाडीले स्वर्ण जित्यो भनेर थाहा भएन,’ सोनी सम्झिन्छिन् ‘कतिपय दर्शक त मलाई नै कुन देशको खेलाडी हौ भनेर सोध्न आए ।’ उनले नेपालकी खेलाडी हुँ भनेपछि मात्रै उनीहरूले बधाई दिए । ‘आफ्नै देशमा कुन देशको खेलाडी हौ भनेर सोध्दा लज्जाबोध भयो, नरमाइलो लाग्यो,’ उनले नमिठो अनुभूति सुनाइन् ।

सोनीको यो अनुभव नेपाली खेलकुदको प्रतिनिधि घटना मात्रै हो । यस्ता दृश्य दोहोरिइरहेका हुन्छन् । खेलाडीसँग पुराना खेल सामग्री प्रयोग गर्नुको विकल्प हुँदैन । खेल पोसाक खेलाडीको आफ्नै हुँदैन । र, पनि जिम्मेवार निकाय आफ्नै गल्तीमा हुने यस्ता कमीकमजोरीलाई गम्भीरतापूर्वक लिँदैन । र, सुधार गर्दैन । 

१३औँ सागको आयोजना गर्दा पनि नेपालसँग व्यवस्थापनका लागि प्रशस्तै समय थियो । पैसा पनि थियो । आयोजना गर्नुपर्ने निर्धारित समयभन्दा झन्डै दुई वर्षपछि प्रतियोगिता सर्दा पनि आयोजकले सानो कुरामा पनि ध्यान नदिएको कुरा सोनीको अवस्थाले देखाउँछ । दुःख लाग्ने कुरा त के भने, प्रतियोगिता आयोजना गर्न राज्यको साढे पाँच अर्ब रकम खर्च गरेको राखेपले देशकै प्रतिष्ठाका लागि प्रतिस्पर्धा गर्ने खेलाडीलाई भने खेल पोसाक र खेल सामग्री किनिदिनसमेत सकेन ।   

ट्रायथलन खेलाडीलाई खेल सामग्री उपलब्ध गराउन पनि राखेपसँग उत्तिकै समय थियो । सोनीकै भनाइलाई मान्ने हो भने सायद राखेपले पदक जित्दैन भनेर ट्रायथलनका खेलाडीलाई खेल सामग्री र पोसाक दिएन । ‘हामीलाई नयाँ खेल सामग्री र पोसाक अत्यावश्यक थियो । हामीसँग भएका पुराना साइकल अभ्यासमा समेत प्रयोग गर्न गाह्रो थियो । साइकल नभएकै कारण हामीले अभ्याससमेत होटेलभित्रै गरेका थियौँ,’ उनी भन्छिन्, ‘तीन महिनाको बन्द प्रशिक्षणमा दुईपटक मात्रै आउटडोर ट्रेनिङ गरेका थियौँ । सम्भवतः सरकारले हामीबाट

स्वर्णको आशा गरेको थिएन । त्यसैले खेल सामग्रीको सट्टा आश्वासन मात्रै पायौं ।’
पुरानो साइकल र मागेको खेल पोसाकले सोनीको स्वर्णपदकको कथा नै छायामा पारिदियो । स्वर्ण जितेकोमा उनको जति चर्चा हुनुपथ्र्यो, त्यो चर्चा पुरानो साइकल र मागेको खेल पोसाकमै रुमल्लियो ।  सोनीलाई अझ त्यति वेला दुःख लाग्यो जति वेला फेरि खेल पदाधिकारीले ‘त्यस्तो कुनै समस्या थिएन’ भनेर ढाँटे । 
पोखरामा स्वर्ण जितेपछि सोनीले पुराना साइकलबारे मिडियामा बोलिन् । खेल पदाधिकारीले ‘किन यस्तो बोलेको’ भनेर झपारे । राखेपकै जिम्मेवार पदाधिकारीले ‘सोनीलाई भेटेर मैले कुरा गरिसकेँ’ भनेर मिडियामै अभिव्यक्ति दिए ।

‘मलाई कसैले फोनसम्म गरेको छैन, कुनै एक जिम्मेवार पदाधिकारीले सोनीलाई भेटेर कुरा गरे भनेर बोल्नुभएको समाचार पत्रिकामा पढेँ’, सोनी भन्छिन्, ‘त्यो झुट पढ्दा आफैँलाई अचम्म लाग्यो ।’ सोनीलगायतका खेलाडीमाथि व्यवस्थापनले त्यसअघि नै अन्याय गरेको थियो । प्रतिस्पर्धा सुरु हुनभन्दा केही दिनअघि मात्रै राखेपले प्रधानमन्त्रीबाट खेलाडीलाई सम्बोधन गर्ने भन्दै पोखरामा भएका सबैलाई काठमाडौं बोलायो । खेलाडीहरू अभ्यास छाडेर काठमाडौं दौडिए ।

राखेपको त्यो निर्णय अव्यावहारिक थियो । सागमा स्वर्ण जित्ने लक्ष्यसहित अभ्यासमा जुटेका खेलाडीलाई अभ्यासमै केन्द्रित हुन प्रेरित गर्नुको सट्टा काठमाडौं बोलाउनु राखेपको गलत निर्णय थियो । अस्वस्थ भएपछि प्रधानमन्त्री स्वयं कार्यक्रममा आएनन् । काठमाडौं पोखरा यात्राले खेलाडीको अभ्यास मात्रै बिथोलियो । 

‘मैले यसपटक जसरी पनि स्वर्ण जित्नुपर्छ भनेर अभ्यासमा जुटेकी थिएँ । आउनै पर्छ भनेपछि काठमाडौं आयौँ,’ सोनी भन्छिन्, ‘फर्कने वेला हामी केही खेलाडी भने त्यही दिनको अभ्यास भ्याउन आफैँले टिकट काटेर प्लेनमा फर्कियौँ ।’ सोनी आफूसँग पैसा भएर प्लेन चढेकी भने होइनन्, उनको उद्देश्य थियो– जसरी हुन्छ राम्रो गरौँ । 
सोनीको यस्तो भोगाइले नेपाली खेलकुद व्यवस्थापनको कमजोरीलाई उदांगो पारेको छ । सोनी र उनीजस्ता खेलाडीको यस्तो अनुभवबाट जिम्मेवार निकाय चेत्नुपर्छ । सोनी भन्छिन्, ‘हामीले जे भोग्यौँ, आगामी दिनमा कसैले यस्तो भोग्नु नपरोस् ।’